दाङ, तुलसीपुर उपमहानगरपालिका–६, रजौराका ३७ वर्षीय सुर्वन वलीले कुनै समय अमेरिका जान अनेक प्रयास गरे।
'तल्लो (अवैधानिक) बाटो' भएर अमेरिका जाने दुई पटकको प्रयास विफल भयो। एजेन्टले उनलाई एक पटक अर्जेन्टिनाबाट र अर्को पटक क्युबाबाट फर्काए।
यस क्रममा निकै ठूलो रकम खर्च भयो। दुःख पनि कम्ती भएन!
उनी पढाइमा राम्रै थिए। तुलसीपुरकै राप्ती बोर्डिङ स्कुलमा पढ्थे। त्यही स्कुलमा ११ कक्षामा पढ्दै गर्दा २०६३ मा मलेसिया गए।
'त्यहाँको गर्मीमा टिक्न मलाई साह्रै मुस्किल पर्यो। करिब १४ महिना काम गरेपछि ऋण तिर्ने र घर फर्किने भाडा जुट्यो। म घर फर्केँ,' सुर्वनले भने।
स्कुलको पढाइ छाडेर मलेसिया जानु रहर थिएन, बाध्यता थियो।
उनका बुबा चित्रबहादुर तुलसीपुर बजारमा खाद्यान्न व्यापार गर्थे। एकाएक व्यापार ओरालो लाग्यो। घाटा बेहोर्न घर बेच्नुपर्यो। सुर्वनको पढाइ खर्चसमेत जुटाउन नसक्ने अवस्था भयो। घरको आर्थिक स्थिति खराब भएपछि आमा शारदासँग सल्लाह गरेर सुर्वन मलेसिया गएका थिए।
सुर्वन वली
उनका दाजु सुजन भारतको बैंगलुरूमा पढ्दै थिए। उनले पनि कमाउँदै पढ्नुपर्ने अवस्था भयो। उनले होटलमा काम गरे। आफ्नै सानो–राम्रो होटल चलाउने सपना पनि थियो।
स्नातक तह पढाइ सकेपछि सुजन स्नातकोत्तर तह पढ्न बेलायत गए। पढाइ सकेर घर फर्के र केही वर्ष शिक्षक भए। तर त्यसमा रमाउन सकेनन्।
२०७२ सालमा उनले तुलसीपुरको बरूवा गाउँमा 'कोको भ्यु होटल एन्ड रेस्टुरेन्ट' खोले। व्यापार सोचेजस्तो भने भएन। करिब तीन वर्षपछि रेस्टुरेन्ट तुलसीपुर बजारमा सारे। त्यसयता उनले पछाडि फर्किनुपरेन। अहिले परिवारका सदस्यबाहेक रेस्टुरेन्टमा ६ जनाले रोजगारी पाएका छन्।
भाइ सुर्वन भने मलेसियाबाट फर्किएपछि पनि विदेश जाने नै ध्याउन्नमा लागे। युएई (युनाइटेड अरब इमिरेट्स) बाट भिसा पनि आएको थियो। तर उता जाने साइतमै परिस्थिति फरक भइदियो।
उनले तुलसीपुरकै रजौराकी अनु रजौरेसँग आफूखुसी बिहे गरे र सुटुक्क भैरहवा पुगे।
'केही दिन भैरहवा बसेर घर फर्कियौं। मेरो युएई जाने मौका गुम्यो,' उनले भने।
२०६९ सालमा सुर्वनले तत्कालीन राप्ती अञ्चल अस्पतालमा रासन (खाद्यान्न) ठेक्काको काम सुरू गरे।
उनकी श्रीमती अनु काठमाडौंमा पढ्दै थिइन्। पढाइ जारी राखिन्। उनी हाल इलाका प्रशासन कार्यालय, तुलसीपुरमा कार्यरत छिन्। उनीहरूका दुई सन्तान छन्।
सुर्वनले रोजगारीका लागि विदेश जाने प्रयास पनि जारी राखे। 'तल्लो बाटो' अमेरिका जाने कुरा सुनेका थिए। उनी एजेन्टलाई भेट्न काठमाडौं धाउन थाले। एजेन्टले दिएको आश्वासनमा परेपछि रासन ठेक्काको काम यसै छाडियो।
सुर्वन जसरी पनि अमेरिका जाने उपायको खोजीमा लागे।
अनुको माइतीको आर्थिक अवस्था राम्रो थियो। सुर्वनलाई अमेरिका पठाउन उनीहरूले पनि प्रयास गरे।
'तर अमेरिका जाने सपना पछ्याउँदा लाखौं डुब्यो। एक पटक अर्जेन्टिनाबाट र अर्को पटक क्युबाबाट फर्किनुपर्यो,' सुर्वनले भने, 'म असफल भएँ। आखिर अमेरिका जाने भाग्य रहेनछ भनेर चित्त बुझाएँ।'


पछि उनले आफ्ना सालाभाइ अजय रजौरेलाई अमेरिका पठाउने प्रयास गरे। उनी पनि बीचैबाट फर्किनुपर्यो।
'त्यसपछि मलाई विदेश जाने कुरामा वितृष्णा भयो,' सुर्वनले भने, 'सदाका लागि विदेशको सपना त्यागेँ।'
यसपछि उनले आफ्नै ठाउँमा आफै मालिक भएर व्यवसाय गर्ने अठोट गरे।
तर गर्ने के?
दाजु सुजनले रेस्टुरेन्ट राम्ररी चलाएका थिए। सुर्वन पनि फुर्सदमा काम पनि सघाउँथे। उनले दाजुसँगै सल्लाह मागे। सुजनले रेस्टुरेन्टका साथ पार्टी प्यालेस पनि चलाउन सके व्यापार राम्रो हुन सक्छ भन्ने राय दिए।
पार्टी प्यालेस खोल्न उपयुक्त ठाउँमा फराकिलो जमिन चाहिन्थ्यो। रजौरामा उनको ससुरालीको केही जग्गा बाँझो थियो। उनले त्यहीँ पार्टी प्यालेस सहितको रेस्टुरेन्ट खोल्नु उचित ठाने।
वार्षिक ५० हजार रूपैयाँ भाडा तिर्ने गरी १५ वर्षका लागि ससुरालीको साढे एक बिघा जग्गा पाए। यसपछि सुर्वन, सुजन र सुर्वनका सालोभाइ अजयले लगानी जुटाए। केही पैसा बैंकबाट ऋण लिए र काम थाले।
अनि २०७९ माघमा खुल्यो 'कराही इभेन्ट एन्ड स्पट'।
यहाँ भोजभतेरका लागि 'मोर्डन' र 'क्लासिक' नामका दुइटा हल छन्। मोडर्नमा एक हजार जना अटाउँछन्, क्लासिकमा पाँच सय जना। यी दुई हल राप्ती राजमार्गसँग जोडिएका छन्। थोरै पश्चिमतर्फको अर्को हलमा चार सय जना अटाउने रेस्टुरेन्ट छ। कुक र अन्य गरी २८ जना कर्मचारी छन्।
विवाह, ब्रतबन्ध, वैवाहिक वार्षिकोत्सव, जन्मदिन, पास्नी जस्ता उत्सव पार्टी प्यालेसमा मनाउने चलन बढ्दै गएकाले व्यापार बढ्दो क्रममा रहेको सुर्वनले बताए। रेस्टुरेन्टको दैनिक व्यापार पनि राम्रो छ।


'बितेको साढे दुई वर्षमा निकै राम्रो व्यापार भएको छ,' सुर्वनले भने, 'बिहेको याममा बढी चाप हुन्छ। त्यस बेला दैनिक ज्यालादारी कर्मचारी पनि राख्नुपर्छ। अन्य पारिवारिक र सार्वजनिक गतिविधि पनि भइरहन्छन्।'
बजारको भिडभाडबाट अलग्ग तर टाढा नभएकाले यहाँको वातावरण राम्रो भएको सुर्वन बताउँछन्।
अब क्रमिक रूपमा बीस कोठासम्मको लज, कफी हाउस, स्विमिङ पुल र चिल्ड्रेन पार्क बनाउने योजना रहेको उनले बताए।
कहिले विदेशमा रोजगारी त कहिले रासन ठेक्का अनि कहिले अमेरिका जाने चक्कर; यस्तैमा केही वर्ष बिते पनि सुर्वन र उनका सालाभाइ अजय साढे दुई वर्षयता व्यवसायमा जमेका छन्।
'अहिले त साथीहरू पनि प्रशंसा गर्छन्। ससुरालीको बाँझो जग्गा पनि सदुपयोग भएको छ,' सुर्वनले भने, 'अमेरिका जाने प्रयासमा भएको असफलताले मलाई आफ्नै देशमा पनि काम गर्न सकिन्छ भन्ने सिकायो। यहीँ रमाउन सकिन्छ भन्ने अनुभव दियो।'

