धर्तीको दैवीय काखमा
म अन्तिम युगमा आएर छटपटाएँ
राज्य, सत्ता, दल सबै मिलेर भुटिरहेछ
अबोध खोपडी
खोइ कहाँ हराए विचारहरू
कसले जन्माए नाराहरू
मैले हक मागेको शोभा दिँदैन
मेरो आँखामा अस्ताउँदो सपना साह्रै सुहाउँछ
म बस्ने झुप्रोमा न्यायको दीप बल्दा अनर्थ हुन्छ
बोल्न जान्दिनँ थिएँ
म त मानवताको रखवाला हुँ
यो दुनियाँले सिर्जना गरेको समानताको घ्यू नपचेर
भुक्दै छु आज
र्याल चुहाउँदै हड्डी तिर लोभिनु
मैले आफ्नो लाचारिता बिर्सनु हो
त्यसैले
म अन्तिम युगमा आएर छटपटाएँ
मैले ढुङ्गा पिटेँ
र बनाएँ एउटा सुन्दर मूर्ति
मैले तामा कुटेँ
र बनाएँ एउटा सुन्दर ईश्वर
तर
तिमीले त मलाई मान्छेसम्म बनाउन सकेनौ।