आज बिहानै उठेँ
बार्दलीबाट आकाश हेरेँ
कस्तो निर्मल!
निलो रङको बिचबिचमा
सेता-सेता बादलहरू।
जुत्ता कसेँ
सडकमा निस्किएँ
धुलोरहित शीतल हावा स्पर्श गरेँ
दिउँसो नदेखिने
पारि-पारि डाँडाका सिलौटाहरू
स्पष्ट देखेँ।
हिँड्दै गर्दा
बिस्तारै सार्वजनिक सवारीसाधनहरू
व्यक्तिगत सवारीसाधनहरू देखिन थाले
पानीका ट्याङ्करहरूले ठक्करै देला कि जसरी
कुदाएको देख्दा डर पो लाग्यो
छुट्टै फुटपाथ थिएन
डराई-डराई किनारमा
मनमनै खुम्चिएर हिँडेँ।
राति पानी परेकोले होला
सबै-सबै सफा देखिइरहेका थिए
सडक रातिको पानीले भिजेको थियो
एक्कासि एउटा कारको टायर
सडकको खाल्डोमा
जमेको बलौटे पानीमा परेछ
छप्ल्याङ्ङ गर्दै छिटाहरूले छ्याप्यो मलाई
अनि त्यो कार
हेर्दै नहेरी हुइँकियो, बिलायो।
पूर्वतिर सूर्य उदाउँदै रहेछ
रक्ताम्मे थियो पूर्व
खाली क्यानभासमा रातो रङले छ्यापेजस्तै
चोक पो आइपुगेछ!
सवारीसाधनहरूको भिड
ट्राफिक एक जना
हातको इशाराले
जाऊ-आऊ गर्दै थियो
मुख्य चोक थियो
ट्राफिक लाइटको कल्पना गर्दै
बाटो काटेँ।
मूलबाटो छोडी
फेरि भित्री बाटो हानिएँ
बाटो साँघुरो थियो
ट्राफिक जाम पाएँ
यसो हेरेँ
एक ठाउँमा बिजुलीको पोल
सडकभित्रै पर्ने गरी गाडिएको रहेछ
पोलले पो सडक साँघुरिएको रहेछ।
आखिर सूर्य उदायो
धेरै दिनपछि सूर्यको पहिलो किरणले
मलाई छोएको थियो
अनौठो ऊर्जा दिइरहेको थियो
खै! किन पो हो आज
अझै हिँड्न मन लागेको थियो
हिँडिरहेँ।
मन्दिर आयो
धूपको मीठो सुगन्ध
घण्टी बजेको आवाजले
मन शान्त भयो।
घर फर्किँदै गर्दा
ग्यास पसलमा लाइन देखेँ
ओहो!
एकाबिहानै ग्यासको लाइन।
घामको किरण बिस्तारै चर्किँदै थियो
घर आइपुगेँ
बिजुली गएको रहेछ
एकैछिनमा आयो
टिभी खोलेँ
नेपाली समाचारको च्यानलमा
एकजना सत्ताधारी नेताज्यूको
अन्तरवार्ता आइरहेको रहेछ
‘परिवर्तन’ का कुरा गर्दै रहेछन्
उनी भन्दै थिए—
सबै परिवर्तन भइसक्यो
सत्ता, नीति, नियम, कानुन,
विधि, वादहरू, सिद्धान्तहरू,
गर्ने शैली, गर्ने मानिसहरू
सबै!
टिभी निभाइदिएँ
बाथरुम गएँ
बाटोमा छ्यापिएर
मैलो भएको मेरो कपडा धुन थालेँ
छतमा गएर सुकाएँ
आकाश हेरेँ
अझै सुन्दर, निर्मल।
निलो रङको बिच-बिचमा
सेता-सेता बादलहरू
अझै पनि उस्तै थिए।
त्यसै बिचमा
बिहान नदेखेका
दुई-चार थान पक्षीहरू
आफ्नो उडान भरिरहेका थिए।