फूलले, कहिल्यै माग्दैन रसको हिसाब– माहुरीसँग
न माग्छ माहुरीले कर्मको मोल– मानिससँग
राख्दैन गौँथली प्रत्येक चुच्चो चारोको मोल– बचेराहरूसँग
बिछ्याउँदैन मातृत्व जाल
गगन चुम्न पुग्ने प्वाँखहरू विरुद्ध
हिउँदमा, गर्भ भित्रै लुकाई राख्छ बीज– सयपत्री
जाडोमा, नेपालसम्मै बसाइँ सर्छन्–
साइबेरियन चराहरू
नगरी उजुरी ठन्डी विरुद्ध
धर्तीले पोख्दैन रिस वर्षासँग
न लेख्छ बिछोडको कविता किनाराले नदीलाई
धुवाँ, उसलाई छैन पुग्नु कतै पनि
न छ बिलाइजाने चिन्ता आकाशमा
अस्तित्वको युद्ध कहिल्यै लड्दैन नदी
सम्मिलित हुँदा सागरसँग
छेक्दैन क्षितिजले साँझपख
डुब्दै गरेको घामको बाटो
खुसी नै छन् मयुरहरू
नदेख्दा पनि कसैले उनका नृत्य
फक्रिन्छ नै ब्लू पप्पी
नदेख्दा पनि कसैले उसको सौन्दर्य
रमाउँदै झर्छ, सगरमाथाकै शिरदेखि
खोल्साहरूको बाटो हुँदै हिउँ
कुरी बस्छ पैदलयात्रामा शीतको थोपा
प्रातः कोसेली बोकी आउने घामको किरण
ओढ्दैन घुम्टो कुरूपताको काँडा
उभिँदै गर्दा गुलाबसँग
गाँस्दैन मितेरी दीपक
लक्ष्मीपूजाको निस्पट्ट अँध्यारोसँग
माग्दैन दक्षिणा तिहारमा
दीर्घायुको कामना गरिदिएकोमा मखमली
जान्न भन्दैन पूजाचौकादेखि रछानसम्म जमरा,
सबेरै टीकाको भोलिपल्ट
मान्छे!
ए मान्छे!
किन सक्दैनौ नाच्न तिमी मात्रै हँ
लयमा प्रकृतिको?