कुल पूजाको दिन। मन्दिरको नजिकै वर्षौँदेखि बाँझो रहेको बारीको डिलमा बसेर हामी तीन दौँतरी अवकाशपछिको सेवानिवृत्त जीवन कसरी बिताउने भन्ने सम्बन्धमा गम्भीर विचार विमर्श गरिरहेका थियौँ। केही वर्षपछि हामी आ-आफ्नो पेसा र व्यवसायबाट निवृत्त हुँदै थियौँ।
जीवनका अनेकौँ उतारचढाव र घुम्तीहरू पार गर्दै हामी वर्तमानको यो मोडसम्म आइपुगेका हौँ। हामीमध्येका एक जना दाइ २० वर्षको जागिरे जीवनलाई चटक्कै छोडेर निजी व्यवसायतिर लाग्नुभएको हुनाले उहाँको हकमा भने सेवानिवृत्त हुने समयको कुनै निश्चित टुङ्गो थिएन। तर हामी बाँकी दुई जना भने भविष्यको त्यो उत्तरार्धलाई कसरी ऊर्जावान् बनाउने भन्ने छलफलमै मग्न थियौँ।
‘सेवानिवृत्त भएपछि पनि काठमाडौँको यो बन्द कोठामा के गरेर बस्नु र? दिन बिताउनै फलामे चिउरा चपाउनु सरह हुन्छ मलाई त,’ संवादको त्यान्द्रो समात्दै र कुरोको चुरो निकाल्दै मैले भनेँ, ‘दशदेखि पाँच बजेको दिनचर्यामा अभ्यस्त भइसकेका मानिसका लागि सुरुका केही वर्ष त एउटा अनौठो छटपटी र रित्तोपनले सताउँछ होला। त्यसै पनि, यस्तो कोलाहल र धुलो-धुवाँले भरिएको सहरमा बसेर मनमा कसरी शान्ति मिल्छ र खै? बुढेसकाल त आफैँभित्रको आत्मिक शान्ति खोज्ने बेला पो हो त! त्यसैले म त आफ्नै जन्मथलो, आफ्नै रैथाने माटोमा फर्कने विचारमा छु।’
मेरो कुरा भुइँमा खस्न नपाउँदै हरि दाइले अनुहारमा केही संशय र निराशाका रेखाहरू कोर्दै भन्नुभयो, ‘आ… गाउँ फर्केर पनि के गर्नु र भाइ? बुढेसकाल लागेपछि शरीर शिथिल हुन्छ, अनेकौँ रोगव्याधिले समात्छ। नियमित औषधिमूलो र उपचारको जरुरत पर्छ। गाउँमा न त कुनै सुविधासम्पन्न अस्पताल छ, न त हाम्रा उमेर समूहका दौँतरीहरू नै बाँकी छन्। गाउँका मानिसहरूसँग हाम्रो विचार र भावनाको लय नै मिल्दैन। साँचो भन्ने हो भने त, गाउँको नयाँ पुस्ताले हामीलाई चिन्नसम्म चिन्दैन। हेर न, आज कुल पूजाकै दिन पनि आफ्नै कुल-कुटुम्बका कति मानिसहरू अपरिचित जस्ता देखिए। न उनीहरूले मलाई चिने, न त मैले नै उनीहरूलाई ठम्याउन सकेँ। जे भए पनि, सेवानिवृत्त भएकाहरूको ठुलै समूह त बरु काठमाडौँमा भेटिन्छ नि। बिहान-साँझ पार्कतिर टहलिँदा पनि कसो समय नकट्ला र? म त अहिलेसम्म गाउँ फर्कने बारे सोचेको पनि छैन हो।’
‘हामीले गाउँ छाड्दाको समय र अहिलेको समयमा त आकाश-जमिनको फरक छ नि दाइ!’ मैले हरि दाइको अनुहारमा छाएको निराशा र संशयका बादलहरूलाई चिर्दै उत्साहपूर्ण स्वरमा भनेँ।
‘सोच्नुहोस् त, अहिले गाउँमा के छैन र? एउटा सामान्य समाचार सुन्नका लागि समेत रेडियो नेपालको भर पर्नुपर्ने हामी, आज गाउँ जाँदा सबैको हात-हातमा इन्टरनेटसहितको स्मार्ट फोन छ। बाटो हाम्रै गाउँ नजिकैबाट गएको छ। बाइक-स्कुटर त घरघरमा पुग्दा रहेछन्। घण्टौँसम्म लाइन लागेर पँधेरोबाट गाग्रोमा पानी बोक्नुपर्ने त्यो सकसपूर्ण अवस्था बदलिएर आज घर-घरमै खानेपानीको धाराहरू जोडिएका छन्।
प्रत्येकका घरमा साना-ठुला टेलिभिजनका पर्दाहरू चम्किरहेकै छन्। आफूलाई मन लागेका उपभोग्य सामग्री किन्नका लागि टोल-टोलमा पसलहरू खुलेका छन्। अत्याधुनिक र स्तरीय नभए पनि, कामचलाउ र आपत्कालीन सेवाका लागि आफ्नै वडामा स्वास्थ्य चौकी उपलब्ध छ। हिजो खुल्ला ठाउँमा शौच गर्ने गाउँमा आज घर-घरमै आधुनिक शौचालयहरू बनेका छन्।
भौतिक पूर्वाधार मात्र होइन दाइ, यसपालि मैले गाउँका मानिसहरूको चेतना र सोच्ने शैलीमा पनि निकै सकारात्मक विकास भएको पाएँ। तर दाइ! सबैभन्दा ठुलो विडम्बना के भयो भने– गाउँमा सबैथोक पुग्यो, विकासका हरेक पूर्वाधारहरू पुगे, तर त्यो विकास उपभोग गर्ने मानिसहरू कोही भएनन्। समयको कस्तो क्रूर खेल, विकास गाउँतिर उक्लियो, हामी भने सहरतिर झर्यौँ।’
मैले आफ्नो बाल्यकालको स्मृतिलाई अझ ताजा बनाउँदै भावुक हुँदै थपेँ, ‘त्यो भौतिक विकासभन्दा पनि ठुलो कुरा त, हामी साना छँदा धुलो उडाउँदै खेल्ने त्यो 'वरसारेको चौर' अझै पनि जस्ताको तस्तै छ दाइ! बनमाराका झाडीहरूले ढपक्कै ढाकेको त्यो चौरको बिचमा ठिङ्ग उभिएका ती बुढा बर, पिपल र समीका रूखहरूले अझै पनि हाम्रो प्रतीक्षामा आफ्ना बुढ्यौलीका सुस्केराहरू फ्याँकिरहेका छन्। तिनीहरूले हाम्रै बालापनका पदचापहरू सम्झिएर अझै पनि गाउँको चौतारी कुरिरहेका छन्।’
वरसारेको चौर'को नाम सुन्ने बित्तिकै काठमाडौँमा व्यवसाय गरेर व्यस्त जीवन बिताइरहेका कृष्ण दाइको मनमा एउटा अज्ञात बेचैनी छायो। नछाओस् पनि कसरी? उहाँको बाल्यकालका स्वर्णिम स्मृतिहरू जोडिएको सबैभन्दा नजिकको र प्रिय चौर थियो त्यो। त्यो चौरको बिचमा ठिङ्ग ठडिएका तिनै बर, पिपल र समीका रूखहरूप्रति उहाँको एउटा अगाध र अद्भुत लगाव थियो। हुन पनि, त्यो चौर चारैतिरका गाउँहरूको साझा चौतारी र केन्द्रबिन्दु जस्तै थियो।
विगतका दिनहरूमा गाईगोठालाहरू बिहानै गाईगोरु धपाउँदै चारैतिरबाट त्यही चौरमा जम्मा हुन्थे र दिनभरि चौर बालसङ्गीतले गुञ्जायमान हुन्थ्यो। गाउँका भलादमी र बुद्धिजीवीहरू पनि चाडबाडका बेला बाटोघाटो खन्ने, लिङ्गे पिङ हाल्ने अनि गाउँको विकास निर्माणका महत्त्वपूर्ण योजनाहरू कोर्ने काम त्यही शीतल चौतारीको छहारीमा बसेर गर्थे। त्यो चौर केवल एउटा खाली जमिन मात्र थिएन, बरु सिङ्गो गाउँको सुख-दुःख, एकता र सामाजिक सद्भावको साक्षी थियो।
‘दाइ, तपाईं त काठमाडौँमै स्थापित व्यवसाय गरेर जमेको मान्छे। हुन त व्यवसाय गर्नेहरूका लागि अवकाशको कुनै निश्चित उमेर सीमा हुँदैन। तैपनि यो बुढेसकालमा आफ्नै गाउँ फर्कने सम्बन्धमा तपाईंको विचार चाहिँ के छ नि?’ कृष्ण दाइको अनुहारमा सलबलाइरहेका भावहरूलाई नियाल्दै मैले उहाँतर्फ संकेत गरेर सोधेँ।
कृष्ण दाइले एउटा लामो र गहिरो सुस्केरा हाल्नुभयो।
‘साँच्चै भन्ने हो भने भाइ, यो विषयमा मैले पनि तिमीहरूसँग कुरा गरौँला भन्दै सोचिरहेको थिएँ। आज संयोगले हामी यसरी भेला भएका बेला यो प्रसङ्ग पनि निस्किहाल्यो,’ आफ्नो अतीतको स्मृतिमा हराउँदै उहाँले भन्नुभयो, ‘उमेर छँदा जोसैजोसमा सहर छिरेपछि त यो गाउँमा कहिल्यै फर्केर पनि आइँदैन होला जस्तो लाग्थ्यो। तर अचेल किन हो कुन्नि, उमेर ढल्किँदै गएर पो हो कि गाउँघरको त्यो कञ्चन वातावरण, त्यो पँधेरो, वनजङ्गल, गाईबस्तु र त्यो वरसारेको चौर बारम्बार सपनामा पनि आइरहन्छ भन्या! यसपालिको कुल पूजाकै लागि भनेर हिजो मात्र काठमाडौँबाट आएको हुँ। आउने बित्तिकै केही बेर त्यही वरसारेको चौतारोमा गएर सुस्ताएँ। चारैतिर आँखा डुलाएँ। विगतका स्वर्णिम स्मृतिहरूमा यसरी टोलाएछु कि सहरको अत्यासलाग्दो धुलो-धुवाँ र कोलाहलबाट एकैछिन मुक्ति पाउँदा म त त्यो चौतारीको शीतल छहारीमै निदाएछु!’
दाइको भावनामा आफ्नो भाव मिसाउँदै मैले भनेँ, ‘हो नि दाइ! दसैँका बेला त्यो बरको रूखमा हालिने लिङ्गे पिङ त म सधैँ 'मिस' गर्छु नि! कम्ता रमाइलो हुन्थ्यो त्यो जुनेली रातमा पिङको मच्चाई! चारैतिरका गाउँबाट मानिसहरू भेला भएर दसैँदेखि तिहारसम्मै गाउँलाई उत्सवमय बनाउँथे,’ मैले बाल्यकालको त्यो रोमाञ्चक स्मृतिलाई ब्युँझाउँदै भनेँ, ‘हाम्रो चौरमा जिमिरे, बिचारीडाँडा, घ्यूखोला, स्वाँरा, सिमलभञ्जाङ, चितिकुना अनि काफलडाँडा सम्मका मानिसहरूको ओइरो लाग्थ्यो। तिनै जुनेली रातमा पिङ मच्चिँदा-मच्चिँदै कतिपयको मन मिल्यो, कतिको त चोखो मायाप्रेम पनि बस्यो होला! अनि कहिलेकाहीँ त टोल-टोलका युवाहरूबिच असमझदारी बढेर पिङ नै काटाकाट गर्नेसम्मको झगडाको स्थिति पनि सिर्जना हुन्थ्यो। जे जस्तो भए पनि, यो वरसारेको चौरले हाम्रो सिङ्गो क्षेत्रको एउटा इतिहास र साझा पहिचान बोकेको छ दाइ!’
‘आफ्नो गाउँठाउँ सम्झिदा त अहिले नै सहरबाट पोकापन्तुरा लिएर गाउँ फर्कौँ जस्तो लाग्छ,’ कृष्ण दाइले उत्सुकताका साथ भन्नु भयो।
‘साँच्चै भन्ने हो भने त दाइ, मेरो मनमा त योभन्दा पनि धेरै कुराहरू खेलिरहेका छन् नि,’ मैले प्रसङ्गलाई अझ व्यापक बनाउँदै भनेँ।
‘लौन समीर भाइ! त्यस्ता के कुरा छन्, हामी पनि सुनौँ न त,’ दुवै जनाले एकै स्वरमा उत्सुकता प्रकट गरे।
‘मैले त केवल निष्क्रिय बनेर अवकाशको दिन कटाउनका लागि मात्र गाउँ फर्कने कुरा गरेको होइन दाइ! स्वास्थ्यले साथ दिएसम्म गाउँमा केही न केही उत्पादनमूलक काममा पनि हात हाल्नु पर्छ,’ मैले वरपरका पाखापखेरा देखाउँदै थपेँ, ‘हाम्रा पुर्ख्यौली जमिनहरू सबै बाँझै छन्। ल हेर्नुहोस् त, हामी अहिले बसिरहेको यो ठाउँ वरपरका जग्गाहरू कसरी उजाडिएका छन्! कुनै समय यही बारीका पाटाहरूमा कस्तो मकै र कोदो लहलहाउँथ्यो। अहिले त गाउँमा बाटोघाटोको पहुँच पनि निकै राम्रो भइसकेको छ। बजारको पनि कुनै समस्या छैन, जे फलाए पनि बिक्छ र पैसा पर्छ। आफैँले मिहिनेत गरेर फलाएको अर्गानिक फलफूल र ताजा तरकारी खान पनि पाइने, अलि बढी भयो भने बजारमा बेच्न पनि अप्ठ्यारो भएन। यसले गर्दा बुढेसकालमा शरीरलाई आवश्यक परिश्रम पनि हुने, दुई-चार पैसा आम्दानी पनि भइरहने। अनि सबैभन्दा मुख्य कुरा त– आफ्नो खर्चका लागि छोराछोरीको अगाडि हात फैलाउनै नपर्ने क्या! भोलि तलमाथि भएर केही फलेनछ भने पनि राज्यले दिने पेन्सन त छँदै छ नि। एकपटक कोसिस गरेर हेर्दा के नै बिग्रिन्छ र दाइ!’
‘समीर भाइले भनेजस्तै हो भने त म पनि गाउँ फर्कन्छु हो! वास्तवमा निष्क्रिय जीवन बिताउँदा पो शरीर रोगी र कमजोर हुने हो त! गाउँको माटोमा श्रम गरेर पसिना बगाउन सकियो भने त शरीर आफैँ स्वस्थ भइहाल्छ नि। अनि किन चाहियो र सहरको त्यो महँगो र अत्याधुनिक अस्पताल?’ अघिसम्म निराशा र संशयका काला बादलहरूमा डुबेका हरि दाइले अब भने अनुहारमा एउटा नयाँ उत्सुकता र खुसीको उज्यालो छर्दै दृढ स्वरमा भन्नुभयो।
‘साँच्चै समीर भाइ, तिमीले चाहिँ गाउँमा के गर्ने सोचिरहेका छौ त?’ कृष्ण दाइले आफ्नो उत्सुकता प्रकट गर्दै सोध्नुभयो।
‘अब जागिरबाट अवकाश पाउने बेलासम्म दुवै छोरीहरूको घरबार पनि भइसक्ला। मैले त यसबारे श्रीमतीसँग पनि घरसल्लाह गरिसकेको छु दाइ! तपाईंहरूलाई थाहै छ, हाम्रो गाउँको माटो सुन्तला खेतीका लागि निकै उपयुक्त छ। अहिले पनि हाम्रा पुराना बोटहरूमा केही सुन्तला फलिरहेकै छन्। त्यसैले, अब म करिब सय बोट जति कलमी गरेका नयाँ सुन्तलाका बिरुवा थप्ने विचारमा छु। म जागिरबाट निवृत्त हुने बेलासम्म त तिनीहरूले फल दिन पनि सुरु गरिसक्छन्। हामीले गाउँमा एउटा सानो भैँसी वा गाई पनि पाल्ने विचार गरेका छौँ। बुढेसकालमा शुद्ध दूध खान पनि पाइने र सुन्तलाका बोटहरूका लागि राम्रो मल पनि हुने! अब गाउँमा पानीको पनि खासै समस्या छैन क्यारे। आउँदा दस-बाह्र वर्षसम्म यत्तिको काम त हामी बुढाबुढी मात्रैले पनि सजिलै सकौँला नि दाइ!’
‘अहिलेसम्म देशका विभिन्न भागमा पुगेर देश र जनताकै लागि अहोरात्र काम गरियो दाइ! अब बाँकी रहेको जीवन आफ्नै जन्मथलोलाई सिञ्चित गर्नमा बिताउनुपर्छ,’ मैले आफ्नो छाती गर्वले फुलाउँदै र आँखामा एउटा सुन्दर सपना सजाउँदै भनेँ, ‘अब गाउँकै यी सुन्दर वनपाखा र कञ्चन प्रकृतिमा रमाउनुपर्छ। यहीँकै रैथाने मानिसहरूसँग आफ्ना सुख-दुःखहरू साट्नुपर्छ। आखिर मर्दा-पर्दा काँध थाप्ने र सुख-दुःखमा साथ दिने त यहीँका छिमेकी र आफन्त त हुन् नि! हाम्रो मर्ने बेलाको मुखमा पर्ने गङ्गाजल पनि यहीँकै पवित्र पँधेराको पानी हुनुपर्छ। अब हामी सबै मिलेर सहर पसेका अरू मानिसहरूलाई पनि गाउँ फर्काउने एउटा महाअभियानमा लाग्नुपर्छ। आउनुहोस् दाइहरू, आज यो कुल पूजाको शुभ साइतमा हामी सबै मिलेर त्यही वरसारेको चौरमा जाऔँ र आफ्नो माटोलाई पुनर्जीवन दिने एउटा पवित्र पुनर्जागरणको सङ्कल्प गरौँ!’
मेरो कुरा सकिन नपाउँदै कृष्ण दाइ र हरि दाइका आँखामा पनि उत्साहको नयाँ चमक देखियो। कुल पूजाको प्रसाद ग्रहण गरेर हामी तीनै जना वरसारेको चौरतर्फ लम्कियौँ। ती बर, पिपल र समीका रूखहरू आफ्ना बुढेसकालका थोते दाँतहरू देखाउँदै हाम्रै स्वागतमा मुस्कुराइरहेका जस्ता देखिन्थे।