बेइजिङ डायरी
नेपाल र चीनका नेताहरूले आपसमा भेटवार्ता गर्दा बोलिने साझा कुरा हुन् — नेपाल र चीनलाई नदीनाला र हिमालले जोडेको छ।
नेपाली नेताले यस्तो भनाइ चिनियाँ नेतासँग मात्र प्रयोग गर्छन्। तर चिनियाँ नेताले नेपाल बाहेक आफ्नो सीमा जोडिएका भियतनाम, कम्बोडिया, लाओस् लगायत देशका नेतासँग पनि उही लवज प्रयोग गर्दै आएका छन्।
यही मेसोमा चीनले विकासोन्मुख अथवा अति कम विकसित मुलुकहरूसँग कुरा गर्दा नयाँ लवज थप गरेको छ।
त्यो लवज हो 'साना र सुन्दर कार्यक्रम।'
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले गत चैत १७ गते नेपालको रे टेलिभिजनलाई अन्तर्वार्ता दिए। नेपालका लागि राजदूत नियुक्त भएर गएपछि उनले नेपाली सञ्चार जगतलाई दिएको पहिलो अन्तर्वार्ता थियो त्यो।
उक्त अन्तर्वार्तामा उनले प्रयोग गरेको एउटा पदावलीले चिनियाँ कूटनीतिको भाव बोकेको छ।
उनले अन्तर्वार्तामा भनेका छन् — चीन र नेपाल दुई देश बीचको सहकार्यका सन्दर्भमा, चीनले प्रमुख हस्ताक्षर परियोजनाहरू र साना र सुन्दर जीविकोपार्जन कार्यक्रमलाई राम्रोसँग समन्वय गरेर र बाटोमा आउने अवरोध तथा कठिनाइ उचित रूपमा सम्बोधन गरेर उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहयोगलाई अगाडि बढाउनेछ। हामी मैत्री, इमानदारी, पारस्परिक लाभ र समावेशी सिद्धान्तहरू पालना गर्नेछौं। चिनियाँ राष्ट्राध्यक्ष सी चिनिफिङ र नेपाली नेताहरू बीच भएका महत्त्वपूर्ण साझा समझदारीहरू कार्यान्वयन गर्न, सबै क्षेत्रमा व्यावहारिक सहयोग प्रवर्द्धन गर्न र संयुक्त रूपमा चीन–नेपाल मित्रतामा नयाँ अध्याय लेख्न सबै नेपाली साथीहरूसँग मिलेर काम गर्नेछौं।
उल्लिखित भनाइभित्र चिनियाँ राजदूत चाङ माओमिङले 'साना र सुन्दर' पदावली प्रयोग गरेका छन्। नेपाली पाठक र दर्शकहरुले 'साना र सुन्दर' पदावलीको भेउ नपाउन सक्छन्। अथवा उनीहरूले राजदूतको समग्र भनाइभित्र नै यी दुई शब्दको अर्थ खोज्न पनि सक्छन्। अथवा समग्र अन्तर्वार्तामा यी दुई शब्दलाई त्यति वास्ता नगर्न पनि सक्छन्।
साना र सुन्दर पदावली राजदूत चाङ माओमिङ आफैले सिर्जना गरेका होइनन्। यी शब्द पछिल्लो समय चिनियाँ कूटनीतिक महत्व बोकेका गहन भनाइ हुन्।
विशेषगरी चीनले विकासोन्मुख देशहरू र विश्वव्यापी दक्षिणका मुलुकमा गरिबी निवारण तथा जनस्तर सुधारका लागि ल्याएको विशेष अभियान हो। चीनले चार वटा विश्वव्यापी पहलहरु अगाडि सारेको छ। ती पहलमध्ये विश्वव्यापी विकास पहलमा साना र सुन्दर पदावली समेटिएको छ।
सन् २०२१ सेप्टेम्बरमा आयोजित संयुक्त राष्ट्र संघ महासभाको ७६ औं सत्रको सामान्य बहसमा चीनले विश्वव्यापी विकास पहल (ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ 'जिडिआई') प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव अनुसार जिडिआईका प्राथमिकतामा विकास, जनता केन्द्रित दृष्टिकोण, सबैको हित, नवप्रवर्तन–सञ्चालित विकास, मानिस र प्रकृतिबीचमा सदभाव र परिणाममुखी कार्यहरूप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धताको आह्वान छन्।
जिडिआईले गरिबी निवारण, खाद्य सुरक्षा, महामारी रोकथाममा खोप, विकासका लागि वित्तपोषण, जलवायु परिवर्तन र हरित विकास, औद्योगिकीकरण, डिजिटल अर्थतन्त्र र डिजिटल युगमा कनेक्टिभिटी जस्ता आठ क्षेत्रहरूमा सहयोगलाई प्राथमिकता दिएको छ।
चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अगाडि सारेको अभियानका रूपमा रहेको जिडिआईलाई संयुक्त राष्ट्र संघले समेत अपनाइसकेपछि यो चिनियाँ कूटनीतिको एउटा खम्बाका रूपमा उभिएको छ। विकास अभियानमार्फत गरिबी निवारण गरिने र जनतालाई प्राथमिकतामा राख्ने नीति भएकाले पश्चिमा पुँजीवादी मुलुकहरूले पनि जिडिआईको खुलेर विरोध गर्न सकेका छैनन्।
'विकासमा अन्तर्राष्ट्रिय ज्ञान केन्द्रद्वारा प्रकाशित जिडिआईको प्रगति प्रतिवेदन २०२३' पहिलो पटक साना र सुन्दर पदावली प्रयोग भएको छ।
उक्त प्रतिवेदनमा भनिएको छ — सन् २०२० देखि, कोभिड महामारीले विगत एक दशकमा विश्वव्यापी गरिबी न्यूनीकरणका उपलब्धिहरू क्षय गरिदियो। जनता–केन्द्रित दर्शनलाई अँगालेर र सबैको भलाइका लागि जनताको चासो सम्बोधन गर्दै जिडिआईले गरिबी न्यूनीकरणलाई सहयोगको आफ्नो प्राथमिक क्षेत्रको शीर्षमा राखेको छ। गरिबी न्यूनीकरण सहयोग सञ्जाल, ज्ञान साझेदारी र आदानप्रदा र साना र सुन्दर जीविकोपार्जन परियोजनाहरू मार्फत गरिबीमुक्त संसार र साझा विकासलाई जिडिआईले प्रवर्द्धन गर्छ।
उक्त प्रतिवेदनका अनुसार विकासशील देशका मानिसहरूलाई आफ्नो जीवन सुधारमा सहयोग गर्न चीनले साना र सुन्दर गरिबी निवारण परियोजनाहरू कार्यान्वयन गरिरहेको छ।
जनताको जीविकोपार्जनमा सुधार गर्नु नै गरिबी निवारणको सार हो।
पपुवान्युगिनीको पूर्वी हाइल्यान्ड्स प्रान्तमा जुनकाओ (चीनमा विकसित एक प्रकारको घाँस) र परिस्कृत धान खेतीमा चिनियाँ सरकारको प्राविधिक सहयोग परियोजनाहरूले स्थानीय किसानहरूको आय प्रभावकारी रूपमा बढाएको छ। यसले स्थानीय कृषिको दिगो विकास क्षमतामा सुधार गरेको छ।
उक्त क्षेत्रमा कफीसँगै जुनकाओ र परिस्कृत धान तीन कृषि स्तम्भहरू मध्ये एक भएको छ। गाउँलेहरूको पूर्ण सहभागिता र लक्षित गरिबी निवारण मार्फत लाओस, म्यानमार र कम्बोडियाका ६ वटा गरिब गाउँहरूमा सञ्चालन गरिएको पूर्वी एसिया गरिबी निवारण सहयोग गुरूपरियोजनाले स्थानीय समुदायहरूको काम गर्ने र जीवनस्तर साथै उनीहरूको आत्म–विकास क्षमतामा धेरै सुधार गरेको छ।
सन् २०२२ देखि, अन्तर्राष्ट्रिय आदानप्रदानका लागि चीन एनजिओ नेटवर्कले लेबनानमा अरब–चिनियाँ सहयोग र विकास संघ र पाकिस्तानको शान्ति र कूटनीति अध्ययन संस्थान जस्ता अन्तर्राष्ट्रिय सदस्यहरूसँग ग्रामीण गरिबी निवारण, युवा शिक्षा र महिला व्यावसायिक तालिममा केन्द्रित साना र सुन्दर परियोजनाहरू सञ्चालन गरिरहेको छ।
सन् २०२२ जुलाईमा चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्टले नेपालमा 'हँसिला बालबालिका खाजा' कार्यक्रम लागू गर्यो। उक्त कार्यक्रम अन्तर्गत गरिब समुदायका बालबालिकालाई खाद्य प्याकेजहरू वितरण गरिएको र सो कार्यबाट तीन हजारभन्दा बढी बालबालिका लाभान्वित भएको प्रतिवेदनमा उल्लेख छ।
चीनले नेपालका स्थानीय गैरसरकारी संस्थासँग मिलेर काठमाडौँ उपत्यका र दुर्गम क्षेत्रका विद्यालयहरूमा विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। गरिब विद्यार्थीलाई खाजा वितरण, झोला तथा पोसाक वितरण, कापी तथा कलम वितरण, खेलकुदका सामग्री वितरण चीनका नियमित कार्य हुन्।
यस बाहेक प्राकृतिक प्रकोपमा परेका व्यक्तिलाई राहत सामग्री पनि चीनले वितरण गर्दै आएको छ। देख्दा साना र कम उल्लेख भएका यस्ता गतिविधिलाई चीनले साना र सुन्दर कार्यक्रम नाम दिएको छ।
सामान्यतया चीनले कुनै पनि देशलाई सहयोग प्रदान गर्दा सरकारी स्तरबाट मात्र गर्छ। तर उपभोक्तासँग सिधै जोडिने, अति आवश्यक वर्गमै पुग्ने, जनतालाई चिनियाँ सहयोगको अनुभूति गराउने उद्देश्यका साथ चिनियाँ गैरसरकारी संस्था मार्फतका कार्यक्रम सम्बन्धित देशका गैरसरकारी संस्था मार्फत नै लागू गर्ने नयाँ नीति चीनले बनाएको हो।
नेपालका गरिब विद्यार्थीहरूलाई सानातिना सहयोगले उनीहरूको जीविकोपार्जन सहज हुने र भविष्य यात्रामा टेवा पुग्ने भएकाले यस प्रकारका कार्यक्रमलाई साना र सुन्दर नाम दिइएको हो।
विगतको देखिने चिनियाँ कूटनीति हिजोआज सुनिन थालेको छ। विगतमा सरकारसँग मात्र सम्बन्ध राख्ने चिनियाँ कूटनीति हिजोआज जनतासँग सिधै जोडिन थालेको छ। जनतासँग सिधै जोडिन ठूला परियोजनाभन्दा साना कार्यक्रम बढी प्रभावकारी हुन्छन्।
यस अगाडि चीनले नेपाललाई ठूला कलकारखानाहरू बनाइदिएको थियो। सिमेन्ट कारखाना, कपडा कारखाना, इँटा कारखाना लगायत ठूला परियोजनामा सहयोग गरेको थियो। अब भने जनतामा सिधै पुग्नेगरी साना कार्यक्रम ल्याएर चीनले छिमेक मुलुक तथा अफ्रिकी मुलुकका जनतासँग घनिष्ट सम्बन्ध विस्तार खोजेको छ।
त्यसमाथि नेपाल र चीनबीचमा १४१४ किलोमिटरभन्दा लामो सीमा जोडिन्छ। सीमा जोडिएपछि सांस्कृतिक सदभाव, जनस्तरको आदानप्रदान, साझा भाषा, रहनसहन, वैवाहिक सम्बन्ध, व्यापार, कृषि आदि क्षेत्रमा पनि अन्तरघुलन हुन्छ।
चीनको सीमा नजिकै रहेका नेपालीहरूको आयस्तर वृद्धि भएमा त्यसको प्रत्यक्ष लाभ चीनलाई प्राप्त हुने नै भयो। नेपालीको क्रयशक्ति वृद्धि हुँदा चिनियाँ सामानको बिक्री बढ्ने नै भयो।
कोभिड महामारीपछि सुरू गरेको साना र सुन्दर परियोजना थप बढाउने संकेत राजदूत चाङ माओमिङको अन्तर्वार्तामा पनि पाइन्छ। विशेषगरी चीनले अगाडि सारेको बिआरआई (बेल्ड एन्ड रोड इनिसिएटिभ) का बारेमा पनि उनले बोलेका छन्।
नेपालको राजनीतिक परिदृश्य परिवर्तन भएको छ। पुराना पार्टीहरू निर्वाचनबाट पाखा लागेका छन्। नयाँ जोस र जाँगरका साथ युवाहरू सरकारमा आएका छन्। नेपालमा हुने परिवर्तनलाई चीनले आन्तरिक मामिला भन्दै जोसुकै सरकारमा आए पनि समदुरीमा सम्बन्ध विकास गर्दै आएको छ।
अन्तर्वार्ताका क्रममा राजदूत चाङ माओमिङले बिआरआईलाई नेपालले निरन्तरता दिनुपर्ने बताएका छन्।
उनले भनेका छन्, 'बाटोमा आउने अवरोध तथा कठिनाइलाई उचित रूपमा सम्बोधन गरेर उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहयोगलाई अगाडि बढाउनेछ। हामी मैत्री, इमानदारी, पारस्परिक लाभ र समावेशी सिद्धान्तहरू पालना गर्नेछौं। चिनियाँ राष्ट्राध्यक्ष सी चिनिफिङ र नेपाली नेताहरूबीच भएका महत्त्वपूर्ण साझा समझदारीहरू कार्यान्वयन गर्न, सबै क्षेत्रमा व्यावहारिक सहयोग प्रवर्द्धन गर्न र संयुक्त रूपमा चीन–नेपाल मित्रतामा नयाँ अध्याय लेख्न सबै नेपाली साथीहरूसँग मिलेर काम गर्नेछौं।'
कूटनीति बुझ्न भाषा मात्र होइन, उसको शारीरिक हाउभाउ पनि बुझ्नुपर्छ भनिन्छ।
कूटनीतिमा प्रयोग हुने भाषाको अर्थसँगै सम्बन्धित देशको संवेदनशीलता र स्वार्थ पनि बुझेर प्रतिक्रिया दिनुपर्छ। कूटनीतिमा कालो र सेतो मात्र हुँदैन। बीचमा खैरो लाइन पनि हुन्छ।
***
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)