भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि हाम्रासामु महत्त्वपूर्ण प्रश्न खडा भएका छन् — के अब लोकतन्त्रमा सुधार आउँछ? राज्यको चरित्र बदलिन्छ? युवा पुस्ताले बलिदानी गरेर खोजेको परिवर्तन आउँछ? कसले ल्याउँछ लोकतन्त्रमा सुधार?
राजनीतिक चिन्तक र राजनीति–शास्त्रीहरूबीच एउटा कुरामा मतैक्य छ।
उनीहरू भन्छन् — Democracy lives and dies inside the political parties (अर्थात्, लोकतन्त्र बाँच्ने र जीवन्त हुने वा मर्ने दलभित्रै हो।)
यो किन पनि सही हो भने, नागरिकलाई राजनीतिक रूपले गोलबद्ध गर्ने, नागरिककहाँ जाने, उनीहरूको मत पाएर सत्तामा पुग्ने र त्यसपछि सुशासन वा कुशासन चलाउने दलहरूले नै हो।
गणतन्त्र आएपछिको मात्रै कुरा गर्ने हो भने पनि, पछिल्ला १८–२० वर्षमा लोकतन्त्र, सुशासन जति र जसरी खस्किएको छ, त्यसमा मुख्य दोष राजनीतिक दलहरूको छ। अझ मुख्यग री सत्ताको 'म्युजिकल चेयर' चलाउने तीन दलको छ।
आखिर दल जस्ता छन्, उनीहरूले लोकतन्त्र पनि त्यस्तै बनाउँछन्।
जुन दलभित्रै लोकतन्त्र छैन वा जसले लोकतन्त्रको अभ्यास नै गर्दैन, त्यसले मुलुकमा लोकतन्त्र बलियो बनाउन सक्दैन। बलियो बनाउन चाहँदैन। जुन दलले आफै आर्थिक अनुशासन पालना गर्दैन, जुन दलका नेताले कहाँबाट पैसा उठाउँछन् र कहाँ खर्च गर्छन् — कसैलाई थाहा हुँदैन, त्यसले देशमा सुशासन दिन सक्दैन। भ्रष्टाचार अन्त्य गर्न सक्दैन।
जुन दल र दलका नेता आफै कानुन पालना गर्दैनन्, उनीहरूले आफ्ना कार्यकर्तालाई कानुनको पालना गराउन सक्दैनन्। समाजमा कानुनको शासन स्थापित गर्न सक्दैनन्। किनभने, उनीहरूसँग त्यो नैतिक तागत नै हुँदैन।
खासमा आज नेपालमा जे छ, त्यो लोकतन्त्र होइन, दलतन्त्र हो। कुनै पनि देशमा बहुदल आएको भोलिपल्ट लोकतन्त्र आउँदैन। बहुदललाई लोकतन्त्रमा परिणत गर्न दलहरूले कठोर अनुशासन पालना गर्नुपर्छ। निरन्तर त्यस दिशातर्फ काम गर्नुपर्छ।
आगामी दिनमा लोकतन्त्रमा सुधार हुन्छ वा थप बिग्रिन्छ भन्ने हाम्रो जुन अपेक्षा वा संशय छ, त्यो मुख्य रूपमा दलहरू — नयाँ र पुराना— कति लोकतान्त्रिक बन्छन् र कस्तो लोकतन्त्रको अभ्यास गर्छन् भन्नेमा भर पर्छ।
नेपालका दलहरू लोकतान्त्रिक छन् कि छैनन् भन्ने विश्लेषण गर्न वा जाँच गर्न मैले यहाँ सात वटा विषय उठाएको छु। तिनलाई सात वटा प्रश्नमा ढालेको छु।
यी सात प्रश्न वा सात विषयमा मसिनोसँग छलफल गर्न मैले आजदेखि 'लोकतन्त्रको सुधार–दलहरूमा सुधार' बहस शृंखला सुरू गरेको छु। यो शृंखलामा दोस्रो जनआन्दोलनपछि १८ वर्ष सत्तामा बसेका तीन प्रमुख दलसँग बहस गरेको छु।
यो बहस शृंखलामा सेतोपाटीका पाठक र दर्शकरूले यी तीन दल कति लोकतान्त्रिक छन्, उनीहरूका के कमजोरी छन्, उनीहरूका ती कमजोरीले कसरी राज्य र लोकतन्त्र कमजोर बनाएका छन् भन्ने मिहिन बहस सुन्न पाउनुहुनेछ। आगामी सुधारबारे नेताहरू के भन्छन् भन्नेबारे पनि सुन्न पाउनुहुनेछ।
यिनै विषय र प्रश्नका आलोकमा अहिलेका वा भोलि आउने नयाँ दलको लोकतान्त्रिक आचरणबारे पनि पाठक, दर्शकले आकलन गर्नुहुनेछ।
यो बहस शृंखलामा मैले नेपाली कांग्रेसका महामन्त्री गगन थापा, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई निम्त्याएको छु।
त्यस्तै यो बहस शृंखलाको चौथो भागमा मैले भदौ २३ गतेको जेनजी आन्दोलनको अग्रभागमा रहेका तीन प्रखर युवाहरू रिजन राना, रक्षा बम र उपार्जुन चाम्लिङलाई निम्त्याएको छु।
मैले यी युवाहरूलाई भदौ २३ गते आन्दोलन गर्दा उनीहरूका अपेक्षा के थिए, लोकतन्त्रको सुधारबारे उनीहरूका धारणा के हुन् भनेर सोधेको छु। साथै अहिले कतिपय मानिसले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, संघीयता र धर्म निरपेक्षता खारेजीका मागबारे उनीहरूको धारणा के छ भनेर पनि सोधेको छु।
यी चारै वटा बहस हामीले रेकर्ड गरिसकेका छौं। र, क्रमशः प्रसारण गर्नेछौं।
यो अंकमा हामीले कांग्रेसका महामन्त्री गगन थापासँग गरिएको बहस प्रसारण गरेका छौं। थापासँगको बहस दुई भागमा प्रसारण हुनेछ। अर्को भाग भोलि मंगलबार (मंसिर २३) प्रसारण गर्नेछौं।