पार्टीभित्रको मतभेद कायमै राखेर नेपाली कांग्रेस १५औं महाधिवेशन प्रक्रियामा होमिएको छ।
असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी यसअघि केन्द्रीय समितिले ल्याएको कार्यतालिका यथावत् राख्दै मंगलबार केन्द्रीय निर्वाचन समितिले तल्ला तहका कार्यतालिका हेरफेरसहित प्रकाशित गरेको छ।
साथै, कांग्रेसले अधिवेशनमा खटिने निर्वाचन अधिकृतहरूलाई प्रशिक्षणसमेत दिइसकेको छ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको सांगठनिक र वैचारिक गतिविधि नगर्न/नगराउन माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरिरहेको र विशेष महाधिवेशनबारे पुनरवलोकन माग गरेकोमा अदालतले अनुमति पनि दिएको अवस्था छ।
यसबीच साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला/सम्मेलन गरी संस्थापनइतर पक्षले १४औं महाधिवेशनबाट सभापति निर्वाचित देउवाकै नेतृत्वमा १५औं महाधिवेशन हुनुपर्ने अडान अघि सारेको छ।
तर संस्थापन पक्षले यो स्वीकार गर्ने देखिँदैन।
कांग्रेसको साउन २४ देखि भदौ १ सम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाकै संयोजकत्वमा १५औं महाधिवेशन व्यवस्थापन समिति गठन गरिसकेको छ।
सभापति थापाले संस्थापनइतर पक्षका नेताहरूसँग संवाद जारी राखिने बताएका छन्, तर संवाद भइसकेको छैन। अहिलेको अवस्थामा मतभेदकै बीच कांग्रेस महाधिवेशनमा होमिने देखिन्छ।
१५औं महाधिवेशन प्रक्रिया र गत पुसदेखि नै पार्टीभित्र उत्पन्न मतभेदहरू लगायत विषयमा केन्द्रित रहेर नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलसँग हामीले गरेको कुराकानीको सम्पादित अंश-
तपाईं सदस्यता व्यवस्थापन समिति संयोजक हुनुहुन्छ, अद्यावधिक क्रियाशील सदस्यता कति पुग्यो, सूची कहिले बुझाउनुहुन्छ?
क्रियाशील सदस्यता अद्यावधिक र नयाँ वितरणका विवरणहरू तयार अवस्थामा छन्। २०७८ मंसिर २४ देखि २८ गतेसम्म चलेको १४औं महाधिवेशनकै हाराहारीमा क्रियाशील सदस्य पुग्नुभएको छ। अद्यावधिकमा नआउनुभएका साथीहरू आउनुहुन्छ कि भनेर पर्खेका छौं। सदस्यता व्यवस्थापन समितिले क्रियाशील सूची सभापतिलाई बुझाउने हो। त्यसपछि सभापतिले केन्द्रीय निर्वाचन समितिमा हस्तान्तरण गर्नुहुन्छ।
मलाई लाग्छ, भदौ २४ को वडा अधिवेशन प्रभावित नहुने गरी भदौ १७/१८ मा क्रियाशील सदस्यताको सूची सभापतिलाई बुझाउनेछौं। लगत्तै सभापतिले निर्वाचन समितिलाई हस्तान्तरण गर्नुहुन्छ। यसबीच हामी संवाद र सहमतिको प्रयास गर्छौं र क्रियाशील सदस्यता अद्यावधिक नभएकाहरूलाई अद्यावधिक गर्न भन्छौं र सबै समावेश गरेको सूची बुझाउने तयारीमा हामी छौं।
केन्द्रीय निर्वाचन समितिले अधिवेशन कार्यतालिका प्रकाशित गरिसकेको छ र निर्वाचन अधिकृतहरू खटिने लगायत काम अघि बढेका पनि छन्। यस्तो अवस्थामा पनि सबैलाई समेट्न सकियोस् भनेर हामीले केही समय पर्खने भएका छौं। नवीकरण गरेका तर अद्यावधिक नगरेका साथीहरूलाई छिटो अद्यावधिक गरिदिन अपिल गर्दैछौं।
क्रियाशील अद्यावधिक सूची तयार भइसकेको अवस्थामा भदौ २४ सम्म वडा अधिवेशन किन धकेलियो?
मैले यसबारे अघि पनि चर्चा गरिसकेको छु। हामीले क्रियाशील सदस्यताका कामहरू टुंग्याइसकेका छौं। आमचुनाव सम्पन्न हुनेबित्तिकै हामी नियमित महाधिवेशन गर्न सक्थ्यौं। जसले अहिले क्रियाशील अद्यावधिक गर्नुभएको छैन, उहाँहरूले पुस १० भित्र नवीकरण गरिएका सदस्यहरूबाट अधिवेशन गर्नुपर्छ भनिरहनुभएको थियो। उहाँहरूको माग पनि पूरा हुने र हामीलाई पनि सजिलो हुने अवस्था थियो, नवीकरण गरिएका सदस्यहरूबाटै अधिवेशन गरेको भए। तर हामीले सदस्यता प्रणाली व्यवस्थित गरौं, पार्टीमा संवाद हुने स्थितिलाई सहज बनाऔं र प्राइमरी इलेक्सन गरी उम्मेदवार चयन गर्ने अवस्था बनाऔं भनेर थप विवरणसहित सदस्यहरूको सदस्यता अद्यावधिक गरेका हौं।
अद्यावधिक सुरूमा एक/डेढ लाख जनाजतिले भन्दा गर्दैनन् भन्ने कतिपयलाई लागेको थियो। नवीकरण गरेकामध्ये झन्डै ८५ प्रतिशतले अद्यावधिक गरेको स्थिति छ। त्यसमा नयाँ सदस्यता पनि राम्रो संख्यामा आएको देखिन्छ। समग्रमा हेर्दा १४औं महधिवेशनकै हाराहारी सदस्यता कायम रहने स्थिति छ।
केही हिमाली र केही पहाडी जिल्लाका केही सदस्यहरूको मोबाइल नम्बर नभएको स्थिति हुन सक्छ, नत्र सबैको मोबाइल नम्बरदेखि फोटोसम्मका विवरणहरू पार्टीलाई उपलब्ध छ। योचाहिँ पार्टीलाई डिजिटल नेटवर्क बनाउने ठूलो उपलब्धि हो भन्ने मलाई लागेको छ।
डिजिटल नेटवर्कले प्राइमरी इलेक्सन गराउन यसले ठूलो सहयोग पुर्याउँछ, कार्यान्वयनमा आएपछि धेरैलाई यसबारे जानकारी पनि हुन्छ। क्रियाशील सदस्य को हो र उसले कति योगदान गरेको छ र क्षमता के छ भन्नेबारे पनि अद्यावधिक विवरणबाट थाहा हुन्छ।
अब तपाईंकै प्रश्नमा जाऔं, सदस्यता अद्यावधिक टुंगिसकेको छ। तैपनि वडा अधिवेशन केही पर धकेलिएको हो। सबै तयारी भए पनि भदौ २४ मा गर्ने गरी किन कार्यतालिका ल्याइयो भन्ने प्रश्न छ। यसमा हामीले चाहेको कुरा के हो भने, १५औं महाधिवेशनमा कोही पनि साथी बाहिर नपरूँन् भनेर हो। यो अधिवेशनमा सबैलाई समेट्दै यसलाई एकताको अधिवेशन हुन सकोस् भन्ने हाम्रो चाहना छ। त्यस बमोजिम यो अधिवेशनमा समेटिने अवसर सबैलाई दिनुपर्छ। समेटिन चाहनेहरूलाई समय लम्ब्याएर भए पनि समेट्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो। त्यसैले हामीले अद्यावधिक, नयाँ सदस्यताका लागि पटक पटक समय थप गर्दै आएका थियौं।
अहिले पनि केन्द्रीय महाधिवेशन पहिले नै तोके अनुसार असोज १६ देखि १९ गतेसम्म गर्ने गरी वडा अधिवेशन लम्ब्याएर समेट्न बाँकी रहेकाहरूलाई समेट्न खोजिएको हो। अधिवेशन नगर्ने हाम्रो मनसाय भए त महाधिवेशन मिति पनि सार्ने थियौं। हामीले महाधिवेशन मिति पहिले नै घोषणा गरेर अघि बढेको अवस्था हो भने अदालतको आदेशमा पनि यो कुरा पनि समावेश छ।
वडा अधिवेशनसम्म संस्थापनइतर पक्ष सहमतिमा आउने सम्भावना छ?
यसबीच संवाद हुन्छ र सहमतिको वातावरण बन्छ भन्ने मलाई विश्वास छ। विशेष महाधिवेशनबाट आएका हाम्रो जिम्मेवारी नियमित महाधिवेशन गर्ने पनि हो। त्यस कारण वडा अधिवेशन नै गरिसकेपछि तपाईं आउनुस्, हामी समेट्छौं भन्ने ठाउँ बाँकी रहँदैन। त्यसैले त्यअसघि नै संवाद र सहमति आवश्यक छ। नत्र भने वडा अधिवेशन गरिसकेपछि उहाँहरू त छुटेको छुट्यै हुनुहुन्छ। त्यसैले सकेसम्म नछुटाउन प्रयास गर्छौं। तोकिएको मितिमै केन्द्रीय महधिवेशन गर्न वडा अधिवेशनको मिति अधिकतम लम्ब्याइएको हो। यसबीच सहमति र संवादका लागि समय होस् भन्ने हो। भदौ २४ गतेसम्म वडा अधिवेशन गर्दा समय साँघुरिए पनि अधिवेशनहरू कार्यतालिका अनुसार नै गर्न सकिन्छ।
सहमति भयो भने क्रियाशील अद्यावधिक गर्न फेरि समय दिइन्छ?
नवीकरण गरेर अद्यावधिक नगरिएकाहरू यसबीच अद्यावधिक गर्न आउनुभयो भने हामी अद्यावधिक गर्छौं। नवीकरण रूजु गरेर अद्यावधिकको काम गर्ने हो। त्यसैले म सबै नेता साथीहरूलाई सानेपा आउनुस् भनेर अपिल गर्न चाहन्छु। सानेपा हामी सबैको घर हो। हामीबीच मतभेद र अन्तरविरोध हुन सक्छन् तर त्यही घरमा बसेर छलफल गरौं, बाहिर बसेर घरको र घरभित्रका साथीहरूबीच दूरी कायम नगरौं।
आदरणीय शेरबहादुर देउवा दाइ लगायत सबै आदरणीय नेताहरू सानेपाको घरमा आएर लोकतन्त्र सुदृढ गर्ने काममा लाग्नुपर्छ। लोकतन्त्र कमजोर बनाउन चाहनेहरूले कांग्रेसलाई कमजोर बनाउन खोजिरहेका छन् भन्ने बुझ्नुपर्छ। कांग्रेसलाई टुक्राटुक्रा बनाउने र लोकतन्त्रको रक्षा गर्न नसक्ने स्थितिमा पुर्याउन खोजिएको छ, त्यसलाई चिरेर अघि बढ्नुपर्छ। एकताबद्ध हुनुपर्छ। लोकतन्त्र रक्षाका लागि पनि कांग्रेसलाई हामीले बलियो बनाइराख्नुपर्छ। त्यसैले म सबै नेताहरूलाई सानेपा आउन, सदस्यता अद्यावधिक गर्न र महाधिवेशनमा भाग लिन अपिल गर्दछु।
निवर्तमान सभापति देउवा लगायत संस्थापनइतर पक्षसँग संवाद भइरहेको छ?
हामी संवाद गर्न चाहिरहेका छौं। जतिसक्दो छिटो निवर्तमान सभापति शेरबहादुर देउवासहित नेताहरूलाई भेट्न र कुराकानी गर्न चाहिरहेका छौं। हामी संवाद गर्न उत्सुक छौं र चाहिरहेको स्थिति छ। संवाद गरेपछि सबैलाई समेट्न सकिन्छ भन्ने हामीलाई विश्वास छ। फरक फरक मञ्च बनाएर दूरी बढाउने काम नगरौं, एकै ठाउँमा बसेर छलफल गरे सहमतिको वातावरण बन्न सक्छ। सभापतिजीले पनि संवादको प्रयास गरिराख्नुभएको छ।
संस्थापनइतरको राष्ट्रिय भेला/सम्मेलनले देउवाकै नेतृत्वमा १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ, यसमा तपाईंहरूको भनाइ के छ?
यस्तो हठले त हुँदैन। विधि र विधानले दिएको विषयभित्र बसेर सहमति गर्ने हो। हामीले प्रस्ट भनेका छौं- विशेष महाधिवेशनबाट चयन भएको नेतृत्व कायम रहने गरी सबैलाई सहभागी गराउन चाहन्छौं। अधिवेशनका लागि आवश्यक पर्ने सबै समितिमा निष्पक्षता कायम हुने गरी सहभागी गराउन चाहन्छौं। अधिवेशन निष्पक्ष बनाउन गर्नुपर्ने सबै काम गर्न हामी तयार छौं।
अदालतले निस्सा दिएको अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढाउन मिल्दैन भन्ने संस्थापनइतर पक्षको कुरा छ नि, अदालत जाने पनि तयारी रहेछ। महधिवेशन सर्ने सम्भावना के छ?
हामीले अदालतको आदेशबमोजिम अधिवेशन अधि बढाएको हो। अदालतकै फैसलाभित्र बसेर हामीले महाधिवेशनको मिति सार्वजनिक गरिएको थियो, त्यसलाई कार्यान्वयन गर्न खोजिएको हो। तोकिएको मितिभन्दा पछाडि जान सक्ने स्थिति छैन र अधिवेशन नगर्न हामीलाई सुविधा नै छैन।
अदालतको फैसला र संविधान बमोजिम नयाँ नेतृत्व चयन मंसिरभित्रै प्रक्रिया पूरा गर्नुपर्ने अवस्था छ। नभए हाम्रो पार्टीको वैधानिकता गुम्ने खतरा छ। विशेष महाधिवेशनको म्यान्डेट पनि नियमित महाधिवेशन गर्नु भन्ने हो। यी सबै कारणले हामीले तोकिएको समयभित्र अधिवेशन गर्नेपर्ने हुन्छ।
अदालतले निस्सा दिएको छ तर त्यो पुनरवलोकनका लागि हो। अदालतले अधिवेशन र गतिविधि रोकेको अवस्था होइन। अदालतमा भएका कयौं मुद्दा नटुंगिएको अवस्थामा टुंगिनुभन्दा अगाडि कानुनले के व्यवस्था गरेको छ र जसको पक्षमा फैसला गरेको छ उसले काम गरिरहेको देखिन्छ, त्यसैले हामीले अधिवेशन गराउने दायित्व र जिम्मेवारी सम्झेका छौं।
हामी सबैलाई सँगै लिएर जान तयार छौं। जीवनभर लोकतन्त्रका लागि लड्नुभएका कतिपय नेता छुट्नुभएको छ, उहाँहरूलाई सम्मानजनक ढंगले अधिवेशनमा सहभागी गराउने हाम्रो जिम्मेवारी हो र हामी यसमा सचेत छौं।