तीन वर्षदेखि नियमित स्कुल गइरहने सिरहाकी एक बालिकाले यसपालि नयाँ शैक्षिक सत्र सुरू भएको केही दिनपछि स्कुल जाने मन गरिनन्।
अभिभावकले सोधखोज गर्दा थाहा पाए, उनलाई शिशु कक्षाबाट कक्षा १ मा जाँदा सुरूमा प्रथम घोषणा गरिएको थियो। केही दिनपछि एकाएक दोस्रो घोषित गरियो। र, उनको रोल नम्बर पनि घटाइयो।
एकचोटि प्रथम घोषणा गरेर घटुवा गरिएको भन्दै ती बालिकाले स्कुल जाने मन गरिनन्।
यो घटना औरही गाउँपालिका-४ को श्री आधारभूत विद्यालयको हो।
आमा पुष्पाकुमारी रामका अनुसार कक्षामा प्रथम भएपछि बालिकाले गाउँभरि चक्लेट बाँडेकी थिइन्। नयाँ शैक्षिक सत्र सुरू भएको केही दिनसम्म उनी खुसी खुसी नै स्कुल गइन्। तर एकदिन अचानक स्कुल जान मानिनन् र १० दिनसम्म लगातार गयल भइन्।
'तीन वर्षदेखि खुसीसाथ विद्यालय गइरहेकी थिइन्, एक्कासि नजाने भन्दै रून कराउन थालिन,' उनले भनिन्, 'दस दिनसम्म यस्तै गरेपछि छोरीसँग सोधपुछ गरेँ। त्यसपछि बल्ल उसको रोल नम्बर घटुवा गरिएको थाहा पायौं।'
उनी यसबारे बुझ्न आफै विद्यालय पुगिन्। दलित विद्यार्थी भनेर प्रथमबाट हटाएर दोस्रो बनाइएको हो कि भनेर गुनासो पनि गरिन्।
स्कुलका प्रधानाध्यापकले शिक्षकको लापरबाहीका कारण त्यस्तो भएको जबाफ दिए।
'शिक्षकले लापरबाहीले मेरी छोरी एक सातासम्म रूँदै बसी, मानसिक चोट पुग्यो,' पुष्षाले भनिन्, 'त्यसैले आज हामीले यो घटनाबारे जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन पनि दिएका छौं।'
हामीले यो घटनाबारे विद्यालयका प्रधानाध्यापक अनिल यादवलाई सोधेका छौं।
'क्लास टिचर' ले केही दिन प्रथम भएको विद्यार्थी अर्चना पढ्न नआएपछि दोस्रो भएको व्यक्तिलाई पहिलो घोषणा गरिदिएको प्रधानाध्यापक यादवले बताए।
'बालिकाले आफूलाई दोस्रो बनाइएको थाहा पाएपछि केही दिनदेखि विद्यालय नआएकी रहेछिन्, केहीदिनपछि उनका अभिभावक आउनुभयो,' प्रधानाध्यापक यादवले भने, 'शिक्षकले यसबारे केही भन्नुभएकै थिएन, अभिभावकहरू गुनासो लिएर आएपछि मात्र विद्यार्थीको रोल नम्बर घटाइएको थाहा पाएँ।'
उक्त घटना शिक्षकको लापरबाहीका कारण भएको हो। त्यहीकारण उनलाई सचेत गराइएको यादवले बताए।
'धेरैले बालिका दलित भएकाले उनलाई हटाएर अर्कोलाई प्रथम बनाएको भनेका छन्। तर त्यस्तो होइन,' उनले भने, 'हाम्रो विद्यालयमा ४० प्रतिशतभन्दा बढी दलित समुदायका विद्यार्थी छन्।'
उनका अनुसार कक्षा ८ सम्म अध्ययन हुने यो विद्यालय दलित समुदायको बस्ती नजिकै छ। त्यसले जातीयताका आधारमा कोही कसैलाई विभेद गरिएको छैन।