नाम चलेको विद्यार्थी संगठनको केन्द्रीय समितिमा थिएँ म!
संगठन निर्माणका लागि देशका क्याम्पसहरू चहार्नु एउटा दैनिकी थियो।
विद्यार्थीलाई कमिटीमा आबद्ध गराए मात्र संगठन बलियो हुन्छ भन्ने मान्यता मूल पार्टी र संगठनको रहँदै आएको छ। त्यसैले सकेसम्म धेरैलाई कमिटीमा आबद्ध गराउने प्रयास गरिन्छ।
'क्याडर बेस' संगठनले यसै गर्छन्। त्यही सिलसिलामा पाइलाहरू २०७६ सालमा महाराजगन्ज नर्सिङ क्याम्पसतर्फ लम्किएँ! पुरानो कमिटी पुनर्गठन गरी नयाँ कमिटी निर्माण गर्ने कार्यक्रममा अतिथिका रूपमा पुगेँ! भविष्यका नर्सहरूको भीडमा 'नेता' भएँ! कमिटीका सबै पदाधिकारी र सदस्यसँग फोन नम्बर आदानप्रदान गर्दै एक-अर्कालाई सामाजिक सञ्जालमा जोडेर फर्किएँ!
म्यानेजमेन्टको विद्यार्थी थिएँ! राजनीतिको नशा लागेर स्नातक तह पास हुनै सकिनँ। पहिले-पहिले सुन्थेँ—विद्यार्थी नेताले अरूलाई जाँच दिन लगाउँछन् रे!
तर, त्यस्तो मेसो मैले चाहिँ मिलाउन सकिनँ। त्यसैले शैक्षिक योग्यता १२ पास मात्र भयो! तैपनि भविष्य भएको होनहार विद्यार्थी नेतामा गनिन्थेँ! कार्यक्रममा देश बनाउने र राष्ट्रियता जोगाउने जोडदार भाषण गर्थेँ! तर आफ्नै व्यवस्थापन कसरी हुन्छ, अन्योलमा थिएँ!
जब घर पुग्थेँ तब मेरो हैसियत बदलिन्थ्यो। 'न ब्याचलर्ससम्म गरेको छ, न जागिर खाएको छ!'— बा-आमाको नजरमा केवल एक 'लफङ्गा' थिएँ! नेता बनेर क्याम्पस क्याम्पस भौतारिँदासम्म बा-आमाले कहिल्यै पकेट खर्च दिनुभएन। माग्न पनि शरम भयो। मागिनँ। बिहान उठेर सधैँ क्याम्पसतिर दगुर्थेँ। त्यो मेरो रूटिन थियो। कहिले कसले भेट्थ्यो, कहिले कसले! फर्जी परिचयपत्र बनाइदिएका वा फाराम भर्न सहयोग गरेकाहरूले भेट्दा चिया-खाजा खुवाउँथे। नभेटिए क्यान्टिनमा उधारो जिन्दावाद! सरकारी क्याम्पसमा क्यान्टिन चलाउन मान्छेहरू आनाकानी गर्छन् भन्थे, बल्ल कारण बुझेँ मैले!
अचानक एक दिन मेसेन्जरको इनबक्समा म्यासेज आयो— 'चिन्नुभयो?'
कसरी नचिन्नु! उही परिचित मान्छे, 'सीमा' थिई! पहिल्यै अलि विशेष लागेकी थिई ऊ मलाई! त्यो म्यासेजले मेरो दिनचर्या फेर्यो। नर्सिङ छात्रावासको प्रतीक्षालयमा उसलाई प्रतीक्षा गर्थेँ! बिस्तारै कुराकानी औपचारिक दायरा नाघेर अन्तरङ्ग बन्न थाले। घण्टौं अनलाइन र अफलाइनमा समय बितायौँ।
'बिएन सकिन लाग्यो, अब के गर्ने होला? जागिर खोजौँ कि विदेशको तयारी गरूँ?' एक दिन भविष्यको सहजकर्ता ठानेर आइडिया मागी उसले।
'नर्स भनेर के गर्नु? निजी अस्पतालले महिनाको आठ-दस हजार दिन्छन्। सरकारीमा जागिर खान सजिलो छैन। अँ साँच्चै, तपाईं त नेता हो नि! भनिदिनु न कुनै सरकारी अस्पतालमा! जिन्दगी चलाउन गाह्रो छ नत्र!' बोलिनँ ! फिस्स मुस्काएँ मात्र!
बिस्तारै सामीप्यता यति गाढा भएछ कि उसलाई अस्ट्रेलियाको बाटो सुझाएँ।
उसलाई मैले आफ्नो देखेँ! यता क्याम्पसका विद्यार्थी भाइबहिनीहरूले 'अंकल' भन्न थालिसकेका थिए। उनीहरूले त्यसो भन्दा मन चसक्क दुख्थ्यो! तर सत्य त्यही थियो! एकातिर उमेर पाको हुँदै थियो, अर्कोतिर पार्टीको राजनीति ओरालो लाग्दै थियो। त्यसमाथि गुट-उपगुटको सिकार बन्दै थिएँ म!
विद्यार्थी राजनीतिले नेता त बनायो तर जीवनको व्यवस्थापन गर्न सिकाएन। अझ भन्ने हो भने गरिखान सिकाएन। जुन कुरा अहिले भोग्दै छु। बा-आमाको दैनिक कचकच सुनी नसक्नु थियो। अब भने बिलखबन्दमा परेँ!
जागिरे बा-आमा! काठमाडौँमै घर! दाइ बैंकको हाकिम! तर म...! आखिर एक दिन हिम्मत बटुलेर सीमासामु विवाहको प्रस्ताव राखेँ। उसलाई विदेश पठाएर डिपेन्डेन्सीमा जान पाए...! अन्तर्मनको कुरा लुकाएँ!
पारिवारिक सल्लाह र सहमतिमै धुमधाम विवाह भयो। क्याम्पसका परिचितहरू, पार्टीका नेताहरू र आफन्त गरेर झन्डै १ हजार निम्तालु आमन्त्रित थिए। भोजभतेर र तामझाममै विवाहको खर्च २० लाख नाघ्यो। संयोग, विवाहको ३ महिनामै सीमाको भिसा लाग्यो। त्यसको झन्डै ३० लाख आर्थिक भार मेरै परिवारले बेहोर्यो। हनिमुन अवधि नसकिँदै उडी ऊ।
'सीमा' विमानस्थलबाट ओझेल परेसँगै आँखाभरि सपनाका महलहरू सजाउन थालेँ! सिड्नीका सडकमा हातमा हात मिलाएर हिँडेका काल्पनिक दृश्यहरूमा रमाउन थालेँ। सुरूका प्रेमिल दिनमा झैं अनलाइनमा घण्टौँ कुराकानी हुन्थे। यताबाट म भर्चुअल माया खन्याउँथेँ, त्यसै गर्थी ऊ।
उता गएको केही समयपछि उसले त्यहाँको अस्पतालमा काम पाई।
'नर्सको ड्युटीको ठेगान छैन। कहिले नाइट, कहिले डे हुन्छ भन्दै अल्मल्याई मलाई'।
बिस्तारै कुराकानीका शृङ्खलाहरू पातलिए।
सीमा अस्ट्रेलिया गएपछि खुसी हुँदै डिपेन्डेन्सीमा आवेदन गरेको थिएँ। विडम्बना, भिसा लागेन; रिजेक्ट भएको इमेल आयो! भिसा रिजेक्ट भएपछि रातभर छटपटाएँ। अकल्पनीय रह्यो त्यो रात! सुत्नै सकिनँ!
दिमाग शून्य भयो। त्यसले केही सोच्नै सक्दैन। श्रीमती विदेशमा, म नेपालमा! अब गर्ने के?
'वनको बाघले भन्दा मनको बाघले खाए' झैँ हुन थाल्यो। भिडिओ कल गर्थेँ, उताबाट जबाफ आउँथ्यो— 'ड्युटीमा छु, पछि कुरा गर्छु।'
तर फोन आउँदैनथ्यो! आए पनि फोनहरू औपचारिकतामा सीमित हुँदै गए। सीमाको मनमा अरू कुनै चक्कर चलेको अनुमान लगाएँ मैले। सम्झाउने धेरै कोसिस गरेँ। कयौँ पटक रोएँ, तर सकिनँ।
ऐनामा हेर्छु, आफैँलाई साँच्चिकै 'लफङ्गा' देख्छु! विवाह र उसको अस्ट्रेलिया प्रोसेसिङको त्यति ठूलो धनराशि माटोमा मिल्यो! विदेशको सपना सजाउने म आज घर न घाटको भएँ।
'न हातमा पैसा रह्यो, न सीमा'! सम्बन्धमा अविश्वास मात्र होइन, सम्बन्ध टुटेको औपचारिक घोषणा हुन मात्र बाँकी छ! अपनत्व भएको कुराकानी नै हुँदैन आजभोलि। खै, मनले के सोच्छ के! मनमा बाढी आउँछ। बरू पहिलाको 'जारी प्रथा' भएको भए...! पुरूषलाई सडकमा पुग्नबाट त जोगाउँथ्यो! नत्र बिजोग हुने भयो म जस्ताहरूको! पुरातन कानुन ब्युँताउन पाए....! छ्या! तुरून्तै आफूलाई सम्हालेँ! कस्तो पश्चगामी म! धत्, त्यस्तो हुन्न!
नभन्दै अर्को महिना जिल्ला अदालत काठमाडौंबाट वारिसनामामार्फत डिभोर्सको मुद्दा दायर भएको सूचना पाएँ।
टाढा-टाढा हुनुको कारण यही रहेछ! ५० लाख रुपैयाँ मात्र खर्चिएको थिइनँ, सारा संसार थिई ऊ। यति छोटो समयमै अरू कसैको हुने बाटोमा गई!
मलाई चौबाटोमा अलपत्र छोडी! विवाह अरूहरूको लागि रंगीन फूलबारी भयो होला, तर मलाई जिन्दगीको एउटा महँगो जुवा भयो! एक वर्षे वैवाहिक सम्बन्धको मूल्य आधा करोड! कसरी सहेका होलान् मेरा बा-आमाले! मलाई के भन्दा होलान्? प्रश्नको उत्तर थिएन। प्रश्न खेलाउँदै ओछ्यानमा पल्टिएँ!
हुन त, पुरूषहरूले पनि विदेशमा गएर आफ्ना प्रेमिका र श्रीमतीहरूमाथि अन्तर्घात र अत्याचार गरेका कैयौँ उदाहरण सुनेको/देखेको छु।
आज सीमाले त्यसै गरी! यो खुला वातावरणको उपज वा शारीरिक तथा मानसिक सामीप्यताको अभाव वा एक्लो संघर्ष..! भेउ पाइनँ।
तर, आक्रोश र पीडाको आँधी थोरै सेलाएपछि एक दिन मैले आफूलाई सीमाको ठाउँमा राखेर हेर्ने प्रयास गरेँ।
सायद उसले पनि उता आफ्नै किसिमको कठिन संघर्ष गरिरहेकी छे। सोची होला— 'म अस्ट्रेलियामा छु, ऊ नेपालमा। भिसा लागेन, न उसलाई यता बोलाउन सक्छु, न आफू फर्किन सक्छु।'
अस्पतालको कठोर ड्युटी, नयाँ देशको एक्लोपन, भविष्यको अनिश्चितता र निरन्तरको मानसिक तनाव तथा शारीरिक आवश्यकताले उसलाई घच्घच्याएको हुन सक्छ।
सम्बन्धलाई जबरजस्ती तानेर दुवैलाई आजीवन पीडा दिनुभन्दा कानुनी रूपमा अलग हुनु नै उचित ठानी कि? यी सबै मेरा अनुमान हुन्, वास्तविक कथाव्यथा उसैलाई थाहा होला! मन बुझाउने कोसिस गरेँ मैले।
नवजवान युवायुवतीहरूलाई भन्छु— 'विदेशमा श्रीमती वा श्रीमान एक्लै पठाई सपनाको महल नबनाउनू! त्यो कुनै पनि दिन ढलेर स्वाहा हुन सक्छ। विवाह गर्दा वा जीवनका महत्त्वपूर्ण निर्णयहरू लिँदा 'दस पटक नाप्नु, एक पटक काट्नु' भन्ने अग्रजहरूको भनाइ झल्झली याद आइरह्यो मलाई।चौबाटोमा अल्मलिएको जीवन अब कता जाला खै...!