'हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा
गम्केर बज खैंजडी झम्केर नाच मुजुरा...'
उपर्युक्त पंक्ति कर्णप्रिय गीतका मात्र होइनन्, यी त प्रत्येक नेपालीको अन्तर्मनमा गुञ्जायमान हुने राष्ट्रिय गौरवका जीवन्त झंकार हुन्।
जब यी शब्द श्रवणद्वारमा ठोक्किन्छन् तब छाती अनायासै गर्वले प्रफुल्लित हुन्छ, मन रोमाञ्चित बन्छ र स्नायुहरूमा एक असीम ऊर्जा सञ्चार हुन्छ।
आज मे २९, अर्थात् सत्ताइसौं अन्तर्राष्ट्रिय सगरमाथा दिवस।
यो पावन अवसरमा उपर्युक्त पंक्तिहरूले अझ विशेष र गहन अर्थ धारण गर्छन्।
हो, सन् १९५३ को यही अविस्मरणीय दिन नेपालका सपुत तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पृथ्वीको सर्वोच्च बिन्दु सगरमाथामा प्रथम पटक पाइला टेकेर मानव साहस र अदम्य संकल्पको अभूतपूर्व कीर्तिमान स्थापित गरेका थिए।
त्यो दिन केवल दुई व्यक्तिको विजयको उत्सव थिएन, त्यो त प्रकृतिमा मानव जातिको अदम्य साहस, अथक प्रयास र दृढ संकल्पको शाश्वत प्रतीक थियो।
'शिरमा सगरमाथा, मनमा नेपाल' भन्ने पवित्र भावना चरितार्थ गर्दै उनीहरूले विश्व मानचित्रमा नेपालको नाम सुनौलो अक्षरले अंकित गराएका थिए।
आज हामी ती दुई महान् विभूतिलाई अगाध श्रद्धा र सम्मानका साथ स्मरण गर्छौं जसले 'हिम्मत गरे जे पनि सम्भव छ' भन्ने लोकोक्ति मूर्त बनाए।
सगरमाथाः परिचय एक, आयाम अनेक
हामी नेपाली 'सगरमाथा' भनी पुकार्छौं। अंग्रेजीमा 'माउन्ट एभरेस्ट' का नामले विश्व विख्यात छ।
यो सर्वोच्च शिखर ८,८४८.८६ मिटरको उचाइ मात्र होइन; यो त नेपालको गौरव, स्वाभिमान, पहिचान र समस्त विश्वकै अमूल्य धरोहर हो।
यसलाई हिन्दु धर्मावलम्बीहरू 'आकाशको ललाट' र बौद्धमार्गीहरू 'विश्वकी मातृदेवी' (चोमोलोङ्मा) का रूपमा श्रद्धापूर्वक पुज्ने गर्छन्।
यसको विशाल कायामा अनेकौं रहस्य, चुनौती र अलौकिक सौन्दर्य समाहित छन्। यसको चुचुरोमा पुग्नु स्वयंलाई जित्नु हो, प्रकृतिको विराटतासँग एकाकार हुनु हो।
सगरमाथाले पर्वतारोहीलाई मात्र नभई, विश्वभरका प्रकृतिप्रेमी र साहसी आत्माहरूलाई निरन्तर आकर्षित गर्दै आएको छ।
सगरमाथाको शिखर चुम्ने अभिलाषा राख्नेहरूका लागि यो एउटा पवित्र तीर्थस्थल सरह हो जहाँ पुग्न कठोर तपस्या, अदम्य साहस र अटुट धैर्यको त्रिवेणी आवश्यक पर्छ।
'जहाँ इच्छा, त्यहाँ उपाय' भनेझैं, आरोहीहरू अनेकौं बाधा–अड्चन परास्त गर्दै यो हिमशिखरमा विजयको ध्वजा फहराउँछन्।
तेन्जिङ नोर्गे शेर्पाः एक अद्भूत संयोग
तेन्जिङ नोर्गे शेर्पाको जीवन र मे महिनाबीच अविस्मरणीय एवं रहस्यमय सम्बन्ध छ। तेन्जिङको जन्म सन् १९१४ मे २५ मा सगरमाथाको उत्तरतिर दुर्गम खोँचको एकान्त गाउँमा भएको थियो।
त्यसताका उच्च हिमाली भूभागमा राज्यको औपचारिक उपस्थिति वा प्रशासनिक पहुँच थिएन। त्यो गाउँ हाल चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्छ। उनको मावली नेपालकै सोलुखुम्बूको प्रसिद्ध थामेगाउँमा थियो।
त्यहीँको विशिष्ट हावापानी र जीवन्त संस्कृतिले उनको बाल्यकाल सिँगारेको थियो। जन्मजातै हिमाली चुनौतीसँग अभ्यस्त त्यस भेगका बलिया युवा जीविकोपार्जनका लागि कष्टपूर्ण यात्रा गर्दै मध्यपहाडका बजार ओर्लिन्थे। तीमध्ये दार्जिलिङ पर्वतारोहण गतिविधिहरूको तत्कालीन केन्द्रबिन्दु थियो जहाँबाट सम्पूर्ण व्यवस्थापकीय काम हुन्थे।
हट्टाकट्टा, दृढ निश्चयी र हिमालका कठिनाइसँग पूर्णतः सुपरिचित तेन्जिङजस्ता युवाहरू विश्वविजेता बन्ने महत्त्वाकांक्षा बोकेका बेलायती अन्वेषकहरूको तीक्ष्ण नजरमा नपर्ने कुरै थिएन। ती बेलायतीहरू सर्वोच्च शिखरमा झन्डा फहराएर पहिलो विश्व कीर्तिमान कायम गर्न चाहन्थे।
त्यसै क्रममा छानिएका कयौं ऊर्जावान् र हिमालसँग घनिष्ठ परिचित सयौं युवामध्ये तेन्जिङ नोर्गे आफ्नो अदम्य साहस, अद्वितीय शारीरिक क्षमता र गहिरो अन्तरज्ञानले निःसन्देह सर्वोत्कृष्ट ठहरिए।
अन्ततः तेन्जिङलाई न्युजिल्यान्डका निवासी दृढ निश्चयी र अनुभवी पर्वतारोही सर एडमन्ड हिलारीसँग ऐतिहासिक सहयात्रातर्फ डोहोर्यायो।
यी दुई फरक पृष्ठभूमि तर समान लक्ष्य भएका पर्वतारोही अद्वितीय साझेदारी, अतुलनीय साहस र आपसी समझदारीले सन् १९५३ मे २९ को अविस्मरणीय बिहानीमा सगरमाथामा पहिलो पटक पाइला टेक्न सफल भए।
त्यो सफलता तेन्जिङ र हिलारीको व्यक्तिगत विजय मात्र नभई, मानव जातिको अदम्य इच्छाशक्तिले प्रकृतिमाथि विजयको प्रतीक बन्यो। विश्वभरका पर्वतारोही र साहसीहरूलाई प्रेरणाको अनन्त स्रोत स्थापित भयो।
हिमालबारे तेन्जिङको नैसर्गिक ज्ञान र हिलारीको पर्वतारोहण दक्षताको अद्भूत संयोजनले असम्भव जस्तो ठानिएको त्यो सपना यथार्थमा परिणत गरिदियो।
तेन्जिङले आफ्नो जीवनको सर्वोत्कृष्ट उपलब्धि, सगरमाथा आरोहण, सन् १९५३ मे २९ मा हासिल गरे। सन् १९८६ को मे ९ मा भारतको दार्जिलिङमा उनको देहावसान भयो।
उनको जन्म, शिखर सफलता र मृत्यु मे महिनामै हुनु एक दुर्लभ संयोग त हो नै, प्रकृतिको एउटा अद्भूत लीला पनि हो।
सामान्य शेर्पा परिवारमा जन्मिएर उनले आफ्नो कर्म, साहस र दृढताले आफूलाई विश्वभर चिनाए, नेपालको शिर उँचो पारे। उनी केवल एक पर्वतारोही नभई, लाखौं मानिसका लागि प्रेरणाका अजस्र स्रोत भए। उनको सदाबहार मुस्कान र विनम्र स्वभावले सबैको मन जित्यो। उनको नाम र कीर्ति अजरामर रह्यो।
अर्का शिखर पुरूष सर एडमन्ड हिलारीको जीवन पनि प्रेरणादायी छ। सगरमाथा आरोहणको सफलतापछि उनले आफ्नो बाँकी जीवन नेपालका शेर्पाहरूको शिक्षा, स्वास्थ्य र जीवनस्तर उकास्न निःस्वार्थ रूपमा समर्पण गरे।
उनले स्थापना गरेको 'हिमालयन ट्रस्ट' मार्फत सोलुखुम्बू क्षेत्रमा थुप्रै विद्यालय र अस्पताल निर्माण भई हजारौं नेपालीको जीवनमा सकारात्मक परिवर्तन भयो। यस्तो परोपकारी कार्यले उनलाई नेपालीहरूको हृदयमा सदाका लागि अमर बनाएको छ।
सगरमाथा दिवसः दूरदर्शिता र अथक प्रयासको परिणाम
आज हामी भव्यता र उत्साहका साथ 'अन्तर्राष्ट्रिय सगरमाथा दिवस' मनाउँदै छौं। यसको पृष्ठभूमिमा केही समर्पित पर्यटन व्यवसायीहरूको दूरदर्शिता, अथक प्रयास र अटुट संकल्पको गाथा अन्तर्निहित छ।
सन् १९८० को दशकसम्म पनि आजको जस्तो प्रत्येक वर्ष मे २९ मा सगरमाथा दिवस मनाउने परम्परा थिएन। अन्तर्राष्ट्रिय स्तरमा मनाउने त कल्पनाभन्दा परको कुरा थियो।
सन् १९९२ तिर आइपुग्दा ठमेलका हामी केही सीमित पर्यटन व्यवसायीले मात्र सानो समूहमा यस ऐतिहासिक दिनको स्मरण गर्ने गरेका थियौं।
त्यस बेला नेपालको पर्यटन उद्योग, विशेष गरी ट्रेकिङ र पर्वतारोहण, बिस्तारै विकसित हुँदै थियो। वातावरणीय पक्ष भने कतै ओझेलमा पर्दै गएको हो कि भन्ने गहिरो चिन्ता पनि हामीमा थियो। यही चिन्ता र जिम्मेवारीबोधले हामीलाई भित्रैदेखि घच्घच्याइरहेको थियो।
त्यही पृष्ठभूमिमा तत्कालीन 'इको ट्रेक्स प्रालि' का सञ्चालक ज्योति अधिकारीले 'एभरेस्ट कोर इन्टरनेसनल (इसिआई)' को नवीन अवधारणा अघि सारे। उनको दूरदर्शिता र वातावरण संरक्षणप्रतिको गहिरो चासोले नै हामीलाई यस दिशामा संगठित रूपमा अघि बढ्न प्रेरित गर्यो।
उनकै अग्रसरतामा हामीले 'इसिआई' स्थापना गर्ने संकल्प गर्यौं। ठमेलमा सक्रिय लगभग २५ वटा ट्रेकिङ कम्पनीहरू यसमा समाहित भई एउटै साझा उद्देश्यमा एकाकार भयौं। हाम्रो लक्ष्य स्पष्ट थियो– पर्यटन व्यवसाय दिगो र वातावरण अनुकूल बनाउने।
हाम्रो संस्थाको मूल मन्त्र थियो– कन्जर्भ द इन्भाइरोंमेन्ट, सेभ द वर्ल्ड (वातावरण संरक्षण गरौं, विश्व बचाऔं)।
साँच्चै यो नारा केवल शब्दमा सीमित थिएन, हाम्रो कर्म र प्रतिबद्धताको जीवन्त प्रतिविम्ब थियो। ज्योति अधिकारीको कुशल नेतृत्व र हाम्रो सामूहिक प्रयासले यो संस्था छोटो समयमै एउटा दरिलो र सकारात्मक पहिचान बनाउन सफल भयो।
वास्तवमा त्यो समयमा उक्त अवधारणा नितान्त नवीन र क्रान्तिकारी थियो। इसिआईले यस विषयमा गम्भीर बहस र विमर्श गर्यो।
सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको त्यो ऐतिहासिक दिनलाई विशेष रूपमा मनाउने प्रस्ताव अघि सार्यो। मे २९ विशेष दिनका रूपमा मनाउँदा यसले एकातिर हाम्रा हिमाली नायकहरूको गौरवपूर्ण सम्मान हुने थियो, अर्कातिर सगरमाथा र समग्र हिमालय क्षेत्रको संरक्षणमा विश्वको ध्यानाकर्षण गराउन सजिलो हुन्थ्यो।
सन् १९९२ मे २९ का दिन इसिआईले आयोजना गरेको पहिलो कार्यक्रममा एउटा ओजपूर्ण नारा गुञ्जायमान भयो– आरोहीको सम्मान गरौं!
सीमित स्रोतसाधनका बीच पनि इसिआईले सगरमाथाको सफल आरोहण गरेका स्वदेशी तथा विदेशी आरोहीहरूलाई सम्मान र पुरस्कृत गरेर प्रत्येक वर्ष मे २९ का दिन सगरमाथा दिवस मनाउने परम्परा बसाल्यो। यो सानो तर महत्त्वपूर्ण प्रयासले सगरमाथा आरोहणको गरिमा जीवन्त राख्न र नयाँ पुस्तालाई पर्वतारोहणप्रति आकर्षित गर्न मद्दत गर्यो।
ती दिनहरूमा पर्यटन व्यवसाय आजको जस्तो फस्टाएको थिएन तर हाम्रो मनमा अदम्य उत्साह र अटल जोस थियो। त्यही निःस्वार्थ प्रयास र समर्पणले नै आज सगरमाथा दिवस विराट र विश्वव्यापी भएको छ।
एक अविस्मरणीय घटना
हामीले मे २९ को कार्यक्रमका लागि तत्कालीन सभामुख दमननाथ ढुंगानालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्यौं। उनले हाम्रो नवगठित संस्थाको वैधानिकतामा शंका गर्दै उपस्थित हुन अनिच्छा प्रकट गरे।
तत्कालीन पर्यटनमन्त्री रामहरि जोशी र मन्त्रालयका तत्कालीन सचिवले पनि चासो देखाएनन्। कार्यक्रमको दिन नजिकिँदै गर्दा पनि प्रमुख अतिथि टुंगो लाग्न सकेको थिएन।
त्यति बेला आफूलाई पुराना र स्थापित ठान्ने पर्यटन व्यवसायीहरूले भर्खरै यस पेसामा प्रवेश गरेका हामीजस्ता युवालाई पर्यटन उद्यमीका रूपमा सहजै स्वीकार गर्दैनथे। परम्परागत वा 'खानदानी' व्यवसायीका लागि हाम्रो नवीन प्रस्ताव स्वीकार्य भएन।
प्रायःजसो संघसंस्थाहरू उनीहरूकै नियन्त्रणमा रहेको त्यस बखत तत्कालीन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को कार्यसमितिले हाम्रो 'सगरमाथा दिवस' सम्बन्धी प्रस्तावपत्र दर्ता गर्न समेत अस्वीकार गर्यो। त्यस्तो चुनौतीपूर्ण र विकल्पहीन अवस्थामा हामीले एउटा संस्था दर्ता गरेर भव्यताका साथ सगरमाथा दिवस मनाउने अठोट गर्यौं।
हाल पर्यटन प्रशिक्षक तथा विज्ञका रूपमा सुपरिचित, त्यस बेलाका एक होनहार युवा विनय शाक्य त्यति बेला नेपाल पर्वतारोहण संघको प्रशासन प्रमुख थिए। उनले हाम्रो प्रस्तावको मर्म र दूरगामी प्रभाव विचार गरे। त्यही समयमा काठमाडौंको एभरेस्ट होटलमा हुन लागेको पर्वतारोहण सम्बन्धी अन्तर्राष्ट्रिय भेलालाई उपयोग गर्न सकिने सल्लाह पनि दिए।
उनले हामीलाई उक्त प्रतिष्ठित भेलाका लागि दुईवटा निमन्त्रणापत्र दिए। त्यति भएपछि हामीले रातारात आकर्षक र सन्देशमूलक पम्प्लेट तयार पार्यौं। हामीले होटल परिसरमा 'सगरमाथा दिवस' सफल पार्न व्यापक प्रचार प्रसार गर्यौं।
सगरमाथा दिवस मनाउने त्यस्तो तयारीको समाचारले त्यही बृहत् पर्वतारोही भेलाको रिपोर्टिङ गरिरहेका विश्वविख्यात सञ्चार माध्यमहरूको ध्यान खिच्यो। उनीहरूले यसलाई अन्तर्राष्ट्रिय समाचारको विषय बनाए जसबाट हाम्रो अभियानमा अनपेक्षित रूपमा ऊर्जा र सहयोग मिल्यो।
त्यहाँ विदेशी सञ्चार माध्यमका ख्यातिप्राप्त प्रतिनिधिहरू पनि उपस्थित थिए। परिस्थिति कस्तोसम्म भयो भने हाम्रो उत्साह देखेर उनीहरूले हाम्रा मन्त्री र सचिवलाई इसिआईले आयोजना गर्न लागेको सगरमाथा दिवसबारे जिज्ञासा राखेछन्।
मन्त्री र सचिवले यसबारे चासो दिएकै थिएनन्, कुनै जबाफ दिन सकेनन्। त्यसपछि उनीहरू इसिआई खोज्दै आए। अघिल्लो दिनसम्म सगरमाथा दिवसको मर्म र भावना बुझ्न नचाहेका वा नसकेका राज्यका निकाय र प्रशासकहरू आफै हाम्रो कार्यक्रम र गतिविधिमा चासो राख्न आइपुगे।
हाम्रो प्रस्ताव हात परेपछि तत्कालीन पर्यटन विभागका प्रमुख दीपेन्द्रपुरूष ढकाल, उनका सहयोगी वरिष्ठ प्रशासक प्रचण्डमान श्रेष्ठ, मीना खनाल र अन्य कर्मचारीहरू हामीले चलाएको अभियानका सशक्त हिमायती बनेर अग्रसर भए।
यसरी पहिलो पटक सन् १९९२ मे २९ मा हिमाल आरोहीहरूको सम्मान र हिमाली वातावरणको संरक्षण भन्ने मूल मन्त्रसहित सगरमाथा दिवस विधिवत रूपमा मनाउने परम्परा श्रीगणेश भयो।
अन्ततः हामीले तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्यौं।
त्यसपछि हामीले आयोजना गरेका सगरमाथा दिवसहरूमा १० पटक अक्सिजन बिना सगरमाथा आरोहण गरेका कीर्तिमानी आङरिता शेर्पा, सबभन्दा धेरै पटक सगरमाथा शिखर चुमेका आप्पा शेर्पा लगायत धेरै साहसी आरोहीहरूलाई सम्मान गर्ने अवसर प्राप्त गर्यौं।
सगरमाथा दिवस मनाउनुको उद्देश्य एक दिन उत्सव मनाउनु मात्र थिएन; यसको अभीष्ट त आरोहीहरूको योगदान र उनीहरूको शानमान सबभन्दा तल्लो तहसम्म स्थापित गर्नु थियो। सगरमाथाको अपार महिमा विश्वभर गुञ्जाउनु थियो। हिमाल र हिमाली वातावरण संरक्षणबारे व्यापक जनचेतना अभिवृद्धि गर्नु थियो।
भरिया र सरदारहरूलाई दोस्रो दर्जामा राखेर निरन्तर हुँदै आएको शोषणको जालो च्यात्नु र उनीहरू नै वास्तविक कर्मवीर हुन् भन्ने शाश्वत मान्यता स्थापित गर्नु पनि सगरमाथा दिवसको उद्देश्य थियो।
टानको काँधमा जिम्मेवारीः एक नयाँ अध्याय
समयको प्रवाहसँगै सन् २००३ मा पर्वतीय पर्यटन क्षेत्रका अर्का कर्मठ व्यक्ति दीपक महत ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्ष निर्वाचित भए। टान नेपालका ट्रेकिङ व्यवसायीहरूको छाता संगठन भएका नाताले यसको भूमिका र दायित्व पनि बृहत् र गहन हुने नै भयो।
यही यथार्थ हृदयंगम गर्दै इसिआईले सगरमाथा दिवस आयोजना गर्ने जिम्मेवारी लिन टानलाई आग्रह गर्यो। यो अत्यन्त दूरदर्शी कदम थियो जसले सगरमाथा दिवस थप संस्थागत, व्यापक र प्रभावकारी बनाउन उल्लेख्य मद्दत पुर्यायो।
त्यसपछि टानकै आयोजना र व्यवस्थापनमा सगरमाथा दिवस अझ व्यवस्थित र परिष्कृत रूपमा मनाउन थालियो। टानले यसलाई आफ्नो वार्षिक क्यालेन्डरको एक अभिन्न कार्यक्रमका रूपमा स्थापित गर्यो। यसको गरिमा अझ उँचो बनाउन विभिन्न रचनात्मक र नवीन कार्यक्रम आयोजना गर्न थाल्यो।
इतिहासको एउटा महत्त्वपूर्ण तर प्रायः विस्मृत यो कडी धेरैले भुलेका हुन सक्छन्। नयाँ पुस्तालाई यसबारे जानकारी नहुन पनि सक्छ। सत्य यही हो, टानले यो गहन जिम्मेवारी अत्यन्त कुशलतापूर्वक निर्वाह गर्दै आएको छ।
सन् २००८ जनवरी ८ मा सगरमाथाका प्रथम आरोही सर एडमन्ड हिलारीको न्युजिल्यान्डमा निधन भएपछि घटनाक्रमले नयाँ र महत्त्वपूर्ण मोड लियो।
उनको निधनको खबरले विश्वभरका पर्वतारोही र नेपालका शुभचिन्तकहरूलाई स्तब्ध बनायो। नेपाल र नेपालीप्रति असीम स्नेह दर्शाउने हिलारीको सम्मानमा अविस्मरणीय काम गर्नुपर्छ भन्ने भावना सबैको हृदयमा जागृत भयो।
त्यही परिप्रेक्ष्यमा सन् २००८ जनवरी १५ मा नेपाल पर्यटन बोर्डको सभाकक्षमा टानले श्रद्धाञ्जली सभा तथा अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गर्यो। त्यो कार्यक्रम एक ऐतिहासिक क्षण साबित भयो। त्यस बेला टानको नेतृत्वमा ज्योति अधिकारी थिए।
उक्त ऐतिहासिक सभामा टानले एक दूरगामी महत्त्वको प्रस्ताव प्रस्तुत गर्यो– सगरमाथा आरोहण दिवस राष्ट्रिय परिधिमा मात्र सीमित नराखी, राज्यले नै यसको स्वामित्व ग्रहण गर्दै अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा विश्वव्यापी स्तरमा मनाउने।
यसमा टानको सुविचारित तर्क थियो– सगरमाथा समस्त विश्वको साझा सम्पदा हो। सगरमाथा दिवस अन्तर्राष्ट्रिय फलकमा मनाउँदा नेपालको पर्यटन प्रवर्द्धनमा उल्लेख्य टेवा पुग्नेछ र विश्व मानचित्रमा नेपालको गौरवपूर्ण पहिचान अझ सुदृढ बन्नेछ।
उक्त गहन प्रस्ताव पर्यटन मन्त्रालयका तत्कालीन सचिव लीलामणि पौड्याल समक्ष पेस गरियो। उनी कुशल प्रशासक त थिए नै, पर्यटनका मर्मज्ञ पनि थिए। उनलाई टानको दूरदर्शी प्रस्ताव सान्दर्भिक र राष्ट्रिय हितअनुकूल लाग्यो।
फलस्वरूप उनको सकारात्मक अग्रसरता र सक्रियताकै कारण उक्त प्रस्तावले मूर्तरूप लियो। यसरी अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवधारणा अघि बढाउने र विधिवत रूपमा प्रस्ताव गर्ने श्रेय टानलाई नै समर्पित छ।
यो अध्यायबाट हामी समस्त पर्वतीय पर्यटन व्यवसायीहरू निःसन्देह गौरवान्वित छौं। यो अध्याय हाम्रा लागि अविस्मरणीय छ।
कुनै शुभकार्य थालनी गर्दा वा कुनै नवीन प्रस्ताव कार्यान्वयनमा ल्याउँदा केही न केही बाधा–अड्चन आउनु स्वाभाविकै हो।
सोझो औंलाले घिउ आउँदैन भनेझैं, अन्तर्राष्ट्रिय सगरमाथा दिवसको प्रस्ताव सरकारी स्तरबाट स्वीकृत गराउन पनि केही गम्भीर चुनौतीहरू थिए। मन्त्री नै सकारात्मक हुन नसकेको अवस्था थियो।
तत्कालीन पर्यटन सचिव लीलामणि पौड्यालले टानको प्रस्तावको गाम्भीर्य, आवश्यकता र दूरगामी प्रभाव अत्यन्त गम्भीर रूपमा आत्मसात् गरे।
उनले यसलाई एउटा संस्थाको प्रस्तावका रूपमा मात्र नहेरी राष्ट्रिय गौरव र पर्यटन विकासको बृहत्तर आयामसँग जोडेर हेरे। यसमा उनले निर्णायक भूमिका निर्वाह गरे।
आजको दिनः गौरव र जिम्मेवारीको प्रतीक
उपर्युक्त पृष्ठभूमिमा मे २९ को दिन सगरमाथा आरोहणको ऐतिहासिक वार्षिकोत्सव मात्र होइन; यो त सम्पूर्ण पर्यटन व्यवसायीको अथक प्रयास, अटुट एकता, प्रखर दूरदर्शिता र राष्ट्रप्रतिको अगाध समर्पणको सुमधुर प्रतिफल पनि हो।
अन्तर्राष्ट्रिय सगरमाथा दिवस स्थापना र यसको गरिमामय निरन्तरतामा टानको ऐतिहासिक र नेतृत्वदायी भूमिका अविस्मरणीय छ।
यसमा हामी सबै पर्यटनकर्मीहरू अन्तरहृदयदेखि नै गर्व गर्छौं। यो दिवसले हामीलाई हाम्रो गौरवशाली इतिहास स्मरण गराउँछ। भविष्यका लागि थप जिम्मेवार र कर्तव्यनिष्ठ बन्न निरन्तर प्रेरित पनि गर्छ।
आज सगरमाथा विश्वभरका आरोहीहरूको प्रमुख र प्रतिष्ठित गन्तव्य बनेको छ। प्रत्येक वर्ष हजारौं स्वदेशी र विदेशी पर्यटकहरू सगरमाथा आरोहण गर्न वा त्यस क्षेत्रको मनमोहक पदयात्राका लागि नेपाल आउँछन्।
यसबाट स्थानीय अर्थतन्त्र चलायमान भएको छ, हजारौंले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन्।
सगरमाथा आरोहणमा दिनप्रतिदिन नयाँनयाँ कीर्तिमानहरू स्थापित भइरहेका छन्– सबैभन्दा बढी पटक आरोहण, अक्सिजन बिना आरोहण, सबभन्दा कम उमेरमा आरोहण इत्यादि।
यी सबै निःसन्देह सकारात्मक र उत्साहवर्द्धक पक्ष हुन्।
यससँगै केही गम्भीर चुनौतीहरू पनि सतहमा देखिएका छन्। आरोहीहरूको बढ्दो संख्याले सगरमाथा क्षेत्रको अत्यन्त संवेदनशील पारिस्थितिक प्रणालीमा नकारात्मक असर पारेको छ। फोहोरमैलाको समस्या विकराल बन्दै छ।
यस्तै, जलवायु परिवर्तनका कारण हिउँ पग्लने क्रममा तीव्र वृद्धि भएको छ। कहिलेकाहीँ देखिने अस्वस्थ र अमर्यादित प्रतिस्पर्धाले सगरमाथाको शाश्वत गरिमामाथि नै प्रश्न खडा हुने गरेको छ।
'अति सर्वत्र वर्जयेत्' भनिएको छ। अति गर्नु बर्जित छ, अति विनाशकारी हुन्छ।
हामीले सगरमाथालाई केवल डलर आर्जन गर्ने निर्जीव माध्यमका रूपमा मात्र हेर्नु हुँदैन। यो त हाम्रो अमूल्य प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक धरोहर हो। यसको संरक्षण र संवर्द्धन गर्नु हाम्रो साझा दायित्व हो।
अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पृष्ठभूमि, ऐतिहासिक विकासक्रम र यसमा विभिन्न व्यक्ति तथा संस्थाहरूले पुर्याएको अमूल्य योगदानबारे केही भ्रम वा मिथ्या धारणाहरू सार्वजनिक हुन थालेका छन्।
कतिपयले त अरूको योगदान न्यूनीकरण गर्ने प्रयाससमेत गरेको देखिएको छ। आगामी दिनमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउँदा हामीले यसको इतिहासको निष्पक्ष मूल्यांकन गर्नुपर्छ। जसले जति योगदान गरेको छ, त्यसै अनुसार यथोचित कदर हुनुपर्छ।
सगरमाथा दिवस हाम्रो राष्ट्रिय गौरव, पर्वतीय पर्यटनको सुदृढ आधारस्तम्भ र अन्तर्राष्ट्रिय जगतमा नेपालको विशिष्ट पहिचान स्थापित गर्ने सशक्त माध्यम हो।
यो विशेष र ऐतिहासिक दिनमा हामी सबै सगरमाथाको गरिमा अक्षुण्ण राख्ने, प्रथम आरोहीहरू तेन्जिङ र हिलारी लगायत सम्पूर्ण ज्ञातअज्ञात पर्वतारोहीहरूको अदम्य साहस स्मरण गर्ने र नेपालको पर्वतीय पर्यटनलाई दिगो, जिम्मेवार र मर्यादित ढंगले अगाडि बढाउने दृढ संकल्प गरौं।
सगरमाथा हाम्रो वर्तमान मात्र होइन, भविष्य पनि हो। यसको संरक्षण गर्दै यसबाट प्राप्त हुने बहुआयामिक लाभ राष्ट्र र स्थानीय समुदायको सर्वतोमुखी हितमा अधिकतम सदुपयोग गर्न सकौं।
जय सगरमाथा!

(लेखक राजेन्द्रमान डंगोलका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)