‘पुरु दाइ, यी श्रीमतीहरूले जीवनभर यसरी नै माया गर्छन् त?’
‘सम्बन्ध भनेको भकुन्डो जस्तो हो भाइ, जति जोडले तिमी पठाउँछौ त्यति नै जोडले तिमीतिर नै फर्किन्छ।’
‘ए पछार्नै पर्ने?’ डा. समिर र म बेजोडले हाँस्यौँ।
पहिलो पटक थोराङला पास गर्ने अभिलाषा, गन्तव्यको सामान्य अनुमानबाहेक सबैसँग अतृप्त नजर थिए। डा. समिर, पोषराज, आकाश, टोपहरी, रमेश भाइ र म सन् २०१७ को दसैँपश्चात् ट्रेकिङ जाँदै थियौँ।
काठमाडौँबाट चढेको माइक्रो बस लमजुङको भोटेओडारमा प्रहरी चेकप्वाइन्टमा साँझ ८ बजेतिर लामो समय अनायासै रोकिएको थियो। सबै मुखामुख गर्दै थियौँ। २०–२२ वर्ष उमेरका २ जना भाइहरूलाई चौकीभित्र लगेर सबै कपडा खोलेर शरीर खानतलासी लिएको पर्दा नलगाएको झ्यालको सिसाबाट सबै यात्रुहरूले छर्लङ्ग देखेका थियौँ। कोही ढिला भयो भन्दै थिए त, कोही के ज्यादती हो यो भन्दै थिए।
केही समयपश्चात् प्रहरीहरू आएर सबै यात्रुलाई गाडीबाट झर्नु भनेर आदेश गरे। हामी झऱ्यौँ। गाडीको खानतलासी भयो। गाडीको पछाडिको ढोकाको चेपबाट र सिटमुनि राखेको मेरो झोलाको बाहिरी भागबाट के-के भेटियो रे, मलाई पनि सामान्य सोधपुछ भयो। लगभग १ घण्टापश्चात् २ जना भाइहरूलाई त्यही छोडेर हाम्रो गाडी अगाडि बढ्यो।
गाडीमा गाईँगुईँ सुरु भयो– सुई भेटियो रे, उनीहरू कथित पेसेवर हुन् रे, सधैँ आउजाउ गर्नेहरूलाई प्रहरीले चिनिहाल्छ नि!
डुम्रे कटेपछि चढेका ती भाइहरू मसँगैको सिटमा बसेका थिए। गाडी चढेको केही समयमै तिनको मोबाइलमा 'आमा' लेखिएको नम्बरबाट फोन आएको देखेको थिएँ। उताबाट के आवाज आयो सुनिएन तर यताबाट चाहिँ ‘भर्खर गाडी भेट्यौँ, आउँदैछौँ खाना बनाउँदै गर्नु है’ भनेको सुनेको थिएँ। केही समयमै ती भाइहरू त सरकारी खाना खान झरे।
विचरी ती आमा कति समयसम्म छोरालाई खाना कुरेर बसिन् होला। अनि कुन मनोभावले ढलिन् होला। बाउले खाना त कुरेनन् होला तर थाहा पाएका बखत ढलेको सपनाको पहाडले कति थिच्यो होला? ऐया पनि भन्न सके कि सकेनन् होला? मनमा अनेक कुराहरू खेल्दाखेल्दै बेँसीसहर पुगिसकिएछ।
‘ट्याङ्की मनाङमा एक रात एक्लीमेटाइज (नयाँ जलवायुसँग घुलमिल हुने प्रक्रिया) गर्नुपर्छ है पुरु दाइ, शरीरको त भर हुन्न नि हाड छालाको शरीर हो,’ बेँसीसहरबाट अघि बढ्दै गर्दा डा. समिरले भनेको सुनेर म अर्धनिद्रामा झस्किएँछु।
‘डाक्टरलाई पनि सँगै लिएर हिँडेको के काम नि? कानमा घुसार्ने बोकेको छैन? जहाँ गाह्रो भयो त्यहीँ सलाइन घोचिदेऊ न भाइ, ठीक भइहाल्छ नि,’ बाटोको अवस्था देखेर विचलित भएको मैले मलिन स्वरमा भनेँ, ‘डाक्टर त्यसै भइन्छ र, डाक्टरसँग छु भन्यो भने आमाले सातखत माफ गरिदिनुहुन्छ मेरो त,’ सबैजना मज्जाले हाँस्यौँ।
अन्नपूर्ण र गंगापूर्ण हिमालको काखमा हामीलाई नै कुरेर गंगापूर्ण ताल, डाँडामाथिको गुफा, गुफामा एक्लै बस्ने आनीको आशीर्वाद र मनोरम प्राकृतिक छटा एवं होमस्टेका दाइको चोटिलो गफ थप १ दिन बिताउन पर्याप्त भए हामीलाई।
बिहानैबाट लागेको पारिलो घाम, निलगिरीको शीतल हावा, बाटा भरिका पोथ्रे काँडाहरूको घोचाइ, थच्च अडिएर बसेका अन्नपूर्ण र गंगापूर्णको विशेष आतिथ्यताले चौथो दिनको बाटो कसरी काटियो पत्तै भएन। याक खर्कमा पुगेपछि डा. समिरले मलाई भनेको विषयले साह्रै बिझ्यो, ‘के गर्नु दाइ, २–४ दिन घुम्न त रमाइलो छ। यहाँको दैनिकी त कठिन छ नि है।’
मैले सहमतिको सूचक टाउको हल्लाएँ र आफ्नो जन्मथलो सम्झिएँ।
दूधकोशी किनारको महादेवबेशी देखि अन्नका भारी बोकेर गाउँसम्म ४ घण्टा उकाली चढेकी मेरो आमाको चाउरी परेको अनुहार सम्झिएँ। आमालाई हिँड्न सार्है दुःख, छोरालाई त्यही उकाली ओराली दगुर्ने रहर। आमा त्यही अन्न खुवाएर मलाई यत्रो बनायौ है। मन रसायो। कोटीकोटी प्रणाम छ आमा।
हामी लेदरबाट सखारै निस्कने मेरो जिद्दीअनुसार ब्रेकफास्ट खान लो क्याम्प पुगियो। पारिलो घाममा स्फटिक अनुहार सबैका चहकिलो र हँसिलो थियो। घरको सम्झना आयो, मोबाइल निकालेर फोन गर्न खोजेँ नेटवर्क नै थिएन।
‘आ २–४ दिन हिँड्दा पनि केको चिन्ता गर्नु है, सबै राम्रै छ सोचेर हिँड न पुरे,’ मनले अह्रायो मैले मानेँ।
बिहानको साढे ११ बजे हामी हाई क्याम्पका लागि अगाडि बढ्यौँ। डा. समिर यात्राभरि सधैँ अगाडि अगाडि हुन्थे। म चाहिँ लोभी प्राकृतिक छटाहरू कैद गर्नतर्फ लागेँ। पछाडि परिरहेँ। पहिरोमाथि बनेको नाक ठोक्किने उकालो बाटो लामो–लामो सास फेर्दै ४ पाइला गनेर रोकिँदै अघि बढ्दै गएँ। आज जसरी पनि हाई क्याम्पमा बास बसेर भोलि बिहान ४ बजे उठेर हिँड्न सुरु गर्नु थियो।
‘ल्या, हतारमा सामान प्याक गरेको हेडल्याम्पको ब्याट्री बोकेँ कि बोकिनँ मन अलमल भयो। आ मेरो नभए अरूको त होला नि पछि–पछि हिँडौँला। पावर बैंक छ मोबाइल चार्ज गर्छु, त्यसैको टर्च बालेर हिँडौँला नि,’ यस्तै यस्तै सोचेर अगाडि बढ्दै थिएँ, डा. समिरलाई भेटेँ।
‘के हो डाक्टर हामीलाई अन्तिम हुनबाट जोगाएको? अरूको लाज जोगाइदिन पनि आफूले हार्नु पर्ने है?’ मैले इत्रँदै भनेँ।
‘तपाईं अगाडि गएर होटलको व्यवस्थापन गर्नुहुन्छ भनेर नि। म आउँदै गर्छु तपाईं अगाडि बढ्नु,’ उनले भने। म मेरै कल्पनामा रमाउँदै हिँडेँ।
बाटोमा भेटिएका ढुङ्गासँग बात मार्न खोजेँ, ‘ए ढुङ्गा तिमीलाई आजसम्म कतिले कुल्चिएर अगाडि बढे होलान्, कतिलाई लड्नबाट जोगायौ होला तर पनि कसैले सोधेन होला है तिमीलाई के छ भनेर। लु मैले सोधेँ नि तिम्रा रहरहरू के हुन् भन त?’
‘मेरा रहर त तिमीलाई गन्तव्यमा सुरक्षित साथ पुऱ्याउने हो। भो अरू नसोध’– आफ्नो मनोगत भावसँग आफै मस्किएँ।
ऐया, हाईक्याम्पमा झोला बिसाउने बेला पोषराजलाई आफ्नै झोलाले हातमा थिचेछ। हत्तनपत्त आकाश जी गएर हटाए। म दिउँसोको खाना र सुत्ने ठाउँको व्यवस्थापन गर्नतर्फ लम्किएँ। करिब १ घण्टापछि डा. समिर आइपुगे। उनी आउनासाथ तातो-तातो खाना खाएर भ्यू-प्वाइन्टमा गएर फोटो खिचियो। तल हेर्दा त मुटु नै काँप्ने भिर। त्यहाँबाट झरेको ढुङ्गा लो क्याम्पका होटलको छानामा पर्ला जस्तो।
बिहान सखारै हिँड्नुपर्ने छ। अत्यधिक चिसो, थकित शरीर, म सातै बजे सुतेँ।
मस्त निद्रामा रहेको बखत आरनमा खलाँती चले जस्तो आवाजले झसङ्ग भएर बिउँझिएँछु। कोही मोबाइल हेर्दै गफिँदै गरेको त कसैले फोटो हेर्दै गरेको आभाष भयो मलाई। एउटा कुनाबाट घ्यार्र-घ्यार्र आवाज आयो। यसो मोबाइल बालेर हेरेको डाक्टर समिर भित्तामा अडेस लागेर बसेका रहेछन्। त्यो देख्दा निकै असहज लाग्यो।
‘के भयो डाक्टर?’
‘दाइ मलाई लेक लाग्यो।’
‘अनि तपाईंले त ट्याङ्की मनाङबाटै लेक नलाग्ने औषधी खाएको हैन र?’
उनले ‘हो’ मात्रै भने। उनको अवस्था देखेर अतालिँदै सोधेँ– ‘मलाई किन नउठाएको त?’
‘तपाईं थकित हुनुहुन्थ्यो, मिठो निद्रामा सुतिरहनुभएको देखेर उठाउन मन लागेन दाइ’– उनले भने।
‘त्यस्तो पनि हुन्छ त, गाह्रो भएपछि त उठाउनुपर्छ नि। तुरुन्तै तल झर्नु पर्छ अब,’ मैले भनेँ।
मैले डाक्टरको र आफ्नो झोला प्याक गरेँ।
‘झरौँ अब।’
‘हस् दाइ,’ मेरो र डाक्टरको आँखा जुध्यो। त्रास, ग्लानि, भय, बेचैनी झुल्किरहेको थियो आँखामा।
होटलबाट निस्कँदा १२ बजिसकेको थियो। टोपहरी, पोषराज, आकाश केही तलसम्म पुऱ्याउन आए। ‘राम्रोसँग जानु है’ भन्दै फर्किए।
झोलामाथि झोला, ४ वटा लौरा समेतको भारी हालेर समिरको हातलाई आफ्नो काँधमा राखेर पहिरो गएको कठिन बाटो झर्न थाल्यौँ हामी। हेडल्याम्प पहरातर्फ फर्काउँदा बलेका एकजोर पहेँला आँखाले बाटोभरि भेटिएका घोरल र चौँरीका खप्परहरूलाई सम्झाइरहेका थिए। एकातर्फ मनमा संत्रास थियो भने अत्यधिक चिसोले शरीर जमिरहेको थियो। घ्यार्र-घ्यार्र आवाज, खुट्टा लतार्दै घिसार्दै हिँडिरहेको बडेमानको डाक्टरको शरीर धान्न म पिलन्धरेलाई निकै कठिन भइरहेको थियो।
आखिर जिजीविषा नै त रहेछ जीवन, आशा अनि भरोसा। रातको २ बजे हामी लो क्याम्पमा पुग्यौँ। बाटोभरि १ शब्द बोल्न सकिएन। धादिङतिरका एउटा भाइले चलाएको होटलमा जोड जोडले चिच्याएपछि ढोका खुल्यो।
‘भाइ अक्सिजन छ?’
उताबाट आवाज आयो– ‘छैन। अरू होटलमा वा गेस्टहरूसँग छ कि माग्नु न।’
हरेक होटलको कोठा कोठा चहारेँ। ‘हेल्प, हेल्प, अक्सिजन अक्सिजन’ मात्र निस्किरह्यो मेरो मुखबाट। तर कसैले अक्सिजन छ भनेनन्।
निराश भएर डाक्टरको छेउमा पुगेँ। ऊ बोल्न सकिरहेको थिएन। थरथर काँपिरहेका कलेटी परिरहेका ओठ, जीवन र मृत्युसँग लडिरहेको एक थान जीवन देखेँ मैले उसमा। उसलाई झन् गाह्रो भइरहेको थियो। मसिनो स्वरमा सकिनसकी बोल्यो– ‘दाइ, जति श्वास फेर्छु उति मेरो फोक्सोमा पानी भरिन्छ। म अब बाँच्दिनँ होला। मेरो शरीर चाहिँ घरसम्म पुऱ्याइदिनु है।’
उसको आँखामा हेरेँ, टिलपिलाएका थिए। अर्कोतिर फर्किएर आफ्नै आँसु पुछेँ। बोल्ने केही शब्द थिएन। नाडी छामेँ, धड्कन कम हुँदै गएको महसुस भयो।
मानिसको भाग्य पनि कस्तो कस्तो। भावी पनि किन यति निर्दयी हुन्छ होला भन्ने लाग्यो।
‘ए भाइ वाइफाई खोल न, एक कल गर्छु,’ सुतिसकेको होटलको भाइलाई बोलाउँदै चिच्याएँ।
साँझमा बालेको बत्ती र वाइफाई चलाएकोले राती नै बन्द हुन लागेको थियो मेरो मोबाइल। चिसोले त झन् ब्याट्री छिटो सकिन्छ।
‘बिहान घाम लाग्यो भने सोलार चार्ज हुन्छ अनि मात्र वाइफाई चलाउँला,’ होटलभित्रबाट आवाज आयो। उसले ओछ्यान छोड्न चाहेन।
सम्भावनाका सबै दियोहरू निभे जस्तो लाग्यो मलाई। म फेरि कराएँ, ‘प्लिज एक पटक कोसिस गरौँ न। १ मिनेट चले त मेसेज पठाउँथेँ।’
उसले झर्किंदै वाइफाई अन गऱ्यो। ट्याँ-ट्याँ एकोहोरो आवाजसँगै मोबाइलमा इन्टरनेट चल्न थाल्यो। मैले मेरो आत्मीय मित्र प्रकाशलाई भाइबरबाट मेसेज पठाउन भ्याएँ।
‘प्रकाश, म थोरङ्गला पासको ट्रेकिङमा लो क्याम्पमा छु। मलाई लेक लाग्यो। अवस्था क्रिटिकल छ। सकेसम्म चाँडो मलाई हेलीबाट रेस्क्यू गर्नु प्लिज।’
सहजीकरणका निमित्त मामा हेमराजको मोबाइल नम्बर पनि पठाउन भ्याएँ। त्यसपछि मोबाइल बन्द भयो। त्यतिखेर बिहानको ४ बजिसकेको थियो।
आफूलाई जीवनमा त्यति धेरै निरीह र लाचार कहिल्यै महसुस गरेको थिइनँ। बाहिर निस्किएर रोएँ धेरै बेर। कहिलेकाहीँ त प्रकृतिले पनि आफ्नो नियम परिवर्तन गरिदिए हुने नि। फुत्त सूर्य निस्किएर उज्यालो भइदिए हुन्थ्यो नि। मैले कुन देवी देवता सम्झिनँ होला र। के-के भाकल गरिनँ होला। प्रकृतिले मेरो कुरा कहाँ सुन्थ्यो र। ७ अर्ब मानिसमा क-कसको सुनोस्। डाक्टर समिरको घ्यार्र-घ्यार्रको आवाज पनि सानो भइरहेको थियो। म झन् अत्तालिन थालेँ।
प्रकृतिले त केही क्षणमा उज्यालो छऱ्यो तर मेरो मन पुरै अँध्यारो भइसकेको थियो। उज्यालोसँगै ब्याट्री चार्ज भयो वाइफाई चल्न थाल्यो। मोबाइलमा मेसेज र नोटिफिकेशनहरू बज्न थाल्यो। खोलेर हेर्न पनि मन लागेन न डाक्टरको अनुहारमा नै हेर्न सक्थेँ। उसले बोलेको अन्तिम वाक्य मात्र गुञ्जिरहेको थियो मेरो कानमा। एक्कासि हेलिकप्टरको आवाजले झस्कायो।
अनेक रस्साकस्सी र मोलमोलाई एवं हारगुहार पछि बिहानको ८ बजे हेलिकप्टर आइपुग्यो। हामीलाई मणिपाल अस्पतालको इमर्जेन्सीमा पुऱ्याएछ। म एकोहोरो टोलाइरहेको रहेछु। डाक्टरले ३–४ पटक बोलाएपछि बल्ल मेरो होस खुलेछ।
‘उहाँको फोक्सोमा धेरै पानी जमेको छ। ७० प्रतिशतजति ड्यामेज छ। अवस्था क्रिटिकल छ। अरू केही ढीला भएको भए जे पनि हुनसक्थ्यो। आशा गरौँ भरोसा राखौँ राम्रो होला,’ डाक्टरले समिरको अवस्थाबारे जानकारी गराए। मैले लामो श्वास तानेर ‘हे भगवान्’ भनेँ।
२ दिनपश्चात् रमेश, आकाश, टोपहरी र पोषराज यात्रा सम्पन्न गरेर अस्पतालमा आइपुग्दा समिरको स्वास्थ्यमा राम्रो सुधार भइसकेको थियो। समिरकी नवविवाहित श्रीमती सानु पनि आइसक्नुभएको थियो। मलाई भने किन–किन घरको धेरै सम्झना आयो। उनीहरूलाई समिर जिम्मा लगाएर म घर हिँडेँ।
आमाको काखमा बसेर लुटुपुटु गरेँ। एकतमासले अनुहारका धर्साहरू हेरेँ। मनमनै ‘आमा तिमी महान् छौ, धन्य छौ’ भनेँ।
‘ए पुरे, तिमीहरू टिभीमा के–के लगाउँछौ। हामीलाई अलग्गै टिभी ल्याइदेऊ न। बा र म भजन हेर्छौं,’ आमाले भन्नुभयो। मैले दिउँसो ठुलो टीभी ल्याएर जोडिदिएँ।
‘तँ गएको ठाउँहरू टिभीमा हेर्न मिल्दैन?’ आमाले सोध्नुभयो।
मैले जवाफ दिएँ– ‘मिल्छ नि आमा किन नमिल्नु।’
आमाको दिनचर्या फेरियो। बिहान भजन कीर्तन र दिउँसो नेपाल हेर्न थाल्नुभयो।
‘मलाई त्यो ढकाल केटोको भिडिओ साह्रै मनपर्छ। अस्ति दुधकुण्ड देखाएको थियो,’ आमा भन्दै हुनुहुन्थ्यो, ‘म पनि त पुगेको छु नि त्यहाँ।’
सगरमाथा जाँदा थामेका आलु कति मिठो मानेर खाएका है। तिलिचो जाने बेलाको पहिरो जाने बाटोमा माथिबाट ढुङ्गा खस्यो भने के गर्ने? लौरीबिनाको उकालोमा तँलाई गाह्रो हुँदैन? यस्ता यस्ता कुरा धेरै सोध्नुहुन्छ आमा।
‘हुन्न आमा, तपाईंको छोराको हिँड्दा हिँड्दा बानी परिसक्यो नि,’ म ढाडस दिन प्रयास गर्छु।
‘म नपुगे पनि तँ पुगेकै छस्, हामीलाई आफैँ पुगे जस्तै लाग्छ छोरा। हेर तेरो नि उमेर ५० पुग्न लागिसक्यो। शरीर सधैँ एकनास हुँदैन। तँ कतै जाँदा फर्किएर नआएसम्म म सुत्नै सक्तिनँ। मलाई डर लाग्छ। भो अब नजा, देखिसकिस् त, घुमिसकिस् त। छोडिदे अब,’ आमा मलाई सम्झाउँदै हुनुहुन्थ्यो।
‘आ केही हुन्न आमा। केही भइहाले पनि गन्तव्य त सबैको एउटै त हो नि’– मैले यसै टार्न खोजेँ।
मायाभाव सहित आमाले १ झापट हान्नुभयो- ‘त्यस्तो बोल्छस्, भगवान्को कानसम्म नपुगोस्।’ के-के भन्दै हुनुहुन्थ्यो आमा। म अफिसतिर निस्किएँ।
आमालाई थाहा छ अजम्बरी कोही छैनन्। तर उहाँ चाहनुहुन्छ, ‘बरु मलाई भगवान्ले लगून् तर मेरो छोरो अजम्बरी रहोस्।’ मिल्ने भए आफ्नो उमेर पनि दिन्छन् होला आमाले। आमाको सन्तानप्रतिको माया अस्वभाविक हुन्छ नै।
मलाई मेरो आमाको मायाले रोक्न खोज्छ तर मेरो रहरहरू अझै जीवित नै छन्। धेरै भूगोल हेर्नु छ। आफ्नो देशको कुना कन्दराको माटोको सुगन्ध लिनु छ।
मलाई म्याग्दीको नागी पुगेर पाङ्गदुरे नाच्नु छ। ल्होसारमा ओलाङ्गचुङ्गगोला पुग्नु छ। सन्दकपुर पुगेर बालखा सूर्यलाई कुर्नु छ। कर्णाली पुगेर सिज्जुको पछि पछि हिँड्नु छ। धेरै–धेरै ठाउँमा पुग्नु छ।
कृपया मेरी आमालाई मेरो थोरङ्गला पासको परिघटना नसुनाइदिनु होला, मेरो बिन्ती छ।