मोहनीमन्त्रमा देखा पर्छौँ
सन्ध्यामा मिठो भजन
बनेर गुन्जिदिन्छौ
तर आज किन
कम्पनहरूको उत्साहलाई
जोकर भन्दै छौ?
ओसिलो जमिन
हरियो शीतोष्ण जङ्गल
त्योभन्दा माथि हल्लिरहेको बादललाई
सफा, बाटुलो, चम्किलो
घामको टुक्रा र निलो आकाशलाई
छिचोल्दै आफैलाई
आवेगमा पो झरिरहेको छौ आखिर किन?
कहिले चम्किलो हुँदै आउँछौ
गह्रौँ गरी खसिदिन्छौ
नबुझिने गरी बरबराइदिन्छौ
खरले छाएको छानोलाई रुवाइरहेको छौ
कठोरतापूर्वक पहिरो बनेर आउँछौ
आरामपूर्वक हाँसिदिन्छौ
असम्बद्ध रूपले
ती भूगोलको सबै चिजसँग
मुस्कानको मार्गमा
ती मनका पलुवाहरू डुल्दै गर्दा
मायाले सुम्सुमाएर पराजयमा धकेली रहेछौ
मनका भावहरूमा निराशाको हतकडी थमाइदिएर
तिमीले त हामीमाथि आफ्नो रिस पो बजारेउ!
अब तिमी नै भन
ती कयौँ मलिन अनुहारले
कहाँ देखाउलान् वेदनाले
भरिएका घडालाई
आखिर कहिलेसम्म झर्छौँ
विनाश र प्रेमी जिद्दी ए झरी?