हामीले हिमाललाई आकाशमा उचालेर
मूलबाटोमै देश बिर्सियौँ
नक्साभरि छाती चिरेर बगे नदीहरू
तर मानिसका आँखाभित्रको खडेरी
कसैले सोधेन।
सहरले काँचका झ्यालमा
उधारो बिहान टाँस्यो,
गाउँ,
बूढो आँगनमा
निभ्दो साँझ कुरिरह्यो।
अनि एउटा सिङ्गो पुस्ता
आफ्नो भोलिलाई पासपोर्टमा खुम्च्याएर
सपनाको मलामी गयो।
हामी भने
समृद्धिको झुटो उज्यालोमा
आफ्नै छाया खोज्दै
भौँतारिइरह्यौँ।
भित्तामा झुन्ड्याइएको एउटा ऐना,
जहाँ देशको नाम कुँदिएको थियो।
जति नजिक पुगेँ
उति स्पष्ट देखेँ
त्यहाँ हिमाल होइन,
हिमालको भारले थिचिएको
थाकेको मानिस थियो।
नदी होइन,
नदीझैँ बगेका तर विदीर्ण सपना,
विकास होइन,
उराठ प्रतीक्षा मात्र थियो।
त्यहाँ गहिरो गरी गाडिएको,
जुगौँदेखि लुकाइएको
एउटा प्रश्न थियो।
हामीले सिपालु भएर सिक्यौँ
दुःखलाई नक्कली मुस्कानले छोप्न,
अभावलाई चर्को नाराले ढाक्न,
विद्रोहलाई शक्तिले थिच्न,
भोलिलाई
अर्को आवधिक भ्रमसम्म घिसार्न।
तर,
मौन नदीको पिँधमा
ढुङ्गाहरू बोलिरहेका थिए;
त्यस दिन ऐनाले सोध्यो
‘तिमीलाई भित्री सद्भाव चाहिएको हो,
कि सबैको आवाज रेटेर कोरिएको शान्ति?’
मसँग उत्तर थिएन!
बल्ल बोध भयो
देश भत्किनु भनेको
सडक फुट्नु मात्र होइन,
सत्य बोल्न डराउनु पनि
भत्किएको बाटो हो।
समृद्धि
अग्ला महल ठडिनु मात्र होइन,
निधारबाट भोलिको चिन्ता
अलिकति हलुका हुनु हो।
मैले त्यो ऐना हटाइनँ,
मूलढोकामा टाँगेर छोडिदिएँ
ताकि भित्र पस्नेले
पहिले आफ्नै अनुहारसँग
सामना गरोस्।
किनकि
हिमाल बाहिर जतिसुकै चम्कियोस्,
देशको उचाइ
नयाँ भूगोल बनेर होइन,
आफ्नै ऐनामा उभिएर
आफूलाई चिनेका दिन
स्वतः बदलिन थाल्छ।