त्यो बिहान
म फेरि ठोकिएँ
मेरो बच्न नसकेको
आफ्नै सहरसँग
बगिरहेको थियो सहर
तर खोला मात्र कहाँ बगेको थियो र?
बगेका थिए कसैका संसार,
आँगनका सम्झनाहरू,
मानिसका आधारहरू
र ती सपनाहरू
जसलाई कसैले वर्षौँ लगाएर बनाएको थियो।
सायद बग्नेहरूले पनि सोचे होलान्—
एकछिनमै सर्वस्व हराउँदो रहेछ
सर्वस्वको अन्त्य पनि
यति चुपचाप हुँदो रहेछ।
एउटी आमा
आफ्नो बच्चालाई काखमा च्यापेर
डुबिरहेको घरतिर हेर्दै थिइन् होला—
प्रकृति कति सुन्दर छ भनेर होइन,
प्रकृति किन यति निर्दई छ भनेर।
जसलाई हामीले जीवन भनेर
पूजा गर्यौँ,
आज उसैले हाम्रो जीवनको अन्त्य गर्यो
म माथिबाट एकटक हेर्न चाहन्छु—
त्यो बगिरहेको खोलालाई
जसले मसँगै मेरा आधारहरू पनि बगायो।
ए खोला!
तिमीले सबै कुरा लग्यौ
घर लग्यौ,
आँगन लग्यौ,
सम्झना लग्यौ,
कसैको वर्षौँको मेहनत लग्यौ
र सायद—
कसैको मुटुभित्र बाँचेको एउटा संसार पनि।
तर भन त
तिमीले लगेर ती भावनाहरू कहाँ राख्छौ?
ती आमाको डर कहाँ राख्छौ?
त्यो बच्चाको अधुरो सपना कहाँ राख्छौ?
त्यो बुबाको वर्षौँको पसिना कहाँ राख्छौ?
र ती मानिसका आँखाबाट झरेका आँसुहरू
तिनलाई कुन किनारमा लगेर थन्क्याउँछौ?
म सोचिरहेछु—
तिमीलाई हेर्नेहरू के भोगिरहेका होलान्?
तिमीले आफ्नो बनाएकाहरूलाई
सम्झिनेहरूले
कसरी रात काटिरहेका होलान्?
तिमी आज एउटा सुन्दर
खोला मात्र होइन
हजारौँ कथाको
अधुरो पाना बनेर बगेकी छौ।
तिमी
सधैँ सुन्दर तिमी नै रहनू—
आफ्नै लयमा बगिरहनू,
चराहरू आफ्नै आकाशमा उडिरहुन्,
म तिम्रो काखमा
नडराई बाँचिरहूँ।
म फेरि एकदिन
मेरो सहरमा फर्किने छु
बगेका सपनाहरू
पलाएको हेर्ने छु।