तिमी व्यर्थै नरोऊ
रोएर दुःख मेटिँदैन
ऐश्वर्य लुट्नेहरू
तिम्रो भाग्य लुटी रहेछन् (यदि भाग्य हुन्छ भने)
तिमी भाग्यलाई दोष दिएर
जीवनबाट उम्कन पाउँदैनौ
भाग्यवादलाई सिरानी हालेर
तिमी मसमसी निदाउन हुन्न
तिमीसँग क्रान्तिको विकल्प छैन
गुमेको ऐश्वर्य भित्र्याउनलाई
ऐश्वर्य लुट्नेहरू पराजित हुनेछन्
एकताका हातहरू जुटेपछि।
म फ्रस्टेड थिएँ जिन्दगीप्रति
जसरी तिमी फ्रस्टेड छौ
तिमी फ्रस्टेड बन्ने नै भयौ
जीवनको परिभाषा नबुझेपछि।
तिमीले लड्नै छ न्यायको लडाइँ
गाउँ नै छ समानताको गीत
तोड्नै छ दासताको पर्खाल
पुर्नै छ अभावको खाडल
खन्नै छ संघर्षको मूल बाटो
तिमी क्रान्ति नायक बन्ने या नबन्ने?
तिम्रो हातमा संसार नचाउने या ननचाउने?
तिमी सारथि बन्ने या नबन्ने
क्रान्तिको रथ सही दिशामा गुडाउने।
तिमी भाग्न हुन्न
आँधी बेहरी आए पनि
तिमीसँग चट्टानी छाती होला
शत्रुको गोली फर्काउने
तिम्रो जिन्दगी अर्थहीन दस्ताबेज नहोला
आफ्नै पहिचान गुमाउने
जिन्दगी सुकोमल फूल हो
फूल जस्तै हाँसोस् जिन्दगी
तिमी फूललाई प्रेम गर
तिम्रो जीवन उद्दीप्त बनाउनलाई।
मैले हारेको युद्ध जितेको छु
जसरी तिमी जित्ने छौ युद्ध
तिम्रो हातको नरिवल खोसेर
बंकरहरू जङ्गल पस्छन्
तिमीमा अचानक ऊर्जा भरिन्छ
तिमी खोसिएको नरिवल फिर्ता गर्न
प्रतिशोधका करौँती बोकी
बंकरको पिछा गर्दै
नरिवल खोस्न सफल बन्छौ
बंकरहरू मूकदर्शक बन्छन्।
तिमी बजाउने छौ विजयको नरसिंहा
म हर्षले नाच्ने छु
अनि दुखियाहरू पनि नाच्नेछन्
जीवनको दुःख बिसाउँदै।