ह्यात्तेरी!
प्रश्न आयो
उत्तर आउनुपर्ने थियो।
तर उत्तरको ठाउँमा
अहङ्कार आयो
तर्कको ठाउँमा
ताप र ताव आयो
लोकतन्त्रको ठाउँमा
लहड र धाक आयो।
म क्षणभर झस्किएँ
ह्यात्तेरी!
मैले त बिर्सिएछु...
ए साँच्चै,
बालखै पो छ त सरकार!
ऐना देखाउनेलाई
ढुङ्गा हानियो
सिसा पो फुट्यो
कुरूप अनुहार भने
उस्तै रह्यो।
कलमलाई दोष दिइयो,
मसीलाई अपराधी बनाइयो,
अनि न्यायको प्रश्नलाई
षड्यन्त्र रच्यो भनियो।
सत्यसँग बहस गर्न नसक्नेले
सधैँ
सत्य ओकल्नेलाई नै दोष दिन्छ।
ह्यात्तेरी!
मैले त बिर्सिएछु...
ए साँच्चै,
बालखै पो छ त सरकार!
मूलगेटमै गाडी तेर्स्याएर
बाटो छेकियो
सायद
उनीहरूले सोचे होलान्
बाटो थुनिएपछि
प्रश्न पनि थुनिन्छ होला है?
तर,
नदी थुन्दैमा
बादल रोकिँदैन नि
ढोका बन्द गर्दैमा
हावा थुनिँदैन नि
सत्यलाई झपार्दैमा
इतिहास मौन बस्छ र?
ह्यात्तेरी!
मैले त फेरि बिर्सिएछु...
ए साँच्चै,
बालखै पो छ त सरकार!
चकलेट नपाउँदा
बालक रुन्छ
खेलौना खोसिँदा
बालक रिसाउँछ।
तर,
आलोचना सुन्दा
सत्ता यसरी रन्किनु
दिशा नै परिवर्तन गरी
कता हो कता फन्किनु
यो उमेरको दोष होइन,
साह्रै बालहठ हो।
ह्यात्तेरी!
अब त बालापन छोडिदेऊ भो सरकार!
देश भनेको
कसैको निजी आँगन होइन,
जहाँ रिस उठ्दा
मूलढोका नै थुन्न मिलोस्।
देश त
जनताको साझा घर हो
जहाँ
प्रश्न सोध्ने अधिकार
सिंहदरबारको ढोकाभन्दा ठुलो हुन्छ।
लोकतन्त्रमा
कलम शत्रु होइन,
कलम त
सत्ताको नबोलिएको अन्तःकरण हो।
त्यसैले
रिस होइन,
उत्तर देऊ
दबाब होइन,
धैर्य देऊ
स्टन्ट होइन,
परिपक्वता देखाइदेऊ।
ह्यात्तेरी!
अब त बालापन छोडिदेऊ सरकार!
कुर्सीको आयु
पाँच वर्ष होला
सत्ताको आयु
अझ कम होला।
तर,
एउटा गलत निर्णयको आयु
दशकौँसम्म रहन्छ
एउटा शासकको अहङ्कार
पुस्तौँसम्म घोकाइन्छ
एउटा अपरिपक्व क्षण
इतिहासको कलङ्कित पाठ बन्न सक्छ।
आज
तिम्रो वरिपरि
ताली बजाउनेहरू लस्कर धेरै होलान्
तर भोलि
इतिहासको अदालतमा
तिमी र तिम्रा निर्णय मात्र एक्लै हुनेछन्।
त्यहाँ
न गाडीको साइरन हुनेछ
न सुरक्षाको घेरा
न त शक्तिको घमन्ड।
त्यहाँ एउटै मात्र प्रश्न सोधिनेछ
‘प्रश्नसँग डराउनेहरू,
जनताको विश्वास कसरी जित्न खोज्दै थिए?’
र, त्यस प्रश्नको उत्तर
यदि फेरि पनि मौनता नै भयो भने
इतिहासले
पाना पल्टाउँदै,
मन्द मुस्कुराउँदै,
अनि अलिकति व्यङ्ग्य मिसाउँदै भन्नेछ
‘ए साँच्चै...
बालखै पो थियो सरकार!’