जानुका भर्खरै महिला समूहको कार्यक्रमबाट घर फर्किइन्।
उनी सरासर आफ्नो कोठामा गइन्, अरूबेला जस्तो बाहिर गएर घर आउँदा उनी आफ्नो छोरा अथवा श्रीमानलाई एक कप चियाको आग्रह गर्थिन्। तर आज न त उनलाई चिया खान मन लागेको छ, न त कसैसँग बोल्न।
महिला समूह भएको दिन जानुका घरमा आउन ढिलो हुने भएको साँझको खानाको जिम्मा बुवा, छोराले लिने गरेका थिए।
खाने बेलामा तीन जना बसेर खान थाले, जानुकाको अनुहार अलि मलिन थियो। यतिकैमा छोराले सोध्यो, 'आमा के भयो, सन्चो भएन कि के हो? उनले रूखो स्वरमा’ भनिन्, 'जे भए पनि के भयो र, अरूका छोराछोरीले कति प्रगति गरिसके, आफ्नो भने के भनूँ र? आमाको कुरा सुनेर छोरा सुनिल छक्क पर्यो। त्यसबेला केही भनेन र खाने काम सकिएपछि, ऊ आफ्नो आमा र बुवासँग बसेर कुरा गर्न थाल्यो। आमा, आज कसैले केही भन्यो र तपाईंलाई? जानुकाले सबै कुरा खोलिन्।
'म हरेक समूहको भेलामा जाँदा, छरछिमेकको, टोलको नातागोता, साथीभाइको कार्यक्रममा जाँदा आफूलाई एकदमै सानो महसुस गर्छु। मेरा वरपरका सबै जना आफ्नो छोरा, छोरी विदेशमा रहेको सुनाउँछन्। कतिपयले औलामा देखाउँदै हिसाब पार्छन्। यति, उति कमाउँछन् भन्दै, विदेश घुम्न गएको सुनाउँछन्। विदेशी सरसामानहरूको बयान गर्दै सो मात्र प्रयोग गर्ने बताउँछन्। कसैले भन्छन् तिम्रो छोरा त विदेश गएन है, अब के विदेश देख्छौ त तिमीले? के विदेश जानु नै सबैथोक हो?
सबै कुरा सुनेर सुनिलले भन्छन्, 'आमा मैले तपाईंको सबै कुरा बुझेँ तर तपाईं किन यस्ता कुराको पछि लाग्नु भएको? जानुका भन्छिन्, 'के गर्ने छोरा, समाज नै यस्तो भइसक्यो। समाजको चरित्रले नै हामीलाई भित्रभित्र पोल्छ।'
जानुका त एउटा पात्र मात्र हुन्। यस्ता अरू कति होलान्, हामो समाजमा। विदेश जानु/नजानु त्यो आफ्नो व्यक्तिगत कुरा हो। आफ्नो छोराछोरी विदेशमा हुने अनि आफू समाजमा बसेर नेपालमा केही हुँदैन, यहाँ विकास नै भएन भन्न लाज लाग्नु पर्ने हो। पढ्न र सिक्न विदेश जानु राम्रो कुरा हो, तर एकपल्ट सोच्नुहोस् तपाईंको छोराछोरीले विदेशमा पहिले नै बनेको देश वा समाजमा के गर्दै छन् त्यस्तो, जसका लागि गर्व गर्दै हुनुहुन्छ? यदि विदेशिनु आफ्नो निजी कुरा भए, यहाँ त्यही कुरालाई लिएर समाजमा विभाजन गर्न खोज्नु मूर्खता हो। विदेश घुमेर आउनु भएको छ भने, आफूले सिकेका, देखेका राम्रा कुरा गर्नुस् र अरूलाई सिकाउनुभन्दा पहिले आफूले सिक्नुहोस्।
विदेशिनुले मात्र समाजमा आफ्नो ओहोदा तोक्न मिल्दैन। अचेल हाम्रो समाजमा विदेशबाट आएकाहरूले नेपाली संस्कृतिमाथि भद्दा मजाक गरेको जस्तो देखिन्छ। विवाह, व्रतबन्ध, गुन्यो चोली लगायतका कार्यक्रममा देखावटी मनस्थिति राखेर समाजमा आफ्नो स्तर राख्न खोज्ने, के यो हाम्रो संस्कृतिको संरक्षण हो कि पतन?
विदेशिनु कतिपयको बाध्यता पनि होला। यस्ता कतिपय विदेशिएका दाजुभाइ, दिदी बहिनीको दुःखले हामीलाई रूवाउँछ। त्यस बारेमा सोच्दा हामी आफूलाई विवश पाउँछौ, बाध्यता र जरूरत अगाडि छ। यो बाहेकका अरूलाई किन हामी भन्न सक्दैनौं, तिम्रो छोरा छोरी, अथवा तिमी स्वंय नै, विदेश गयौं त के भयो,के तिमी त्यो देशको नीति निर्माण कार्यमा प्रत्यक्ष संलग्न छौ?, तिमीले अरू देशका नागरिकझैं त्यहाँ पनि आफूले काम नै गरेर खाएका होलाऔ नि? के तिमीलाई त्यो देशले आफ्नो नागरिक सरह हेर्छ, प्रमाणपत्र र कागजात बाहेक के तिमी त्यो देशको हुन सकेका छौ?
सामाजिक सञ्जालमा 'आइ लभ नेपाल, आइ मिस माइ कन्ट्री' लेख्नेले समाजमा दुई धारको कुरा नगर, पढाइ सकेर, सीप सिकेर आउनेलाई सबैको साथ छ, गाह्रो छ तर कोसिस गरौं, होइन भने यहाँ भएको नराम्रो कुरालाई मात्र उचालेर आफ्नो सन्तुष्टिको कारण नबनाऔं।
यो गर्दै जाँदा मानौं लाग्छ कतिपय त एउटा 'पहिचानको खडेरी, आइडेन्टिटी क्राइसिस' मा बाचिरहेका छन्। विदेशमा बस्नु, नबस्नु आफ्नो इच्छा तर त्यसको आधारमा नेपालसँग तुलना गर्दै अविश्वास नफैलाऔं।
परिवर्तन संसारको नियम हो, यो हुनु पनि पर्छ तर यदि परिवर्तनको जग सटिक छैन भने हामीले एकपल्ट विचार गर्नै पर्छ। हामी सामाजिक प्राणी हौं, यो समाज हामीले नै निर्माण गर्ने हो। यसका राम्रा र नराम्रा बाछिटाहरूले हामीलाई प्रत्यक्ष, अप्रत्यक्ष रूपमा फरक पार्छ।