पूर्व होस् या पश्चिम, एकै खालको सेवा दिने होटलमा बस्न चाहनेका लागि 'पौवा' विकल्प हुन सक्छ।
देशभर १६ ठाउँमा पौवा होटल छन्। दसदेखि सय वटासम्म कोठा भएका यी होटलमा बस्न रातको दुई हजारदेखि २० हजार रूपैयाँसम्म लाग्छ।
पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेका अनुसार अबको १० वर्षभित्र देशभर सय वटा पौवा पुर्याउने लक्ष्य छ। यही योजना अनुरूप अहिले कहीँ होटल बन्दैछ त कतै डिपिआरको काम भइरहेको छ। कतै ठाउँ खोजी हुँदैछ।
'दस वर्षमा पौवाका सय वटा शाखा बनाउने हाम्रो उद्देश्य हो,' उनले भने।
हाल भैरहवा, बुटवल, तानसेन, रेसुंगा, गोरूसिंघे, भालुवाङ, लमही, घोराही, नेपालगञ्ज, धनगढी, जुम्ला, भरतपुर, मूलकोट, काठमाडौं, पोखरा र कालिन्चोकमा पौवा खुलिसकेका छन्।
नेपालगञ्जमा चार बिघा जमिनमा एक अर्ब रूपैयाँभन्दा बढी लगानीमा पाँचतारे स्तरको होटल बन्दैछ। यसमा नेपालकै ठूलो क्यासिनो बनाइने ध्रुवले बताए। यहाँ दुई सय रूपैयाँमा खाना पाइने 'भात भान्सा' नामक रेस्टुरेन्ट पनि हुनेछ।
'तारे होटल भन्नासाथ महँगो हुन्छ भन्ने सोचिन्छ,' उनले भने, 'तर नेपालगञ्जमा हामी दुई सय रूपैयाँमै पेटभर खान सकिने पाँचतारे होटल खोल्दैछौं।'
त्यस्तै, बुटवलको झिगामारामा तीन सय रोपनी क्षेत्रफलमा रिसोर्ट बनाउने तयारी छ। यो रिसोर्ट कृषि, पुराना घर, झरना, पुल र जंगल समेटेर फरक ढंगले डिजाइन गरिनेछ। यसको डिपिआर तयार हुँदैछ।

सिन्धुलीको मूलकोटमा पनि 'बिच रिसोर्ट' बन्दैछ। यहाँ पानीसँग सम्बन्धित मनोरञ्जनका खेलहरू — बिच भलिबल, बिच म्युजिक लगायत सुविधा हुने उनले बताए।
'सबैभन्दा छिटो शाखा विस्तार गर्ने होटलमध्ये पौवा एक हो,' ध्रुवले भने।
देशभरका सबै शाखाको व्यवस्थापन केन्द्रीय कार्यालय बुटवलबाट गरिन्छ।
पौवा होटलहरूमा विभिन्न समयमा 'फुड फेस्टिभल' पनि हुन्छ। बेला बेला खानाको स्वाद मूल्यांकन गर्न सेफलाई शाखाहरूमा घुमाइन्छ। यसले सेवा सुधारसँगै कर्मचारीले सिक्ने अवसर पनि पाउने ध्रुव बताउँछन्।
'पौवा खोल्नुको अर्को उद्देश्य नेपाली आतिथ्यता पस्किनु हो। हामी माघी, देउसी–भैलो, शिवरात्रीका भजन, शिव–पार्वती झाँकीजस्ता परम्परागत नाचगान पनि प्रस्तुत गर्छौं,' उनले भने, 'हामी सकेसम्म पर्यटकलाई स्थानीय परिकार चखाउँछौं।'
यहाँ मौलिक नेपाली परिकारसँगै इन्डियन, चाइनिज, कन्टिनेन्टल र केही थाई फुड पाइन्छ। पौवाका आफ्नै खास परिकार पनि छन् — आलु पौवा, चिकेन पौवा, मरौठी चिकन, पुदिना चिकेन, डिजर्ट खिर, ढिक्री लगायत।
हाल पौवाका सबै शाखामा गरी एक हजार जनाभन्दा बढीले रोजगारी पाएका ध्रुवले बताए। कर्मचारीहरू अधिकांश युवा भएको र उनीहरूको क्षमता वृद्धिका लागि बेला बेला तालिम दिइने पनि उनको भनाइ छ।
होटलमा करिब ५० प्रतिशत आगन्तुक आन्तरिक पर्यटक हुन्छन्।
'मध्यम स्तरको होटल भएकाले नेपालीले नै बढी रोजेका छन्। यहाँ बस्न मात्र होइन, विभिन्न कार्यक्रम, भोजन र सांस्कृतिक मनोरञ्जनका लागि पनि आउँछन्,' उनले भने।

होटल सञ्चालन गरिरहेको पौवा लिमिटेडले अरू होटलको व्यवस्थापन (हस्पिटालिटी म्यानेजमेन्ट) पनि गर्छ। कोही नयाँ होटलमा लगानी गर्न चाहन्छ तर सञ्चालन गर्न चाहँदैन भने पौवाले सम्हालिदिन्छ। पुरानै होटल सञ्चालनमा पनि विज्ञका रूपमा काम गर्छ।
होटल र हस्पिटालिटी क्षेत्रमा ध्रुव लागेको करिब तीन दशक भयो।
'यो क्षेत्रमा अभावले नै प्रवेश गरेको हुँ,' उनलेभ भने।
उनको परिवार ठूलो थियो। खान, लाउन अभाव हुन्थ्यो। त्यसैले केही काम गर्नुपर्छ भन्ने सोच सानैदेखि थियो। उनका बुबा जहिल्यै व्यवसाय गर्नुपर्छ भन्थे।
ध्रुवले पनि आफ्नै काम गर्न सके राम्रो हुन्छ भन्ने सोचे। उनका जेठा दाजु गुल्मीमा सानो होटल चलाउँथे। फुर्सदमा ध्रुव पनि सघाउँथे।
पछि परिवारको सल्लाहमा ध्रुव र उनका माइला दाजुले मिलेर ५० हजार ऋण खोजे र टीकापुरमा सानो होटल खोले। होटल भनेको एउटा त्रिपाल थियो जसको भुइँमा परालको चटाइ बिछ्याए।
दाजुभाइ आफै पकाउँथे, ग्राहकलाई दिन्थे। होटलमा सधै भिड हुन्थ्यो।
'झुपडीबाट होटलको यात्रा सुरू गरेका थियौं,' ध्रुवले भने, 'त्यही झुपडीले संस्थागत विकास गर्न सिकायो। सिद्धार्थ हस्पिटालिटी त्यसकै उपज हो।'
१७ वर्ष दाजुसँग सिद्धार्थ हस्पिटालिटीमा सहकार्य गरेपछि ध्रुवले केही समय विश्राम लिए।
उनी नयाँ काम गर्न चाहन्थे।
'जो कोहीले सस्तोमा ताजा र अर्गानिक खान पाओस्, सस्तोमा बस्न पाओस् भन्ने सोचेर नयाँ काम थालेँ,' ध्रुवले भने।
उनको यो काममा दुर्गा प्रसाद भण्डारी र विष्णु ज्ञवालीले साथ दिए। दुर्गा पौवाका अध्यक्ष हुन्।

योजना अनुरूप २०७२ सालमा रूपन्देहीको सालझण्डीमा करिब १२ लाख रूपैयाँ लगानीमा उनीहरूले सात कोठाको गेस्ट हाउस खोले। गेस्ट हाउस राम्रो चल्यो।
केही समयपछि नै उनीहरूले लमहीमा आठ कोठाको अर्को गेस्ट हाउस खोले। फेरि भैरहवामा १९ कोठाको होटल सुरू गरे। यसमा बोटिङ र स्विमिङ पुलजस्ता सुविधा थपिए।
यसरी नौ वर्षअघि गेस्ट हाउसबाट सुरू भएको पौवाको यात्रा आज देशव्यापी बनेको अध्यक्ष दुर्गाले बताए।
'एक्लैभन्दा समूहमा काम गर्दा राम्रो हुन्छ भन्ने हाम्रो सोच हो। त्यसैले चेन मोडलमा गएका छौं,' उनले भने, 'अबका केही वर्षभित्र पौवा अन्तर्राष्ट्रिय स्तरमा पनि विस्तार गर्ने लक्ष्य छ।'