एक जुगमा एक दिन एकचोटि आउँछ,
उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ।
लाटा–सुधा बोल्न थाल्छन्, चल्छ ओठ दुःखको,
सहे भनी सम्झिएका इख फेर्न उठ्दछन्।
– गोपाल प्रसाद रिमाल
नेपाली कांग्रेसका लागि त्यो एक दिन आइपुगेको छ। भोलि पुस २७ गते नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरू हुँदैछ।
कांग्रेसको ८० वर्ष लामो जीवनमा योभन्दा अघि विशेष महाधिवेशन एक पटक मात्र भएको छ। त्यो महाधिवेशन बिपी कोइराला र कांग्रेसको धुरीमा रहेका सबै नेताले सहमति गरेर आयोजना गरेका थिए।
यो महाधिवेशन शीर्ष नेताहरूको चाहना विपरीत कांग्रेसको भुइँ तहमा रहेका कार्यकर्ताको जोडबल र तागतमा हुँदैछ। ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले गरेको माग पार्टी सभापति र केन्द्रीय समितिले लत्याएपछि मागकर्ताहरूले आफै अघि सरेर आफ्नो अधिकार प्रयोग गर्दै छन्।
त्यस अर्थमा साँच्चै नै कांग्रेसको जीवनमा यो अभूतपूर्व क्षण हो। एक जुगमा एक दिन एक चोटि आएको क्षण हो।
समय र युगचेत अनुसार नबदलिएको कांग्रेस र त्यसको नेतृत्व बदल्न कार्यकर्ताको हस्तक्षेपका कारण मात्र यो महाधिवेशन हुँदैछ। त्यसैले विशेष महाधिवेशन जति कांग्रेस बदल्नेहरूको कथा हो, त्यति नै कांग्रेसमा नबदलिएकाहरूको कथा पनि हो।
नेपाल जुन तीव्र रफ्तारमा बदलियो र बदलिइरहेको छ, त्यसको गति समात्ने त कुरै छाडौं, त्यसको भेउ पनि नपाउने पार्टी बन्यो कांग्रेस। हुँदाहुँदा नेपाली जनताको चाहना र आकांक्षा थाहा नपाउने मात्र होइन, सुन्न पनि नचाहने पार्टी बन्यो कांग्रेस।
विशेष गरी पछिल्ला वर्षहरूमा नेपालीहरू कुशासनले जसरी पीडित बने र पिरोलिए, कांग्रेस त्यसमा बेफिक्रझैं देखियो। कुशासन हटाउनुपर्छ, भ्रष्टाचार रोकिनुपर्छ भन्ने आम मानिसको आकांक्षा बढ्दै जाँदा कांग्रेस भने कैयन पटक त्यसको बाधक बनेझैं देखियो। कांग्रेस र कांग्रेसको धुरीमा रहेका कतिपय नेता र तिनको परिवार कुशासन र भ्रष्टाचारको प्रवर्तक नै बने।
यसविरूद्ध कांग्रेसमा सीमित नेता–कार्यकर्ताले आवाज नउठाएका होइनन्, प्रबुद्ध नागरिकले सचेत नगराएका होइनन्, लेखकहरूले लेख नलेखेका होइनन्, प्रेसले तिखो आलोचना नगरेको पनि होइन। तर कांग्रेसको धुरीमा बसेका नेता र उनको वरिपरि बसेका मानिसहरूले सुनेनन्।
सभापति देउवा सधैं सत्तादेखि सत्तासम्मको यात्रामा ध्यानमग्न रहे। आफू वरिपरिका मानिसलाई त्यसैमा लगाए।
सत्ता सत्य हो, अरू सब मिथ्या हो भनेझैं गरे।
त्यसैले उनले कहिल्यै आलोचना सुनेनन्। सुझाव टिपेनन्। सुध्रिने र सुधार्नेमा कहिल्यै चासो देखाएनन्। आफ्नो प्रशंसा सुने। आफूलाई ठिक लागेका कुरा सुने। ठिक लागेका तथ्यांक मात्र बोके।
सत्तामा बस्नेहरूले सुन्ने, पढ्ने वा टिप्ने कुरा कति 'सेलेक्टिभ' हुँदो रहेछ भन्ने अनुभूति मलाई गहिरोसँग भएको दुई वर्षअघि हो, जतिखेर सेतोपाटीले 'नेपाल कति बन्यो, कति बिग्रियो' भन्ने लामो शृंखला प्रकाशित गरेको थियो।
हामीले त्यसमा विभिन्न प्रबुद्ध व्यक्तिहरूले लेख्नुभएका ३० वटा लेख/स्टोरी छाप्यौं। नेपालमा बनेको, बिग्रिएको र सुधार्नुपर्ने सबै कुराको सांगोपांगो विश्लेषण त्यो शृंखलामा छ।
सेतोपाटीको प्रधान–सम्पादकको हैसियतले मैले त्यो शृंखलाको सुरूआती लेख लेखेँ। मेरो जीवनकै सबभन्दा लामो लेखमध्ये हो त्यो, करिब साढे १४ हजार शब्दको।
त्यो लेखमा 'नेपाल बनेको' धेरै कुरा लेखेको छु, धेरै तथ्यहरू राखेको छु। सँगसँगै, लेखको अन्तिम भागमा बिग्रिएको कुरा पनि गरेको छु। सबभन्दा धेरै बिग्रिएको राजनीति हो र सबभन्दा पहिले सुधार्नुपर्ने पनि त्यही हो भनेर लेखेको छु। 'राजनीति र लोकतन्त्र' उपशीर्षकको यो भाग नै पाँच हजार शब्दको छ।
त्यो लेख प्रकाशित भएपछि धेरै राजनीतिज्ञले मसँग भने, 'तपाईंहरूले गजब शृंखला गर्नुभयो। नेपाल धेरै बिग्रिएको छैन भनेर देखाउनुभयो। निराशा चिर्ने काम गर्नुभयो।'
कांग्रेसका मात्र होइन, एमाले र माओवादीका नेताहरूले पनि भने।
राप्रपाका नेताहरूलाई त्यो शृंखला मन पर्ने कुरै थिएन। रास्वपा त जन्मिएकै थिएन।
तर कांग्रेसका धुरीमा बसेका र धुरीको वरिपरि घुम्ने नेतामध्ये कसैले भनेनन् — तपाईंले भनेको ठिक हो। राजनीति कमजोर भयो। दल खराब भए। हामी सुध्रिनुपर्छ। दलहरू सच्चिनुपर्छ।
मलाई अहिले पनि लाग्छ — लोकतन्त्रले दिएको खुलापन उपभोग गरेर धेरै नेपालीले आर्थिक–सामाजिक प्रगति गरेका छन्। खासगरी पछिल्लो २५ वर्षमा नेपाल र नेपालीको जीवनमा आनका तान परिवर्तन आएको छ।
सँगसँगै, राजनीतिज्ञका कारण र उनीहरूले चलाएको कुशासनका कारण नेपालको प्रगति धिमा पनि भएको छ। त्यसैले नेपालको सबभन्दा कमजोर कडी नै हाम्रो राजनीति हो, हाम्रा राजनीतिक दलहरू हुन्।
जुन कमजोर राज्य र दलतन्त्रमा हामी जकडिएका छौं, त्यसको मूल कारक हामी राजनीतिज्ञ हौं भन्ने नै उनीहरूलाई लागेन। अनि उनीहरू कहिल्यै बदलिन तयार भएनन्। बदलिएनन्। अनि उनीहरूका बुताले देश बदलिने कुरै भएन।
अर्कातिर, पछिल्लो २५ वर्षमा आफै प्रत्यक्ष रूपमा संसार देखेका र इन्टरनेटमार्फत संसार हेर्ने आँखीझ्याल पाएका मानिसको असन्तुष्टि चुलिँदै गयो। विरक्ति बढ्दै गयो। धैर्य भत्किँदै गयो। विशेष गरी युवाहरू अधैर्य र विद्रोही बन्दै गए र त्यो जेनजी विद्रोहका रूपमा विस्फोट भयो। सत्तामा बसेका कांग्रेस–एमालेले त्यो विस्फोट हुँदैछ भन्ने भेउ पाउँदै पाएनन्। अरूले सचेत गराउँदा सुनेनन् पनि।
लामो समयदेखि हाम्रो राजनीति र हाम्रा राजनीतिज्ञको चाला नियाल्दै आएका हामीले भदौ २३ गते साँझ नै सम्पादकीयमा लेख्यौं — देउवा र ओलीको राजनीतिक औचित्य समाप्त भयो।
हामीलाई अहिले पनि त्यही लाग्छ। नेपाली समाजलाई अघि बढाउन देउवा र ओलीको म्याद सकियो।
केपी ओलीले त्यो मान्ने कुरै भएन। एमालेको नेतृत्व छाड्ने वा बदलिने कुरै भएन। उनको कुरा सिधा छ — बिग्रिएको भए न बदलिनु वा सच्चिनु!
कांग्रेस केन्द्रीय समिति बैठकमा असोज २८ गते बोलेका देउवाले बदलावको आभास दिए। त्यहाँ बोल्दै गर्दा उनले जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरे। आन्दोलनप्रति कुनै वैरभाव देखाएनन् वा गुनासो गरेनन्। उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोके। विधान अनुसारै महाधिवेशन सम्पन्न गरिने आशा व्यक्त गरे र बिदा भए।
देउवाले विधान अनुसार समयमै अधिवेशन हुने आशा व्यक्त गर्नुको अर्थ कांग्रेसले नयाँ सभापति छान्छ र उसको नेतृत्वमा कांग्रेस अघि बढ्छ भन्ने थियो।
देउवाले त्यति भन्दा पनि मुलुकले त्राण पाएझैं भयो। जेनजी आन्दोलनले न्याय पाएझैं भयो।
त्यो बेलासम्म विशेष महाधिवेशन माग गर्दै कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षर काठमाडौं आइसकेको थियो। भोलिपल्ट असोज २९ गते त्यो केन्द्रीय कार्यालयमा दर्ता भयो।
प्रस्ताव दर्ता हुनुअघि नै देउवाले त्यसको सुनुवाइ गरेझैं भयो।
पाँच दशक लामो आफ्नो राजनीतिक जीवनको बिट मार्दै गर्दा देउवाका कैयन कमजोरीका बाबजुद नेपाली समाजमा उनको प्रशंसा भयो।
सायद देउवाको भाग्यमा त्यो प्रशंसा लेखिएको थिएन। आदर र सम्मानका साथ राजनीतिबाट बिदा हुन लेखिएको थिएन।
उनी उपचार गर्न भन्दै सिंगापुर पुगेसँगै बिस्तारै बदलिए। अनि त्यहाँबाट फर्किएर एमाले अध्यक्ष ओलीलाई भेटेपछि पर्लक्कै पल्टिए।
हेर्दा हेर्दै देउवाले सभापति नछाड्ने भए। आफै सक्रिय हुन थाले। ओलीझैं जेनजी आन्दोलन नमान्नेमा, संसद ब्युँत्याउनेमा अग्रसर बने। र, सबभन्दा भयानक कुरा, आफैलाई चुनेका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूको कुरा नसुन्ने मात्र होइन, विधानले उनीहरूलाई दिएको हक खोस्ने ठाउँमा पुगे। त्यो पनि आफू अघि सरेर होइन, पर्दा पछि बसेर!
म जेनजी आन्दोलनअघि सोच्थेँ — नेताहरूले सही आलोचना किन नसुनेका होलान्? किन आफूलाई नसुधारेका होलान्? किन नसुध्रिएका होलान्?
कहिलेकाहीँ अचम्म र कहिलेकाहीँ थोरै दिक्क लाग्थ्यो!
त्यत्रो भयानक जेनजी विद्रोहपछि पनि आफ्ना कमजोरीको अनुभूति नभएको देखेपछि, त्यसपछि पनि गल्ती सच्याउने छाँट नदेखेपछि यिनीहरूबाट आशा गर्नु बेकार छ भन्ने लाग्यो। दलभित्रकै संघर्षले मात्र उनीहरूलाई फेर्न सक्छ, नत्र नेपाली समाजसँग अरू उपाय छैन भन्ने लाग्यो।
विधानले बाध्यकारी बनाएको र बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले माग गरेको विशेष महाधिवेशन अस्वीकार गर्ने मात्र होइन, त्यसलाई असफल बनाउन जे–जस्ता हतकन्डाको प्रयोग उनीहरूले गरिरहेका छन्, त्यसपछि मलाई लागेको छ — बेकारमा हामीले उनीहरूलाई लोकतन्त्रवादी ठानेछौं। लोकतान्त्रिक आचरणको अपेक्षा गरेछौं। जनताको कुरा सुन्न आग्रह गरेछौं। सच्चिने अपेक्षा गरेछौं।
मलाई आज बिसे नगर्चीलाई झैं टाउको भननन भएको छ। कांग्रेस सभापति देउवा र उनी वरिपरि घुमिरहेका सात भाइ, दस भाइ वा पन्ध्र भाइ — तपाईंहरू भन्नुहोस्, खासमा तपाईंहरू के हो? लोकतन्त्रवादी त होइन नै, लोकतन्त्रको जामा पहिरिएका को हो तपाईंहरू?
जतिसुकै टाउको भननन गरे पनि, जतिसुकै रिसले कान ताता बने पनि म तपाईंहरूसँग 'दुर्वाच्य' बोल्न सक्दिनँ, त्यो मेरो आचरणले दिन्नँ। त्यसैले आफ्ना लागि शब्द वा विशेषण आफै छान्नुहोस् — तपाईंहरू खासमा हो को?
तपाईंहरू जो भए पनि, तपाईंहरूको चरित्र जे भए पनि, अब एउटा कुरामा प्रस्ट हुनुहोस् — तपाईंहरू केही थान दाइ–भाइभन्दा बाहिर पनि कांग्रेस छ, र त्योभन्दा बाहिर ठूलो नेपाली समाज छ। कांग्रेसमा पनि र समाजमा पनि ज्युँदा मानिसहरू छन्।
त्यसैले अब तपाईंहरूको स्वेच्छाचारिता न कांग्रेसको ठूलो पंक्तिले मान्छ, न समाजले।
त्यही भएर कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले तपाईंहरूका धाक, घम्की र हतकन्डा परवाह नगरी विशेष महाधिवेशन अघि बढाएका छन्। र, त्यसलाई रोक्ने तपाईंहरूको प्रयत्नको समाजमा व्यापक भर्त्सना भएको छ। त्यसले व्यापक प्रतिक्रिया जन्माएको छ।
तपाईंहरूलाई लागिरहेको होला — केन्द्रीय समितिबाट विशेष महाधिवेशन अवैधानिक हो भनाइहाल्यौं। अब महाधिवेशनले गर्ने निर्णय पनि अवैधानिक हुन् भन्छौं र त्यसलाई मान्यता दिन्नौं। हामीले नमानेपछि निर्वाचन आयोगले पनि त्यसलाई मान्यता दिँदैन। अदालतले पनि दिँदैन। र, विशेष महाधिवेशनमा निर्णय लिने कांग्रेसजन हिस्स पर्छन्!
यति सजिलो लाग्छ है तपाईंहरूलाई!
यदि विशेष महाधिवेशनमा बहुमत सदस्य आए, उनीहरूले केन्द्रीय समितिले थपेको पार्टी सभापति र आफ्नो कार्यकाल छोट्याएर पुस मसान्तसम्म मात्र बनाए, अनि नयाँ नेतृत्व र कार्यसमिति छाने भने त्यसको कार्यान्वयन तपाईंहरूले रोक्न सक्नुहुन्न।
त्यसको वैधता तपाईंहरूले भत्काउन सक्नुहुन्न।
तपाईंहरूलाई लागेको होला, आफूले भनेर वा आफ्ना साझेदारहरूलाई भनाएर वा उनीहरूमार्फत धम्क्याएर निर्वाचन आयोगलाई विशेष महाधिवेशनको निर्णयलाई मान्यता दिनबाट रोकिहाल्छौं।
त्यसो गर्न तपाईंहरू सक्नुहुन्न।
किनभने जे वैध छ, त्यसको आफ्नै तागत हुन्छ।
विधान अनुसार सम्पन्न विशेष महाधिवेशनको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिएन भने, त्यो निर्णय गर्ने प्रतिनिधि चुपचाप घर फर्किन्छन् कि निर्वाचन आयोग जान्छन्?
अनि, देशभरका कांग्रेस कार्यकर्ता चुप लागेर बस्छन्?
नेपाली जनताले देउवा र उनी वरिपरिका दस–पन्ध्र भाइले ठिकै गरे भन्छन्?
के वैधानिक, के अवैधानिक भनेर बुझ्ने र बोल्न सक्ने कोही वकिल वा संविधानविद नेपालमा ज्युँदा छैनन्? के प्रश्न गर्ने र लेख्ने मिडिया ज्युँदो छैन?
के भदौ २३–२४ अघिको र पछिको नेपाल एउटै हो, जहाँ दलका ठालुहरूले हिजोजस्तै संवैधानिक अंगहरू कब्जा गरेर आफूले चाहे अनुसारको निर्णय गराउन सक्छन्?
विशेष महाधिवेशन प्रतिनिधिहरूले के के प्रस्ताव ल्याउँछन्, के निर्णय गर्छन्, त्यो कांग्रेसभित्रको कुरा भयो। प्रतिनिधिहरूको कुरा भयो।
तर एउटा कुरा हेक्का रहोस् — वैध रूपमा आएको र पारित भएको प्रस्ताव लागू हुन दिइन्छ कि दिइन्न, त्यो नेपाली समाजको पनि वैधानिक चासो र स्वार्थको कुरा हो।
त्यो चासो र स्वार्थ लागू गर्ने तागत आजको नेपाली समाजसँग छ भन्ने मलाई लाग्छ।
***