केही वर्ष अगाडिसम्म मलाई लेख्न असाध्यै मन पर्थ्यो। मनमा उठेका स–साना भावनाहरूलाई शब्दमा उतारेर हलुका हुन मन पर्थ्यो। दुःख लाग्दा लेख्थेँ, खुसी हुँदा लेख्थेँ, कसैको याद आउँदा लेख्थेँ। तर कसैको आगमनसँगै मैले आफ्ना भावनाहरू व्यक्त गर्नै बिर्सिएछु।
मेरा शब्दहरू उसैसँग बोल्न थाले, मेरा भावनाहरू उसैमा हराउन थाले। त्यसैले जब ‘कृष्ण’ मेरो जिन्दगीबाट जाँदै थिए, उसलाई रोक्न होस् या मनाउन, मैले केही लेख्ने हिम्मत गर्न सकिनँ।
आज फेरि थोरै साहस जुटाएर लेख्दै छु।
यो लेख्नुको अर्थ कृष्णलाई फेरि आफ्नो बनाउन चाहन्छु भन्ने होइन। उसको जीवन खोस्न चाहन्छु भन्ने पनि होइन। केवल मेरो मनमा वर्षौँदेखि थुनिएको एउटा यथार्थलाई कथामा परिणत गरेर जिन्दगीको एउटा पलका रूपमा सुरक्षित राख्न चाहन्छु।
आज लेख्दै गर्दा मेरा यी हात काँपिरहेका छन्। मन फेरि डराइरहेको छ। कतै विगतलाई फेरि सम्झिँदा म त्यही अँध्यारोमा फर्किएँ भने? कतै पुरानो घाउ फेरि बल्झियो भने? कतै मैले उसलाई ‘धोकेबाज’ भनेर लेखेर उसले दिएको प्रेमका सुन्दर क्षणहरूलाई नै अपमान गरेँ भने?
घाउ निको हुँदै गर्दा फेरि त्यही घाउ कोट्याउनु मूर्खता हो। तर केही यथार्थहरू भुल्नका लागि होइन, स्विकार्नका लागि लेखिन्छन्। यो भावना फेरी मन मा रहला नरहला तर यो यथार्थलाई कथामा परिणत गरेर जिन्दगीको एउटा ‘पल’ भनेर याद गर्न चाहन्छु।
***
हाम्रो सम्बन्ध माया र प्रेमभन्दा बढी विश्वासमा टिकेको थियो। उसको एउटा फोनले मेरो दिन बदलिन्थ्यो, उसको एउटा शब्दले मेरो मन शान्त हुन्थ्यो। वर्षौँसम्म हामीले प्रेमका मिठा क्षणहरू सँगै बितायौँ। मलाई लाग्थ्यो, मैले मेरो मान्छे भेटेँ।
तर वर्षौँपछि थाहा भयो— कृष्ण त रुक्मिणीका भइसकेका रहेछन्।
कृष्ण पराई स्त्रीसँग बोल्दा मात्र रुने म, ऊ साँच्चिकै पराईकै हो भन्ने थाहा पाउँदा कस्तो भएँ होला? त्यो क्षण मेरो लागि केवल प्रेम टुटेको क्षण थिएन, विश्वास टुटेको क्षण थियो। मैले वर्षौँसम्म सत्य ठानेर बाँचेको संसार झुटो रहेछ भन्ने थाहा पाउँदा मेरो पूरै संसार उजाडियो।
उसले दिएको मायाको चिनो ‘घडी’ जुन मलाई मन समेत परेको थिएन, तर त्यो घडी फुट्दा त म धरिधरी रोएकी थिएँ, झन् आफूले मन पराएको मान्छेसँग टुटेको मेरो सम्बन्धले कति रुवायो होला?
मलाई लाग्यो, म त्यही क्षण मरेँ। शरीरले मात्र सास फेरिरह्यो।
मैले कृष्णलाई फेरि उसको यथार्थ के हो भनेर सोध्न उचित ठानिनँ। उसले हरेक सेकेन्ड झुट बोलेर यो सम्बन्ध जोगाएको रहेछ भने, अब उसको कुनै सत्यमा विश्वास गर्ने ठाउँ मसँग बाँकी थिएन।
उसकी ‘रुक्मिणी’ जसले मलाई यथार्थ भनिन्। कृष्णले त जहिले छलकपट गरेर त मलाई पाएको रहेछ।
हाम्रो सम्बन्ध झुटबाट सुरु भएर यथार्थ थाहा पाएपछि टुंगिन पुग्यो।
उसकी रुक्मिणी जो उसलाई धेरै माया गर्दी रहेछिन्। आफ्नो सन्तानको लागि आफ्नो दुःख, एक्लोपन लुकाएर हाँस्दै बाँचेकी रहेछिन्।
उनीहरूको विवाह भएको वर्षौँ भएछ। म भन्दा उसको जीवनमा रुक्मिणीले अघि प्रवेश गरेछिन्। म त अर्कैको श्रीमानको प्रेममा पो परेछु। जब त्यस्तो यथार्थ थाहा पाएँ, आफैलाई आफैदेखि घृणा लाग्न थाल्यो।
हामी बिच प्रेमको कुरा उसको परिवारभरि फैलियो। जुन कुराले यस्तो रूप लेला त्यो मैले सोचेको समेत थिएन। मैले त केवल उसको परिवार बारे पहिलो चोटि बुझ्न खोज्दा पो थाहा पाएँ; ऊ त कसैको श्रीमान्, कसैको बाउ हो भन्ने तीतो यथार्थ।
म पनि त उसको जीवनमा रहेको यथार्थ थिएँ। उसको सबै पक्षले थाहा पाउँदा मेरो चरित्रमा औला नउठाई, मलाई गाली नगरी बस्न सक्थे होलान् र?
मलाई सँगै कृष्णलाई जोडेर गालीको बर्सात थियो मेसेजभरि तर मेरो एउटै जवाफ थियो- ‘तपाईंको श्रीमान्, तपाईंको ज्वाइँ, तपाईंको भिनाजु केवल तपाईंकै हुन्।’
तर उसको पक्षबाट कृष्ण र मलाई जे पनि गर्न सकिने धम्की आउन थाल्दा म आफ्नो लागि भन्दा नि मेरो कृष्ण जसलाई ठुलो स्वर समेत मन पर्दैन, उसलाई केही असर पो पर्छ कि भनेर डराएँ। भनेँ- लास्ट टाइम उसलाई मौका दिनुहोस्, केवल उसलाई दुःख नदिनुस्। म ऊबाट धेरै टाढा जाने सर्तमा उनीहरूले मलाई मेसेज धम्की दिन छोडे।
अचम्म के थियो भने, मेरो दुःखको कारण बनेको मान्छेलाई नै म अन्तिमसम्म बचाइरहेकी थिएँ। जसले मलाई धोका दिएको थियो, उसैको खुसीको भिक मागिरहेकी थिएँ। उसले आफ्नो परिवार नगुमाओस् भनेर म आफ्नै प्रेम गुमाउन तयार थिएँ।
तब थाहा पाएँ मैले त कृष्णलाई उसको विगत, वर्तमान, भविष्य केही नहेरी प्रेम गरेछु। सायद केही हेरेको भए उसको सर्वस्व नास गर्ने हिम्मत राख्थेँ म।
तर अचेल मेरो कहानी थाहा पाउनेले ‘कति सह्यौँ होला, तिमीमा कहाँबाट आयो यस्तो हिम्मत?’ भन्छन्। तर मेरो एउटै हिम्मत हुन् मेरी आमाका ती शब्द। जुन शब्द सधैँ मेरो दाइलाई लक्षित हुन्थे।
उहाँ सधैँ भन्नुहुन्थ्यो- ‘कुनै नारीको आँखाको आँसु नबन है बाबु।’ तर म एउटा नारी नै भएर एउटा नारीको आँसुको कारण कसरी बन्न सक्थेँ!
म त्यो नारी जो समाजको बन्धनमा बाँधिएकी छिन्, त्यो सन्तान जसले आफ्नो बुबालाई सुपरम्यानको संज्ञा दिन्छ, मैले केवल उनीहरूको संसार जोगाउन मेरो कृष्णलाई बिर्सिने निर्णय गर्न पुगेँ।
तर सबैभन्दा ठुलो पीडा के थियो भने, जसका लागि मैले आफ्नो संसार छोडेँ, उसले एकपटक पनि मेरो हालत सोधेन। उसले मलाई कति गाह्रो भएको होला भनेर बुझ्न खोजेन। उसलाई थाहा थियो— म उसलाई आफूलाई भन्दा बढी प्रेम गर्छु। तर ऊ मौन रह्यो। तब थाहा पाएँ श्रीमती ‘श्रीमती’ नै हो, परिवार टुक्रेको को नै हेर्न सक्छ र?
उसले एकचोटि पनि भगवान् श्री कृष्णले जसरी आफ्नी राधाको साथ दिन खोजेनन्। उसले मलाई मर्न छोडिदियो तर उसलाई राम्रोसँग थाहा थियो कि ऊ भएन भने म जिउँदै मरितुल्य हुन्छु भनेर।
तर उसले बारबार झुट बोल्दै मलाई लुट्दै गएछ। म उसको झुटमा संसारकी सबैभन्दा भाग्यमानी प्रेमिका सोच्दै गएकी थिएँ।
म अझै पनि उसलाई याद गर्दिनँ कसरी भन्नु, सासै फेर्दिनँ भनेर ढाटे जस्तो हुन्छ।
हुन् त ऊ अझै मेरो मनमा मेरो कृष्णको प्रतिबिम्ब बनेर बसेको छ। म ऊसँग घण्टौँ मनमा नै कुरा गर्छु। हरेक राति सपनीमा ऊसँग तितामिठा कुरा गर्छु, आफ्नो गुनासा पोख्छु। ऊ मसँग छैन बिहान निद्रा खुल्ने बित्तिकै थाह हुन्छ तर उसको आत्मा मसँगै हुन्छ।
राधा-कृष्ण जस्तै हामी पनि कहिले अलग भएनौँ जस्तो लाग्छ किनकि हाम्रो प्रेम आत्माको मिलन थियो, शरीरको थिएन। थाहा छ उसलाई पनि त गाह्रो भएको होला, उसले पनि त मेरो जस्तै महसुस गर्छ होला। हुन त हामी दुई टाढा छौँ तर उसलाई दुख भएको म यता महसुस गर्न सक्छु।
भनिन्छ विधिको विधानलाई कसले पो टार्न सक्छ र? भगवान् श्री कृष्णको पनि चाहना त राधा थिइन् तर उनी रुक्मिणीका बन्न पुगे।
मान्छेहरू भन्छन्— ‘अब अघि बढ, फेरि कसैलाई प्रेम गर।’
तर कसरी बुझाऊँ? मैले उसलाई वाचा गरेकी थिएँ— ऊ नै मेरो अन्तिम प्रेम हो भनेर। हुन त प्रेम कसैले पाउँछन् कसैले गुमाउँछन्, तर मैले उसलाई अर्को जुनी मेरै बनाउने सर्तमा आजाद गरेकी छु।
कृष्ण रुक्मिणीका हुन् भन्ने थाहा हुँदाहुँदै पनि उसलाई मनमा राख्नु उसको संसार खोस्नु होइन। उसलाई सम्झिनु भनेको उसलाई आफ्नो बनाउन खोज्नु होइन। कहिलेकाहीँ प्रेम भनेको पाउनु होइन, छोड्नु पनि हो। कहिलेकाहीँ प्रेम भनेको आफ्नो संसार भत्काएर पनि उसको संसार जोगाइदिनु हो।
मेरो यो यथार्थ धेरैलाई मजाक लाग्न सक्छ तर कसैमाथि लागेको प्रेमको लगाव मजाक पनि त नहुँदो रहेछ, दुनियाँ उजाडिँदो रहेछ त्यो एउटा व्यक्तिलाई भुलाउन, जुन आज म महसुस गर्दै छु।
कृष्णको पो बाध्यताहरू छन्, उसले पो मलाई अँगाल्न सक्दैन, स्विकार्न मिल्दैन, म त जिन्दगीभर उसले केही क्षण गरेको प्रेमको नाममा पनि त जिन्दगी बिताउन सक्छु।
मेरो जिन्दगीका दुई/तीन वर्ष केवल उसले मेरो मैले उसको लागि बाँचेका थियौँ। दुई/तीन वर्षको उसको साथ मेरो लागि जिन्दगी भर पुग्ने याद बनेका छन्। उसले दिएका हरेक मायाको चिनो जुन मेरो साथमा रहने साथी बनेका छन्।
उसले दिएको पहिलो गुलाफको फूल जुन आज पनि मैले त्यस्तै मायाले सजाएकी छु।
भनिन्छ, भेट्नुको केही रहस्य हुन्छ रे। मलाई ऊसँग भेटेको रहस्य खोज्नु छ। आखिर किन भेटियौँ छुट्टिनु नै थियो भने? प्रेम किन ऊसँग मात्र भयो, यदि ऊ अर्केको थियौ भने?
हुन त गुनासा यति धेरै छन् कि, किन म मात्र उसको मन पर्ने खेलौना बन्न पुगे? किन मलाई अँध्यारोमा राख्यो? किन मलाई यत्रो ठुलो धोका दियो?
तर हेर न मलाई, म त उसलाई अझै केही गर्न सक्दिनँ, उसलाई दुख दिनु भनेको नै मलाई दुख्नु भन्दा बढी दर्दनाक छ।
हुन त भनिन्छ, विवाहितसँग त्यसै प्रेम हुँदैन, जुन पूर्वजन्ममा अधुरो भएको प्रेम हुन्छ, त्यो पूरा हुनका लागि फेरि प्रेम भएको पनि हुन् सक्छ रे। तर मेरो त यो जुनीमा पनि मेरो प्रेम राधा-कृष्ण जस्तै अधुरै रहने भयो।
राधा-कृष्ण जसले एकअर्काको साथ कहिले छोडेनन्, जसले समाजको बन्धनलाई मानेनन्, उनीसँग कलियुगको ‘कृष्ण’को तुलना पनि त गर्न मिल्दैन।
मेरो कृष्ण जसलाई समाजको डर थियो, जसलाई इज्जत प्रतिष्ठामा लाग्ने दागको डर थियो, त्यो मान्छेले कसरी यस्तो धोका दिन सक्यो?
तर मलाई थाहा छ मेरो कृष्ण जसले मलाई आफूलाई भन्दा बढी माया गर्छ, ऊ हरपल मेरो यादमा तड्पिन्छ। तर ऊसँग आफ्नै बाध्यता छ।
तर कता-कता डराउँछु, जसले मलाई आफ्नो मुटुमा सजायको छ उसले अरू कसैलाई पो सजाउन पुग्छ कि?
म जस्तै अर्की महिला फेरि राधा पो बन्न पुग्छिन् कि?
उसको जीवनमा एउटा तिर रुक्मिणी छिन्, जसलाई उसले सम्हाल्नु पर्छ, जीवन दिनुपर्छ, अर्को तिर म राधा जस्तै बनेकी उसकी प्रेमिका।
उसले मेरो लागि केही गर्नु पर्दैन, बस् यति चाहन्छु कि म गएपछि उसको जीवनमा कोही नारीको प्रवेश भएको नहोस्। नत्र मेरो ऊप्रतिको विश्वास, प्रेम, मेरो अर्को जुनीसम्मको प्रतीक्षा खेर जानेछ।
अर्को जुनी त कसैले देखेको छैन, यदि अर्को जुनी हुन्छ भने तिमी केवल मेरो भएर आऊ, केवल मेरो। अर्को जुनी हतार नगरी पर्खिनु है मलाई। म ढिला आएछु भने पनि!