विश्वमा चर्चा पाएको सहरमा पाइला टेक्दा शरीर हर्षले फुरुङ्ग भएको थियो। पूर्वको क्षितिजमा घाम डुब्न लागेको त्यो बखत, रात र दिनको दोसाँधमा दमकका महल र घरका छतहरूमा इन्द्रेणी लागेको बेला झैँ घामका बहुरङ्गी किरण टप्किरहेका थिए।
पिठ्युँमा एउटा झोला भिरेर पूर्व घुम्न निस्किएको सोझो पर्यटक ती कृत्रिम घामका ज्योतिको रङ्ग देखेर अन्योलताको भुँवरीमा पर्छ। घरी आकाशतिर हेर्छ, घरी जमिनतिर। उसलाई दृष्टिभ्रम पो हो कि जस्तो लाग्छ अनि आफ्नै टोपीले निधारको पसिना पुस्दै आँखा सुमसुम्याउँछ।
उसको मनमा प्रश्नै प्रश्न उम्रिए– ‘जसको भान्सामा अझै गुइँठाको धुवाँ निस्किँदै छ, तिनका धुरीबाट यो समृद्धिको घाम कसरी उदाएछ?’
सडक पेटीमा उभिएर भुइँमान्छेका दुःख नियाल्दा–नियाल्दा थाकेपछि उसले सोच्यो— सडक पेटीबाट कति पो देखिन्छ र पूर्व?
यहाँबाट न रतुवा, मावा, कनकाई र मेचीका सुस्केराहरू सुनिन्छन्, न कचनकवलको होचो भूमिदेखि सगरमाथाको शिरसम्मको लामबद्ध उचाइ नै देखिन्छ? यस्तै अनेक अनेक....।
उसले अघिल्तिर बाटोको किनारमा छेउछाउका पसलतिर आँखा डुलाउँदै आफ्नै लयमा टकटक हिँडिरहेकी उच्च चेहरा, गहुँगोरो अनुहार, काँक्राका चिराजस्तै सलक्क मिलेको जीउडाल, पिलपिले रातो सर्टमा मिनिस्कर्ट र आँखामा कालो चस्मा भिरेकी एउटी उर्वशीलाई देख्छ र नजिकै गएर बोल्ने चेष्टा गर्छ, ‘एक्सक्युज मी म्याडम, मेरो मतलब यहाँ घुम्ने ठाउँ पनि छन्?’
उनले सरल र सटिक जवाफ दिन्छिन्– ‘छन् थुप्रै छन्, पछिल्लो समय चर्चा पाएको चाहिँ भ्यु टावर हो।’
उसले भन्यो ‘थ्याङ्स।’
‘दमक भ्यु टावर’को कुरा नाम सुन्ने बित्तिकै उसको मस्तिष्कमा रिल घुम्यो। वाउ, कस्तो संयोग! उसको यही अलमलका सामुन्ने एउटा विकासको महास्तम्भ ठिङ्ग उभिएको थियो– ‘दमक भ्यु टावर।’ अब उसलाई टावर चढ्ने इच्छा जागेर आउँछ।
महोदय! मलाई एक पटक यो टावर चढ्न दिनुस् न। उसले एउटा सुरक्षागार्ड जस्तो देखिने तर राजनीतिक दलको कार्यकर्ता जस्तो इसारा गर्ने मान्छेसँग बिन्ती बिसायो।
‘किन चढ्नुपर्यो तिमीलाई यो १८ तले स्वर्ग?’
बडो रवाफका साथ सोधिएको जस्तो प्रश्नको जवाफमा उसले भन्यो– ‘मलाई यो अस्थिरताले गर्ल्यामगुर्लुम ढल्न लागेको संघीयताको शिरमा टेकेर, हाम्रो प्रिय गणतन्त्रको नाभि हेर्नु छ। म सुन्छु, गाउँका युवाहरू रोजगारी नपाएर भटाभट खाडी र युरोपतिर ओइरिँदै छन्। मलाई त यो टावरको टुप्पोमा पुगेर त्यो अलौकिक चाबी भेटाउनु छ, जसले ‘समृद्ध नेपाल’ को ढोका खोलोस् र युवाहरूलाई देशमै रोकोस्। म पनि यही देशको एउटा ‘सुखी नेपाली’ हुनुको नाताले १८ वटै तला गनी–गनी माथि उक्लिन चाहन्छु, घुमिघुमी चौतर्फी हेर्न चाहन्छु उकालो यात्रा, संस्कृति, इतिहास र संघीयतामा लिपिबद्ध हुनबाट हराएका थुमहरू।’
यति भएपछि बल्ल पालेले एउटा चिर्कटो थमाएर ढोका खोलिदिए। ऊ सटासट भित्र पस्यो।
टावरबाट फर्किएपछि उसले १८ तले टावरको कथा यसरी सुनायो– ‘म त एउटा यात्रु न हुँ। पर्यटक वा घुमन्ते। म हतारमा थिएँ, म पहिलो तलाबाट क्रमशः माथि उक्लिन थालेँ। सिँढी चढ्दै जाँदा यहाँका रैथाने लिम्बू र किराँती सभ्यताको ओझिला इतिहास बोकेका थुम र सुम्निमाहरूलाई सम्झिएँ। चारखोला र समथर तराई अनि हिमाललाई एकै नजरमा कैद गर्ने मेरो इरादा थियो। महागुरु फाल्गुनन्दका सत्कर्म र अहिंसाका वाणीहरू कतै यो कंक्रिटको टावरभित्रै त थुनिएका छैनन्? मलाई ती पवित्र वाणी सँगाल्नु थियो, स्मारक स्थलहरू घुम्नु थियो।
म अझै एक तला माथि उक्लिएँ। सन्त ज्ञानदिल दासको जन्मभूमि, साहित्य र तपस्याको थलो जोरधारा फाकफोकथुम (आमचोक) सम्झिएँ। लाग्यो, सन्त ज्ञानदिल दास आज जीवितै भइदिएको भए यो ‘भ्यु टावर’ देखेपछि पक्कै अर्को एउटा कडा व्यङ्ग्य–कविता लेख्थे होलान्!’
उसले थप्दै गयो, ‘मलाई अझै माथि चढ्नु छ जहाँबाट टावरको झ्यालबाट बाहिर हेर्दा सूर्योदयको जिल्ला इलामका हरिया चिया बगान, थुम्की र चुलीहरू पौडी खेलिरहेका देखिउन्। गोर्खाली पुर्खाहरूले इतिहास रचेको टिस्टा सुस्ताएको, सिक्किम र दार्जिलिङको सौन्दर्य आँखै नजिक आएझैँ छर्लङ्ग देखिउन्। आफ्नो पिठ्युँमा रक्तिम इतिहास बोकेर बग्ने देउमाई, माई र माईपोखारीको कञ्चन पानी कतै धमिलिएको त छैन? मलाई टावरबाटै ताप्लेजुङकी पाथीभरादेखि खोटाङकाका हलेसीसम्म देवी देउराली यहीबाट दण्डवत् गर्नु थियो। तेह्रथुमको तीनजुरे, गुराँसेभिर, अनि अलि माथिका कुम्भकर्ण र मकालु हिमाललाई अंकमाल गर्नु थियो। पाँचथरको तिम्बुङ पोखरीको सुवास र अकबरे खुर्सानीको पिरोभित्रको राष्ट्रवाद चाख्नु थियो।’
अझ माथि चढे, ‘वाह! कस्तो अचम्मको टावर।’
म आफैँसँग बरबराएँ। धनकुटाको भेडेटार, धराने बुढासुब्बा, बराहक्षेत्र र कोशी ब्यारेज हुँदै मोरङको विराट राजाको दरबारसम्म एकैपटक आँखा डुलाउन यो १८ तले टावरभन्दा उत्तम ठाउँ अरू के होला र? जति–जति माथि चढ्दै गएँ, हावा उति नै चिसो र यथार्थ उति नै नग्न हुँदै गयो। मैले टावरको झ्यालबाट दूरबिन सोझ्याएँ– कोच र सन्थालका भित्री बस्तीहरूतिर। त्यहाँ त गरिबी उन्मुलन भएको होइन, गरिबहरू नै उन्मुलन हुने अवस्थामा रहेछन्! सुलभ शिक्षा र स्वास्थ्यको पहुँच त केवल चुनावी घोषणापत्रका पानाहरूमा मात्रै सीमित भएको देखेँ। गाइने, चेपाङ, डोम र धिमालहरूको संस्कृति र कला लोप हुँदै गइरहेको केन्द्र स्पष्ट देखिन्थ्यो।
हतार हतार अझ माथिको तला चढेँ, इतिहासको एउटा पाना मेरो मानसपटलमा गाढा भएर आयो। यही माटो त हो, जहाँ खेत जोत्ने हलो र एक मुठी अन्न नपाउँदा किसानले सामन्तको छातीमा टेकेर घाँटी रेटेका थिए! त्यो झापा विद्रोहको राँको यहीँबाट अझै दनदनी बलेको देखिन्थ्यो।
हो, परिवर्तनको नदीमा धेरै पानी बगिसक्यो। जनतालाई नदी तार्छु भन्ने ‘माझी’हरू आफैँ तरेर आलिसान महलमा पुगिसकेका रहेछन्। घुसखोरी, भ्रष्टाचारीले त जरा गाडिसकेका रहेछन्। समयले पनि पाउलो फेरिसकेछ। मलाई कता–कता निराशाले छोप्यो। तैपनि मलाई यो टावरको टुप्पोबाट झापा विद्रोहको सिंगो एपिसोड पुनः ‘रिवाइन्ड’ गरेर हेर्नु थियो। ममा अझै माथिल्लो तला भए पनि उक्लिने साहस भरिएर आएको थियो। तर उन्नाइसौँ तला थिएन।
सबैभन्दा माथिल्लो तलामा पुगेर जब मैले तल भुइँतिर हेरेँ, आधुनिकताको चमकभित्र लुकेको एउटा कुरूप चित्र देखियो। निमुखा र भुइँमान्छेहरूको झुप्रोभित्र अझै मधुरो टुकी बलिरहेको थियो। भान्साबाट निस्किएको बाफ र गुइँठाको धुवाँले यो भव्य टावरलाई गिज्याइरहेको जस्तो लाग्थ्यो।
बेरोजगार युवाहरू खाडी जाने लाममा पासपोर्ट समातेर बसिरहेका बेला, उता सडकमा भने ‘बेरोजगारमुक्त समाज निर्माण’ को नारा दिँदै यो आधुनिक ‘दमक भ्यु टावर’ सतिसाल झैँ ठिङ्ग उभिएको थियो।
मैले टावरको सबैभन्दा उच्च बिन्दुमा उभिएर चारै कुना आँखा डुलाएँ। ‘मेरो नेपाल, ग्रेट नेपाल’ को काल्पनिक झन्डा फहराएँ। अनि मुसुक्क हाँस्दै सोचेँ– यही त हो त्यो पवित्र भूमि, जसले नेपाली राजनीतिका सबैभन्दा चतुर, खेलाडी र जादुगर ‘बा’ हरू जन्मायो! यो सिंगो झापा, यो जननी जन्मभूमि साँच्चै अद्भुत छे।’
म सुन्दै गएँ, ऊ थप्दै गयो– ‘महोदय, भुइँको यथार्थ बिर्सिएर आकाशको भ्रम बेच्ने यो कङ्क्रिटको विकास बुझ्नका लागि भए पनि, मलाई एक पटक ‘दमक भ्यु टावर’ चढ्नु नै थियो, र म चढेँ।’ दमक भ्यु टावरको त्यो १८ तले संकीर्ण उचाइ केवल कंक्रिटका सिँढीहरूको समष्टि मात्र थिएन, त्यो त भुइँको यथार्थ र आकाशको भ्रमबिच उभिएको एउटा विशाल र क्रूर विरोधाभास पो रहेछ।
टावरको शिखरबाट मैले लिम्बू, किराँती र कोच सभ्यताका ओजिला पदचापहरू नियाल्न सकिनँ। सबैभन्दा माथिल्लो अर्थात् अन्तिम तलाबाट कुर्कुच्चा उचालेर हेर्दा पनि वर्तमानको बजारमा लिलाम भइरहेका तन्नेरीका सपनाहरू देख्न सकिनँ। इलामका कुहिरो खेल्ने थुम्कीहरू, पाथीभरा देवीप्रतिको आस्था र झापा विद्रोहको रातो इतिहास साक्षी राखेर ठिङ्ग उभिएको यो कंक्रिटको सतिसाल– वास्तवमा आफ्नै पैतालामुनि निसास्सिएका गुइँठाको धुवाँ, कोच–सन्थालका आँसु र खाडीतिर लामबद्ध युवाका सुस्केराहरू लुकाउन संघर्ष गरिरहेको एउटा कृत्रिम स्मारक मात्र रहेछ।
भ्यु टावर चढ्ने मेरो तिर्सना त मेटियो, तर चेतनाको भित्तामा एउटा शाश्वत प्रश्न अमिट भएर कोरियो– ‘आफ्नो शिरमा सगरमाथाको दम्भ बोकेको यो कंक्रिटको घमन्डले, पैतालामुनिको कचनकवल जत्तिकै होचो भएको गरिबको धरातललाई नियाल्न कहिले आफ्नो नजर झुकाउला?’
मैले मुन्टो हल्लाइरहेँ, ऊ बहकिन छाडेन।
एक्काइसौँ शताब्दीका विवेकशील युवाहरूलाई सम्झिएर मनमनै भने– ‘अबको नयाँ पुस्ताले यो कंक्रिटको भ्रमबाट ब्युँझिनु पर्छ। आफ्नै माटोको सुगन्ध, पुर्खाहरूको गौरवशाली श्रम र कचनकवलदेखि सगरमाथासम्मको साझा पहिचानलाई समृद्धिको मूल जग बनाउनुपर्छ। युवाहरू रोजगारीका लागि बिदेसिनु पर्ने बाध्यतालाई चिर्न अबको पुस्ताले प्रश्न मात्र गर्ने होइन, आफैँ उत्तर बनेर, आत्मनिर्भरता र उद्यमको नयाँ क्रान्ति सुरु गर्दै स्वदेशमै रोजगारी र सम्भावनाका ढोकाहरू खोल्नुपर्छ।’
‘आफैतिर फर्किएर आफैलाई सम्झाएँ– ‘ए मनुवा, तँ त एउटा यात्रु न होस्, पर्यटक बनेर विश्वले चिनेको दमक घुम्न आएको पर्यटक। बिस्तारै सिँढी गन्दै गन्दै तल झरेँ। तल ओर्लिदा मेरो झोलामा पूर्वको सौन्दर्य होइन, एउटा गहिरो व्यङ्ग्य र प्रश्नहरूको चाङ मात्र बाँकी थियो।’