अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयमा पिएचडी (विद्यावारिधि) गर्ने अवसर पाउनु धेरैका लागि सपनाको विषय हो। गोरखामा जन्मिएर चितवनलाई कर्मथलो बनाएका युगराज वस्तीका लागि भने त्यो अवसरभन्दा आफ्नै माटोको सुगन्ध प्यारो भयो।
भिसा र छात्रवृत्तिको लोभलाग्दो बाटो छोडेर उनले चितवनमा व्यावसायिक यात्रा अघि बढाएका थिए। त्यो यात्रा अहिले 'चितवन उड क्राफ्ट प्रालि' सम्म पुगेको छ।
युगराजसहित १४ जनाको लगानी रहेको यो काठ उद्योगले स्वदेशी काठबाट स्तरीय सामग्रीहरू उत्पादन गर्छ। उनी यसका प्रबन्ध निर्देशक हुन्।
चितवनमा पढ्दै शैक्षिक र होटल–रेस्टुरेन्ट व्यवसायमा आबद्ध युगराजलाई सन् २०१३ मा अमेरिकाको वेन स्टेट युनिभर्सिटीले अर्थशास्त्र विषयमा पिएचडी गर्ने अवसर दिएको थियो।
केही समय यो अवसरले उनलाई दोधारमा पार्यो।
पछि सोचे — बौद्धिक र ऊर्जावान् युवाहरू सबै विदेशिने हो भने यो देशको इज्जत र भविष्य कसले जोगाउँछ?
'केही गरिरहेकै छु। विदेश गएर पैसा त कमाउन सकिएला तर देशको इज्जत राख्न त यहीँ बसेर काम गर्नुपर्छ भन्ने सोचले जित्यो,' युगराज भन्छन्, 'त्यसपछि मैले चितवनमा लगानी गर्न चाहने साथीहरूसँग मिलेर व्यवसाय विस्तार गर्न थालेँ।'
उनले घर निर्माणका लागि रेडिमेड प्यानल, पफ प्यानल उत्पादनमा लगानी गरे। त्यो अहिले पनि सञ्चालनमै छ। यो उद्योगका लागि आवश्यक सबैजसो कच्चा पदार्थ विदेशबाट आयात गरिन्छ।


'यो व्यवसायमा धेरै कुरा आफ्नो नियन्त्रणमा हुँदैन। पैसाको ठूलो हिस्सा बाहिर जान्छ। त्यही कारण हामीले कच्चा पदार्थ स्वदेशमै उपलब्ध हुने व्यवसायको खोजी गर्यौं। सबभन्दा उपयुक्त काठको व्यवसाय लाग्यो,' युगराजले भने, 'स्वदेशी काठबाट स्तरीय सामग्री उत्पादन गरेर निर्यातसम्म गर्ने सोचका साथ उद्योग सुरू गरेका हौं।'
कोरोना महामारीपछिको सुस्त बजार र तरल राजनीतिक अवस्थामा देश गुज्रिरहँदा युगराजको समूहले काष्ठ सामग्री उत्पादनमा लगानी गरेको थियो।
आर्थिक मन्दीको चुनौतीपूर्ण समयमा उनीहरूले परम्परागत काठका सामानलाई आधुनिकतासँग जोड्ने प्रयासको सुरूआत गरेका थिए।
चितवन उड क्राफ्टले भान्सामा प्रयोग हुने चपिङ बोर्ड, डाडु, पन्युँ, बेलना, कचौरा, गिलासदेखि लिएर ठूला दराज, टेबल, पलङहरू तयार गरेर बेच्छ। घर–पसलमा प्रयोग हुनेदेखि घर आकर्षक बनाउन टाँसिने काठका पाताहरू पनि यहाँ बन्छन्।
अहिले सबभन्दा धेरै बच्चाहरूलाई पढ्न सहज हुने फोल्डिङ टेबल बिकिरहेको युगराजले बताए।
यहाँ उत्पादन हुने सामग्री विदेशबाट आयात गरिने सामग्रीभन्दा बलियो र आकर्षक हुने दाबी युगराजको छ। अहिले उत्पादनहरू देशका प्रायः ठूला सहरहरूमा बिक्री भइरहेको उनले बताए।
'१४ जना अनुभवी व्यवसायीको सामूहिक शक्तिमा यो उद्योग सञ्चालनमा ल्याएका हौं। करिब २५ करोड रूपैयाँ लगानीको लक्ष्यसहित उद्योग सुरू गरेका हौं। उत्पादनको बजार हेरेर लगानी बढाउँदै लैजाने सोच छ,' युगराजले भने, 'जुन तरिकाले सोचेर सुरू गरेका थियौं, बजार अहिले त्यस्तो बनिसकेको छैन। अहिलेका लागि बजार सन्तोषजनक नभए पनि विस्तारै सुधार हुँदै जाने विश्वास छ।'
भरतपुर – ५ मा रहेको यो उद्योगमा प्रयोग हुने ९८ प्रतिशत सामग्री नेपाली काठ र स्थानीय स्रोत हो। चितवन र आसपासका जिल्लामा उपलब्ध हुने काठको प्रयोग गरेर सामग्रीहरू उत्पादन गर्दै आएको युगराजले बताए।


गोरखाको विद्यालयमा औद्योगिक शिक्षा पढ्ने क्रममा युगराजको लगाव काठसँग बढेको थियो।
उनीहरूलाई जापानकी महिला युदका एमजाकीले काठका सामग्री बनाउन सिकाएकी थिइन्। उनी सानैदेखि काठबाट विभिन्न सामग्री निर्माणमा रूचि राख्थे।
'मलाई काष्ठ सामग्रीको उद्यममा प्रेरणा स्कुलले नै दिएको थियो। साथै काठमा नै राम्रो अनुभव भएका, पढेका साथीहरू पनि समूहमा रहेकाले अझ बल पुग्यो,' उनले भने, 'वरपरका काठको सदुपयोग गरेर स्वदेशमै इलम गर्नुलाई मैले निकै महत्वपूर्ण ठानेको थिएँ।'
अहिले उद्योगका लागि समस्या दक्ष जनशक्तिको रहेको वस्तीले बताए। भएका जनशक्ति टिकाइराख्नु चुनौती बनेको उनी बताउँछन्।
'महिनाको ५०–६० हजार कमाउनेहरू समेत सामाजिक दबाब वा लहैलहैमा लागेर विदेशिने गरेको देख्दा खिन्न लाग्छ। हामीमा अरू अवसरहरू छाडेर पनि देशमै बसेर रोजगारी सिर्जना गर्नुपर्छ भन्ने राष्ट्रभक्तिको भावना विकास भयो। त्यही अनुसार लगानी गरियो। तर यहाँ काम गर्ने गतिलो मान्छे पाउनै समस्या छ,' उनले भने, 'बल्ल बल्ल काम सिक्छन्, केही समयमा छाडेर विदेशतिर लाग्छन्। यो ठूलो समस्या भयो।'
फागुन २१ को निर्वाचनपछि झन्डै दुई–तिहाइ मतका साथ स्थायी सरकार बन्ने कुराले युगराज उत्साहित छन्। स्थिर सरकारले लगानीको सुरक्षाको वातावरण बनाउने अपेक्षा उनको छ।
जनताको अपेक्षा अनुसार सरकारले काम गर्यो भने बजारमा चहलपहल बढ्ने र उद्योग, व्यवसाय फस्टाउने विश्वास उनले गरेका छन्।


'हाम्रो सपना उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने छ। त्यसका लागि सरकारी तवरबाट सहयोगको अपेक्षा राखेका छौं। अहिले उद्योग स्थापनामै धेरै झन्झटहरू छन्। निर्यातसम्म पुग्दा त अवरोधै अवरोध छन्,' युगराजले भने, 'अब बन्ने सरकारले यी समस्याहरू समाधान गरेर सहज रूपमा उद्योग, व्यवसाय सञ्चालनको वातावरण बनाइदिए हुन्थ्यो।'
उनले निर्यातमा ठोस सहयोग प्राप्त भए ठूलो मात्रामा रोजगारी सिर्जना हुने बताए। साथै नेपाली काठको ब्रान्डलाई विश्वभर चिनाउन सकिने उनी बताउँछन्।
'हाम्रा सामानहरू निर्यातका लागि पूर्ण रूपमा योग्य छन्। तर अहिलेसम्मको अवस्थालाई हेर्दा सरकारी नीति र संयन्त्रले ठ्याक्कै गोल हान्ने बेलामा साथ दिँदैनन्,' उनले भने।
उनले थप भने, 'कोरोनापछिको मन्दीको अँध्यारो चिरेर देशको अर्थतन्त्रमा इँटा थप्न हामी तल्लीन भयौं। मन्दी यति परसम्म जाला भन्ने सोचेका थिएनौं। तर कहिले रूस–युक्रेन युद्ध, कहिले मध्यपूर्वको युद्धले व्यावसायिक वातावरण बिगारेको छ। यस्तो अवस्थामा पनि हामी सुधारिँदो बजारको आशामा अहोरात्र खटेका छौं। अब बन्ने सरकारबाट धेरै आशा छ।'