भावनाहरू यति धेरै बगिरहेका छन्
मानौँ बाहिरको बाढीले
मानव, संरचना र माटो मात्र होइन,
हामी भित्रको आत्मबल पनि बगाएर लगिरहेको छ।
कसको लागि के लेखूँ, मेरो देश?
ती लासहरूको बारेमा लेखूँ
जसले जीवनभर आफ्ना मान्छेहरूको साथ खोजे
तर मृत्यु आएपछि पनि
आफन्तको काँध पाएनन्।
कसैले अन्तिम पटक अनुहार चिन्न पाएनन्,
कसैले अन्तिम संस्कार गर्न पाएनन्,
कसैको शरीर माटोमै रह्यो-
तर आफ्नै मान्छेको आँखाले समेत भेट्न सकेनन्।
कसको लागि के लेखूँ?
ती परिवारहरूको बारेमा लेखूँ,
जो ढोकातिर आँखा लगाएर बसेका छन्-
‘आउँछ होला...’ भन्ने आशा र
‘अब कहिल्यै आउँदैन कि?’ भन्ने डरको बिचमा।
कसको लागि के लेखूँ?
उनीहरूको बारेमा जो ठुलो कालबाट बाँच्न पुगे,
बाँच्नु नै भाग्य ठानेर
एकछिन खुसी भएका ती आँखाहरूलाई
अब फेरि शून्यबाट जीवन सुरु गर्नुपर्ने,
म उनीहरूको पीडा
कुन शब्दमा लेखूँ?
कसको लागि के लेखूँ?
सारा जीवन एक परिवार
हुर्काउन, बचाउन दिनरात खटेका
जसको एकै भरमा सारा संसार नै सखाप भयो।
म ती निर्दोष लासहरूको बारेमा
के कुरा लेखूँ?
ती बालबालिकाकाको लागि के लेखूँ?
जसले बाढीले बगाएको घर, विद्यालयसँगै
आफ्नो सुरक्षित बाल्यकाल पनि गुमाए?
कि ती महान् प्रहरी,
नेपाली सेना, स्वास्थ्यकर्मी
र उद्धारमा खटिएका सम्पूर्ण हातहरूका बारेमा लेखूँ-
जसले अरूको आँसु पुछ्दापुछ्दै,
आफ्नै आँखाका आँसु पुछ्ने समयसमेत पाएका छैनन्।
अरूको जीवन बचाउँदा
आफ्नो जीवनको डर बिर्सिएका ती हातहरू
माटोमुनि मान्छे खोज्दा
आफ्नै थकान बिर्सिएका ती शरीरहरू-
हामी जनताले तपाईंहरूको ऋण
कुन शब्दले तिर्न सक्छौ?
अनि लेखूँ त
त्यो मेरो सुन्दर प्रकृतिको बारेमा?
जसलाई हामी
‘प्रकृतिको सुन्दर उपहार’ भन्थ्यौँ,
आज त्यही हिमाल पहाड चिरिएको छ,
त्यही पुजिएको खोला उर्लिएको छ,
जुन माटोले उभिने, बस्ने
सहारा दियो,
आज त्यही माटोले
कसैको घर, कसैको सपना,
कसैको जीवन बोकेर लगेको छ
यी आँखाले यस्तो विनाश कसरी हेरौँ?
प्रकृतिसँग रिसाउन पनि सक्दिनँ
किनकि यो देशको सौन्दर्य पनि त यही हो
तर आज
यसको काखमै रुँदै गरेका मानिसहरू देख्दा
मनले एउटा प्रश्न भने गर्छ-
किन बारम्बार हामी नै?
मेरो देश,
तिमीले एउटा घाउमा मलम लगाउन नपाउँदै
अर्को घाउ किन पाउँछौ?
कतै हामी नै केही कुरामा चुकिरहेका त थिएनौँ?
आज मसँग लेख्नका लागि
शब्दहरू पनि आफ्नै भावनामा
डुबिरहेका छन् सायद।
मसँग छ त केवल
मेरो देशको लागि
यिनै भिजेका आँखाहरू
काँपिरहेको मन बाँकी छ।
सायद देशमा परेको यो ठुलो घाउको लागि
कुनै कविता पर्याप्त छैन।
सायद आज
शब्दभन्दा ठुलो कुरा
एउटा हात हो-
डुबिरहेको मान्छेलाई समात्ने हात,
माटोमा पुरिएकालाई खोज्ने हात,
पीडितलाई दिने सहयोगी हात,
आफ्नो सबै गुमाएकालाई
फेरि उठ्न सहारा दिने हात।
किनकि देश केवल
नक्साभित्र कोरिएको भूगोल होइन।
देश त हामी जनताहरू हौ,
जो एकअर्काको दुःखमा उभिन्छौ
र देशलाई फेरि उठाउन चौतर्फी रूपमा जुट्छौँ।
मेरो देशलाई रोइरहनु परेको छ
तर एकअर्काको साथले हारेको छैन
किनकि यो देशले
जति पटक आँसु बगाएको छ
त्यति नै पटक
आफ्ना भग्नावशेषबाट उठेर भनेको छ-
‘म अझै बाँचेको छु।’
‘म सधैँ बाँचिरहने छु।’