अस्तित्वको लडाइँ नलडी हुन्न
शताब्दीकै अधुरा सपना कोट्याउँदै
भोर उमङ्ग छाउँदैन
खोसिन्छन् रक्तिम आभा
चराहरू हताश छन्
सिकारीले बचेरा लुटेपछि।
म शालीन छैन
क्रूरताको डन्डा बर्साएपछि
मलाई उड्न देऊ
मुक्त आकाशको बादलमाथि
मेरो गन्तव्य नरोक
क्षितिज टेक्नु छ संघर्षले
म रमुँला निश्चय नै
आमा-बाले मुक्ति गीत गाएपछि।
उद्वेलित छन् नदीहरू
मौन बस्ती गिज्याउँदै
ओ मान्छे!
तिमी जीवित छौ या मृत?
तिम्रो जिजीविषा खोसिएको छ
तिमीले प्रतिवाद नगरेपछि।
म आगोका फूलहरू टिपिरहेछु
दन्किरहेका छन् आगोकै लप्काहरू
आँसु पिएर बाँचिरहेछन् मान्छेहरू
आत्मबोधको राँको नबलेपछि
आगो पिउन नसक्ने कायरहरू
खरानीमा रूपान्तरण भइसके
आगो क्रान्तिको प्रतीक हो
दन्कन्छ दावानल जस्तो
मैले आगोकै गीत गाएँ
क्रान्ति चेत खुलेपछि।
समय सख्त घाइते छ
मौन छन् अवचेतन मनहरू
लाचार जिन्दगीहरू रोइरहेछन्
वितृष्णाको कुम्लो बोकेपछि
मान्छेहरू अभिशप्त बनाइएका छन्
जिउँदा लासहरू लडे जस्तै
म लासहरूको बीचमा उभिएर
त्राणको बाँसुरी फुकिरहेको छु
लासहरू जुरुक्कै उठ्नुपर्छ
चेतनाको दियो बलेपछि।
मैले खेल्नु छ आगोका फूलहरूसँग
लगाउनु छ माला आगोकै फूलहरूको
पगाल्नु छ चिसो बरफ
बगाउनु छ हिमनदी
डढाउनु छ अहंकारलाई
आगोकै पुलिन्दा उठाई
आगो पानीजस्तो नरम हुन्न
आगोको समुद्र तर्नलाई
तिम्रो साम्राज्य खरानी हुने छ
आगोका झिल्का-झिल्का मिलेपछि।