मेरै बिस्तराको एक छेउमा, मेरै आड लागेर उनी निदाइरहेकी रहिछन्।
म बिस्तारै उठेँ। उनलाई बिस्तारामा सजिलो हुने गरी मिलाएर सुताएँ। च्यादर ओढाइदिएँ। आफूचाहिँ झुलसमेत नलगाई सुतेको रहेछु। झुल लगाएपछि चुपचाप कोठाबाट बाहिर निस्किएँ।
मनमनै सोचेँ— ‘अब उनी उठेपछि उनको मनमा अवश्य मेरो विश्वासको आभा छरिनेछ।’
यस्तै मिठा कल्पनाका लड्डु फुटाउँदै के हिँडेको थिएँ, निद्राबाट झल्याँस्स ब्युँझिएँ। आँखा खोलेँ।
कोठा उही। बिस्तारा उही तर उनी थिइनन्।
‘ह्या! सपना पो रहेछ!’
एकछिन पछुतो लाग्यो— सपनामै भए पनि सँगै सुतेको देखेको भए हुने नि! के हुन्थ्यो र!
सुतेको सिरानी उल्टो पारेँ र फेरि निदाउने असफल प्रयास गरेँ। निद्रा भने फर्केर आएन।
मोबाइल निकालेँ। उनी मेरी फेसबुक साथी पनि थिइनन्। इन्स्टाग्राममा पनि फलो गरिरहेकी थिइनँ। तैपनि उनको तस्बिर खोजेँ, भेटियो।
एकाएक उनी मलाई असाध्यै राम्री लागिन्।
फेसबुकमा ‘एड फ्रेन्ड’ थिचिहालूँ जस्तो आत्मविश्वास आयो। फेरि आफैँलाई सम्झाएँ— ‘हैन, हतार नगर्। सपनामा देख्दैमा मान्छे आफ्नो हुँदैन।’
मोबाइल सिरानीमुनि राखेँ। तर मनमा भने उनी सिरानीमाथि नै बसिरहिन्। त्यो रात उनी सपनामा आएकी थिइन्। ब्युँझिएपछि दिलमा। अब उनी सपनामै सीमित रहिनन्।
मेरै दिनचर्याको एउटा अनिवार्य हिस्सा बनिन्।
उनी म बस्नेतिरै बस्थिन्। बाटोमा आवतजावत गर्दा उनलाई देखिरहन्थेँ। मैले उनलाई हेर्थेँ, उनले मलाई हेर्थिन् कि हेर्दिन थिइन्— त्यो चाहिँ मलाई थाहा थिएन। उनको नामसम्म चाहिँ मेरो टोलकै एक भाइबाट थाहा पाएको थिएँ।
सपना। नाम पनि कस्तो सुहाउने! सोच्थेँ— ‘यत्तिको केटीसँग डेट चाहिँ गर्न सकिन्छ।’
तर उनलाई आफ्नी मायालु बनाएर जिन्दगी बिताउने कल्पना भने अहिलेसम्म गरेको थिइनँ। कम्तीमा त्यो बिहानसम्म।
उज्यालो हुँदै थियो। मेरो कामको पालो बिहान ६ बजेबाट सुरु हुन्थ्यो। बाइक हुइँक्याउँदै कार्यक्षेत्रतर्फ जाँदै थिएँ। कोही प्रभात भ्रमणमा थिए, कोही कलेज जाने ठिटाठिटी, कोही मजस्तै ड्युटीमा।
भित्री सडकबाट मूल सडकमा निस्कँदा बाटोमा हिँडिरहेका मानिसहरू बाइकतिर हेर्थे। उनीहरू ‘रोक्नुस्’ भन्न सक्दैनथे। म ‘चढ्नुस्’ भन्न सक्दिनथेँ। त्यो दिन पनि एउटी ठिटीले मतिर हेरेजस्तो लाग्यो। सधैँझैँ म अगाडि बढेँ। केही पर पुगेपछि बाइकको लुकिङ ग्लासबाट पछाडि हेरेँ। मेरो नजर उनकै अनुहारमा गएर अडियो।
सपना! एकछिन बाइक रोकूँ जस्तो लाग्यो। ‘लिफ्ट दिऊँ?’
मनले भन्यो— ‘दे!’ दिमागले भन्यो— ‘पागल नबन्!’
बाइक सरासर अगाडि बढ्यो। तर मन? मन त पछाडि नै रोकियो।
म एउटा केटो थिएँ। एउटी केटीलाई स्मृतिमा सजाउन अब यति भएपछि अरू के बहाना चाहिन्थ्यो र?
राति आफ्नै बिस्तारामा सपनामा देखेँ। बिहानको पहिलो प्रहरमै फेरि उनैलाई देखेँ। मनले तुरुन्तै फैसला गर्यो— ‘आहा! मेरो लागि यही केटी नै लेखेको हुनुपर्छ।’
त्यसपछि त के थियो! साथीहरूलाई गफ लगाउन थालियो। जे भएको थियो, त्यसमा दुई चम्चा मसला थपियो। साथीहरू पनि के कम?
‘भाउजू पक्का!’
‘अब त प्रस्ताव हान्!’
‘ढिला गरिस् भने अर्कोले उडाउँछ!’
बोकाहरूले मसला पाए। मैले आत्मविश्वास पाएँ।
एकैदिनमा म प्रेमको यस्तो गहिराइमा पुगिसकेको थिएँ, जहाँबाट फर्किन पनि बाटो देखिन छाडेको थियो। आजको दिन उनकै नाममा समर्पित भयो।
ड्युटीबाट बेलुका घर फर्किएँ। मन मुजुरको पुच्छरजस्तै फिँजिएको थियो। मोबाइल निकालेँ। फेरि फेसबुक, इन्स्टाग्राम।
फेरि उनकै तस्बिर। तस्बिर जुम गरी गरी हेरेँ।
अझ राम्रो लाग्यो। यति राम्रो कि फोटो हेरेरै चुम्बन गरिदिएँ।
दिउँसो साथीहरूले भनेका कुरा सम्झिएँ। बिहान बाटोमा उनलाई देखेको कुरा सम्झिएँ। अनि त्यो सपना सम्झिएँ। इन्स्टाग्राममा फलो गर्न खोजेँ। प्राइभेट अकाउन्ट रहेछ।
फेसबुकमा ‘एड फ्रेन्ड’ को बटनसम्म पुगेँ। औँला बटनमाथि पुग्यो। तर थिचिएन।
मनले भन्यो— ‘तातै खाऊँ, जली मरूँ? प्रतीक्षाको फल मिठो हुन्छ।’
त्यस दिन आफूमा आएको परिवर्तन देखेर आफैँलाई ताजुब लागिरहेको थियो। ल्यापटप खोलेँ। कार्यालयको काम गर्न बसेँ। लगभग एक घण्टा काम गरेँ होला। त्यसै बेला दिउँसोका साथीमध्ये एकले फोन गर्यो।
‘के छ हो तेरो मैयाको खबर?’
एकछिनका लागि बिर्सेको थिएँ। मुर्दारले सम्झाइहाल्यो। फेरि उनी मनमा आइन्। उसलाई के थाहा— उसले फोन गरेको थिएन, मेरो प्रेमको ‘रिमाइन्डर’ थिचेको थियो। भोलिपल्ट काममा हिँडेँ। आँखा बाटोको छेउछाउ दौडिए।
‘आज भेटिन्छिन् कि?’ भेटिइनन्। दिन अलिक खल्लो भयो। भोलिपल्ट पनि भेटिइनन्। साथीहरूले जिस्काए— ‘तँ सक्दैनस् प्रस्ताव गर्न भने भन्। तेरो लागि अपहरण गरेरै भए पनि हाम्री भाउजूलाई तेरो अगाडि हाजिर गराउँछौँ।’
हाउडेहरू! गर्न त के गर्थे कुन्नि, मुखले चाहिँ बाघै मारिदिन्थे।
एक दिन बेलुका कामबाट फर्किँदै गर्दा उनी फेरि देखिइन्। बन्द हुन लागेको मोबाइल फुल चार्ज भएजस्तै मन चार्ज भयो।
उनले मलाई हेरिन् कि हेरिनन्— थाहा छैन। तर मैले उनलाई देखेँ। त्यति नै काफी थियो। घर पुगेँ। फेरि उनको फोटो। फेरि कल्पना। फेरि मुस्कान। अब त जति हे-यो, उति राम्रो लाग्न थाल्यो।
तर एउटा कुरा मनमा चिसो भएर बस्न थालेको थियो— चिनजान केही छैन। कुरा केही भएको छैन। तर मन यति धेरै किन फसेको?
आफैँलाई सम्झाएँ— ‘शारीरिक आकर्षण होला। राम्री केटी देखेपछि हल्का फिलिङ्स त आइहाल्छ नि।’
बिर्सन खोजेँ। केही हदसम्म बिर्सिएँ पनि। तर प्रेम भन्ने चिजलाई ‘डिलिट’ गर्न मिल्ने भए संसारमा यति धेरै कवि किन जन्मिन्थे र?
शनिबार थियो। ढिला उठेँ। शनिबारको दिन प्रायः खसीको मासु खाइन्थ्यो। ताजा मासु लिन नजिकैको मासु पसलमा पुगेँ।
पसलेसँग मासुको कुरा गर्दै थिएँ। त्यसै बेला पछाडिबाट एउटा सुरिलो आवाज आयो— ‘साहुजी, एक केजी खसीको मासु दिनू न।’
आवाज सुन्नासाथ किन हो कुन्नि, मेरो मुटुले एक धक्का खायो। पछाडि फर्किएँ।
उनी! सपना!
मेरो अनुहार रातो भयो। बोल्न खोजेँ। आवाज निस्किएन। उनले मलाई चिनेकी थिइन् कि थिइनन्— त्यो पनि थाहा भएन।
तर मैले उनलाई प्यारले निहारेँ। यति भएपछि बिर्सने वातावरण नै कहाँ बन्यो र! घर पुगेपछि एउटा हाउडे साथीलाई फोन गरेँ।
‘ओइ! आज ठुलो कुरा भयो।’
‘के भयो?’
‘सपनालाई मासु पसलमा भेटेँ।’
‘अनि?’
‘अनि के?’
‘फोन नम्बर लिइस्?’
म चुप।
‘लिइनस्?’
‘अहँ।’
ऊ एकछिन मौन भयो त्यसपछि बोल्यो— ‘काम छैन मुला तेरो! त्यत्रो अवसर मिल्दा एउटा फोन नम्बरसम्म माग्न नसक्नेले पछि बिहेको बेला हात के माग्लास्?’
उसको कुराले मलाई एकछिन हीनताबोध भयो।
उसको ‘लिइनस्’ ले मेरो आत्मविश्वासमा पानी खन्याइदियो।
तर मनमनै कसम खाएँ— ‘अब अर्को अवसर मिल्यो भने फोन नम्बर होइन, सिधै ‘आई लभ यु’ हान्दिन्छु।’
प्रेममा आत्मविश्वास पनि कस्तो अचम्मको हुँदो रहेछ! अवसर नआउँदा संसार जितिन्छ। अवसर आउँदा एउटा ‘नमस्ते’ समेत निस्कँदैन।
सपनालाई मासु पसलमा भेटेदेखि फेरि निद्रा हरायो। फेसबुकबाटै कुरा गर्ने कि जस्तो लाग्यो।
‘होइन, केही एड्भेन्चरस हुनै पर्छ।’
सायद केही साउथ इन्डियन फिल्मको प्रभाव पनि थियो।
मनले भन्यो— ‘मायाको बीउ सपनामा रोपियो, अब फलाउन त भेटेरै पानी हाल्नुपर्छ।’
दिनहरू उनकै सम्झना र कल्पनामा बित्दै थिए। एक दिन कामबाट फर्किने बेलामा फेरि उनलाई देखेँ। तर यस पटक उनी एक्लै थिइनन्। उनीसँग एउटा सानो बालक थियो।
पहिला सोचेँ— भदा होला। भाइ होला। कुनै आफन्त होला। आफैँलाई आश्वस्त पार्दै अगाडि बढेँ।
त्यसै बेला त्यो बालकले उनको हात तान्दै भन्यो— ‘मम्मी, एउटा चकलेट किनिदिनू न।’
बस! त्यो एउटा शब्दले मेरो सम्पूर्ण प्रेमकथा त्यहीँ सडकको छेउमा दुर्घटनाग्रस्त भयो। भुइँचालोले धर्ती भासिएजस्तो भयो।
पहाड आएर थिचेजस्तो भयो। तासको घर गर्ल्यामगुर्लुम ढलेजस्तो भयो। मैले सपनासँग बुनेका सबै कल्पनाका धागाहरू एकैचोटि चुँडिए।
म केही बेर त्यहीँ उभिइरहेँ।
बालकले फेरि ‘मम्मी...’ भन्यो।
यस पटक त्यो शब्दले मेरो बाँकी आशा पनि लगेर गयो। घर फर्किएँ। मोबाइल खोलेँ। उनको फोटो स्क्रिनमा आयो।
पहिले जस्तो लागेन।
अचम्म! जुन अनुहारमा केही दिनअघि संसारकै सुन्दरता देख्थेँ, आज त्यही अनुहारमा एउटा फरक कथा देखियो।
त्यो रात निद्रा देवीले पनि मलाई बेवास्ता गरिन्। तर मनले एउटा कुरा भने मान्न छाडेन— सपनाकी सपना त मेरी हुन सकिनन्।
तर उनलाई सपनामा देखेको त्यो पहिलो रात? त्यो सपना त मेरै थियो। त्यसैले अब फेरि त्यही सपनाको प्रतीक्षामा छु।
अनि निद्राबाट ब्युँझिएपछि आफैँलाई सम्झाउनेछु— ‘हुमाकान्त, सपना देख्न पैसा पर्दैन। तर सपनालाई सत्य ठान्न चाहिँ कहिलेकाहीँ निकै महँगो पर्छ।’
अनि मनमनै फेरि सोच्नेछु— सपनाकी सपना सपनामै राम्री।
अब त बस, त्यही सपना देख्ने गरी निदाउन पो कहिले सकिने हो कुन्नि!