बेइजिङ डायरी
गत मे ८ तारिखमा चीनको सछ्वान प्रान्तको सदरमुकाम छङ्तू सहरको एउटा पार्कमा पुग्दा अनौठो दृश्य देखियो।
त्यहाँ निलो र गुलाबी पोस्टरहरू लस्करै झुन्ड्याइएका थिए। ती पोस्टर हेर्नेको भिड पनि थियो। पर्यटक गाइड मङ मङले बताए अनुसार ती पोस्टर त बिहे गर्न जोडी खोज्नलाई गरिएका विज्ञापन रहेछन्।
यसअघि बेइजिङ र सांघाईमा पनि सार्वजनिक पार्कमा यसरी विज्ञापन हुने गर्छ भन्ने सुनिएको थियो। तर आफ्नै आँखाले त्यहाँको माहोल अवलोकन गर्ने मौका जुरेको थिएन। त्यही भएर पर्यटक गाइड मङ मङलाई यसबारे थुप्रै जिज्ञासा र प्रश्नहरू राख्दै त्यहाँ डेढ घन्टा भुलिएँ।
मेरा लागि रोचक र रूचिको विषय थियो त्यो। म मात्र होइन, चीन भ्रमण गर्ने विदेशी पर्यटकका लागि एउटा आकर्षण नै रहेछ चीनमा जोडी खोज्ने मेला अर्थात्, स्वयंवर हाट।
छङ्तूको जनपार्कमा जोडी खोज्ने एक विज्ञापनलाई नेपाली भाषामा अनुवाद गर्दा यस्तो पाइन्छ।
लिंग: पुरूष
जन्म सालः १९९०
उचाइ: १६८ सेमी
बसाइ: छङ्तू
वैवाहिक स्थिति: एकल
तौल: ७० किलो
शैक्षिक योग्यता: उच्च माध्यमिक
गृहनगर: नानछोङ
हालको कार्यस्थल: छङ्तूको छनह्वा जिल्ला
पेसा: कपाल काट्ने
वार्षिक आय: करिब एक लाख चिनियाँ युआन
व्यक्तित्व: अत्यन्तै सिधा, षड्यन्त्र/छलकपट नभएको, स्वभाव राम्रो, असल चरित्र, इमानदार, सामाजिक दायरा सफा, सकारात्मक दृष्टिकोण, मद्यपान, धूमपान जस्ता आदत नभएको, घरमा एक्लो बुबा र दिदी/बहिनीको बिहे भइसकेको
रूचि: खाना पकाउने र चिया पिउने
विशेष टिप्पणी: सम्बन्ध-विच्छेद अथवा विधवा महिला पनि स्वीकार, यदि छोराछोरी छन् भने पनि स्वीकार
जीवनसाथीको मापदण्ड पनि उनले उल्लेख गरेका रहेछन्। त्यहाँ लेखिएको थियो — गृहस्थी सम्हाल्न सक्ने, घरजम गर्न उपयुक्त महिला। विवाहका लागि चाँडै सहमत हुने। उचाइ धेरै नहोस् (होची/मध्यम कदको)। असल चरित्र, सफा सामाजिक दायरा, सकारात्मक सोच, राम्रो स्वभाव, इमानदार। ठूलाबडाहरू/अभिभावकप्रति आदरशील।
मुख्य कुरा: मान्छे र स्वभाव राम्रो भए र घरजमका लागि उपयुक्त भए अरू कुनै पनि कुरा (जस्तै सम्पत्ति, रूप आदि) महत्त्वपूर्ण छैनन्।
छङ्तूको जनपार्कमा बेहुला चाहिएको विज्ञापन
एक जना महिलाले जोडी खोज्न गरेको विज्ञापन यस्तो छ —
जन्म वर्ष: १९८७
उचाइ: १.६ मिटर
स्थायी बसोबासः छङ्तू
वैवाहिक स्थिति: अविवाहित
व्यक्तिगत विवरणमा उनले स्नातक, एउटा सरकारी स्वामित्वको उद्योग (केन्द्रीय उद्यम) मा लेखापालका रूपमा स्थायी कार्यरत, छङ्तूमा घर भएको उल्लेख गरेकी छन्। साथै, अभिभावकको अवकाश पेन्सन रहेको उल्लेख गर्दै व्यक्तित्व हँसिलो, खुला, दयालु र उदार रहेको खुलाएकी छन्।
जीवनसाथीका लागि चाहिने मापदण्डमा स्नातक वा त्योभन्दा माथिको शिक्षा, उचाइ लगभग १.७ मिटर, उत्तरदायित्व भएको, राम्रो स्वभावको, मेहनती र प्रगतिशील, अपेक्षाकृत स्थिर काम भएको, छङ्तूमा घर भएको वा किन्न सक्ने क्षमता भएको उल्लेख गरेकी छन्।
त्यस्तै, अर्का पुरूष उम्मेदवारले गरेको विज्ञापन भावानुवाद यस्तो छ —
जन्म साल: सन् १९७८
उचाइ: १.७ मिटर
स्थायी बासस्थान: हपेई। हाल छङ्तूमा व्यापार/उद्यमी। भर्खरै मात्र छङ्तू आइपुगेको। एउटी छोरी स्नातक उत्तीर्ण र एउटा छोरा जागिरे। दुवै जना गृहनगर हपेईमै बसोबास।
जीवनसाथीको मापदण्ड उपयुक्त उमेरकी, कुराकानी मिल्ने एवं भाग्यले जोडिएकी (नियतिवान) साथी!
छङ्तूको जनपार्कलाई चीनका प्रख्यात र जीवन्तमध्ये एक सार्वजनिक जोडी खोज्ने स्थल रहेको गाइड मङ मङले बताइन्। यस्ता पार्कहरू अभिभावकहरूले आफ्ना सन्तानको विवाहका लागि चिन्ता गर्ने ठाउँ मात्र नभई, एउटा अद्वितीय सांस्कृतिक तथा सामाजिक परिघटना पनि बनेका छन्।
छङ्तूको उक्त पार्कमा साताको बुधबार, शुक्रबार र शनिबार दिउँसो नियमित रूपमा यस्तो मेला आयोजना हुने रहेछ। विवाहका लागि राखिएका विज्ञापन हेर्न र जीवनसाथी खोज्न यहाँ दैनिक एक हजारभन्दा बढी मानिस सहभागी हुने गरेको मङ मङले बताइन्।
त्यसो त जोडी खोज्ने कार्य छङ्तूको जनपार्क मात्र होइन, चीनका ठूला सहरमा प्राय: जताजतै फैलिएको छ।
बेइजिङको चोङसान पार्कमा यसका लागि साताको बिहीबार र आइतबार ठूलो जमघट हुन्छ। यो बेइजिङकै सबभन्दा ठूलो जोडी खोज्ने सार्वजनिक पार्कमा ख्यातिप्राप्त छ।
त्यस्तै, बेइजिङकै थिआनथान पार्क (टेम्पल अफ हेभन पार्क) मा सोमबार, बुधबार र शुक्रबार बिहान जोडी खोज्ने विज्ञापन सक्रिय बनाइन्छ। युयुआनथान पार्क बेइजिङको अर्को स्थल हो, जहाँ मंगलबार र शनिबार दिउँसो जोडी खोज्ने मेला लाग्छ।
छङ्तूमा जस्तै सांघाईमा पनि जनपार्क नाम गरेको एउटा प्रख्यात पार्क छ। यस पार्कमा सन् २००४ बाट सुरू भएको जोडी खोज्ने मेला अहिलेसम्म चलिरहेको छ। यस पार्कमा सूचनाहरू जमिनमा पंक्तिबद्ध राखिएका हुन्छन्, जसलाई बायोडाटा मेला पनि भनिन्छ। यहाँ एकै दिन दुई हजारभन्दा बढी सहभागी भएको रेकर्ड छ।
त्यसैगरी क्वाङचौको थिआनख पार्क अर्को ठूलो जोडी खोज्ने सार्वजनिक स्थल हो। यहाँ विशेष रूपमा शनिबार र आइतबार दिउँसो जोडी खोज्ने मेला लाग्छ। अभिभावकहरूले छातामा सूचनाहरू झुन्ड्याउने हुनाले यसलाई 'स्वयंवर छाता' पनि भनिन्छ।
चिनियाँ बेहुली।
क्वाङचौ नजिकैको शनचनमा रहेको लियानह्वा पार्क अर्को जोडी खोज्ने मेला लाग्ने प्रख्यात स्थल हो। यहाँ सन् २००५ देखि स्थानीयवासीले स्वतः स्फूर्त रूपमा जोडी खोज्ने काम सुरू गरेका हुन्। यहाँ नाम दर्ता गर्दा उमेर समूह अनुसार विभाजन गरिन्छ र प्रत्येक तीन महिनामा नवीकरण गर्ने चलन छ। त्यही भएर यहाँ नाम दर्ता गर्न कहिलेकाहीँ महिनौं कुर्नुपर्ने पनि हुनसक्छ।
हाङचौमा वानसोङलिङ, ह्वाङलोङतोङ र चनशान नहर पार्क गरी तीनवटा पार्कमा जोडी खोज्ने मेला लाग्ने गर्छ। त्यस्तै, नानचिङको चिहाङ र चोङशान पार्कमा पनि यस्ता मेला लाग्ने गर्छन्।
सुचोउको कुइह्वा पार्क, चिनानको छ्वानछङ, चङचौको लुइछङ स्क्वायर, नानथोङको गुइह्वा पार्क, वुहानको चोङशान पार्क र चिफाङ पार्क पनि जोडी खोज्ने मेलाका लागि चीनमा चर्चित छन्।
पछिल्ला समय चीनका केही सहरमा स्थानीय सरकार वा पार्क प्रशासन आफैले आधिकारिक रूपमा दर्ता गराएर सञ्चालन गर्ने 'जोडी खोजी मेला' पनि खोलिएका छन्। नाम दर्ता, सत्यता प्रमाणित र सशुल्क अथवा नि:शुल्क जस्ता सुविधाहरू हुन्छन्। फलस्वरूप ठगीको जोखिम कम गर्न सहयोग गरेको छ।
पार्कमा जीवनसाथी खोज्ने नयाँ चलनको विकाससँगै केही समस्या र नकारात्मक भाव पनि देखिन थालेका छन्। जोडी खोज्ने नाममा नक्कली सूचना राखेर बिचौलिया र 'ठगी विवाह' बढ्न थालेपछि केही वर्ष सार्वजनिक पार्कमा विवाहको विज्ञापन गर्ने कार्यमाथि रोक लगाइएको थियो।
सन् २०२१ मा पार्क प्रशासनले पुनर्निर्माण गरी एकीकृत व्यवस्थापन र एकीकृत पोस्टिङ प्रणाली लागू गरेपछि व्यवस्थित भएको बताइन्छ।
अहिले विवाहका लागि सूचना दर्ता गराउन सम्बन्धित व्यक्तिले नागरिकता प्रमाणपत्र (चिनियाँ आइडी) सहित पार्क व्यवस्थापन कार्यालयमा दर्ता गर्नुपर्छ। दर्तासँगै प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुपर्छ र नियमित सूचनापत्र (फारम) भर्नुपर्छ। त्यसपछि पार्कले नै ती सूचना निर्धारित स्थानमा झुन्ड्याउने गर्छ।
प्रत्येक सूचनाको समय तीन महिना मात्र मान्य हुने चलन छ। त्यसअघि नै जोडी भेटिए सूचना हटाउन निवेदन दिनुपर्छ। पुरूषका लागि निलो र महिलाका लागि गुलाबी रङको कागजमा सूचना लेखेर झुन्ड्याइन्छ।
चीनमा यस्ता सार्वजनिक पार्कमा जोडी खोज्ने प्रचलन सामान्य नागरिकका आवश्यकताबाट सहरी पहिचान र समृद्धिको मापनका रूपमा विकसित भएको पाइन्छ। जुन सहरमा जोडी खोज्नेहरू जति बढी हुन्छन्, त्यति नै त्यो सहर आधुनिक, समृद्ध र विकसित छ भन्ने बुझिन्छ।
पछिल्लो समय चीनमा हुने यस्ता अनौठा प्रचलनले अन्तर्राष्ट्रिय ध्यान पनि तान्ने गरेको छ। यस्ता पार्कमा पुग्ने विदेशी पर्यटकका लागि यस्तो कार्य चिनियाँ विवाह तथा पारिवारिक सांस्कृतिक विकास बुझ्ने एउटा महत्त्वपूर्ण झ्यालका रूपमा रहेको छ।
जोडी खोज्ने कार्यमा विविध उमेर समूहका व्यक्तिले विज्ञापन गर्ने गर्छन्। सन् १९६० देखि २००० पछि जन्मिएका व्यक्तिहरूसम्म विज्ञापनमा देखिन्छन्। यसले के देखाउँछ भने, ६ दशक उमेर फटाइसकेकादेखि भर्खर २५ वर्ष पुग्नेहरू पनि जोडी खोज्न पार्कको शरणमा पर्ने गरेका छन्।
कम्युनिस्ट सत्ता रहेको समाजवादी मुलुक चीनमा यस्ता कार्यको आलोचना पनि हुने गरेको छ। विवाहका लागि गरिने विज्ञापनले धनदौलत प्रदर्शन र भौतिकवादी सोचमा अत्यधिक जोड दिएको मानिन्छ। त्यस्तै कतिपय अभिभावकको अत्यधिक अपेक्षा र विवाहको बजारीकरण भनेर पनि विज्ञापनको विरोध हुने गरेको छ।
चिनियाँ बिहे भोज।
जोडी खोज्ने पार्कले चिनियाँ समाजमा रहेका विभिन्न जटिलतालाई पनि प्रदर्शन गरेको छ। आफ्ना सन्तानको विवाहप्रति अभिभावकले गहिरो चिन्तासँगै माया र जिम्मेवारी पनि प्रदर्शन गर्छन्। यसले समकालीन चिनियाँ विवाह बजारको वास्तविकता, दबाब र जटिलता पनि स्पष्ट झल्काउँछ। यो केवल जोडी खोज्ने ठाउँ मात्र नभई, सामाजिक र सांस्कृतिक अध्ययनको एउटा महत्त्वपूर्ण केन्द्र पनि हो।
यस्ता जोडी खोजी मेलाको मूल उद्देश्य आफन्त वा परिचितको माध्यमबाट सुरक्षित र भरपर्दो जीवनसाथी खोज्नु हो। चीनका प्रत्येक सहरले आफ्नै स्थानीय संस्कृति, शैली र नियम विकास गरेका छन्। यो परिघटना आधुनिक चीनको सामाजिक, पारिवारिक र आर्थिक चिन्तन प्रतिबिम्बित गर्ने एउटा महत्त्वपूर्ण सांस्कृतिक पक्ष पनि बनिसकेको छ।
यस्ता पार्कको मुख्य उद्देश्य जीवनसाथी खोज्नु भए पनि तथ्यांकले अत्यन्तै कम सफलता दर देखाउँछन्। यी पार्कको प्रभाव भने विवाह संख्याभन्दा फरक र बहुआयामिक छ।
सांघाईको जनपार्कमा जोडी खोज्ने मेलामाथि सुन फइतोङले गरेको अनुसन्धान अनुसार सफलता दर एक प्रतिशतभन्दा कम छ। अन्य अनुमानहरूले पनि वार्षिक ५ प्रतिशतभन्दा कम सफलतादर देखाउँछन्।
छोङछिङ जनपार्कमा चाहिँ स्थानीय अभिभावकहरूका अनुसार सफलता दर १० प्रतिशतसम्म पुग्ने गरेको बताइन्छ। बेइजिङ, हाङचौ, नानचिङ, क्वाङचौ लगायतका ठूला सहरहरूमा पनि सफलता दर निकै कम रहेको पाइन्छ।
कम सफलता दरका मुख्य कारणमा चिनियाँहरूमा रहेको अत्यधिक भौतिकवादी सोच, अभिभावकको अत्यधिक अपेक्षा र सहरी क्षेत्रमा 'महिलाको संख्या बढी र योग्य पुरूषको अभाव' जस्ता संरचनात्मक समस्या छन्। तर पनि यी पार्कहरूको गहिरो सामाजिक प्रभाव रहेको पाइन्छ।
यस्ता मेलालाई अभिभावकको 'सामूहिक सहारा' का रूपमा लिइन्छ। यी ठाउँ अभिभावकहरूका लागि 'सामूहिक मनोचिकित्सा' केन्द्र हुन्, जहाँ उनीहरूले आफ्नो चिन्ता साटासाट गर्छन् र सान्त्वना पाउँछन्। 'म गएँ, मैले मेरो प्रयास गरेँ' जस्ता कर्तव्यपूर्तिका भावनाले घर गरेकाले सफलता दर कम भए पनि यस्ता मेलाको समाजिक प्रभाव उच्च छ।
यी मेला चिनियाँ सामाजिक अर्थतन्त्रको प्रतिबिम्ब पनि हुन्। 'विवाह हाट' का रूपमा यस्ता कार्यक्रमले घर, सम्पत्ति, शिक्षा र स्थायी बासस्थानको प्रदर्शन गर्छन्। किनभने, यी योग्यता नै मुख्य मूल्यांकनका आधार हुन्।
त्यसो त यस्ता मेलाले चिनियाँ सामाजिक विभाजन र आर्थिक असमानतालाई पनि उजागर गरेको छ।
चिनियाँ राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार सन् २०२५ सम्म, चीनको कुल जनसंख्यामा लिंग अनुपात एक सय महिला बराबर एक सय चारभन्दा बढी (१०४.२१) पुरूष रहेका छन्। यसको अर्थ चीनमा पुरूषको संख्या महिलाभन्दा करिब २ करोड ८९ लाख बढी छ।
छङ्तूको जनपार्कमा रहेको बेहुली चाहिएको विज्ञापन।
विवाहका लागि कुल संख्याको यो अन्तर एउटा संकेत मात्र हो। वास्तविक समस्या के हो भने, विवाहयोग्य उमेर समूह (२०–४० वर्ष) मा रहेको गम्भीर लिंग असन्तुलन हो, जसले चिनियाँ विवाह बजारलाई सबभन्दा बढी प्रभावित गरेको छ। यस समूहमा पुरूष महिलाभन्दा १ करोड ७५ लाख बढी छन्। यहाँ लिंग अनुपात १०८.९:१०० रहेको छ, जुन अन्तर्राष्ट्रिय सामान्य दायरा (१०३–१०७:१००) भन्दा धेरै माथि छ। यसको अर्थ १ करोड ७५ लाख पुरूषलाई आफ्नै उमेर समूहकी महिला भेट्टाउन कठिन छ।
सन् २००० पछि जन्मिएका समूहमा लिंग अनुपात ११५:१०० रहेको छ। यसले आगामी दिनमा विवाह बजार अझ प्रतिस्पर्धी हुने संकेत गर्छ। चीनमा ३० वर्ष माथिका अविवाहितको संख्या करिब ३ करोड १० लाख छ भने महिलाको संख्या करिब २ करोड ३० लाख रहेको छ। ३५ वर्ष माथिका अविवाहित पुरूषको संख्या करिब ५ करोड ८० लाख छ। यो पनि महिलाको भन्दा निकै धेरै हो।
यहाँ बुझ्नु पर्ने अर्को के कुरा छ भने, ग्रामीण क्षेत्रमा महिलाको संख्या भन्दा पुरूषको संख्या निकै बढी छ। सहरी क्षेत्रमा पुरूषभन्दा महिला बढी छन्। ग्रामीण क्षेत्रमा एक सय महिला बराबर एक सय असी पुरूष छन्। त्यही भएर त गाउँले पुरूषको विवाह विकराल समस्या बन्न थालेको छ। अनि सहरहरूमा महिलाको संख्या पुरूषको भन्दा धेरै छ।
त्यसमाथि उच्च शिक्षित, उच्च आय भएका महिलाहरू विवाह नगर्ने सोचमा छन्। चिनियाँहरू भन्ने गर्छन्, 'गाउँमा पुरूषलाई बिहे गर्न गाह्रो, सहरमा महिलालाई बिहे गर्न गाह्रो।'
चीनमा पुरूषको बिहे हुन नसक्ने अर्को कारण दाइजो पनि हो। नेपाली समाजको उल्टो चीनमा केटा पक्षले केटी पक्षलाई दाइजो दिनुपर्छ। दाइजो प्रथा कानुनी प्रावधान नभए पनि यो सामाजिक ग्राह्य चलन बनेको छ। दाइजोमा महँगो घर, गाडी र अन्य सुविधा रहने गर्छन्।
दाइजो बाहेक चीनमा विवाह परम्परा पनि निकै महँगो छ। चीनका ठूला र प्रमुख सहरहरूमा विवाह गर्दा लाग्ने कुल खर्च सहर अनुसार लाखौंदेखि करोडौं पुग्ने गर्छ। विवाहमा दुलही भित्र्याउन छुट्टै घर चाहिने भएकाले खर्चको मुख्या हिस्सा यसैमा रहन्छ। घर बाहेक विवाह भोजमै दसौं लाख चिनियाँ युआन (साढे दुई करोड रूपैयाँ) सम्म खर्च लाग्छ।
चिनियाँहरूको बदलिँदो जीवनशैलीसँगै विवाह परम्परा पनि महँगिँदै गएको छ। चिनियाँ समाजमा गत शताब्दीको ५० को दशकमा विवाह गर्न एउटा खाट मात्र भए पुग्थ्यो। ६० को दशकमा एक प्याक मिठाइको तयारीमा विवाह सम्पन्न हुन्थ्यो। ७० को दशकमा चीनमा सांस्कृतिक क्रान्ति चलेको समय अध्यक्ष माओका लेखनको संकलन भएको 'रातो किताब' विवाहका लागि अनिवार्य थियो।
८० को दशकमा चीनमा खुलापन र सुधारका कार्यक्रम लागू भएपछि विवाहका लागि रेडियो, साइकल, सिलाइ मेसिन तथा नाडी घडी जस्ता चारवटा चिज आवश्यक हुन थाल्यो। ९० को दशकदेखि विवाह समारोहको परिधि फैलिँदै गयो र एक्काइसौं शताब्दीमा आएर त्यो निकै भड्किलो र महँगो भयो।
चीनका दस वटा ठूला सहरमा विवाह गर्ने खर्चबारे विभिन्न विश्वविद्यालयहरूले इन्टरनेटमा सर्वेक्षण गर्दा पैचिङ, सांघाई, शनचन लगायत चीनका पहिलो पंक्तिका सहरहरूमा विवाहको खर्च २० लाख युआनभन्दा बढी (अहिलेको विनिमय अनुसार साढे चार करोड रूपैयाँभन्दा बढी) पुगेको छ भने हाङ चौ, क्वाङ चौ, नानचिन आदि सहरमा विवाहको खर्च १० लाख बराबर छ।
विवाहसँगै गाडी, कोसेली, उपहार, हनिमुन योजना, फोटो र भिडिओ खिच्ने, भोज खुवाउने जस्ता आडम्बरी कार्यले चिनियाँ विवाह परम्परालाई धानी नसक्नु बनाएको छ।
चीनमा दाइजोको एउटा स्वरूप यस्तो रहेको छ — केटा पक्षले केटीको परिवारलाई उनीहरूकी छोरी हुर्काउँदाको भार र क्षतिपूर्तिका रूपमा केही नगद दिइन्छ। यस्तो नगद लाख चिनियाँ युआनदेखि माथि गच्छे अनुसार हुने गर्छ।
चीनमा विकराल बन्दै गएको विवाह प्रणाली र सार्वजनिक पार्कमा लाग्ने 'विवाह हाट' चीनको अर्थतन्त्र, सामाजिक संरचना, सांस्कृतिक मान्यता, पारिवारिक जटिलता र फेरिँदो जीवनशैलीलाई चियाउने आँखी झ्याल बनेको छ।
सबै तस्बिरः चेतनाथ आचार्य