त्यो टोलीकी प्रमुख पात्र थिइन् ट्रेसी केफ।
स्पेनको अत्यन्त सम्पन्न परिवारमा जन्मेकी ट्रेसी नामुद पर्वतारोही थिइन्। उनको आँखामा जोखिमलाई जित्ने अनौठो 'जिद' थियो। उनले संसारका धेरै अग्ला चुचुराहरू चढिसकेकी थिइन्।
उनी हामीभन्दा केही दिनअघि नै बेस क्याम्प आइपुगेकी थिइन्। शरीरलाई उचाइसँग अभ्यस्त गराउँदै थिइन्। उनको साथमा नेपाली पथप्रदर्शक नेवारो शेर्पा थिए। सर्गेईसँगै हामी चार जना केही दिन पछि बेस क्याम्पमा पुगेका थियौं।
पहिलो भेटमै उनको मप्रति चासो बढेको अनुभूति गरेको थिएँ।
'तिमी कति वर्षका हौ?' उनले सोधेकी थिइन्।
'उमेरले कम होला तर हिमालले अलि पाको बनाएको मान्छे हुँ,' मैले हाँस्दै भनेँको थिएँ।
उनी एकछिन चुप भइन्। अनि हाँसिन्।
'त्यो उत्तर मलाई मन पर्यो।' त्यसपछि उनका प्रश्नहरू बढ्दै गए।
'कुन बाटो सुरक्षित हुन्छ?'
'कुन ठाउँमा हिउँ नरम हुन्छ?'
'कुन हावाको आवाज खतरनाक हुन्छ?'
'हिमालमा मानिसले सबैभन्दा पहिले के कुरासँग डराउनुपर्छ?'
म उत्तर दिन्थेँ।
तर बिस्तारै मलाई लाग्न थाल्यो। उनी मेरा उत्तरभन्दा मेरो आवाजमा बढी आकर्षित भएकी छन्। त्यसैले प्रश्नहरू बीचबाट उनी मलाई सुन्न चाहन्छिन्।
बेस क्याम्पमा रातहरू असाध्यै लामा हुन्थे। पालबाहिर हावा गर्जन्थ्यो। टाढा हिमनदी चर्किँदा पृथ्वीको हड्डी भाँचिएको जस्तो आवाज आउँथ्यो।
आकाश यति नजिक देखिन्थ्यो कि हात उठाएर ताराहरू टिप्न सकिन्छ जस्तो लाग्थ्यो। एक रात म पालबाहिर बसेर हिमाल हेरिरहेको थिएँ। ट्रेसी ज्याकेटको खल्तीमा हात घुसार्दै आइन्।
'तिमीलाई हिमालसँग डर लाग्दैन?' उनले अर्को मूल्यवान प्रश्न सोधिन्।
'लाग्छ।'
'तर तिमी डराएको देखिँदैनौ।'
मैले जवाफ फर्काएँ। 'डर नलाग्ने मानिस मूर्ख हुन्छ।' उनी बेस्सरी हाँसिन्।
'अनि तिमी किन आउँछौ?' उनको प्रश्न सहज थियो।
मैले सगरमाथातिर हेरेँ। मेरा शव्दहरूमा मौनता गाँसिएर उत्रिएका थिए।
'हामी यहाँ हिमाल जित्न आउँदैनौँ। हामी आफूभित्रको डर कति गहिरो छ भनेर बुझ्न आउँछौँ।'
उनी धेरैबेर केही बोलिनन्। मानौं उनी आकासका ताराहरू गन्नमा अभ्यस्त छिन्।
त्यस रात पहिलोपटक मैले महसुस गरेँ, ट्रेसी र मेरो बीचमा कुनै अदृश्य कुरा जन्मिँदै थियो।
त्यो प्रेम थियो कि आकर्षण, म भन्न सक्दिनँ।
तर हिमालमा भावनाहरू पनि हिउँजस्तै हुन्छन्। बिस्तारै जम्छन्, गहिरिँदै जान्छन्, र एउटा दिन अचानक आफ्नै भारले चट्टान फुटाउँछन्।
***
भोलिपल्टदेखि आरोहण सुरू भयो।
हिमालको माथिल्लो भागमा पुगेपछि संसार फेरिन्छ। त्यहाँ रूख हुँदैनन्, चराहरू हुँदैनन्, मानिसको आवाज पनि आफ्नै कानलाई पराइ लाग्छ। केवल हिउँ, ढुङ्गा, हावा र सेतो मौनता। हामी क्रमशः अगाडि बढ्यौँ।
दोस्रो शिविर पार गर्दा ट्रेसी थाकेको देखिन्थिन्। उनले केही नबोली मेरो अनुहार हेरिन्।
'ठीक छ?' मैले सोधेँ।
'छु,' उनले भनिन्, 'तर तिमीले सोध्दा अझ ठीक भएँ।'
मौनता भित्रको मेरो मुस्कुराहट वातावरणमा फैलियो।
सर्गेई केही अगाडि थियो। उसले फर्केर हामीतिर हेर्यो र हात उठाएर इशारा गर्यो। उसको आँखामा त्यो मुस्कान थिएन बरू एकखालको डर लहराई रहेको थियो।
तेस्रो शिविरतिर जाने बाटो सबैभन्दा जोखिमपूर्ण थियो।
हिउँमुनि लुकेका दरारहरू, ठाडा बरफका भित्ताहरू र माथिबाट खस्न सक्ने हिमपहिरो।
मलाई त्यो बिहान मौसमको चाल मन नपरेको जस्तो अनुभूति बढेको थियो।
हावा असामान्य रूपमा मौन थियो।
मैले गोपाललाई भनेँ, 'आज माथि नजानु राम्रो।'
उसले आकाश हेर्यो। 'सर्गेईले रोकेन भने टोली रोकिन्न।'
हामी अघि बढ्यौँ।
दिउँसो अचानक हिमाल करायो। पहिले एउटा सानो गडगडाहट।
त्यसपछि हजारौँ ड्रम एकैपटक बजेजस्तो आवाज।
मैले टाउको उठाएँ।
माथिको सेतो भित्तो चलिरहेको थियो।
'हिमपहिरो!'
मेरो चिच्याहटसँगै संसार सेतो भयो।
हिउँले मानिसलाई मानिस रहन दिँदैन। उसले शरीरलाई कपडाजस्तै मुछेर, घुमाएर, थिचेर आफूभित्र लुकाउँछ। मलाई कसैले हानेजस्तो भयो। म हावामा उछिट्टिएँ। केही क्षणपछि शरीर जमिनमा बजारियो।
मैले थप केही सुनिनँ। केवल आफ्नो मुटुको धड्कन। म उठ्न खोजेँ। कसैको नाम बोलाएँ।
'ट्रेसी!'
उत्तर आएन।
फेरि बोलाएँ।
'ट्रेसी!'
केवल हावा।
सर्गेई र गोपाल भेटिए। नेवारो पनि भेटिए। बलबहादुरको काँधमा चोट थियो। तर ट्रेसी थिइनन्। हामीले खोज्यौँ। बरफ खनेर हेर्यौं। कुनै संकेत भेटिएन। सर्गेई एकदमै डराएको थियो। ऊ अनेकथरी बडबडाउन थालेको थियो।
घण्टाभरसम्म केही भेटिएन। यसरी समय बित्दै गयो। अन्ततः सर्गेईले थाकेको स्वरमा भन्यो, 'उनी गइसकेकी छिन्।'
मैले उसको अनुहार हेरेँ।
'होइन।'
'एटम, हामीले धेरै खोजिसक्यौँ।'
मैले जोड दिँदै भनेँ 'उनी जीवित छिन्।'
'तिमी कसरी जोड दिएर भन्छौ, कसरी थाहा हुन्छ?'
मैले उत्तर दिन सकिनँ।
मलाई थाहा थिएन।
तर मनले भनिरहेको थियो।
हिमालमा कहिलेकाहीँ विज्ञानभन्दा पहिले एउटा आवाज बोल्छ, जीवनको आवाज। टोली फर्किने निर्णयमा पुग्यो। मलाई मनले केही भनिरहेको थियो। म भने फर्किन सकिनँ।
'तिमी के गर्दैछौ?' गोपालले सोध्यो।
'उनीलाई खोज्दैछु।'
'एक्लै?'
'हो।'
'यो आत्महत्या हो।'
मैले उसको आँखामा हेरेँ।
'सायद। तर उनी जीवित छिन् भने उनलाई त्यहाँ छोड्नु पनि हत्या हो।'
सर्गेईले मेरो काँध समात्यो।
'एटम, फर्क।'
मैले उसको हात हटाएँ।
र हिउँभित्र पसें।
***
मलाई थाहा थिएन म कति घण्टा हिँडेँ। हिमालमा समय घडीले होइन, सासले नापिन्छ। एउटा सास। अर्को सास। अर्को....। अनि प्रत्येक सासले भन्छ, अझै जीवित छौ।
अन्ततः एउटा बरफको भित्ताको छेउमा मैले कपडाको सानो टुक्रा देखेँ। रगत लागेको थियो। मेरो मुटु बेस्सरी धड्कियो। मैले बरफ हटाएँ। पहिले एउटा हात निस्कियो। त्यसपछि अनुहार। 'ट्रेसी!'
उनका आँखा बन्द थिए।
तर ओठ हल्लिए।
'ए...टम?'
म घुँडा टेकेर बसेँ।
'म यहाँ छु।'
उनले आँखा खोलिन्।
त्यो क्षण मैले पहिलोपटक बुझें, मानिस बाँच्नु भनेको केवल शरीर चल्नु होइन। कसैको नाम सम्झन सक्नु पनि जीवन हो। उनको खुट्टामा चोट थियो। निधार फुटेको थियो। शरीर चिसोले कठोर हुँदै थियो। मैले सकेजति प्राथमिक उपचार गरेँ। कपडा च्यातेँ, घाउ बाँधेँ, पानी पिउन दिएँ।
'तिमी मलाई भेट्न आउँछौ भन्ने लागेको थियो,' उनले बिस्तारै भनिन्।
मैले उनको कुरा सुनेर केही बोल्न सकिनँ।
'अरू सबै फर्किए?'
मैले टाउको हल्लाएँ।
'उनीहरूले मलाई मरेकी ठानेर त्यागि दिए।'
उनलाई अँगालोमा टम्म बेरें। उनको आँखाबाट आँसुको एक तप्को खसेर मेरो गालामा स्पर्स गर्यो। हिउँको चिसोमा उनको तातो आँसुको थोपा मैले भित्रसम्म अनुभूत गरेँ।
'तर तिमीले मरेकी ठानेनौ?'
'मैले तिमीलाई मर्न दिएको भए आफूलाई कहिल्यै माफ गर्न सक्दिनथेँ।' त्यसपछि मैले उनलाई आफ्नो ढाडमा बोकेँ। उनको शरीर मेरो लागि संसारको सबैभन्दा भारी र सबैभन्दा हलुका वस्तु थियो। भारी, किनकि मृत्युको भार थियो। हलुका, किनकि त्यो जीवित थियो।
***
बेस क्याम्प फर्किँदा रात परिसकेको थियो। पालहरू देखिए। गोपाल दौडेर आयो। सर्गेई पछाडि उभिएको थियो। हामीलाई देख्ने बित्तिकै ऊ स्तब्ध भयो। ऊ खुशी जस्तो देखिएन। सायद ट्रेसी बाँचेर आउँछे भनेर उसले सोचेको पनि थिएन।
'ट्रेसी...?'
उनले मृत्युको आलिँगनबाट फुत्किएर आएको आँखाले उसलाई हेरिन्। सर्गेई दौडेर आयो। उसले ट्रेसीको हात समात्यो।
'मलाई माफ गर।'
ट्रेसीले केही बोलिनन्। ट्रेसीको उपचार गर्नु पर्ने थियो। ईनर्जी वार र जुस खाए पछि ट्रेसीलाई केही सहज भएको थियो।
केही समयपछि सर्गेईले मेरो अगाडि टाउको झुकायो। मेरो प्रेमिकाको जीवन बचाएकोमा म कसरी तिमीलाई सम्मानित गरौं? उसको गला अवरूद्ध भएको थियो।
मैले केही प्रतिक्रिया जनाउन आवश्यक ठानिनँ।
'हामीले तिमीलाई रोकेनौँ। हामीले ट्रेसीलाई मरेकी ठान्यौँ। हामीले गलत गर्यौं।' ऊ लज्जित भएको थियो।
मैले भनेँ, 'हिमालमा गल्तीको मूल्य कहिलेकाहीँ जीवन हुन्छ।'
सर्गेई सुक्कसुक्क गर्दै रोयो।
त्यो बलियो मानिस त्यहीँ अबोध बालकझैँ बेस्सरी रोयो। सायद खुसीको रूवाइ थियो त्यो। तर ट्रेसीको आँखामा आँसु थिएन।
उनी मलाई हेरिरहेकी थिइन्।
***
आकाशमा टलपल ताराहरू चम्किरहेका थिए। वातावरणमा एक खालको शून्यता व्याप्त थियो। त्यस रात उनले सर्गेईलाई नजिकै बोलाएर भनिन्।
'म तिमीसँग फर्किन सक्दिनँ।'
सर्गेई केही बोल्न सकेन। ऊ चुप रह्यो। फेरि केही समय लिएर लामो सास बटुल्यो अनि सोध्यो।
'किन?'
'किनकि जब हिमालले मलाई मृत्युको मुखमा पुर्यायो, तिमी मलाई छोडेर फर्कियौ। एटम फर्किएन।'
सर्गेईले केही थप भन्न खोज्यो।
तर उनले हात उठाएर रोकिन्।
'म तिमीलाई दोष दिँदिनँ। तिमीले जे उचित ठान्यौ, त्यही गर्यौ। तर जीवनले मलाई अर्को उत्तर दियो।'
त्यसपछि उनी मेरो छेउमा आइन्। मसँग टाँसिएर बसिन्। उसको शरीरको न्यानोले मेरो शरीर रोमाञ्चित भएको अनुभूति बढ्यो।
'एटम, तिमीले मेरो जीवन बचायौ।' मैले तिम्रो ऋण त यो जीवनमा तिर्न सक्दिनँ होला।'
मैले भनेँ, 'जीवन बचाउनु कर्तव्य थियो।'
मैले कुनै ऋण लगाउन गरेको पनि होइन।
'तर मेरो जीवन अब मेरो मात्र रहेन।'
म स्तब्ध भएँ।
उनले मेरो हात समातिन्। उनको आँखामा मप्रति अगाध स्नेह छचल्किएको थियो।
'जसले मेरो जीवनलाई मृत्युबाट फर्कायो, म बाँकी जीवन उसैसँग बाँड्न चाहन्छु।'
मेरो घाँटी अवरूद्ध भयो।
बाहिर हिमालमाथि चन्द्रमा उक्लिँदै थियो।
सगरमाथा मौन थियो।
सायद उसले पनि हाम्रो कुरा सुनिरहेको थियो।
त्यो रात मैले पहिलोपटक आफूलाई धनी र परिपूर्ण मानिसजस्तो महसुस गरेँ।
मेरो घरमा सुन थिएन। मेरो नाममा जमिन थिएन। तर मेरो हातभित्र एउटा हात थियो। जुन केही घण्टाअघि हिउँमुनि मृत शरीर बन्न सक्थ्यो। सायद इश्वरले ट्रेसी मलाई दिएको थियो। त्यसैले पनि उनी मेरो अति नै प्रिय र अमूल्य उपहार बनेकी थिइन्। मैले ताराहरू टलपलाई रहेको आकाशलाई हेरेँ अनि धन्यवाद भनेँ।
***
हामीले त्यसपछि केही महिना खुमजुङमा बितायौँ। सानो समयको अन्तरालभित्रै उनी म र मेरो संसारसँग समाविष्ट भैसकेकी थिइन्। ट्रेसीले पहिलोपटक मेरो संसारलाई नजिकबाट देखेकी र अंगालेकी थिइन्।
हिउँका विशाल पहाडबाट तल झरेपछि उनले अर्कै हिमाल देखिन्। मानिसहरूको हिमाल।
माटोका घरहरू।
धुवाँले भरिएका भान्सा।
बालबालिकाको हाँसो।
आमाहरूको थकित अनुहार।
ट्रेसी खुसी देखिन्थिन्। उनको शरीरमा एक प्रकारको खुश्बु थियो। जादुमय खुश्बु। हामी सुतेको बिछ्यौनामा भोलिपल्ट दिनभर उनको खुश्बु छाइरहेको हुन्थ्यो। टासीले एकदिन मलाई भनेकी थिई।
‘तिम्रो कान्छीको जिउमा कस्तो मीठो बास्ना चल्छ नि’!
उनी विस्तारै हाम्रो भाषा पनि बोल्न सक्ने भइन्। उनले गाउँका बुढी आमाहरूसँग बसेर घिउ चिया पिइन्। उनीहरूका हिउँ देउताका पौराणिक कथाहरू सुनिन्। बच्चाहरूलाई कापी र कलम बाँडिन्। मेरो आमालाई अँगालो हालिन्। टासीलाई दिदी भनेर माया बाँडिन्।
यसरी उनी बिस्तारै बदलिइन्। युरोपको चमकभन्दा पर हिमालको फेदीको गाउँको सादगीमा उनी मिसिएकी थिइन्। उनको सुन्दरता अझ निखारिएको थियो।
र म पनि।
मलाई लाग्न थालेको थियो। शायद हिमालले हामीलाई संयोगले भेटाएको होइन। सायद मृत्युले उनलाई मबाट बचाएर मलाई दिएको थियो। तर मानिसले जति सुन्दर सपना देखे पनि संसार आफ्नै नियममा चल्छ।
बस्तीमा बादल टम्म छाएको थियो। एकाबिहानै गाउँको बाटोमा दुई वटा गाडी आए। ट्रेसीका पिता र माता अनि अरू मान्छेहरू आएका थिए।
उनीहरूलाई छोरी जीवित छ भन्ने खबर पुगेको थियो।
उनका पिता अत्यन्त सालिन र सभ्य लाग्ने गम्भीर स्वभावका थिए। उनकी आमाको आँखामा आँसु थामिएको थिएन।
'हामी उनलाई घर लैजान आएका हौँ,' उनका पिताले भने।
मैले केही बोलिनँ।
ट्रेसीले मेरो हात समातिन्। 'म जान चाहन्नँ।'
मेरी आमाको अनुहारमा पीडामा भावहरू दौडिएका थिए। ट्रेसी त हाम्रो घरको खुसी भैसकिन्। यिनलाई यहीँ छोडिदिनुस् महासय। मेरो छोरो एटम उनी बिना कसरी बाँच्न सक्ला र? उनीहरूको प्रेम असाधारण प्रकृतिको छ। बिन्ती ट्रेसीलाई हामी खुशी राख्ने छौं। आमाको आवाज दबेको सुनियो।
तर उनका आमाबुबाको संसार फरक थियो।
उनीहरूका लागि छोरी केवल एउटी प्रेमिका वा पर्वतारोही थिइनन्। ट्रेसी उनीहरूको सम्पूर्ण जीवन थिइन्। आमावावु ट्रेसीसँग एक्लै कोठामा बसेर घण्टौं कुरा गरिरहे। अन्ततः ट्रेसी जान तयार भइन्।
जाने बेला उनले मलाई एउटा सानो धातुको लकेट दिइन्।
'यो राख।'
'किन?'
'जब मलाई सम्झन्छौ, यसलाई समात्नु। अनि सम्झनु। मलाई तिमीले मृत्युबाट फिर्ता ल्याएका हौ।'
मैले गरम आवाजमा सोधेँ, 'फर्किन्छौ?'
उनको आँखाबाट बलिन्द्रधारा आँसु बगिरहेको थियो। मैले उनको आँसु पुछिदिएँ। म आउँछु। हिमालको हिउँ मुनि नपुरिनु तिमी। मलाई पर्खेर बस्नु।
'हिमालमा केही बाटाहरू फेरि भेटिन्छन्। केही भेटिँदैनन्।'
त्यो मेरो अन्तिम वाक्य थियो।
गाडी बिस्तारै टाढिँदै गयो। मैले उनलाई बिदाई जस्तो पनि गर्न सकिनँ। आमा र टासी पर्खालको छेउमा उभिएर रोइरहेका थिए। मैले उनीहरूलाई रोकिनँ।
उनीहरूको गाडीको गतिलाई म बाटोको छेउमा उभिएर हेरिरहेँ। ओरालो र मोड हुँदै गाडी अगाडि दौडियो। पहिले गाडी सानो भयो। मोडमा केहीबेर छोपियो। त्यसपछि एउटा धब्बा। अन्ततः केही पनि देखिएन। मेरो हातमा केबल उनको लकेट बाँकी थियो।
***
त्यसपछि धेरै वर्ष बिते। म फेरि हिमाल चढाउने काममा लागेँ। धेरै मानिसहरू आए। धेरै मानिसहरू गए। कसैको सफलता देखेँ। कसैको मृत्यु देखेँ। कसैलाई हिउँले निल्यो। कसैलाई चट्टानले। कसैलाई आफ्नै अहंकारले।
हरेक वर्ष सगरमाथाको सेतो शरीरमाथि नयाँ पाइला कोरिन्थ्यो र केही दिनमै हावाले ती सबै मेटाइदिन्थ्यो।म कहिलेकाहीँ तेस्रो शिविरतिर जाने बाटोमा उभिन्थेँ। त्यहाँ अझै त्यो हिमपहिरोको सम्झना थियो। म सोच्थेँ, त्यो दिन म पनि फर्किएको भए? ट्रेसी त्यहाँ मरेकी हुन्थिन्।
सर्गेईलाई आफ्नो प्रेमिका गुमाएको पीडा हुन्थ्यो। ट्रेसीको वावुआमालाई जीवनभरलाई छोरी हराएको दुःख हुन्थ्यो। र मलाई जीवनभर एउटा प्रश्नले सताइरहन्थ्यो। मैले उनलाई बचाउन सक्थेँ कि सक्दिनथेँ? तर मैले उनलाई खोज्न गएको थिएँ। त्यही नै मेरो उत्तर थियो। मानिसलाई कहिलेकाहीँ जीवनले प्रेम गर्न धेरै समय दिँदैन। कहिलेकाहीँ एउटा हिमपहिरोले दुई जीवनलाई केही घण्टाका लागि जोड्छ। कहिलेकाहीँ एउटा घाइते शरीरलाई बोकेर हिँडेको बाटो नै जीवनको सबैभन्दा ठूलो प्रेमकथा बन्छ। ट्रेसी फर्केर आइनन्। कम्तीमा त्यो समयसम्म। तर मेरो स्मृतिमा उनी कहिल्यै गइनन्।
हरेक हिउँदमा जब हावा सगरमाथाको काँधबाट तल झर्थ्यो। मेरो कानमा उनको आवाज ठोकिन आइपुग्थ्यो।
'तिमीलाई हिमालसँग डर लाग्दैन?'
म मनमनै उत्तर दिन्थेँ।
'लाग्छ, ट्रेसी। धेरै लाग्छ।'
'अनि तिमी किन फेरि आउँछौ?'
म सगरमाथातिर हेर्थेँ।
'किनकि हिमालले मलाई तिमीलाई बचाएको दिन जीवनको अर्थ सिकाएको थियो।'
हिमालले मलाई प्रेम दिएको थियो। त्यसपछि त्यही हिमालले मलाई वियोग पनि दियो। तर मैले एउटा कुरा बुझिसकेको थिएँ। मानिसको जीवन हिमालजस्तै हो। कहिले घाम लाग्छ। कहिले आँधी आउँछ। कहिले हामी चुचुरोमा पुग्छौँ र संसार आफ्नो खुट्टामुनि देखिन्छ। र कहिलेकाहीँ एउटै सेतो पहिरोले सबै कुरा छोपिदिन्छ। तर जबसम्म एउटा सास बाँकी हुन्छ, खोजी रोक्नु हुँदैन। किनकि हिउँको हजारौँ तहभित्र पनि जीवनले आफ्नो सानो न्यानो हात फैलाइरहेको हुन सक्छ।
र त्यो हात समात्न कोही फर्केर आउनैपर्छ।
म त्यसैको प्रतीक्षामा थिएँ।
आज पनि।
सगरमाथाको फेदमा।
हिउँ, हावा र मौनताको बीचमा।
हातमा ट्रेसीले दिएको त्यो सानो लकेट च्यापेर।