आफूले लगाएको जिन्स लुगा पुरानो भएपछि तपाईं के गर्नुहुन्छ? थन्क्याउनुहुन्छ? वा फोहोरमा फ्याँक्नुहुन्छ?
पुराना जिन्स कसरी व्यवस्थापन गर्ने भनेर धेरैलाई हैरान भएको हुन सक्छ। यही हैरानी मध्यनजर गर्दै केही उद्यमीहरूले पुराना जिन्स पुनः प्रयोगको उपाय निकालेका छन्।
यस्तैमध्ये एक हुन् ललितपुर निवासी रश्मी तन्डुकार।
उनी चार वर्षदेखि पुराना जिन्स लुगाबाट विभिन्न उपयोगी सामानहरू बनाइरहेकी छन्। सानादेखि ठूला डिजाइनदार ब्याग (झोला), कि–रिङ, वालेट (पर्स), कार्डहोल्डर (कार्डहरू राख्ने वालेट) लगायत सामान उनले 'न्हु' ब्रान्ड नाममा बजार पुर्याइरहेकी छन्।
'न्हु भनेको नेवारी भाषामा नयाँ हो। पुराना कपडाबाट नयाँ सामान बनाउने भएकाले ब्रान्ड नाम न्हु राखेकी हुँ,' रश्मीले भनिन्।
उनले पुराना जिन्ससँगै कटन, क्यान्भास र खादा पनि उपयोग गरेकी छन्। सकेसम्म पुराना लुगा–कपडा फ्याँक्नु नपरोस् भन्ने उनको सोच हो।
न्हुले खासगरी पुराना जिन्सका ल्यापटप ब्याग, टोट ब्याग, साइड ब्याग, ब्याकप्याक लगायत ३० वटाभन्दा बढी डिजाइनका ब्याग बनाउँछ। नेपाली कागजको नोटकापी पनि बनाउँछ जसमा जिन्सकै गाता हुन्छ। यी सामानको मूल्य हाल पाँच सय रूपैयाँदेखि चार हजार रूपैयाँसम्म छ।
यसरी सामान बनाउन रश्मी जिन्सका पुराना लुगा संकलन गर्छिन्। संकलनमा एउटा अभियान नै चलाएकी छन्। पुराना भएर लगाउन छाडेका ६ वटा जिन्स पाइन्टबापत न्हुले एउटा वालेट दिन्छ।

'पुराना जिन्स लुगा हरेकजसो घरमा हुन्छ। अझ कतिपय केटी मान्छेले त नयाँ डिजाइन आएपछि पुरानो जिन्स लगाउँदैनन्। त्यो जिन्स फ्याँक्ने नै हो,' उनले भनिन्, 'यही कुरा ध्यानमा राखेर हामीले लुगा संकलनको अभियान चलाएका छौं।'
यसबाहेक रश्मी काठमाडौं उपत्यकाका जिन्स लुगा बनाउने कारखानाबाट खेर जाने कपडाको टुक्रा संकलन गर्छिन्। त्यसबाट वालेट बनाउँछिन्।
यसरी बनाएका सामान काठमाडौंको बबरमलस्थित 'रिभिजिटेड कम्प्लेक्स' मा रहेको न्हुको पसलमा किन्न पाइन्छ। कम्पनीको आधिकारिक फेसबुक पेज र इन्स्टाग्राम पेजबाट अर्डर गर्न पनि सकिन्छ।
उनका अनुसार खेर गएको जिन्सका सामान स्वदेशी र विदेशी दुवै ग्राहकले मन पराएका छन्।
'जिन्स कपडाबाट बनेको ब्याग र सामान टिकाउ हुन्छ,' रश्मीले भनिन्।
रश्मीले फेसन डिनाइनिङ पढेकी हुन्। उनलाई यो व्यवसायको अवधारणा पनि कक्षाकै कामबाट आएको हो।
पढाइका क्रममा उनले पुराना जिन्स पाइन्टबाट ब्यागहरूको डिजाइन तयार गरेकी थिइन्। उनी आफूलाई त त्यो मनपर्यो नै, साथीहरूले पनि मनपराएका थिए।
त्यही बेला उनले 'अपसाइकल' (पुरानो सामानलाई नयाँ स्वरूप दिनु) सामानको बजार पनि अध्ययन गरेकी थिइन्।
'बजारमा पाइने झिलिक्क ब्यागभन्दा अपसाइकल गरिएको ब्याग दिगो, वातावरण अनुकूल र प्राकृतिक हुन्छ,' उनले भनिन्, 'यसै कारण पुराना जिन्सबाट ब्याग बनाउँछु भन्ने सोचेँ।'
न्हु सुरू गर्नुअघि उनले साझेदारीमा लुगाको एउटा ब्रान्ड चलाएकी थिइन् जुन एक स्तरमा पुगिसकेको थियो। त्यसबाट उनले व्यवसाय र ब्रान्डबारे केही अनुभव बटुलेकी थिइन्।


उनले केही वर्षदेखि आफूले लगाएका जिन्स पाइन्ट फ्याँकेकी थिइनन्। सुरूमा तिनै पाइन्टबाट केही ब्याग बनाइन् र आफन्तहरूलाई दिइन्। उनीहरूले राम्रो प्रतिक्रिया दिए।
'घरमै एउटा मेसिन राखेर आफैले जिन्स काटेर पाँच वटा ल्यापटप ब्याग बनाएकी थिएँ। सबैबाट राम्रो प्रतिक्रिया पाएपछि लगानी गरेरै काम गर्ने हौसला मिल्यो,' उनले भनिन्।
सन् २०२२ मा उनले ४५ हजार रूपैयाँ लगानी गरिन् र चाहिने सामान किनिन्।
सुरूमा साथीहरू र आफन्तजनसँग पुराना जिन्स मागेर ब्याग बनाइन्। तर यसरी व्यवसाय चल्दैन थियो। त्यसैले पुराना जिन्स संकलन अभियान चलाइन्। वालेट उपहार दिने योजनाले जिन्स लुगा संकलन निकै राम्रो भयो।
उनले मण्डलको बुट्टा राखेर डिजाइन अनुसार काटिन् र सिलाउने काम दुई जना महिलालाई दिइन्। यो खेपमा ल्यापटप र साइड ब्याग गरी ३० वटा बनाएकी थिइन्।
ब्याग तयार भएपछि उनले काठमाडौंमा भएको एक 'एक्स्पो' मा राखिन्।
'नौ हजार रूपैयाँको बिक्री भयो। त्यसले व्यवसाय बढाउन प्रेरित गर्यो,' उनले भनिन्।

यसरी सुरू भएको न्हुले अहिलेसम्म सात सय वटाजति जिन्स पाइन्टबाट कम्तीमा ६ सय वटा ब्याग बनाइसकेको छ।
रश्मीले हालसम्म यी सबै काम आफ्नै घरबाट गरिरहेकी छन्। सिलाइको काम तीन जनाले गर्छन्। उनकी आमाले काममा उत्तिकै सघाउँछिन्।
'संकलन भएका पाइन्ट धुने, सफा गर्ने काम आमाले गर्नुहुन्छ। म कटिङ र डिजाइन गर्छु। सिउने काम दिदीहरूले गर्नुहुन्छ,' रश्मीले भनिन्।
उनका अनुसार न्हु ब्रान्डको उत्पादन विदेश पनि पुग्न थालेको छ। अहिले थोरै गइरहे पनि लक्ष्य विदेशी बजारसम्म पुर्याउने हो।
नेपाली बजारमा आयातीत ब्यागको हिस्सा ठूलो रहेकाले प्रतिस्पर्धा भने निकै कडा हुने उनी बताउँछिन्।
'उद्यमीलाई प्रोत्साहन गर्न सरकारले आयात केही नियन्त्रण गर्ने हो भने नेपाली उत्पादनले बजार पाउने थियो,' उनले भनिन्।
(न्हुको फेसबुक पेजमा जान यहाँ र इन्स्टाग्राम पेजमा जान यहाँ क्लिक गर्नुहोस्)