साउन ९ गते आशाराम तामाङ मस्त निन्द्रामा थिए। ४५ वर्षीय आशाराम सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिका वडा नम्बर ४ का बासिन्दा हुन्।
उनी निदाइरहेका बेला मोबाइल बज्यो, मध्यरात १२ बजेको थियो। मुसे–बालुवा खण्डको बाटो अवस्था बुझ्न उनलाई फोन गरेका रहेछन्।
अघिल्लो दिनदेखिको मध्यम वर्षाले बाटो अवरोध भएको थियो। डोजरले सफा गरे पनि साँझ फेरि बन्द भइसकेको थियो।
आशारामको घर मुसे–बालुवा नजिकै छ।
'चिने–जानेकाहरू मलाई बाटोका बारेमा सोध्छन्। म पनि थाहा भए र सकेसम्म सहयोग गर्छु,' उनले भने।
त्यस दिन उनी घरबाट कोदालो–गैंची बोकेर गए। बिरामीसँगै आएका तीन जना युवा पनि मिलेर बिरामी बोकेको जिप पार गराए।
यो बाटोमा युवराज लामिछाने दैनिक बस चलाउँछन्। ३० वर्षीय युवराज श्री तेर्से माध्यामिक विद्यालयका सवारी चालक हुन्। मेलम्ची नगरपालिका वडा नम्बर ६ मा पर्ने तेर्से मावि यो क्षेत्रकै उत्कृष्ट सामुदायिक स्कुल हो। हेलम्बू क्षेत्रका करिब एक सय २० जना विद्यार्थी पढ्छन्। यसमध्ये आधा जति विद्यार्थीलाई दैनिकजसो स्कुल ल्याउने र घर पुर्याउने जिम्मेवारी युवराजको हो।
पानी परेको बेला उनको चिन्ता बढ्छ — केटाकेटीलाई समयमा स्कुल र घर पुर्याउन सकिएला कि नसकिएला!
मुसे–बालुवा पालिका प्रवेश गर्ने सडकको सुरूआती खण्ड हो।
२०८१ असोजमा तीन दिन भएको भारी वर्षासँगै यो खण्डमा व्यापक भूक्षय र पहिरो सुरू भएको छ। माथिल्लो भागमा साँघुरो खोल्सी छ। पहिले उक्त खोल्सीबाट थोरै पानी बग्थ्यो। अहिले लेदो माटो र गेग्रान बग्छ। हल्का वर्षा हुँदा पनि खोल्सीबाट भेलबाढी आउँछ। यसले गर्दा मुसे–बालुवाको सडक अवरूद्ध भइरहन्छ।
हेलम्बू गाउँपालिका प्रवेश गर्ने एक मात्र सडक खण्ड अवरूद्ध हुँदा सिंगो हेलम्बूवासी, बिरामी, सुत्केरी, विद्यार्थी तथा शिक्षक, कर्मचारी, पर्यटक, स्थानीयलाई आवतजावतमा असर पर्छ। साथै आमायांग्री, ग्रेट ट्रेल र हेलम्बू घुम्न आउने पर्यटकलाई सास्ती हुन्छ।

मुसे–बालुवा, जोखिम सञ्चार र फेसबुक मेसेन्जर ग्रुपः
समस्याले समाधान पनि जन्माउँछ। मुसे–बालुवा खण्डमा हुने सडक अवरोध हटाउन स्थानीय सरकार, सरोकारवाला र स्वयंसेवकहरूको भूमिका अहम र प्रशंसनीय छ। यसमध्ये २७ वर्षीय श्यामसुन्दर लामिछाने, ४८ वर्षीय गोसार कार्की र ४५ वर्षीय आशाराम तामाङको भूमिका उच्च छ। तीनै जना हेलम्बू गाउँपालिकाका विपद जोखिम न्यूनीकरण स्वयंसेवक हुन्।
श्यामले पालिकाका 'विपद फोकल पर्सन' सँग समन्वय गरी सामुदायिक विपद व्यवस्थापन समिति, हेलम्बू नामक फेसबुक, मेसेन्जर ग्रुप बनाएका छन्। यो ग्रुप बनाउनुको उद्देश्य प्रकोप तथा विपदजन्य घटनाको जानकारी लिने, बहुप्रकोपीय पूर्वसूचना प्रणाली सक्रिय बनाउने, जोखिम सञ्चार गर्ने र समस्यासमाधान खोज्ने हो।
उक्त ग्रुपमा हेलम्बू गाउँपालिकादेखि मेलम्ची नगरपालिकाका नदी तटीय बस्तीका स्थानीयहरू, सामुदायिक विपद व्यवस्थापन समितिका सदस्य, जनप्रतिनिधि, गाउँपालिका प्रमुख, पालिकाका विपद फोकल पर्सन, सार्वजनिक बस/डोजर/एम्बुलेन्स चालक, कर्मचारी, सुरक्षाकर्मी, रेडक्रसकर्मी, स्थानीय नेता तथा अगुवा, गैरसरकारी संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, शिक्षक, पत्रकार, रेडियो मेलम्चीका प्रस्तोताहरू, विपद तथा जलवायु विज्ञ, अनुसन्धानकर्ता तथा अन्य सरोकारवालाहरू समेटिएका छन्।
श्यामले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र प्रभावमा आधारित पूर्वानुमान बुलेटिन मेसेन्जर ग्रुपमा राख्छन्। उनीसँग पूर्वसूचना प्रणाली सम्बन्धी ज्ञान र अनुभव छ। ती बुलेटिनले वर्षा तथा जोखिमको पूर्वानुमान गर्छन्। यो ग्रुप वर्षैभरि सक्रिय हुन्छ। वर्षायाममा अति सक्रिय हुन्छ। हाल ग्रुपमा १६४ जना आबद्ध र सक्रिय छन्।
गोसार, आशाराम, वीर बहादुर तामाङ र निरबहादुर माझी (नायब निरीक्षक, सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस – ग्याल्थुम) ग्रुप र फिल्डमा दिनरात नभनी अग्रपंक्तिमा सक्रिय हुन्छन्।
मुसे–बालुवा खण्ड यात्रा गर्नेहरू, उनीहरूलाई फोन सम्पर्क गर्छन्। नायब निरीक्षक निरबहादुर समुदाय र स्थानीय सरकारसँग आवश्यक समन्वय गरी मातहतको टिम परिचालन गरेर मुसे–बालुवामा हुने अवरोध हटाउन अहम भूमिका निर्वाह गरिरहेका छन्।
उनीहरूबाहेक अरू सदस्य पनि ग्रुपमा सक्रिय छन्। अरू सदस्य पनि फिल्डको वस्तुगत अवस्था बुझेर मेसेज, भ्वाइस मेसेज, ताजा फोटा र भिडिओ ग्रुपमा राखेर जानकारी दिन्छन्।
सवारी साधन अवागमन रोकिएमा वडा र पालिकाको विपद फोकल पर्सनलाई फोन गर्छन्। यसले गर्दा स्थानीय सरकारका प्रतिनिधि, कर्मचारी, स्थानीय समुदाय र सरोकारवाला निकाय सबैको ध्यानाकर्षण र सकारात्मक दबाबसहितको दायित्वबोध हुने गरेको छ। तुरून्तै प्रतिकार्य हुने गरेको छ।
मेलम्ची बाढी जोखिम सञ्चार तथा मुसे–बालुवा भेलबाढीको समस्या समाधानका लागि फेसबुक मेसेन्जर ग्रुप उपयोगी र भरपर्दो प्लेटफर्म भएको छ।

मुसे–बालुवा र मौसम विज्ञान:
२०७८ सालको विनाशकारी बाढी पश्चात् मेलम्ची–हेलम्बू क्षेत्रमा बाढी तथा पहिरोमा आधारित पूर्वसूचना प्रणाली विकास गरिएको छ। मेलम्ची नदीको माथिल्लो भागहरूमा वर्षा मापन गर्ने स्टेसनहरू राखिएका छन्। यसले गर्दा मेलम्ची खोला, सहायक खोला, खहरे खोल्साहरूमा बाढी तथा भेलबाढी आउन सक्ने कुराको पूर्वानुमान र प्रतिकार्यलाई मद्दत पुर्याएको छ।
वर्षाको पूर्वानुमानसँगै मुसे–बालुवामा हुन सक्ने अवरोध समेत पूर्वानुमान गर्न सजिलो भएको छ। वर्षाको मात्रा अनुसार बाढी र पहिरोको सतर्कता र खतरा तह निर्धारण गरिएको छ।
प्रति घन्टा ४०–६० मिमी, प्रति ३ घन्टा ८० मिमी, प्रति ६ घन्टा १०० मिमी, प्रति १२ घन्टा १२० मिमी र प्रति २४ घन्टा १४० मिमी पानी पर्नु उच्च जोखिम हो। लगातार हुने वर्षाको अवधिले पनि जोखिमको मात्रालाई प्रभाव पुर्याउँछ।
जल तथा मौसम विज्ञान विभागद्वारा वर्षाको आधारमा बाढीको यो थ्रेसहोल्ड निर्धारण गरिएको हो।
वर्षा र पहिरो
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरण र प्राक्टिकल एक्सनले संयुक्त रूपमा गरेको अध्ययन अनुसार वर्षामा आधारित पहिरोको थ्रेसहोल्ड १२४ मिलिमिटर छ। अर्थात्, हेलम्बू गाउँपालिकामा २४ घन्टाभित्र १२४ मिलिमिटर वर्षा हुँदा पहिरो जान सक्ने सम्भावना उच्च रहन्छ।
उक्त अध्ययन तथा अनुसन्धानको निष्कर्ष र मुसे–बालुवाको भेलबाढी तथा पहिरोको अवस्था मेल खाएको छ।
मुसे–बालुवा क्षेत्रमा न्यून तथा मध्यम वर्षा हुँदा समेत लेदो माटो तथा गेग्रान बग्ने गरेको छ।
हेलम्बू गाउँपालिकाको पूर्वतयारी र प्रतिकार्य:
विगतको सिकाइलाई मनन गर्दै हेलम्बू गाउँपालिकाले यस वर्षको मनसुन अगावै बाढी–पहिरोको जोखिम न्यूनीकरण गर्ने कार्यहरू गरिसकेको छ।
पालिकाको विपद फोकल पर्सन हरिबहादुर श्रेष्ठका अनुसार, यस वर्ष मनसुन अगावै नदी नियन्त्रणका लागि बोल्डर प्याकिङ, खोलालाई पुरानो लयमा फर्काउने, ग्याबिन जाली लगाउने जस्ता काम गरिएको छ।
यो प्रि–मनसुनमा हेलम्बू गाउँपालिकाले विपद पूर्वतयारी र प्रतिकार्यमा ४५ लाख रूपैयाँ बराबर खर्च गरिसकेको छ। यसले गर्दा हालसम्म मेलम्ची खोलाले मोटर बाटो तथा बस्ती पूर्वाधारहरूमा उल्लेख्य क्षति पुर्याएको छैन। गत वर्ष पालिकाले विपद (विशेष गरी बाढीपहिरो) पूर्वतयारी र प्रतिकार्यमा ६२ लाख रूपैयाँ खर्च गरेको थियो।
विपद पूर्वतयारीमा जोड दिँदै वडा तथा बस्ती तहमा विपद फोकल पर्सन तोकिएको छ। पालिकाको डोजर तथा निजी डोजरहरू मुसे–बालुवा तथा अन्य जोखिम क्षेत्रहरूमा तैनाथ छन्।
यो वर्ष मुसे–बालुवामा हालसम्म ९ पटक बाटो अवरूद्ध भए पनि हरेक पटक तत्काल खुलाइएको छ। बाढी, पहिरो र भेलबाढीको जोखिम अझै टरेको छैन। हेलम्बू गाउँपालिकाले मुसे–बालुवा लगायत जोखिमयुक्त स्थानहरूमा हेभी मेसिन तथा डोजरहरू तम्तयार अवस्थामा राखेको छ। यसले गर्दा सडक अवरोध १ घण्टाभित्र समाधान गर्न सकिएको छ।

मुसे–बालुवाको अल्पकालीन र दीर्घकालीन समाधान
अल्पकालीन रूपमा मुसे–बालुवा खण्डको माथिल्लो भूभाग बगेर आउने लेदो हिलो र गेग्रान हटाउने र यातायात पुनः सुरू गर्ने नै उपयुक्त समाधानको विधि हो।
हेलम्बू गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष बुद्धि तामाङका अनुसार पालिकाले सोही अनुसार पूर्वतयारी र प्रतिकार्य गरिरहेको बताएका छन्।
दीर्घकालीन हिसाबले माथिल्लो खण्डमा रहेको पहिरो नियन्त्रण गर्नुपर्ने देखिन्छ। स्थानीय सरकार तथा सरोकारवाला निकायहरूको स्तरबाट उक्त विशाल भूक्षय र पहिरो नियन्त्रण गर्न कठिन देखिन्छ। यसका लागि विस्तृत अध्ययन र अनुसन्धान सहितको पहिरो नियन्त्रणको कार्ययोजना अपरिहार्य देखिन्छ। प्रदेश सरकार, संघीय सरकार, अन्तर्राष्ट्रिय दातृ निकायहरूको सहयोगको खाँचो देखिन्छ।
निष्कर्ष
बदलिँदो मौसमी तथा जलवायु परिवर्तनले गर्दा विषम प्रकृतिका विपदजन्य घटनाहरूको मात्रा र आवृत्ति बढेको छ। अकल्पनीय र अनपेक्षित विपदका घटनाहरूले व्यापक जनधनको क्षति पुर्याएको छ।
हेलम्बू गाउँपालिकामा सामुदायिक विपद व्यवस्थापन समिति, हेलम्बू नामक फेसबुक मेसेन्जर ग्रुपले सबैलाई सचेत र जिम्मेवारबोध गराएको छ। स्थानीय सरकारलाई पूर्वतयारी र प्रतिकार्यमा सहजता भएको छ। नदी तटीय बस्ती र यात्रुहरूमा हुने त्रास र अनिश्चितता कम भएको छ। मौसम तथा जलवायुजन्य विपदबाट हुन सक्ने मानवीय संकट टरेको छ।
तर अझै पनि भेलबाढी र पहिरोको जोखिम देखिन्छ। तसर्थ, सबै जना सचेत र सजग रहनुपर्ने देखिन्छ।

(लेखक मिनेश गुरूङ विपद जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणाली क्षेत्रमा कार्यरत छन्)
ट्विटरः @minesh_gurung
मिनेश गुरूङका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।