सत्य हुनु भनेको हाम्रो
लागि अभिसाप हुनु हो
बाले ढाँटेको
त्यो हाम्रो नामको
लालपुर्जा,
पहिलै मुखियाको नाममा रहेछ
यो सहन नसकिने सत्य हो।
हामीले लगाएका नयाँ सालको नयाँ लुगा
माइकलको रहेछन्,
यो तितो पर्सनालिटी हो
हाम्रो गाउँमा
घरहरू
ढुङ्गा इँटाले होइन,
साहुको किर्ते हस्ताक्षरले बनेका छन्।
छानामाथि टिन त देखिन्छ
तर भित्र
ब्याजको वर्षा चुहिरहेछन्।
यहाँ
खुसीहरू पनि स्वतन्त्र छैनन्,
ती त साहुको खातामा राखिएका
बन्दकी सपनाहरू हुन्
कर्जा हुन्।
बाको काँधमा
हलभन्दा भारी साहुको
किस्ताको तमसुक छ
उहाँ खेत जोत्नुभन्दा बढी
समयसँग हारिरहेका छन्।
आमाले
जीवनभर आफ्नो भोक लुकाइन्
पानीले भोक भरेर रातहरूमा पनि
हामीलाई पेटभर खुवाइन्।
तर उनको चाउरी परेको हातमा फुस्रा केसहरूमा
मेलापातको मात्र होइन,
आफ्नै इच्छा सपनाहरू गाडेर बाँच्नु परेको
सम्झौताको बलियो तमसुक देखिन्छ।
दाइका आँखामा
अझै पनि एउटा स्कुल बाँकी छ
उसले किताबभन्दा पहिले
घरको जिम्मेवारी पढ्नुपर्यो
उसको अधुरो पढाइ
कुनै पानामा होइन,
घरको गरिबीमा लेखिएको
तमसुक थियो।
दिदी हाँस्छिन्
तर बाको अनुहार देखेर मात्रै
किनकि हाम्रो समाजमा
छोरीहरू जन्मिनासाथ
उनीहरूको नामसँगै
दाइजोको महँगो तमसुक पनि लेखिन्छ।
र म
म गाउँ छोड्न नचाहने मान्छे
सपनाको फूल यही फुलाउन चाहने
तर यहाँ
रहरले होइन,
अभावले बाटो तय गर्छ।
त्यसैले
एक दिन म पनि
आफ्नो गाउँको धुलो झार्दै
सहरतिर हिँडेँ,
जसरी हजारौँ युवाहरू
सपनाभन्दा बढी
ऋण तिर्न बिदेसिन्छन्।
हाम्रो गाउँमा
युवाहरू छैनन्, नयाँ सोचहरू छैनन्
धेरै मान्छेहरू
बाँचिरहेका छैनन्
केवल
तमसुकको म्याद थपिरहेका छन्।