बेइजिङ डायरी
बेइजिङको केन्द्र भागमा रहेको थिआनआनमन क्षेत्रमा सेप्टेम्बर ३ तारिख बुधबार बिहान एउटा उत्सव मनाइँदै थियो।
मूलतः सैन्य परेड आयोजना गरेर मनाइएको उक्त उत्सवमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै विभिन्न देशका प्रधानमन्त्री र राष्ट्रपतिहरू सहभागी थिए।
उक्त सैन्य परेड जापानी अतिक्रमण विरूद्ध चिनियाँ युद्ध विजय तथा विश्व फासीवादी विरोधी युद्ध विजयको ८० औं वार्षिकोत्सवको मुख्य समारोह थियो।
समारोहका लागि दुई साता अगाडिदेखि नै थिआनआनमन क्षेत्र भव्य सजाइएको थियो।
थिआनआनमन क्षेत्रका दुईतर्फ लाल झन्डा फहराइएका थिए। बीच भागमा दुइटा प्रमुख संख्यालाई पहेँलो रङमा राखिएको थियो। ती दुई संख्यामा दोस्रो विश्व युद्ध तथा जापानले चीनमाथि गरेको अतिक्रमण विरूद्धको युद्ध समाप्ती भएको वर्ष १९४५ र वर्तमानको समय २०२५ लाई संकेत गरिएको थियो।
यही समारोहलाई ध्यानमा राखेर चीनले बेइजिङ नजिकैको थिआनचिन सहरमा शाङहाई सहयोग संगठनको शिखर सम्मेलन आयोजना गरेको थियो।
शिखर सम्मेलन सकिएपछि त्यहाँ उपस्थित उच्च विदेशी नेतालाई बेइजिङको सैन्य परेड देखाउने उद्देश्यले समय तालिका पहिल्यै निर्धारण गरिएको थियो। सैन्य परेडको तयारी हुँदै गर्दा केही दिन अगाडिदेखि बेइजिङको सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो।

थिआनआनमन क्षेत्रबाट चल्ने भूमिगत रेल तथा बस लगायत सबै सार्वजनिक र निजी यातायात स्थगन गरिएको थियो। बेइजिङको आकाशमा केही सातादेखि ड्रोनदेखि चंगा उडाउन पनि रोक लगाइएको थियो। सहरका चोक सिँगारेर आकर्षक बनाइएको थियो।
सहर सिँगार्दा सांकेतिक रूपमा चीनले विभिन्न क्षेत्रमा अहिलेसम्म प्राप्त गरेका उपलब्धि देखाइएको छ।
सैनिक परेडमा भाग लिएका चिनियाँ जनमुक्ति सेना र चिनियाँ जन सशस्त्र प्रहरीका जवानहरूमा उत्साह र जोसपूर्ण भाव देखिन्थ्यो।
सैन्य ब्यान्ड र कोरस समूहहरूद्वारा चिनियाँ जनताले धेरै रूचाएको युद्धकालीन गीतहरू गाएका थिए। परेड हेर्न भेला भएका सर्वसाधारणहरूले चिनियाँ राष्ट्रिय झन्डा समातेर सैन्य ब्यान्डको संगीतसँगै स्वर मिलाउँदै गीतमा साथ दिँदा वातावरण निकै गर्माएको देखिन्थ्यो।
त्यसो त एक महिना अगाडिदेखि नै चिनियाँ टेलिभिजन र चलचित्र भवनहरूमा राष्ट्रवादी भावका चलचित्र र शृंखलाहरू प्रसारण हुँदै आएका थिए। त्यस्ता सामग्रीहरूमा विशेषगरी जापानी अतिक्रमण विरूद्ध र चिनियाँ बलिदानीका दृश्यहरू समेटिएका हुन्छन्।
सैन्य परेडको सुरूमा जोस र उत्साह थप्ने गीत संगीतपछि ८० पटक तोप पड्काइएको थियो। जसले चिनियाँ जनताको जापानविरोधी युद्ध तथा विश्व फासीवादी विरूद्धको युद्ध विजयको ८० औं वार्षिकोत्सव जनाएको छ।
पड्काइएका तोपहरू ५६ प्रकारका छन्। ती ५६ प्रकारका तोप चीनका ५६ जातिको एकताको प्रतीक हुन्। ५६ चिनियाँ जातिले लगातार १४ वर्ष (सन् १९३१ देखि १९४५) सम्म जापानी अतिक्रमण विरूद्ध कठोर संघर्ष गरेका थिए।
तोप पड्काएपछि चिनियाँ जनमुक्ति सेनाले चीनको राष्ट्रिय झन्डालाई जनयोद्धा स्मारकबाट चोकको झन्डा पोलसम्म लगेर फहराउने काम गरे। झन्डा फहराएपछि चिनियाँ राष्ट्रिय गान बजाइयो।
करिब ४० हजार मानिसले सँगसँगै चिनियाँ राष्ट्रिय गान गाएपछि चीनका राष्ट्रपति सी चिनफिङको ८ मिनेट महत्वपूर्ण सम्बोधन गरे।
सम्बोधनपछि सी चिनफिङ सैन्य गाडीमा उभिएर परेडको अवलोकनमा निस्किए। थिआनआनमन क्षेत्रदेखि पश्चिमपट्टि च्याङकोमनसम्म पुगेर उनले विभिन्न सैनिक टुकडीबाट सलामी ग्रहण गरे। उनले हरेक सैनिक टुकडीलाई सम्बोधन गर्दै चिनियाँ भाषामा 'थङचमन हाउ' (कमरेडहरू नमस्ते) भने।
सैनिकहरूले प्रत्यक्षुरमा नमस्ते चेयरम्यान भनेपछि सीले फेरि भने 'थङचमन सिङखुल' (कमरेडहरू दुःख भयो है) भने।
त्यसपछि सैनिकहरुले 'जनताको सेवा नै सर्वोपरी' भनेर उत्तर दिए। परेडमा रहेका टुकडीहरूको अवलोकन गरेर फर्किएपछि सी रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनको बीचमा बसेका थिए।
सन् १९४५ अगस्ट १५ मा, जापानी सम्राटले 'युद्ध समाप्त भएको घोषणा पत्र' पढ्दै विश्व फासीवादी गठबन्धनले बिना सर्त आत्मसमर्पण गरेको घोषणा गरेका थिए।

अनि सोही वर्ष सेप्टेम्बर २ मा आत्मसमर्पण पत्रमा औपचारिक रूपमा हस्ताक्षर भएको थियो। आत्मसमर्पण पत्रका हस्ताक्षर भएको अर्को दिन अर्थात् सेप्टेम्बर ३ लाई विजय उत्सवका रूपमा सम्झना गर्न थालिएको हो।
सन् २०१४ मा चीनले औपचारिक रूपमा सेप्टेम्बर ३ लाई राष्ट्रिय स्मृति दिवस घोषणा गर्ने निर्णय गरेपछि सन् २०१५ को सेप्टेम्बर ३ मा यसरी नै ७० औं विजयोत्सव मनाउँदै पहिलो पटक 'विजय दिवस सैन्य परेड' मनाइएको थियो।
जापानले सन् १९३१ देखि १९४५ सम्म चीनमाथि अनवरत रूपमा १४ वर्ष आक्रमण गरेको थियो। त्यस बीचमा सaभन्दा धेरै प्रताडना चाहिँ सन् १९३७ मा चीनको दक्षिणपूर्वमा पर्ने च्याङसु प्रान्तको सदरमुकाम नानचिङमा भएको थियो।
विश्व मानव इतिहासमा 'नानचिङ नरसंहार' का रूपमा सम्झिने उक्त क्रुर इतिहासका केही भिडिओ फुटेज अहिले पनि युट्युबतिर हेर्न सकिन्छ।
अनौठो कुरा के छ भने, ती भिडिओ तथा फोटा जापानी युद्धउन्माद सैनिक अधिकारीहरूले नै खिचेका थिए। जापान विरूद्धको युद्धमा मात्र चीनका सैन्य र आमजनता गरी करिब ३ करोड ५० लाख मानिस मारिए।
दोस्रो विश्व युद्धमा करिब १० करोड मानिसहरू मारिएको अनुमान गरिन्छ।
सन् १९३७ को आर्थिक मापन अनुसार उक्त युद्धले प्रत्यक्ष रूपमा १० अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक क्षति पुर्यायो। अप्रत्यक्ष क्षति ५० अर्ब डलरसम्म थियो।
बुधबार बिहान बेइजिङमा सम्पन्न भएको सैन्य परेडमा १३ पैदल सैन्य टुकडीले सहभागिता जनाएका छन्।
परम्परागत स्थल सेना, नवसेना, वायु सेना, रकेट सेनाका टुकडी बाहेक यस पटक पहिलोचोटि सैन्य अन्तरिक्ष टुकडी, साइबर स्पेस टुकडी, सूचना सहयोगी टुकडी र संयुक्त लजिस्टिक सहयोगी टुकडीले पनि परेडमा भाग लिएका छन्।
यसले चिनियाँ सैन्य संरचनाको नयाँ व्यवस्थापन प्रतिनिधित्व गर्छ।

सैन्य परेडमा भाग लिएको एउटा टुकडीका सदस्यले निलो टोपी लगाएका थिए। उनीहरू संयुक्त राष्ट्रसंघ शान्ति सुरक्षा अभियानमा सहभागी चिनियाँ शान्ति सेनाहरू हुन्।
सन् १९९० मा चीनले पहिलो पटक संयुक्त राष्ट्रमा ५ जना सैन्य निरीक्षक पठाएको थियो। त्यसपछि अहिलेसम्म चीनले करिब ५० हजारभन्दा बढी शान्ति सैनिकहरू विभिन्न मिसनमा पठाइसकेको छ।
यी सैनिकहरूले दक्षिण सुडान, लेबनान लगायत २० भन्दा बढी देश र क्षेत्रहरूमा संयुक्त राष्ट्रका २६ वटा शान्ति सुरक्षा अभियानहरू सञ्चालन गरेका छन्।
अहिलेसम्म १७ जना चीनका शान्ति सैनिकहरूले विश्व शान्तिका लागि आफ्नो जीवन बलिदान दिएका छन्। सैन्य परेडमा ८० वटा सैन्य इकाइहरूका झन्डा बोकेका गाडीहरू लस्करै गुडेका थिए।
ती झन्डाहरूमा दोस्रो विश्व युद्धकालीन चीन–जापान युद्धमा वीरतापूर्वक कार्य गरेका सैन्य इकाइका नाम अंकित थिए।
प्रत्येक झन्डाको पछाडि रगत र पसिनाले लेखिएको एक–एक वीरगाथा थियो। त्यसलाई चिनियाँ सैनिकहरूको अदम्य साहसको प्रतीक मानिन्छ।
यी इकाइहरूले ८० वर्षअघिको चीन–जापान युद्धमा जनता र सेनालाई आत्मबल र प्रेरणा दिएर जापानी आक्रमणकारी पराजित गर्न मद्दत गरेको स्मरण गराउँछन्।
चिनियाँ भनाइ अनुसार ती पवित्र झन्डाहरूले वीरहरू र इतिहास बिर्सिनु हुँदैन भन्ने नारा बोकेका छन्।
चीनले अहिलेसम्म आयोजना गरेका सबै सैन्य परेडहरूमा हतियार र उपकरणहरूले घरेलु र अन्तर्राष्ट्रिय मिडिया तथा दर्शकहरूको विशेष ध्यान तान्ने गरेको छ। यस पटकको उपकरण टोलीले चीनको सैन्य उपकरण प्रणाली निर्माणका नयाँ उपलब्धि देखाएको छ। जसमा केही नयाँ प्रकारका अपरेटिङ यन्त्रहरू; जस्तै ड्रोनयुक्त स्मार्ट यन्त्रहरू, पानीमुनि युद्ध प्रणाली र हाइपरसोनिक मिसाइल समेत प्रदर्शन गरिएको छ।
सन् १९९० मा सोभियत युनियनको पतन भएपछि विश्व एक ध्रुव्रीय बन्न गएको हो। अमेरिकी दबदबा रहेकै समयमा चीनले गरेको प्रगतिले विश्वलाई फेरि बहुध्रुवीय बनाएको छ।
एक्काइसौं शताब्दीको छोटो समयमै चीनले आर्थिक, सामरिक, कूटनीतिक, व्यापारिक आदि क्षेत्रमा गरेको प्रगतिले विश्वलाई चकित बनाएको छ।
अहिले दुनियाँलाई चीनको नयाँ हतियार उपकरणहरूमा धेरै चासो छ।
८० वर्षअघि जापानविरोधी युद्धमा चिनियाँ हतियार तथा युद्ध उपकरणहरू निकै साधारण थिए। त्यति बेला अधिकांश हातहतियारहरू घरायसी बन्दुक र तोप, ठूला तरबार र भाला जस्ता थिए।
कतिपय चिनियाँहरू हतियारबिनै लड्ने भावना लिएर देशको रक्षाका लागि बहादुरीपूर्वक जापानी अतिक्रमणकारीका विरूद्ध युद्ध मैदानमा उत्रिएका थिए।
चीनले कठिन र अभावग्रस्त समय व्यतीत गरेको आठ दशक मात्र भयो। अहिले चीनले धेरै उच्च प्रविधिहरूमा सफलता हासिल गरेको छ। धेरै आधुनिक हतियार निर्माण गरेको छ। नयाँ प्रकारका फाइटर जेट, विनाशक जहाज, अदृश्य लडाकु विमान, ड्रोन, रणनीतिक मिसाइल आदि बनाएर चीनले मुख्य रूपमा अमेरिकालाई त्रसित बनाएको छ भन्दा अत्युक्ति हुँदैन।

सैन्य परेडमा बेइजिङको आकाश युद्धक विमानले भरिएको थियो। विमानहरूले आकाशमै अंग्रेजी अंकहरू आठ र शून्य बनाएर ८० औं वार्षिकोत्सवको प्रतिबिम्ब सिर्जना गरेका थिए।
आकाशमा रंगीन धुवाँ उडाएर बेगिएका ती विमानमा प्रारम्भिक चेतावनी विमान, बमवर्षक विमान, लडाकु विमान, रकेट वाहक विमान, हेलिकप्टरहरू साथै अन्तर्राष्ट्रिय स्तरमा ध्यानाकर्षण बटुलेका जे-२०, जे-३५ जस्ता अत्याधुनिक लडाकु विमानहरू पहिलोपटक चीनले संसारलाई देखाएको छ।
नयाँ चीन स्थापना भएको समयलाई तुलना गर्दा निकै रोचक तथ्यांक भेटिन्छन्।
सन् १९४९ अक्टोबर १ मा जनगणतन्त्र चीन स्थापना भएपछि आयोजित पहिलो सैन्य परेडमा चिनियाँ वायुसेनाको साथमा मात्र १७ वटा विमान थिए।
अहिले सन् २०२५ मा आयोजित सैन्य परेडमा सहभागी विमानको संख्या लगभग २ सय पुगेका छन्।
यो विजय दिवस किन भव्य रूपमा मनाइन्छ भन्नेबारे चीनको भनाइ निकै गहन छ।
यस प्रकारका सैन्य परेडको मुख्य उद्देश्य इतिहास सम्झिनु, युद्ध प्रतिरोधको भावना प्रवर्द्धन गर्नु, राष्ट्रिय सुरक्षा आधुनिकीकरण उपलब्धिहरू प्रदर्शन गर्नु र युद्धपश्चात अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्नु रहेको चीनको भनाइ छ।
भव्य सैन्य परेड गरिरहेको चीन युद्ध र हतियारका विषयमा भने यस्तो धारणा राख्छ— चीन सबै मानिसमा शान्तिको चाहना र प्रतिबद्धता जगाउन चाहन्छ र शान्तिलाई माया गर्दै रक्षा गर्ने शक्तिशाली समुदायलाई एकत्रित गर्न चाहन्छ।
विशेष गरी अहिले मानव समाज अभूतपूर्व चुनौतीको सामना गर्दैछ। रूस-युक्रेन द्वन्द्व अझै जारी छ, इसराइल–प्यालेस्टाइन विवाद अझ जटिल छ। युद्धको बादल मानवतामाथि अझै मडारिरहेको छ। अन्तर्राष्ट्रिय स्तरमा एकपक्षीयता, संरक्षणवाद र साम्राज्यवादको प्रचार जोडतोडले चलिरहेको छ। यसले विश्व शान्ति र स्थायित्वलाई ठूलो जोखिममा पार्दैछ।
यो अन्तर्राष्ट्रिय परिस्थिति जति नै अस्थिर होस् चीनले दोस्रो विश्व युद्धको विजयका उपलब्धिहरू र युद्धपश्चात अन्तर्राष्ट्रिय व्यवस्थाको दृढताका साथ रक्षा गर्नुपर्छ। चीनले संयुक्त राष्ट्रसंघलाई केन्द्र बनाएर अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानुनमा आधारित व्यवस्था कायम राख्नुपर्छ।
चीनले आफूलाई सधैं विश्व शान्तिको निर्माता, विश्व विकासको योगदानकर्ता र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षक मान्ने गरेको छ।
अनि घोषणा गरेको छ— चीन महान विजयलाई सम्झिन्छ किनभने यसले हामीलाई इतिहासबाट सिक्न र मानव जातिको साझा भविष्य निर्माण गर्ने प्रेरणा दिन्छ।
सैन्य परेडको अन्तमा बेइजिङका आकाशमा ८० हजार ढुकुर उडाएर चीनले शान्तिको सन्देश छरेको छ। र, लाखौं रंगीन बेलुन आकाशभरि फैलाएर उमंग र जोस बाँडेको छ।

(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)