गफैगफमा उसले छेउको टेबलबाट रातो नेलपोलिसको बट्टा तान्दै भन्यो, ‘यति गोरो खुट्टामा लगाइदिन्छु है। कति राम्रो देखिन्छ होला!’
उसले आफ्ना हातमाथि उनका पैताला राख्यो र पुलुक्क उनको अनुहारतिर हेर्यो। उनले पनि केही भन्न सकिनन्, केवल खिस्स हाँसिन्। उसले साँच्चिकै खुरुखुरु नेलपोलिस लगाइदियो।
अस्मीले लाज र अचम्म मिसिएको स्वरमा भनिन्, ‘छिः कस्तो खुट्टा छोएको! घिन लाग्दैन?’
ऊ हाँस्यो।
‘मेरो हैसियतले यति पाउनु पनि भाग्य हो।’
अस्मी एकछिन अकमक्क परिन्। उसले के भन्यो, किन भन्यो— त्यो बेला उनले खासै भेउ पाइनन्।
ऊ दुर्गम जिल्लाको विकट गाउँबाट सदरमुकाम झरेको थियो— एसएलसी परीक्षाको लागि। दुई महिनाका लागि अस्मीको घरमा डेरा बसेको थियो। संयोगले अस्मी पनि त्यही बेला एसएलसी दिने तयारीमा थिइन्।
तल्लो तलाबाट बेला–बेला पढ्न र गफ गर्न भन्दै ऊ माथि उक्लिन्थ्यो। गाउँबाट आएको भएकाले उसका गफ अस्मीलाई निकै रोचक लाग्थे। ऊ कहिले आफ्नो गाउँका कुरा सुनाउँथ्यो, कहिले अभावका, कहिले संघर्षका। उसका कथामा पहाडका उकाली–ओराली थिए, गरिबी थियो, दुःख थियो, तर ती सबैलाई पार गर्दै अगाडि बढ्ने एउटा अचम्मको जिद्दी पनि थियो।
ऊ अस्मीलाई निक्कै पराउँछ। त्यो कुरा उसका आँखामा स्पष्ट देखिन्थ्यो। उसको व्यवहारमा झन् स्पष्ट थियो। तर त्यो प्रेम अचम्मको थियो। त्यसमा कुनै माग थिएन। कुनै अधिकार थिएन। कुनै अपेक्षा थिएन।
उसले अस्मीलाई जसरी सम्मान र स्नेह गर्थ्यो, त्यो कुनै पुरानो फिल्म वा उपन्यासमा वर्णन गरिएको राजकुमारी र सेवकबिचको प्रेमकथाजस्तै लाग्थ्यो। अस्मीको कपाल कोरिदिन्थ्यो, नङ काटिदिन्थ्यो, खुट्टामा नेलपोलिस लगाइदिन्थ्यो। ती सबै व्यवहारमा कतै पनि वासनाको गन्ध थिएन।
त्यो केवल स्नेह थियो। नितान्त एकतर्फी प्रेम। र सबैभन्दा अनौठो कुरा— उसलाई त्यो प्रेम असम्भव छ भन्ने राम्ररी थाहा थियो। त्यसैले उसले कहिल्यै प्रस्ताव राखेन। कहिल्यै ‘मलाई माया गर’ भनेन। अस्मीबाट कुनै जवाफ मागेन। उसले केवल उनलाई अरूभन्दा अलि बढी विशेष व्यवहार गरिरह्यो।
कहिलेकाहीँ मुस्कुराउँदै भन्थ्यो, ‘तिमी र तिम्रो जीवन त हाम्रा लागि कथाका परीहरूजस्तै हौ।’
त्यति बेला अस्मीलाई यी कुराहरूको खासै अर्थ लाग्दैनथ्यो।
उनी चौध वर्षकी थिइन्। ऊ चाहिँ सायद अठार–बिसको थियो। उमेरको त्यो अन्तरभन्दा पनि ठुलो थियो उनीहरूबिचको संसारको अन्तर। एउटा संसारमा सपनाहरू भर्खर आकार लिँदै थिए; अर्को संसारले अभाव, संघर्ष र यथार्थका धेरै बाटाहरू हिँडिसकेको थियो।
तर प्रेमलाई यी दूरीहरूले कहिलेकाहीँ रोक्दैनन्। उसको प्रेमले पनि रोकेन। उसले केवल आफ्नो प्रेमको सीमा बुझ्यो। र त्यही सीमाभित्र बसेर प्रेम गरिरह्यो।
समय बित्यो।
धेरै समय।
अस्मीले पढिन्। राम्रो जागिर पाइन्। जीवनले उनलाई बिस्तारै त्यो संसार दियो, जसलाई समाजले पूर्ण जीवनको नाम दिन्छ।
सहरको खानदानी परिवार।
उच्च ओहदाको जागिरे श्रीमान्।
दुई सन्तान।
आफ्नै घर।
गाडी।
सामाजिक हैसियत।
बैठक, मिटिङ, पार्टी र कार्यक्रमहरूले भरिएको जीवन।
बाहिरबाट हेर्दा अस्मीको जीवनमा के कुराको कमी थियो र? तर कहिलेकाहीँ सबै कुरा भएर पनि उनलाई आफू अपुरो जस्तो लाग्थ्यो।
उनको श्रीमान् व्यस्त हुन्थे। उनलाई प्रेम नगर्ने भन्ने होइन, तर जीवनका जिम्मेवारीहरूबिच प्रेम पनि एउटा जिम्मेवारीजस्तै हुँदै गएको थियो।
अस्मी बिस्तारै श्रीमतीबाट आमा भइन्। आमाबाट घर सम्हाल्ने मान्छे। घर सम्हाल्ने मान्छेबाट परिवारका आवश्यकताहरू पूरा गर्ने व्यक्ति।
उनी सबैको जीवनमा थिइन्। तर कहिलेकाहीँ उनको आफ्नै मनले उनलाई एउटा प्रश्न सोध्थ्यो— ‘आखिर मेरो जीवनमा म कहाँ छु?’
त्यही बेला नजाने किन, वर्षौँ पुरानो एउटा दृश्य उनको स्मृतिमा फर्केर आउँथ्यो।
एउटा सानो कोठा।
छेउको टेबल।
रातो नेलपोलिसको बट्टा।
कसैका हातमाथि राखिएको उनको पैताला।
र एउटा युवकको झुकेको अनुहार।
‘छिः कस्तो खुट्टा छोएको! घिन लाग्दैन?’
र त्यसपछि आएको त्यो हाँसो— ‘मेरो हैसियतले यति पाउनु पनि भाग्य हो।’
त्यो एउटा वाक्य आज आएर अस्मीको मनमा अर्कै अर्थ बोकेर आउँछ।
सायद उसले उनका खुट्टामा नेलपोलिस लगाएको मात्र थिएन। उनलाई त्यति बेला त्यस्तो सम्मान दिएको थियो, जुन सम्मानमा उनी कुनै भूमिका थिइनन्।
न उनी कसैकी श्रीमती, आमा, न कसैको घर चलाउने र पदीय जिम्मेवार मान्छे। उनी केवल अस्मी थिइन्। र कसैले उनलाई केवल अस्मी भएकै कारण विशेष मानेको थियो। सायद त्यसैले आज, जीवनका सबै उपलब्धिहरूको बिचमा त्यो सानो स्मृति यति ठुलो भएर फर्किन्छ।
तर के अस्मीलाई आज त्यो युवक चाहिएको हो?
सायद होइन।
अस्मीले त त्यो युवकको नाम र अनुहारसमेत बिर्सिसकेकी छिन्।
सायद उनलाई त्यो युवकभन्दा बढी त्यो अनुभूति चाहिएको हो— कसैको आँखामा आफूलाई विशेष देख्ने अनुभूति।
कहिलेकाहीँ मानिसले विगतको मान्छेलाई सम्झेको हुँदैन। उसले विगतमा आफूलाई कस्तो महसुस गरेको थियो, त्यो सम्झिरहेको हुन्छ। अस्मीले पनि सायद त्यही सम्झिरहेकी थिइन्।
एउटा समय, जब कसैले उनलाई कुनै अपेक्षा नराखी सम्मान गरेको थियो।
कुनै बदलाको आशा नराखी स्नेह दिएको थियो।
उनको जीवनमा कुनै अधिकार नजमाई उनलाई विशेष बनाएको थियो।
आज उनीसँग सबै कुरा छ। तर सायद आफूलाई फेरि आफैँसँग भेट्ने समय छैन। सायद जीवनको व्यस्तताले उनलाई सबैसँग जोडिरह्यो, तर बिस्तारै आफैँबाट भने टाढा बनाउँदै लग्यो। र मान्छे कहिलेकाहीँ सबैभन्दा धेरै त्यही कुराको अभावमा अधुरो हुन्छ, जुन कुरा उसले अरू सबैलाई दिइरहेको हुन्छ— समय, माया र आफ्नो सम्पूर्ण अवस्थित।
आखिर मानिसले के चाहन्छ?
पैसा?
घर?
गाडी?
सन्तान?
सामाजिक प्रतिष्ठा?
प्रेम?
यी सबै चाहिन्छ। तर यिनले मात्र मानिसलाई पूर्ण बनाउँदैनन्।
मानिसलाई एउटा यस्तो ठाउँ पनि चाहिन्छ, जहाँ ऊ कुनै भूमिका नभई आफू मात्र भएर बाँच्न सकोस्। जहाँ उसलाई कसैले केवल उसको उपयोगिताका कारण होइन, उसको अस्तित्वकै कारण मूल्यवान् ठानोस्। जहाँ उसको इच्छा पनि कसैको आवश्यकता जत्तिकै महत्त्वपूर्ण होस्।
सायद पूर्णता भनेको जीवनमा सबै कुरा जम्मा गर्नु होइन। आफूले बनाएको जीवनभित्र आफूलाई नै नहराउनु हो। र, अस्मीको स्मृतिमा वर्षौँ पुरानो त्यो रातो नेलपोलिस अझै बाँकी हुनुको कारण पनि सायद यही हो।
त्यो रातो रङ अब केवल नेलपोलिसको रङ रहेन। त्यो उनको जीवनको एउटा सानो, अधुरो तर निर्मल अध्यायको रङ बनेर बसेको छ— जहाँ कसैले उनलाई केही मागेन, केही लिएन; केवल केही क्षणका लागि उनलाई संसारकै सबैभन्दा विशेष मान्यो।
सायद त्यसैले, जीवनका सबै रङहरू फिक्का लागेका कुनै साँझ, अस्मीको मन फेरि त्यही रातो नेलपोलिसको बट्टातिर फर्किन्छ।
त्यो सानो कोठा।
त्यो पैताला।
त्यो हात।
त्यो आवाज सम्झिन्छ।
र आफूलाई चुपचाप सोध्छे— ‘सबै कुरा पाएपछि पनि मानिस किन कहिलेकाहीँ अधुरो हुन्छ?’
उत्तर धेरै टाढा छैन।
आफू भित्र आफू हुनुको अनुभूति। अरूका लागि बाँच्दा आफूलाई नबिर्सनु। र सबैभन्दा ठुलो कुरा— आफूले आफूलाई त्यति नै विशेष ठान्न सक्नु, जति कुनै दिन कसैले आफ्नो हातमाथि पैताला राखेर रातो नेलपोलिस लगाउँदै अस्मीलाई ठानेको थियो।
सायद पूर्णता भनेको सबै कुरा पाउनु होइन, आफूसँगै आफू बाँकी रहनु हो।