डिसेम्बरको दोस्रो हप्ता कोरियन प्रायद्वीपमा वर्षको पहिलो हिउँ पर्दै थियो। मिर्मिरे उज्यालो हुन लाग्दा म खुसुक्क बाहिर निस्केँ। पाखाहरू सेता देखिएका थिए। हिउँ परेको बाटोमा साइकल ठेलिरहँदा मेरो सास फुल्दै गइरहेको थियो।
मलाई कसैले पछ्याइरहेको जस्तो लाग्यो। साइकल रोकेर पछाडि हेरेँ— एउटा कालो गाडी म भएकै तर्फ आउँदै थियो। परेलामा जम्मा भएको पानी हातले पुछेर त्यसतर्फ हेरेँ। त्यो त्यही गाडी थियो, जसले मलाई आजको दुर्गति भोग्न बाध्य पारेको थियो। मेरो शरीर चिसो भयो; खुट्टाले पेडल थिच्नै सकेनन्।
भएभरको बल लगाएर दाहिनेतर्फको झाडीमा साइकल छिराएँ। झाडीमा परेको हिउँ एकैपटक मेरो शरीरमा खस्यो। टाउकाको हिउँ टकटक्याउँदै कालो गाडीबाट छेलिने कोसिस गरेँ। केही मिनेटमै गाडी मेरो नजिकै रोकियो। गाडीको स्टार्ट बन्द हुँदा मैले आफ्नै धड्कनको आवाज प्रस्ट सुनिरहेको थिएँ।
करिब एक मिनेट गाडी त्यसै रोकिएपछि ‘ख्याट्ट’ आवाज निकालेर ढोका खुल्यो। गाडीबाट दुई जना पुरुष बाहिर निस्किए। आफूसँग भएको सबै तागत लगाएर शरीरलाई डल्लो पार्ने कोसिस गरेँ, तर हिउँमा गडेका मेरा पाइलाले उनीहरूलाई सजिलो बनाइदिए।
‘हेम, बाहिर आइज!’ एउटा परिचित आवाजले बोलायो।
उनीहरूले देखे भन्ने निश्चित भएपछि मैले झाडीबाट भाग्ने सोच बनाएर झोला च्याप्प समाएँ।
‘ए भाइ, नडराई आऊ, केही हुन्न,’ एउटा नेपाली पुरुषको आवाज आयो।
कतै सपना त होइन? मैले आँखा मिचेँ अनि झाडीबाट चिहाएर हेरेँ। खैरो कपाल, कालो ज्याकेट र कसिलो ट्राउजरमा चालीस आसपासका एक जना मानिस उभिएका थिए। मैले पूरै एक वर्षमा पहिलोपटक नेपाली भाषा बोल्ने मानिस भेटेको थिएँ।
मेरा आँखा रसिला भए, तर उतिबेलै मनमा प्रश्न उब्जियो— यो नेपाली को होला? साहुको आफ्नै मान्छे हो कि?
मैले सोध्नुअगावै उनले बताए, ‘भाइ, म पर कम्पनीमा काम गर्छु। तिम्रो साहुले बिहानै फोन गरेर बोलाएको हो। आऊ भाइ गाडी, बाहिर चिसो छ।’
मैले आँखा उठाएर उनीहरूलाई हेर्न सकिनँ। अनि झोला काखमा च्यापेर त्यही कालो गाडीको पछाडिको सिटमा बस्न पुगेँ।
‘भाइ, कुरा के हो? राति राति झोला बोकेर हिँडेछौ?’ नेपाली दाइले गाडीको ढोका ड्याम्म पार्दै सोधे।
भर्रखरै भेट भएका उनीसँग सबै कुरा बताउन डर लाग्यो। फेरि उनी पनि यही गाडीमा आएका थिए। चुपचाप बसिरहेँ। गाडी स्टार्ट भएर गुड्न थाल्यो। हामी कहाँ जाँदै थियौँ, मलाई थाहा थिएन।
नेपाली दाइले भने, ‘भाइ बोल यार, म सहयोग गर्छु। मलाई पनि विश्वास गरेनौ भने तिम्रो कुरा कसले सुन्छ त?’
उनको कुराले झस्कायो। काखको झोला खुट्टामा अड्याएँ। अगाडिका दुई सिटको बीचबाट आएको तातो हावामा हत्केला सेकाउँदै उनलाई आफ्नो कुरा सुनाउन थालेँ।
ठिक एक वर्षअगाडि चौबीस वर्षको उमेरमा इपिएस मार्फत कोरिया टेकेको थिएँ।
त्यसअघि देशमै केही गर्नुपर्छ भनेर स्याङ्जाको आँधीखोला किनारमा ब्रोइलर कुखुरा पालेको थिएँ। लगातार तीन लटका सबै कुखुरा मरेपछि मसँग आँधीखोला र कोरियाबाहेक अरू विकल्प बाँकी रहेनन्। दिनरात अरूकै कोदालो खनिरहेका बा-आमाको अनुहारको पसिनाले मलाई आँधीखोला रोज्न दिएन। अन्ततः भाषा पढेर कोरिया आइपुगेको थिएँ।
इन्छन विमानस्थलबाट निस्केर तालिम केन्द्रसम्म पुग्दा सबै सपना जस्तै लागिरहेको थियो।
तालिम केन्द्रका कर्मचारीले नाम बोलाए, ‘हेम राना।’ म झोला बोकेर अगाडि गएँ। ५५-६० वर्षका एक हँसिला मानिस, साना आँखा र चिल्लो कपाल उचाइ करिब पाँच फिट पाँच इन्च जति थियो। ढाडबाट माथिल्लो भाग झुकाउँदै मैले भनेँ, ‘आन्यङहासेयो, साजाङ्निम!’
उनले मुसुक्क हाँसेर मेरो कुम थपथपाउँदै बाहिर जाने इसारा गरे। मैले सोचेँ— यो मान्छे साहु भए त जाति हुने रहेछ! आफ्नो गाडीमा करिब दुई घण्टाको बाटो हिँडाएर कम्पनी ल्याउने उनी नै साहु रहेछन् भन्ने कुरा कम्पनीमा आएपछि मात्र थाहा पाएँ।
मेरो कम्पनी गाङ्वोन प्रदेशको वोन्जु भन्ने ठाउँमा थियो। मेरो काम पचास वटा गाई-गोरुको गोठ हेरचाह गर्ने र त्यस वरपरको खेतबारीमा तरकारी लगाउने थियो। मलाई साहुभन्दा धेरै घरको ऋणले काम गर्न लगाउँथ्यो।
बस्नका लागि साहुले गोठनजिकै एउटा बट्टाजस्तो कन्टेनर राखिदिएको थियो। कन्टेनर सानो भए पनि कुखुराको खोरमा कैयौँ रात बिताएको मेरो शरीरका लागि त्यो पर्याप्त थियो। मेरो संसार भनेको गाईगोरु, बाच्छाबाच्छी, साहु-साहुनी, कहिलेकाहीँ आउने भियतनामी बाजेबज्यै र साहुले किनिदिएको नयाँ साइकल मात्रै थिए। मलाई एउटा कुराको निकै अभाव खड्किरहन्थ्यो— वरपर साथीहरू कोही पनि थिएनन्। गत दसैँमा आफैँले आफ्नो निधारमा टीका लगाएको थिएँ।
शुक्रबारको कुरा थियो, सधैँझैं बिहान उठेर काममा जान खोजेँ तर मेरो कम्मरमा घनले हानेर हड्डी टुटेजस्तो दुखिरहेको थियो। हुन त पन्ध्र दिनयता घरिघरि दुख्ने गरेको थियो, तर मैले वास्ता गरेको थिएनँ। आजको दुखाइ भने त्योभन्दा निकै पीडादायक थियो।
‘हेम! अहिलेसम्म उठेको छैनस्?’ बाहिरबाट आएको चर्को आवाजले म झस्किएँ। आवाज ठम्याउन समय लागेन, साहुकै थियो।
तर ढोका खोल्न भने निकै समय लाग्यो। निकै बल लगाएर ढोका खोलेँ। हातखुट्टा लगलग काँपिरहेका थिए। साहुले मतर्फ नफर्की कामहरू सुनाउन सुरु गर्यो। मैले उसले भनेका कुराहरू टुक्रा-टुक्रामा मात्र बुझेँ। उसले लामो कुरा सकाउँदा पनि मलाई ‘कस्तो छ?’ भनेर सोधेन। उसले नसोधेपछि आफैँले भन्नुपर्छ भन्ने सोचेर भनेँ, ‘साहुजी, मेरो ढाड दुखेको छ।’
मैले फटाफट आफ्नो कुरा राखेँ। उसले मलाई घुरेर हेर्दै सोध्यो, ‘के भयो? कसरी?’
कसरी दुख्यो भन्ने कुरा मलाई थाहा थिएन। थाहा भएको भए पनि भाषाको कारण बुझाउन सक्ने थिइनँ। तसर्थ साहुतर्फ पिठ्युँ फर्काएर हातले देखाउँदै भनेँ, ‘यहाँ दुख्यो।’
उसले दुखेको ठाउँमा थपथपाउँदै भन्यो, ‘कहिलेकाहीँ सुतेको नमिलेर पनि दुख्छ। एकछिनमा ठीक हुन्छ। म औषधि ल्याइदिउँला।’ मलाई थाहा थियो— दुखाइ खप्नु र सान्त्वना दिनु फरक कुरा हुन्।
मेरो ढाडले साहुको सान्त्वनासँग सम्झौता गर्न मानेन। बेलाबेलामा गर्धनबाट तार छिराएर पिँडौलासम्म घोचिरहेजस्तै चस्का हान्दै थियो। साँझसम्म साहुले कुनै औषधि ल्याउँछ कि भनेर मेरा आँखाले बाटो हेरिरहे। घाम ढलेर जुन आयो, तर साहु आएन।
साहु नआएपछि मैले आफैँ औषधि खोज्ने निधो गरेँ। मेरो कोठासँग जोडिएको अर्को कोठामा अफिस थियो। ‘अफिसभित्र नजा है,’ साहुले बेलाबेलामा भनिरहन्थ्यो। तैपनि कहिलेकाहीँ गाईगोरुको औषधि लिन उसैले पठाउने गरेको थियो। अफिसमा मान्छेका लागि समेत औषधि छ भन्ने मलाई थाहा थियो। तर कुन औषधि कसका लागि? मलाई थाहा थिएन।
सोचेँ— साहुलाई फोन गरौँ कि? तर उसलाई त बिहानै भनेको हो, उसले चाहेको भए औषधि ल्याइदिन्थ्यो। मलाई साहुले उपेक्षा गरेको महसुस भयो। आफ्नो लागि आफैँले केही गर्नुपर्छ भन्ने लाग्यो। अन्ततः म आफैँ अफिसभित्र छिर्ने निधोमा पुगेँ।
वरिपरि हेरेँ, कोही थिएनन्। गोठमा गाईगोरुले पराल चबाएको आवाज मात्र आइरहेको थियो। विस्तारै ढोका खोलेँ। एकछिन चुपचाप दराज खोलेँ। दराजमा धेरै खालका औषधिहरू थिए, औषधिको तीतो गन्ध नाकमा ठोकियो। कुन खाने होला? मलाई थाहा थिएन। अक्षर पढ्न जाने पनि त्यसको अर्थ बुझेको थिएनँ।
हेर्दै जाँदा नसाहरूको चित्र भएको एउटा बट्टा भेटियो। यता दुखाइले च्यापिरहेको थियो, उता हातमा औषधि। मैले धेरै सोच्न सकिनँ। त्यस बट्टाबाट एकमुठी ट्याब्लेट गोजीमा हाल्दै दुई वटा झिकेर मुखमा हालेँ। ट्याब्लेट ठूलो भएकाले निल्न गाह्रो भयो। पानीको बोतल उठाएर दुई घुट मुखमा हालेँ। अरू दुई घुट पिउने सोचले टाउको उठाउँदा मेरा आँखा झ्यालबाट बाहिर पुगे।
मैले सोच्दै नसोचेको दृश्य देखियो— म बरफजस्तै चिसो भएँ। हातखुट्टा कक्रक्क परे। बाहिर कालो गाडी उभिएको थियो— मेरो साहुको कालो गाडी! पिसाब आउलाजस्तो भयो। हे भगवान्! यो गाडी जुन समयमा आउनु हुँदैनथ्यो, ठ्याक्कै त्यही समयमा आएछ। अलिकति अगाडि या पछाडि आएको भए के जान्थ्यो र?
म थचक्क भुइँमा बसेर गाडी स्टार्ट गरेको आवाज कुरिरहेँ। गाडी स्टार्ट गरेको आवाज आएन। बरु मेरो गोजीमा रहेको फोन बज्यो— साहुले गरेको थियो। फोन साइलेन्ट बनाएर झ्यालबाट बाहिर हेरेँ, ऊ कन्टेनरको ढोकाबाहिर जुत्ता राख्ने दराजमा अडेस लागेर उभिएको थियो।
कसरी ढोका खोलेर बाहिर निस्कनु? उसले पटक-पटक अफिसभित्र नजा भनेकै छ। एकपटक उसलाई नभनी औषधि लैजाँदा कराएको केही दिन मात्रै त भएको छ! आज झन् नसोधिकन औषधि खाँदा मलाई जे पनि गर्न सक्छ।
अर्को कुरा, अफिसबाट केही हरायो भनेर चोरको आरोप लगाउन पनि सक्ला। मैले ढोका नखोली चुपचाप बस्ने निधो गरेँ। औषधि खाएकाले हुन सक्छ, मेरो दुखाइ कम हुँदै गइरहेको थियो तर टाउको भारी भइरहेको थियो। कसैले शिरमा समाएर जाँतोजस्तै घुमाइरहेको महसुस भयो।
एकैछिनमा गाडी स्टार्ट भएको आवाज आयो। मैले लामो सास फेरेँ। गाडीको आवाज कम हुँदै गएपछि म बाहिर निस्किएँ। बाहिर गाडीले फालेको धुवाँको गन्ध मात्रै बाँकी थियो।
साँझमा ढाडको दुखाइ अलि कम भयो तर अर्को कुनै चिन्ताले सताइरह्यो। साहुले अफिसमा पसेको थाहा पाउने हो कि? औषधि झिकेको पत्ता लगायो भने के गर्ला? मलाई छटपटी बढ्दै गयो। यता ढाडको दुखाइ फेरि बल्झिँदै थियो। मैले गोजीबाट दुई वटा ट्याब्लेट झिकेर मुखमा हालेँ। बोतल उठाएर पानीसँग घटघट निलेँ। केही बेरमा शरीर हलुका भएर पिङ खेलिरहेको जस्तो महसुस भयो।
भोलिपल्टको बिहान मेरा लागि खराब समय लिएर आइपुग्यो। मेरो ढाडको दुखाइ कम भएको भए पनि हनहनी ज्वरो आइरहेको थियो। सिरक पन्छाएर उठ्ने कोसिस गरेँ। मेरा हात-खुट्टा लगलग काँपिरहेका थिए। शिरमा कसैले ढुङ्गो बाँधिदिएजस्तो गह्रौँ भइरहेको थियो। उठेर थरथराउँदै बाथरुम छिरेँ। जब पिसाब गरेँ, मेरो होस उड्यो। ओठ-मुख सुकेर आयो। आफ्नो पिसाब देखेर आफैँलाई डर लाग्यो। जीवनमा पहिलोपटक मैले मान्छेको यस्तो पिसाब देखेको थिएँ— पिसाब धमिलो थियो। पिसाबबाट साबुनको जस्तै बाक्लो फिँज उठेको थियो।
कतै घर फर्कन नपाउने त होइन? मलाई डरले अठ्याउँदै लग्यो। केही भईहाल्यो भने मेरो खबर कसले लगिदेला भन्ने चिन्ता लाग्यो। बा-आमालाई सम्झेँ। तिरेर नसकिएको ऋण सम्झेँ। उठेर काम गर्न सक्दिनँ भन्ने महसुस भएपछि साहुलाई फोन गरेँ। केही बेरमा गाडीको आवाज आयो। मेरा आँखा रसाए। घाँटीमा थुक अड्किएजस्तो भयो।
साहु हतारिँदै कोठामा पसेर मेरो निधार छाम्यो, आँखा च्यातेर हेर्यो अनि मुख खोल्न लगाएर भन्यो, ‘छिटो कपडा लगा, अस्पताल जानुपर्छ।’
मैले रसिला आँखा पुछ्दै कपडा लगाएर तयार भएँ। करिब ३० मिनेटमा उसले मलाई अस्पताल पुर्यायो। मलाई भर्ना गराएपछि नर्सहरूको जिम्मा छाडेर साहु बाहिर निस्कियो। डाक्टर र नर्सहरूले मेरो पिसाब र रगत जाँच गरे। छातीको एक्स-रे गराए। अनि फिलामा एउटा सुई लगाइदिएपछि मलाई अलि सजिलो हुँदै गयो।
साँझपख फेरि डाक्टर र नर्सहरू आए।
‘कस्तो भइरहेको छ तपाईँलाई? ठीक छ?’ डाक्टरसँगै आएकी पातलो शरीरकी नर्सले सोधिन्।
म बोल्नै सकिनँ। कस्तो भन्नु? मलाई राम्रोसँग भाषा आउँदैनथ्यो, नेपाली उनीहरूले बुझ्दैनथे। मेरा आँखाहरू बोले, ओठ बोल्न सकेनन्।
‘नडराई भन्नुहोस्।’
‘ठीकै छ, राम्रो भएको छ,’ मैले छोटो सास फाल्दै भनेँ।
नर्सले मेरो नजिकै आएर मीठो स्वरमा बोल्दै फोनको स्क्रिन देखाई। स्क्रिनमा लेखिएको थियो- ‘तपाईँको शरीरमा कडा औषधि देखिएको छ। त्यो औषधि कसले खान भनेको?’
लौ फसाद पर्यो! के भन्ने अब? मलाई निकै गाह्रो भयो। ‘आफैँ खाएको हुँ’ भन्दा चोरीको आरोप लाग्न सक्छ, पुलिसले जेल हाल्न सक्छ। ‘साहुले खुवाएको’ भनौँ भने साहुले खुवाएको थिएन। म निकै असमञ्जसमा परेँ।
‘नडराई भन्नुहोस्,’ नर्सको कुराले म झस्किएँ।
सोचेँ— आफैँले खाएको हुँ भन्दा अस्पतालको उपचार खर्च आफैँले व्यहोर्नुपर्छ होला। कोरियामा उपचार खर्च निकै महँगो हुन्छ रे। जानीजानी गलत औषधि खाएपछि बिमाले पनि पैसा दिँदैन होला।
त्यति नै बेला साहुको अनुहार दिमागमा फनफनी नाच्न थाल्यो। उसले गाली गरेका घटनाहरू एक-एक गरी सम्झिन थालेँ। एकपटक त झम्टेर हान्न आएको थियो, त्यो दृश्य ताजा भयो। अनि साहुसँग बदला लिने यो नै राम्रो अवसर भन्ने लाग्यो। मैले सर्प पनि मर्ने, लौरो पनि नभाँचिने जुक्ति निकालेँ। अनि आँखा नझिम्क्याई नर्सलाई हेरेर भनेँ, ‘साहुले दिनुभएको हो।’
मेरो जवाफ उनले डाक्टरलाई सुनाइन्। डाक्टरले मुख बिगारेर टाउको दायाँबायाँ गरे। मैले भने आफ्नो खल्ती भएको ठाउँमा हात लगेर लामो सास फेरेँ।
डाक्टर र नर्स केहीबेर कुराकानी गरे तर मैले बुझिनँ। डाक्टर अलि बढी नै आक्रोशमा देखिएका थिए भने नर्सले उनको रिसलाई रोक्ने कोसिसमा थिइन्। केहीबेरमा नर्सले फोनको स्क्रिन मतर्फ फर्काइन्। फोनमा लेखिएको थियो- ‘त्यो औषधि साहुले दिएको निश्चित हो नि? डाक्टरले प्रहरीमा खबर गर्नुपर्छ भन्दैछन्।’
ल खा! बित्यास पर्यो नि! अब के भन्नू? होइन भनौँ आफू फसिने, हो भनौँ साहु फस्ने! मैले पहिले आफ्नो बारेमा सोच्नुपर्छ भन्ने लाग्यो। मैले आफू फसेर साहुलाई जोगाउनुको अर्थ थिएन। अनि मुठीले ओछ्यानको तन्ना च्याप्प समातेर भनेँ, ‘साहुले नै खान दिएका हुन्। म नजानेको मान्छेले किन खान्थेँ र?’
मेरो कुरा सुनेपछि डाक्टर झोकिँदै बाहिर गए। नर्स उनको पछिपछि गइन्। फेरि सोचेँ— मैले साहुलाई ढाड दुखेको कुरा गरेकै हुँ। साहुले जानीजानी औषधि नल्याइदिएको हो। उसले मलाई धोका दिएको थियो!
भोलिपल्ट मेरो डिस्चार्ज भयो। बिमाले नपुगेको रकम पछि पठाउने सर्तमा म निस्किएँ। हस्पिटल बाहिरबाट स्याउ र अङ्गुर किनेर ट्याक्सीमा कम्पनीतर्फ लागेँ। ट्याक्सीमा बसिरहँदा मेरा हातगोडा काँपिरहेका थिए, बेलाबेलामा झस्किरहेको थिएँ।
कम्पनीको गेटनजिकै पुग्दा मैले देखेँ— कम्पनीभित्र साहुको गाडीबाहेक अर्को एउटा गाडी पनि थियो। कसको गाडी होला? किन आएको होला? मेरो पेट पोल्न थाल्यो। मैले गेटबाट छिरेपछि देखेँ— साहुले दुई जना पुलिसहरूसँग कुराकानी गर्दै थियो।
मलाई उनीहरूको नजिक जाने हिम्मत आएन, परै उभिएर हेरिरहेँ। उनीहरू केही बेर कुरा गरेर तीनै जना गाडीमा चढे। मेरो शरीर चिसो भयो। कतै साहुलाई पुलिसले पक्राउ गरेको त होइन? त्यो पनि मेरो भनाइले? तर उनीहरूको हाउभाउ सामान्य थियो, झगडा गरेजस्तो वा जबर्जस्ती गरेजस्तो देखिँदैनथ्यो। सोचेँ— केही काम परेको हुन सक्छ।
कपडा नफेरेरै गोठतर्फ लागेँ। साना बाच्छाहरूको अवस्था के भयो होला? गाईगोरुलाई कसैले खोले-घाँस दियो कि दिएन होला? मलाई उनीहरूको चिन्ता लाग्यो। आखिर यो बिरानो ठाउँमा मेरो भन्नु उनीहरू मात्रै त थिए!
‘या, हेम!’ पछाडिबाट आएको चर्को आवाजले म झस्किएँ। मानिसको आवाज थियो। टाउको घुमाएर हेरेँ, साहुनी मेरो पछाडि उभिएकी थिइन्। अलिकति टाउको झुकाउँदै भनेँ, ‘नमस्कार साहुनी।’
उनका आँखा राता भएका थिए, अनुहार कालो भएको थियो। घुरेर मलाई हेर्न थालेपछि म दुई पाइला पछाडि हटेँ। म बोल्न खोजेँ, तर जिब्रो लरबरायो। चुपचाप उभिरहेँ। मेरा आँखाले घरिघरि गेटतिर हेरिरहेका थिए।
मेरो भाव बुझेर हुन सक्छ, उनले भनिन्, ‘ कम्पनीमा पुलिसले आयो, अब खुसी भइस् होला नि?’
‘किन? कुरा के हो?’ मैले अनुहारको इसाराले सोधेँ।
‘तेरो कारणले, तेरो!’ उनले तीर सोझ्याएझैँ चोर्न औँलो मेरो छातीनजिकै ल्याएर तीखो स्वरमा भनिन्, ‘तँलाई साहुले गोरुको औषधि खान भनेको थियो, हँ? भन, साहुले खान भनेको थियो?’
मैले केही भन्ने सोच्नै सकिनँ। मेरा ओठ फरफराए। मसँग सत्य बताउनुको विकल्प थिएन। टाउको भुइँतिर ढल्काएर सानो स्वरमा भनेँ, ‘बेसरी दुखेर खाएको हुँ।’
‘तँ गोरुको औषधि खाने गोरु होस्!’ उनको आवाज उस्तै तीखो थियो, ‘तेरो झूटको कारण आज पुलिस आयो, देखिस्?’
मैले टाउको तलमाथि गरेँ।
‘साहुलाई फसाउन खोजेको होइनस्? अब राम्रोसँग सुत!’ उनले फाटेको स्वरमा भनिन्। ‘गल्ती नगरेको मान्छे फस्दैन जानिराखेस।’
मलाई छातीमा तीर छाडेजस्तै च्वास्स भयो। ‘अब के गर्न सकिन्छ त? आफैँ खाएको हुँ भनेर कुरा मिलाउन पाए हुनेथियो,’ मैले आफैँलाई मात्र भनेँ, तर साहुनीसँग भन्ने हिम्मत आएन। चुपचाप बसिरहेँ।
केही बेरको शून्यता चिर्दै साहुनीले भनिन्, ‘ प्रहरीले भिडियो लगेको छ। औषधि लिएर आउँदा-आउँदै चोरेर गोरुको औषधि खाने? उनी झर्किँदै गाडीतर्फ लागिन्।
मेरो अनुहार तातो हुँदै गयो। मैले कामना गरेँ— हे भगवान्, कुनै अनिष्ट नहोस्! अनि ओठ कसिलो बनाएर साहुनी गएको तर्फ हेरिरहेँ। त्यो कालो गाडी हेर्दाहेर्दै सानो भएर घुम्तीबाट हरायो।
मेरा हातगोडा लगलग काँपिरहेका थिए, धड्कन बढिरहेको थियो। खाना बनाउन जाँगर थिएन। बिस्कुट र फलफूल खाएर सुत्ने निधो गरेँ। फोनमा बा-आमासँग बोल्न मन लागेको भए पनि फोन गर्ने हिम्मत आएन। ओछ्यानमा पल्टेर कोरियाको प्रहरी चौकी र जेलका चित्रहरू कल्पना गरिरहेँ।
आँखा नजोडीकनै रात ढल्किरहेको थियो। बाहिर चराहरू कराउन सुरु गरे। मैले के गर्ने सोच्नै सकिरहेको थिएनँ। हिजो-अस्तिको दैनिकीमा परिवर्तन नहुने हो भने पाँच बजे साहु आइपुग्थ्यो। साहु प्रहरीबाट आयो कि नाइँ? निश्चित थिएन। तर एउटा कुरा निश्चित थियो साहु फर्केर आएपछि मलाई यसै छाड्नेवाला छैन।
छटपटीकै बीच बिहानको साढे चार भइसकेको थियो। हिउँ परेर ढोकाका चेपबाट भित्रसम्म चिसो आइरहेको थियो। निद्रा, थकान र डरले शरीर गलेर उसिनेको कर्कलोजस्तै भएको थियो। मैले दुई-तीन पटक लामो-लामो सास फेरेँ। अनि दराजबाट झोला निकालेँ। झोलामा पासपोर्ट, आईडी कार्ड, दुई जोर कपडा हालेर फोन गोजीमा हालेर बाहिर निस्केँ। हिउँले छोप्दै गरेको साइकल झिकेर हिउँ टकटकाए। बाटोमा जमेको हिउँलाई साइकलको टायरले चिर्दै सबै बल लगाएर हुइँकिन सुरु गरेँ।
करिब दश मिनेटपछि स्वाँ-स्वाँ हुन थाल्यो। बाटो अलिकति पनि कटेको थिएन, पछाडिबाट कालो गाडी आएको देखेँ।
तिम्रो साइकल बाहेक अरू केही हिँडेको थिएन भाइ बाटोमा। नेपाली दाइले मेरो कुरा रोकेर भने। अनि झाडीमा लुक्यो भने देख्दैन भनेर पसेको हौ?
हजुर दाइ।
मेरो उत्तर सुनेर दाइ फिस्स हाँस्दै भने, ‘यस्तो चिसोमा के दिमाग लगाएको भाइ?’
जवाफमा चुपचाप बसिरहेँ।
केहीबेरको मौनता तोडेर साहुले नाक बजाउँदै भन्यो- ‘मैले औषधि ल्याएको थिएँ त, गोरुको औषधि किन खानुपर्ने?’
म झस्किएँ, हँ, साहुले औषधि ल्याएको थियो?
‘कहाँ, कता थियो? मैले किन देखिनँ त?’ मैले आफैँलाई सोधेँ,
मेरो प्रश्नको जवाफ साहुले नै दियो, ‘यसको ढोकाछेउमा त्यतिकै राखिदिएको थिएँ, खायो होला भनेको, हिजो पुलिसले उठाएर लग्यो।’
मैले नेपाली दाइतर्फ हेरेर सुस्तरी भनेँ, ‘दाइ, कसम मैले देखेको थिइनँ, मलाई आँखाले धोका दियो।’
भाइ, तिम्रो साहुले एउटा कुरा सोध भन्दैछ।’
‘के कुरा?’
दाइले भने, ‘तिमीलाई काम गर्न मन छैन भने जाँदा हुन्छ रे। काम गर्ने इच्छा भए गर्दा हुन्छ भनेछ। के गर्छौ?’
‘के गर्दा ठीक होला त?’ मलाई सोच्न गाह्रो भयो। यतिविघ्न भइसकेपछि कुन मुखले उनीहरूसँग काम गर्ने? साहु-साहुनीको मनमा मैले बोलेको झुट खिलजस्तै गढ्छ होला। फेरि सोचेँ— काम गर्न भनेरै कोरिया आएको। यो जाडोमा अन्त कहाँ काम खोज्नु, कहाँ बस्नु? अनि पैसा पनि त छैन। फेरि उनीहरूसँग माफी मागेँ भने उपचार पनि गराइदेलान्।
हामी गाउँ छिचोलेर सहर पुगिसकेका थियौँ। साहुले बाटोछेउमा गाडी रोकेर नेपाली दाइलाई सोध्यो— कफी पिउने? उनले ‘हुन्छ’ भन्ने इसारामा टाउको हल्लाए। साहुले मतर्फ औँलो देखायो।
दाइले सोधे, ‘भाइ, कफी खान्छौ?’
‘हजुर दाइ, तातो कफी,’ मैले भनेँ।
साहु ढोका खोलेर हतारिँदै अङ्ग्रेजी अक्षरमा ‘सि यु’ लेखिएको पसलमा छिर्यो।
‘हेम भाइ, हामी कहाँ जाँदैछौ थाहा छ?’ नेपाली दाइले सोधे।
मैले टाउको दायाँबायाँ गरेर भनेँ, ‘नाइँ।’
‘प्रहरीकहाँ जान लागेको।’
‘किन?’ मैले तर्सेर सोधेँ, ‘मलाई थुन्न हो?’
‘होइन, थुन्दैन।’
‘अनि किन जाने त?’
‘सामान्य सोधपुछका लागि हो भाइ।
मैले पुलिसले सोध्न सक्ने प्रश्न र तिनको जवाफ दिमागमा तयार गर्न थालेँ। मैले सोचिरहँदा कफी लिएर साहु आइपुग्यो। हलुका बाफ उड्दै गरेका केनहरू हामीतर्फ बढायो। मैले साहुको हातबाट कफी समाएर नेपाली दाइको अनुहारमा हेरेर भनेँ, ‘ दाइ म त्यहीँ काम गर्छु, अनि कहिल्यै ढाट्नेछैन।’
उनले साहुलाई सुनाए। साहुले कफीको एक घुट पिएर लामो सास फाल्दै भन्यो, ‘गल्ती गरे पनि केटो खराब होइन।’
कफी समातिरहेका मेरो हात काँप्न थाले। मुखमा हालेको कफीको घुट घाँटीमै अड्किएजस्तो लाग्यो। दाइले नदेख्ने गरी आँखाको चेपमा हत्केला पुर्याएर चिसा आँखा पुछ्दै अगाडि हेरेँ। अगाडिको सिटमा कालो स्टेरिङ समाएका हातहरू ठ्याक्कै मेरा बाका हातजस्तै थिए।