स्पष्टीकरण के भने, साधारणतया व्यक्तिको नाममा राजनीतिक टिप्पणी गर्नु सजिलो काम होइन।
समर्थनमा लेख्नु चाकडी हुन्छ, विरोधमा लेख्नु पूर्वाग्रह।
अझ खास सन्दर्भमा कसैको समर्थन गर्नु त झन् जोखिमको कुरा हो।
प्रश्न आउँछ — त्यसो भए, के सदैव चुप लाग्नु सही हुन्छ?
जब न्याय र अन्यायको लडाइँ चल्छ, तब कोही मौन बस्न कसरी सम्भव हुन्छ?
जब समय खास क्षणमा आएर गतिहीन, विवेकहीन र जड बन्छ, त्यो बेला अगाडि बढ्न चाहनेहरूलाई ऊर्जा नदिई कोही कसरी चुपचाप बस्न सक्छ?
अथवा, निश्पट्ट अन्धकारमा दियो सल्काउन चाहनेहरूलाई एक काँटी सलाई दिँदा कसको बिग्रिन्छ के?
जब राजनीति खास मोडमा उभिन आइपुग्छ, त्यो क्षण व्यक्तिका भूमिकाहरू निकै महत्त्वपूर्ण बन्न पुग्छन्। र, त्यस्तो बेला व्यक्तिको समर्थनमा पनि लेख्नुपर्छ र आवश्यक परे विरोधमा पनि लेख्नुपर्छ।
अहिले हाम्रो परम्परागत राजनीति, सुध्रिने कि सक्किने भन्ने प्रश्नको बीचमा छ।
अथवा, अहिले हाम्रो राजनीति परिवर्तनको नयाँ आलोकमा अगाडि बढ्ने कि अहंकारको अँध्यारोमा जडबत रहने भन्ने प्रश्नको बीचमा छ। र, यही प्रश्नको बीचमा छ नेपाली कांग्रेस।
साधारण आँखाबाट हेर्दा लाग्छ, यो पार्टीहरूको निजी मामिला हो। एमालेको निजी मामिला हो। माओवादीको निजी मामिला हो। रास्वपाको निजी मामिला हो। कांग्रेसको निजी मामिला हो।
यी पार्टीहरू सुध्रिए पनि के, सक्किए पनि के!
तर होइन। किनभने पार्टीका मामिलाहरू ती पार्टीका निजी मात्र होइनन्।
अतः कांग्रेसको मामिला नेपाली राजनीतिको मामिला हो। योसँग हाम्रो इतिहास, आजका मुद्दा र भविष्य जोडिएको छ। त्यसैले कांग्रेसमा अहिले जे भइरहेको छ, यो कांग्रेसको मात्र सरोकारको विषय होइन। यो गैरकांग्रेसको पनि सरोकारको प्रश्न हो।
किनभने, कांग्रेस बदलिए धेरै कुरा फेरिन्छ। कांग्रेस जडबत रह्यो भने, धेरै कुरा अप्ठ्यारोमा पर्छ।
अरू पार्टीहरूको हकमा पनि कुरा त्यही हो।
यसर्थ नै विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने कांग्रेसको पछिल्लो राजनीतिक रस्साकस्सीमा आम नेपालीको सरोकार छ।
र, सरोकार छ — त्यो रस्साकस्सीका प्रमुख पात्रहरू गगन थापा र विश्वप्रकाश शर्मामा।
त्यसैले यो लेख गगन थापा र विश्वप्रकाश शर्माका नाममा लेखिएको हो।
यो लेख अगाडि बढाउने मेरा दुइटा प्रश्न छन्।
पहिलो, मलाई किन मनपर्छ गगन र विश्वप्रकाश?
दोस्रो, म किन उनीहरूलाई समर्थन गरिरहेको छु?
पहिलो प्रश्नमा 'मनपर्ने' शब्दलाई मैले राजनीतिक अर्थमा प्रयोग गरेको हुँ। किनभने, मेरा लागि कुनै पनि राजनीतिक पात्र मनपर्नु वा नपर्नु उसको भूमिका र एजेन्डासँग सम्बन्धित कुरा हो। व्यक्तिगत सम्बन्धको कुरा होइन।
अवश्य नै, सामाजिक सम्बन्धहरू निजी हुन्छन्। त्यहाँ राजनीतिले अर्थ राख्दैन। तर राजनीतिक सम्बन्धहरू निजी मात्र हुँदैनन्। ती निजीभन्दा धेरै राजनीतिक हुन्छन्।
मेरा लागि राजनीतिक सम्बन्धको अर्थ के भने, त्यहाँ एजेन्डा, विचार, संगठन, आन्दोलन र परिवर्तनको कार्यभार प्रधान हुन्छ।
राजनीतिक सम्बन्धहरू विशेषतः आम मान्छेका सपनासँग जोडिन्छन्। स्वाभिमान र समृद्धिसँग जोडिन्छन्। निष्ठा र नैतिकतासँग जोडिन्छन्। राजनीतिक संस्कृतिसँग जोडिन्छन्। न्यायसँग जोडिन्छन्। परिवर्तनसँग जोडिन्छन्। र, जोडिन्छन् लोकतन्त्रसँग।
इतिहासको खास कालखण्डमा जब परिवर्तन र यथास्थितिको लडाइँ चल्छ, त्यो आँधीमय क्षणमा राजनीतिक पात्रहरू कहाँ उभिन्छन्, त्यसले आम मान्छेसँग उनीहरूको सम्बन्ध निर्धारण हुन्छ।
सत्य र असत्यको लडाइँमा राजनीतिक पात्रहरू कसको पक्षमा हुन्छन्, त्यसले उनीहरूलाई हेर्ने आम मान्छेको दृष्टिकोण निर्माण हुन्छ। र, त्यसैको आलोकमा ती नेता र आम जनताको सम्बन्ध निर्धारण हुन्छ।
ठ्याक्कै यस्तै, मेरा लागि राजनीतिक पात्रहरू र मेरो सम्बन्धको कडी हो एजेन्डा। इतिहासमा ऊ उभिएको स्थान। इतिहासमा उसले समाएको बाटो। उसले लगाएको नारा। उसले गाएको गीत।
मेरा लागि नेतासँगको सम्बन्धको कडी हो उसको पक्षधरता र परिवर्तनको हुटहुटी।
नेता भिडमा होस् कि एक्लै, सत्तामा होस् कि सडकमा, शक्तिमा होस् कि शक्ति बाहिर, त्यसले मेरा लागि ऊसँगको सम्बन्धमा कुनै फरक पार्दैन।
मलाई फरक पर्छ — उसले निर्वाह गरेको ऐतिहासिक भूमिका र उसले बोकेको एजेन्डाले। फरक पर्छ उसको निष्ठा, नैतिकता र शासनीय दायित्वले।
यसरी हेर्दा, आज मलाई मनपरेका पात्रहरू भोलि मननपर्न सक्छन्। आज मननपरेकाहरू भोलि मनपर्न सक्छन्। मेरा लागि राजनीतिक पात्रहरू मनपर्नु वा नपर्नु स्थायी कुरा होइन। सापेक्ष दृष्टिकोण हो।
यही सिद्धान्तको आलोकबाट हेर्दा, आज मलाई नेपाली कांग्रेसभित्रका दुई पात्रहरू (उनीहरूसँगै अरू अनेक साथीहरू पनि जोडिन्छन्, जो राजनीतिक पुनर्गठनको पक्षमा छन्) मनपर्छ।
उनीहरू हुन् — गगन थापा र विश्वप्रकाश शर्मा।
लोकप्रियताको आँधी चलेका बेला, बजारमा नयाँ हिरोहरू आएका बेला, अनेकौं पात्रहरूले चुट्कीमा देश बनाउने उद्घोष गरिरहेका बेला, म भने आफूले कहिल्यै भोट नहालेको (र, सबभन्दा धेरै आलोचना गरेको) पार्टीका दुई जना नेतालाई किन समर्थन गरिरहेको छु?
यसका केही राजनीतिक र वैचारिक कारण छन्।
पहिलो कारण के भने, यी दुई पात्रले समयको आँधी आत्मसात गरेका छन्। परम्परागत राजनीति सुस्त, गतिहीन र सत्ताको खेलमा मगनमस्त भएका बेला यिनीहरूले त्यसलाई इन्कार गरेका छन्।
र, कांग्रेसभित्रै सही, उनीहरूले राजनीतिक पुनर्गठनको आवाज संगठित गर्दै लगेका छन्।
त्यसैले मलाई लाग्छ — उदार, लोकतान्त्रिक, प्रगतिशिल र वैकल्पिक राजनीतिका पक्षधरहरूले यिनीहरूलाई समर्थन गर्नु एक जायज र अनिवार्य राजनीतिक काम हो।
मुख्य कुरा यिनीहरूले देशका पछिल्ला संकटहरूलाई राजनीतिक आँखाले देखेका छन्, अनुभूत गरेका छन् र त्यसबाट निस्किन आवश्यक छ भन्ने गहिरो बोध गरेका छन्। त्यही आत्मबोध नै आजका लागि राजनीतिक पुनर्गठनको ऊर्जा हो।
राजनीति समयसँग अभिभाज्य हुन्छ। जब समय फेरिन्छ, राजनीति फेरिनुपर्छ। जब पुस्ता फेरिन्छ, त्यो सँगै सपना फेरिन्छन् र सपना फेरिएसँगै राजनीतिका एजेन्डा पनि फेरिन्छन्।
अन्यथा, समय अगाडि जाने र राजनीति पछाडि बस्ने — यो हुँदैन।
कथमकदाचित त्यस्तो भयो भने, त्यस्तो राजनीतिले न देशको नेतृत्व गर्न सक्छ, न समयको। न नयाँ पुस्ताका सपनाहरूको नेतृत्व गर्न सक्छ, न युगको।
आज नेपालका राजनीतिक दलहरूको संकट यही हो।
समय अगाडि बढ्यो, दलहरू पछाडि छुटे।
यो राजनीतिक सत्यलाई पुरानो नेतृत्वले इन्कार गरिरहेका बेला, गगन–विश्वप्रकाशहरूले कांग्रेसमार्फत समग्र राजनीतिलाई गतिशिल हुन आह्वान गरिरहेका छन्। युगलाई बुझ्न आह्वान गरिरहेका छन्। पुनर्गठित हुन आह्वान गरिरहेका छन्। जो निकै महत्त्वपूर्ण कुरा हो।
मुख्य कुरा, हाम्रा राजनीतिक दलहरूभित्र नेताको देवत्वकरण गर्ने, वैधानिक प्रक्रिया बेवास्ता गर्ने र लोकतन्त्रलाई दलतन्त्र र नेतातन्त्रमा संकुचित गर्ने जुन प्रवृत्ति देखापर्दैछ, यी दुई कांग्रेसीहरूले (अरू साथ दिनेहरूलाई पनि सम्झिँदै) त्यसलाई इन्कार गर्दै, लोकतन्त्रको आत्म जागृत गर्ने प्रयत्न गरिरहेका छन्।
यो हामी सबैको एजेन्डा हो।
हामी सबैलाई थाहा छ, गगन–विश्वप्रकाशहरू कसैको आशीर्वादबाट स्थापित नेता होइनन्। यी दुवै संघर्षबाट बनेका नेता हुन्। न उनीहरू वंशानुगत राजनीतिका उपज हुन्, न कुनै शक्ति केन्द्रबाट 'प्रायोजित' कठपुतली।
आज गगन थापा र विश्वप्रकाश शर्मा जहाँ छन्, त्यो स्थान उनीहरूको योग्यताले आर्जन गरेको हो।
अर्थात् उनीहरू हुन् — आन्दोलन, बहस, प्रश्न, असहमति र जोखिमको लामो यात्राबाट अघि बढेका नेता।
अतः राजनीतिक पुनर्गठनको माग गर्नु उनीहरूको स्वाभाविक प्रवृत्ति र आत्मबोध हो।
किनभने उनीहरूलाई थाहा छ, सडकको अपेक्षा र सपना। उनीहरूलाई थाहा छ, हाम्रो इतिहास, आन्दोलन र परिवर्तनको लामो सिलसिला। उनीहरूलाई थाहा छ, देश, समाज र मान्छेलाई सिमान्तीकरण गर्ने एक नियोजित सिलसिला। र, थाहा छ, हाम्रो राजनीति, दल र नेतृत्वले गरका कमजोरीहरू।
उनीहरू विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिसम्म आइपुग्दा बारम्बार समयसँग पौठेजोरी खेलेर अगाडि बढे। राज्यसत्तासँग ठोक्किए। आफ्नै पार्टीको यथास्थितिवादसँग ठोक्किए। गुटसँग ठोकिकए। आफ्नै नेता र सभापतिहरूसँग ठोक्किए।
अर्थात, उनीहरू आफ्नै पार्टीभित्र लडे। सडकमा लडे। सत्तासँग लडे।
र, त्यो लडाइँबाट खारिँदै अगाडि बढे।
प्रश्न, आलोचना र संघर्षको यही राजनीति नै उनीहरूको वैचारिक मेरूदण्ड हो। जसले उनीहरूलाई लामो सिलसिलाबाट पार्टी पुनर्गठनको यो बिन्दुमा आइपुग्ने सामर्थ्य दिएको छ। र दिएको छ, त्यसका लागि बलियोसँग उभिने जमिन।
आज कतिपयलाई लाग्छ, सत्तामा पुग्नु नै राजनीतिको अन्तिम लक्ष्य हो। उनीहरूलाई लाग्छ, राजनीति भनेकै अंकगणित हो। राजनीति भनेकै चुनाव हो। ढाँट, छल, प्रपञ्च गर र चुनाव जित।
सरकार परिवर्तन नै राजनीति हो भन्ने भाष्य नयाँ पुस्तामा अझ व्यापक बन्दैछ।
तर गगन र विश्वप्रकाशका लागि राजनीति भनेको रूपान्तरणको एजेन्डा हो।
अन्यथा, चाहँदा उनीहरूका लागि सत्ता टाढा थिएन। हिजोका दिनमा मन्त्रालय, पद, सुविधा सबै उनीहरू वरिपरि थिए। यथावस्थामा पनि पर्खिन सक्दा गगनलाई पार्टी सभापतिको अवसर एक दिन अवश्य नै आउने थियो। र, विश्वप्रकाश पनि त्यसका एक हिस्सेदार थिए।
तर उनीहरू यथावस्थामा रमाउन चाहेनन्। त्यसैले सत्तामा भन्दा उनीहरूको ध्यान गयो एजेन्डामा। जेनजी आन्दोलन र यसले दिएको म्यासेजमा। पार्टीको पुनर्गठनमा। सामाजिक रूपान्तरणमा।
परिणाम, नेपाली कांग्रेसको संस्थापनसँग भिडेर लोकतन्त्र बचाउन, उनीहरूले जोखिमको बाटो रोजे। किनकी, उनीहरूका लागि राजनीति नेताको महत्वकांक्षा सुरक्षित गर्ने साधन होइन, परिवर्तनको अविश्रान्त साधना हो।
आजको राजनीतिमा प्रियतावाद सबभन्दा ठूलो संकट बनेर देखा परिरहेको छ। सामाजिक सञ्जालमा भाइरल हुनु, चर्को भाषा प्रयोग गर्नु र भावनात्मक उभार सिर्जना गर्नु नै नेतृत्वको मापदण्ड जस्तो बन्दै गएको छ।
तर गगन र विश्वप्रकाशको राजनीति यसभन्दा फरक छ।
उनीहरू एजेन्डाको कुरा गर्छन्। लोकतन्त्र, विधि, प्रक्रिया र जबाफदेहिताको कुरा गर्छन्। सामाजिक न्यायको कुरा गर्छन्। उनीहरू व्यक्ति होइन, प्रणाली बलियो बनाउन चाहन्छन्।
त्यस कारण, पार्टीभित्रै बसेर पनि उनीहरू नेतृत्वको आलोचना गर्न हिच्किचाउँदैनन्। किनकि उनीहरूको निष्ठा कुर्सीसँग होइन, मूल्यसँग छ। लाभसँग होइन, सार्वजनिक जबाफदेहितासँग छ।
आज राजनीतिमा व्यक्ति पूजा, अन्धभक्ति र 'नेता नै सबै हो' भन्ने सोच बलियो हुँदै गएको छ। यस्तो बेला उनीहरू भने लोकतन्त्र, संस्थागत अभ्यास र विधिको पक्षमा नेतृत्वलाई खबरदारी गरिरहेका छन्। यो सजिलो बाटो होइन, तर आखिर दीर्घकालीन रूपमा सही बाटो यही नै हो।
अवश्य नै, गगन थापा र विश्वप्रकाश शर्मा पूर्ण छैनन्। उनीहरूले पनि धेरै सिक्नुपर्छ।
पक्कै पनि, उनीहरू अपेक्षा र आलोचनाको बीचमा छन्।
तर नेपाली राजनीतिलाई भिड, तमासा र भड्काउबाट एजेन्डातिर फर्काउन आज उनीहरू जे गरिरहेका छन्, त्यो राजनीति बदल्ने एक जीवन्त कडी हो।
इतिहासले सधैं सत्तामा पुग्नेहरूलाई मात्र सम्झिँदैन। उसले प्रश्न गर्नेहरूलाई, उज्यालो देखाउनेहरूलाई र परिवर्तनको बीउ रोप्नेहरूलाई पनि सम्झिन्छ। उसले अप्ठ्यारोमा हिम्मत गर्नेहरूलाई पनि सम्झिन्छ।
अतः गगन थापा र विश्वप्रकाश शर्माहरूले आज कांग्रेसभित्र परिवर्तनको जुन दियो जागृत गरिरहेका छन्, त्यो नेपाली राजनीतिका लागि ऐतिहासिक प्रयत्न हो।
त्यसैले त्यसमा एक थोपा तेल थप्नु किमार्थ अन्यथा ठहरिँदैन।
प्रिय, गगन र विश्वप्रकाशहरू!
राजनीतिलाई बदल्ने हो भने, यति जोखिम त लिनैपर्छ!
आखिर नेतृत्व भनेकै पहलकदमी त हो!
अगाडि बढ्नुहोला!
***
(केशव दाहालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स — @dahalkeshab