नेपाल-अमेरिका पत्रकार संघ, नेजाले शनिबार नेजा नाईट नामक सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ।
पत्रकारहरुको सहयोगका लागि आपतकालिन कोष स्थापनार्थ टेक्सासको डलासस्थित रोयल इभेन्ट सेन्टरमा नेपाली कलाकारहरुका साथ नेजा नाईटको आयोजना गरिएको हो।
नेपाली कलाकारहरुका विभिन्न प्रस्तुति रहेको नेजा नाईटमा संकलित रकम संस्थाको आपतकालिन कोषमा जम्मा गरिने संस्थाका अध्यक्ष भोला आचार्यले बताए।
कार्यक्रममा स्वागत गर्दै आचार्यले नेजाले घटना दुर्घटनामा परेका पत्रकारहरुको उपचार र मृत्यु भएका परिवारका लागि सहयोग गर्दै आइरहेको जानकारी गराउँदै उक्त कोष स्थापना भएपश्चात सहयोग निरन्तरतामा सहज हुने बताए।
नेजाका क्षेत्रिय संयोजक किशन रेग्मीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा कलाकार, गायक/गायिकाहरु दिपेशकिशोर भट्टराई, विमल डाँगी, शमिर आचार्य र गीता बिर्लाकोटी, नायिका सहारा कार्की, हास्य कलाकार नारायण त्रिपाठीले आ आफ्ना सांगीतिक कोशेलीमार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए।
साथै स्थानीय कलाकार अद्धिति हमाल, अनु खड्का, जेनिथ लम्सालका सांगीतिक प्रस्तुतीहरुबाट उपश्थित दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए। कार्यक्रममा संकलन भएको रकम आपतकालिन कोषका लागि संस्थालाई हस्तान्तरण गरिने संयोजक रेग्मीले बताए। टेक्सास नेपाली समाजका अध्यक्ष कृष्ण लामिछानेले पत्रकारिता समाजको अभिन्न अंग भएको बताउँदै यसलाई जोगाउन समुदायको पनि कर्तव्य भएकाले नेजाको यस महान कार्यमा सवैको साथ हुनु जरुरी रहेको बताए।
कार्यक्रममा समाजका अगुवाहरु कपिल अधिकारी, मुरली अधिकारी, भुवन आचार्यका साथै एनआरएन अमेरिकाका सल्लाहकार, गौरीराज जोशी, एनआरएन अमेरिकाका उपाध्यक्ष राम सि पोखरेल, जनसम्पर्क समितिका पदाधिकारीहरु हरिवोल भण्डारी, ज्ञानेन्द्र कार्की, युवा उद्यमी पाशाड लामा, शुशिल क्षेत्रि, डलासस्थित नेपाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनय अर्याल, एनआरएन अमेरिकाका सदस्य विनोद तिवारी लगायत करिव २ सय दर्शकको उपस्थिति थियो ।


