नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिनभर नेताहरूसँग छलफल गरे पनि महाधिवेशन कार्यतालिकामा सहमति जुटेन।
दुई दिन केन्द्रीय समिति बैठक रोकेर नेताहरूसँग अनौपचारिक छलफल गरेका कार्यवाहक सभापति खड्का अब भने केन्द्रीय समिति बैठक रोक्ने पक्षमा छैनन्।
भोलिदेखि केन्द्रीय समिति बैठकलाई निरन्तरता दिने र केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम अघि बढ्छ।
कात्तिक १३ गते महामन्त्री गगन थापा केन्द्रीय समिति बैठकमा अनुपस्थित रहेका थिए।
त्यसयता थापाले महाधिवेशन कार्यतालिका पेस गर्न नदिने हो भने केन्द्रीय समितिमा उपस्थित नहुने कुरा जानकारी गराएपछि बैठक रोकेर कार्यवाहक सभापति खड्काले पदाधिकारी, पूर्वपदाधिकारी र वान टू वान परामर्श गरेका थिए।
एकपछि अर्को बैठक, सामूहिक वा वान टू वान बैठक गरे पनि कार्यवाहक सभापति खड्काले संस्थापन र संस्थापनइतर पक्षलाई एक ठाउँमा ल्याउन सकेका छैनन्, एकै एजेन्डामा हिँडाउन सकेका छैनन्।
सभापति शेरबहादुर देउवा पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारी फागुन २१ को चुनावमा भाग लिएर वैशाख मसान्तमा मात्रै १५ औं महाधिवेशनमा जानुपर्ने अडानमा छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा ढिलोमा पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गरेर जानुपर्नेमा छन् भने नेता शेखर कोइराला पनि चुनावअघि नियमित महाधिवेशनका पक्षमा छन्।
नेतापिच्छेका फरक फरक मत हुँदा त्यसले कांग्रेसमा मतभेद निम्त्याएको छ र केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका प्रस्ताव हुन सकेको छैन।
२८ असोजमा सुरू केन्द्रीय समिति बैठक सहमति जुटाउने प्रयासमा बीच बीचमा स्थगित गर्दै सुरू हुँदै आएको छ। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीको आक्रमणबाट घाइते सभापति शेरबहादुर देउवा हाल उपचार गर्न सिंगापुरमा छन् भने उनले उपसभापति खड्कालाई कार्यवाहक तोकेका थिए।
आज कार्यवाहक सभापति खड्काले नेताहरूसँग सामूहिक र वान टू वान गरी ५ घन्टाभन्दा बढी छलफल गरे तैपनि महाधिवेशन तिथिमितिबारे सहमति जुटाउन सकेनन्।
सभापति देउवा पक्षका पदाधिकारी र पूर्वपदाधिकारी चुनावपछि वैशाखमा महाधिवेशन गर्ने पक्षमा र महामन्त्रीद्वय चुनावअघि (ढिलो गरे पुसभित्र) महाधिवेशनका पक्षमा उभिँदा सहमति जुट्न नसकेको हो।
कार्यवाहक सभापति खड्काले धोविघाटको एक होटलमा नेताहरूसँग छलफल गर्दा देउवानिकट केन्द्रीय सदस्यहरू भने बानेश्वरमा सामूहिक छलफलमा थिए। उनीहरूले फागुन २१ को चुनावमा भाग लिने भए वैशाखमा महाधिवेशन गर्नुपर्ने र चुनावमा भाग नलिने हो भने पुसमा महाधिवेशन गर्न सकिने गरी कार्यतालिका नै केन्द्रीय समितिमा प्रस्तुत गर्ने निष्कर्ष निकालेका छन्।
विशेष महाधिवेशन माग गरेका नेताहरूले पनि मंगलबार काठमाडौंमा भेला गर्दैछन्। केन्द्रीय समितिले नियमित महाधिवेशन कार्यतालिका ल्याउन नसकेको भन्दै विशेष महाधिवेशन प्रक्रिया सुरू गर्नुपर्ने हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूको भनाइ छ।
आजको छलफलमा कार्यवाहक सभापति खड्काले नेताहरूसँग निकासको बाटोबारे सोधेका थिए। चुनावअघि र पछि महाधिवेशन उपयुक्त हुन्छ भन्ने आ-आफ्नो दाबीमा नेताहरू छन्, त्यसले निकास दिन सकेको छैन। कार्यवाहक सभापति खड्काले नेता शेखर कोइरालालाई पनि महाधिवेशन तिथिमितिबारे धारणा माग गरेका थिए।
एक पदाधिकारीका अनुसार नेता कोइरालाले त्यसबारे प्रष्ट जबाफ दिएका थिएनन्, 'मिलाएर महाधिवेशन गरे भइहाल्छ नि!' भनेका थिए।
आज कार्यतालिकाबारे सहमति नभएपछि केन्द्रीय समिति बैठक अघि बढाउने समझदारी बनेको छ।
‘महाधिवेशन कार्यतालिकाबारे जति अनौपचारिक कुराकानी गरे पनि निकास निस्किएन। अब केन्द्रीय समिति बैठक नरोक्ने, केन्द्रीय सदस्यहरूलाई धारणा राख्दै जान दिने र त्यसबीचमै सहमति खोज्ने प्रयास जारी राख्ने कुरा भएको छ,’ आजको छलफलमा सहभागी एक पदाधिकारीले सेतोपाटीसँग भने, ‘भोलि १ बजे केन्द्रीय कार्यालयमै केन्द्रीय समिति बैठक बस्छ, कार्यालयको मुख्य गेटमा युवा विद्यार्थीले ताला लगाए पनि खोलिन्छ। जेनजी आन्दोलनमा आगजनीमा परेर सबैतिर खुला रहेको कार्यालय एक ठाउँमा ताला लगाएर बन्द हुन्छ त?’
भोलिको केन्द्रीय समिति बैठकमा सबै पदाधिकारी सहभागी हुने ती पदाधिकारीले दाबी गरे। महामन्त्री गगन थापा पनि केन्द्रीय समिति बैठकमा उपस्थित हुने कुरा भएको उनको भनाइ थियो।
आजको बैठकमा सभापति देउवानिकट '६ भाइ' र दुई महामन्त्रीसँग कार्यवाहक सभापतिले बेग्लाबेग्लै र सामूहिक रूपमा पनि कुराकानी गरेका थिए। सँगै अरू नेताहरूसँग पनि कार्यवाहक सभापतिले अनौपचारिक कुराकानी गरेका थिए।
आजको बैठकमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ उपस्थित थिएनन्। उनी तिहारपछि उपचारका लागि भारत गएका थिए। उनको उपचार जारी छ।
‘धोविघाटको एक होटलको एउटा कोठामा देउवानिकट ६ भाइ बसेका थिए, अर्को कोठामा दुई महामन्त्री र चौरमा अरू नेताहरू थिए, कार्यवाहक सभापतिले सामूहिक र वान टू वान गरी दिनभरजसो कुराकानी गर्नुभयो,’ छलफलमा सहभागी एक पदाधिकारीले सेतोपाटीसँग भने।
सामूहिक र वान टू वान गरी छलफलहरू भए पनि महाधिवेशन कार्यतालिकाबारे कुनै निष्कर्षमा पुग्न नसकिएको नेताहरूले बताएका छन्।
‘कार्यवाहक सभापतिज्यूले दुई पक्ष बीचमा सहमति जुटाउन राम्रो प्रयास गर्नुभएको छ, केही दिनमा टुंगोमा पुगिएला,’ ती पदाधिकारी भन्छन्, ‘आज बेलुकी छुट्टिने बेला सभापति देउवानिकट ४/५ जना नेताहरू र महामन्त्रीहरूबीच पनि कुराकानी भएको थियो। बैठक सौहार्दपूर्ण नै छ, मिलाउने गरी नै कुरा अघि बढेको छ।’
सभापति देउवानिकट पदाधिकारी र पूर्वपदाधिकारीहरूले चुनावअघि महाधिवेशन गर्न नहुने र चुनावमा जोड दिनुपर्ने कुरा गरेका थिए तर महामन्त्रीहरूले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताएका थिए।
महाधिवेशन कार्यतालिकाबारे अहिलेसम्म सहमति नजुट्नुमा सभापति देउवाको भूमिकालाई लिएर पनि नेताहरूले प्रश्न उठाउन थालेका छन्।
‘चुनावअघि महाधिवेशन गराउन कतै सभापतिज्यूले नै नचाहेर केन्द्रीय समिति बैठक तन्काउने र निर्णयबिना सक्न खोजेको त होइन भन्ने ढंगबाट पनि आशंका भएका छन्,’ कांग्रेसका संस्थापनइतर एक नेताले भने, ‘उहाँले उपचारका लागि सिंगापुर गएर फर्किऊन्जेलका लागि मात्रै उपसभापतिज्यूलाई कार्यवाहक दिएको हो कि!’
भोलिदेखि बस्ने केन्द्रीय समिति बैठकमा संस्थापन र संस्थापनइतर पक्षबाट बेग्लाबेग्लै महाधिवेशन कार्यतालिका पेस हुन सक्ने पनि नेताहरूले दाबी गरेका छन्।