सँगालेका
सपनाहरू सबै, सबै बगे
उम्रिएका मुनाहरू
मन नै रित्तो हुने गरी
उजाडिए
छाएको छानोबाट
पानी त चुहिँदै थियो
अब त गाडिएको खाँबो नै बग्यो
लिपेको भित्तोबाट
छिरेको चिसो स्याँठले
घरीघरी चसक्क पार्थ्यो
अब त भित्तो नै कहाँ छ
खोज्नुपर्ने भयो
अरू त अरू
ओरालो लागेको
भेल सँगसँगै
हाम्रो मानवीयता पनि बग्यो।
लडेको मेरो शरीरमाथि
कसैले
लछारपछार गर्दै छ
कोही कान लुछ्दै छन्
कोही
नाकभित्र औँलो हाली
फुली कोट्याउँदै छन्
झरेको मोबाइल
हिलोमाथि कोही छाम्दै छ
छेवैमा लत्रेको मेरो शरीर
सबै कुरा देख्दै छ
लाचार छु तर खुसी छु
तिम्रो अमानवीय व्यवहार
कम्तीमा जाँदाजाँदै त देखेँ।
बगेको भित्तोको काठ
कोही कोट्याई हेर्दै छ
अग्राख हो कि चिलाउने!
कोही बगाएको कैँचीबटम
तानी नाप्दै छ
धुरी बराबर छ कि छैन।
कोही बगाएको सिलिन्डर
तानी हेर्दै छ,
रित्तो छ कि भरी छ।
कोही बगाएको चेलीको
शरीर लछारपछार गरी
तान्दै छ।
सपना बग्यो
मानवता बग्यो अनि
म सँगसँगै हाम्रो
नवीन परिचय पनि
भेलसँगै बग्यो।