नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीको जारी १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पद (मधेशीतर्फ)मा उम्मेदवारी दर्ता गरेका छन्। 
आफ्नो सपना समृद्ध नेपाल रहेको र यही मिसनका लागि राजनीतिमा आएको उल्लेख गर्दै चौधरीले कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्। 
‘मैले मेरा लागि जीवनमा देखेका अधिकांश सपना पूरा हुँदै आएका छन्’, उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘अब, मेरो बाँकी रहेको सपना भनेको नेपाललाई समृद्ध र स्वाभिमानी राष्ट्रका रूपमा चिनाउने हो।’ 
राष्ट्र निर्माणको आफ्नो सपनालाई पूरा गर्न सबैको सहयोग पाउनेमा आफू विश्वस्त रहेको चौधरीले बताएका छन्। 
‘नेपाली कांग्रेसको नेतृत्वमा राजनीतिक क्रान्तिहरू सफल भए र अब आर्थिक क्रान्तिको जिम्मेवारी पनि कांग्रेसकै हो’, उनले भने, ‘यसको सबभन्दा महत्वपूर्ण आधार हाम्रा होनहार युवाहरूको सिर्जनशील सोच, शिल्प, श्रम र केही गरौ भन्ने उत्साह भएकाले नेपाली कांगेसले सही नेतृत्व पाउनु पर्छ।’