सेतोपाटीले अपवादबाहेक आत्मदाह र आत्महत्याका समाचार प्रकाशित नगर्ने सम्पादकीय नीति अवलम्बन गर्ने निर्णय गरेको छ।
विगतमा पनि हामी सामान्यतया आममानिसले गरेका आत्महत्याका समाचार प्रकाशित गर्दैन थियौं। हामीले कयौं त्यस्ता घटनालाई 'मृत्यु' भनेर रिपोर्टिङ गरेका छौं।
त्रिपुरेश्वरको राहदानी विभागअगाडि असार २५ गते दिउँसो भएको गणेश नेपालीको आत्मदाहको घटनामा पनि हामीले साँझसम्म समाचार लेखेका थिएनौं। जब वीर अस्पतालले गणेशको अवस्था गम्भीर छ भन्यो र जब त्यो घटनाले ठूलो सामाजिक र राजनीतिक रूप लिँदै गयो, तब हामीले पनि समाचार लेख्ने निर्णय गर्यौं।
त्यो घटनामा राजनीतिक र सामाजिक पाटो पनि जोडिएको थियो। नगर प्रहरीसँगको द्वन्द्वको एउटा घटनालाई लिएर गणेश नेपालीले त्यस दिन आफ्नो ज्यान लिएका थिए। तर त्यही कारणले मात्र उनले त्यस्तो कदम चाले भन्ने निष्कर्ष निकाल्नु सही नहुन सक्छ। गणेश नेपाली त्यो मोडमा आइपुग्दा उनको जीवनले पक्कै पनि धेरै घुम्ती पार गरेको थियो। र, ती घुम्तीका भोगाइ र अनुभूतिले पनि उनलाई त्यस्तो कठिन निर्णय लिन बाध्य पारेको हुनसक्छ।
त्यसको तात्कालिक कारण भने राज्यका प्रतिनिधि नगर प्रहरीसँगको गलफत्ती बन्न पुग्यो। त्यसमा नगर प्रहरीको वा गणेश नेपालीको कति दोष वा गल्ती थियो, हामी त्यतातिर जान चाहँदैनौं। तर राजनीतिक र सामाजिक पक्ष पनि जोडिएको र त्यसले समाजमा विभिन्न प्रश्न उठाउन थालेका कारण हामीले त्यो घटनाबारे रिपोर्टिङ गर्न जरूरी ठान्यौं।
त्यसलगत्तै भएका कतिपय त्यस्तै घटनामा पनि हामीले लेख्ने वा नलेख्ने दुबिधाबीच समाचार लेख्यौं।
शृंखलाबद्ध रूपले भएका यस्ता घटना, हाम्रो विगतको सम्पादकीय नीति, यस्ता घटना समाचार बनेर आउँदा तिनले आममानिसमा पार्ने प्रभाव र सञ्चार गृहका रूपमा हाम्रो जिम्मेवारी लगायत सबै कुरा मनन् गरेर हामीले सम्पादकीय नीति तय गरेका छौं — अपवाद बाहेकका आत्महत्याका घटनाबारे हामी रिपोर्टिङ गर्ने छैनौं।
यो सम्पादकीय नीति अवलम्बन गर्नुका पछि केही महत्त्वपूर्ण र संवेदनशील कारणहरू छन्। हामी अरू सञ्चार माध्यमहरूलाई पनि यी कारणबारे विचार गर्न, समाचार कक्षमा छलफल गर्न र एउटा निर्णयमा पुग्न आग्रह गर्छौं।
विश्वभर भएका विभिन्न अध्ययनले आत्मदाह वा आत्महत्याका समाचारले मानसिक संकटमा रहेका अन्य व्यक्तिलाई 'ट्रिगर' (उक्साउने काम) गर्छ भन्ने देखाएका छन्। त्यसैले जिम्मेवार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सामान्यतया आत्महत्याका समाचार प्रकाशन वा प्रसारण गर्दैनन्। कस्तो–कस्तो अवस्थामा प्रकाशन गर्ने र कसरी गर्ने भन्नेबारे उनीहरूले निश्चित निर्देशिका बनाएर लागू गरेका छन्।
यस्ता घटनामा मिडियाको उत्तरदायित्व, आमनागरिकको सूचनाको हक र सम्पादकीय दुबिधाबीच सन्तुलन कसरी मिलाउने? कति बेला समाचार लेख्ने, कति बेला नलेख्ने?
हाम्रो यही सम्पादकीय दुबिधा मेट्न, यस्ता घटनाका समाचारले समाजलाई पार्ने नकारात्मक असर बुझ्न र समग्रमा सञ्चार माध्यमको भूमिका पर्गेल्न हामीले केही मनोविशेषज्ञसँग छलफल गरेका छौं। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यस्ता घटना कसरी रिपोर्टिङ गर्छन्, त्यो पनि केलाएका छौं।
यसले हामीलाई जस्तै हाम्रा पाठकहरूलाई र अरू सञ्चार माध्यमलाई पनि यो विषयको जटिलता र संवेदनशीलता बुझ्न सहयोग गर्नेछ भन्ने हामीले ठानेका छौं।
कसरी गर्छ समाचारले 'ट्रिगर'?
त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सगुन बल्लभ पन्तका अनुसार, कुनै पनि सञ्चार माध्यममा आउने आत्महत्या वा आत्मदाहका समाचारले मानसिक रूपमा जोखिममा रहेका व्यक्तिलाई प्रत्यक्ष असर पुर्याउँछ।
एउटा घटनाले मानसिक संकटसँग जुधिरहेका अर्को व्यक्तिलाई 'ट्रिगर' गर्न सक्ने उनी बताउँछन्।
'यस्तो प्रभाव सबैका हकमा बराबर लागू हुँदैन,' डा. पन्तले भने, 'पहिले नै विभिन्न कारणले मानसिक तनाव वा चिन्तामा रहेका वा आत्महत्याको सोच बनाइरहेका व्यक्तिमा यस्ता समाचारले बढी र छिटो प्रभाव पार्छ। जुन कुरा आफ्नो मनमा खेलिरहेको छ, त्यस्तै घटना अन्यत्र भएको थाहा पाएपछि उनीहरू आफू पनि त्यही बाटो अपनाउन अग्रसर हुन सक्छन्।'
यस्ता घटनालाई लिएर सामाजिक सञ्जालमा हुने चर्चा/परिचर्चा र सञ्चार माध्यमहरूमा आउने सनसनीपूर्ण हेडलाइनले त मानसिक समस्यामा रहेका व्यक्तिहरूका लागि झनै बढी 'ट्रिगर' को काम गर्ने उनको भनाइ छ।
कतिपय अवस्थामा आफ्ना समस्याप्रति समाज वा सरकारको ध्यान जान्छ भन्ने सोचले पनि गलत मनोवैज्ञानिक प्रभाव पार्ने डा. पन्त बताउँछन्।
सञ्चार माध्यमहरूले यस्ता घटनाबारे लगातार फलोअप स्टोरी प्रकाशन गर्नु र त्यसका विभिन्न पाटा केलाउनु पनि हानिकारक हुने मनोविश्लेषकहरूको भनाइ छ।
पीडित पक्षको मानसिक, आर्थिक र सामाजिक पाटो केलाएर समाचार प्रकाशन गर्दा त्यसले उस्तै प्रकृतिको मानसिक, आर्थिक र सामाजिक समस्या झेलिरहेका व्यक्तिलाई प्रभावित पार्न सक्ने उनीहरूको राय छ।
समाचार फलोअपका नाममा सम्बन्धित व्यक्ति वा परिवारको पृष्ठभूमि, आर्थिक अवस्था र घटनाका साना–साना विवरण खोजेर सनसनीपूर्ण बनाउँदा पनि त्यसले नकारात्मक असर पार्ने पन्तको विश्लेषण छ। सँगसँगै, ती व्यक्तिले जीवनमा पाएको दु:ख, समाज वा राज्यबाट भोग्नुपरेका अत्याचारका घटना केलाउँदा पनि त्यसले नराम्रो सन्देश प्रवाह गर्छ। यस्ता दु:ख वा अत्याचारका घटना कसै न कसैसँग कुनै न कुनै रूपमा मिल्न जान्छन्। र, यसले नै अरूलाई पनि 'ट्रिगर' को काम गर्छ।
'हजारौं कुराहरू आउँदा एक–दुईवटा भोगाइ कसै न कसैसँग मिल्नु सामान्य हो,' डा. पन्तले भने, 'तर मानसिक रूपमा गुम्सिएकाहरूका लागि त्यही कुराले छुन्छ। परिणामस्वरूप उनीहरूले आफ्नो लागि पनि त्यही बाटो रोज्ने सम्भावना बढी हुन्छ।'
मनोविज्ञानको भाषामा यस्तो प्रवृत्तिलाई 'कपी–क्याट सुसाइड' भनिन्छ। अहिले नेपालमा देखिएका शृंखलाबद्ध घटनालाई उनी यही प्रवृत्ति मान्छन्।
असार २५ को घटनापछि लगातार दुई सातासम्म यस्ता घटना दोहोरिनुले नेपाली समाजको मानसिक स्वास्थ्य स्थितिको ऐना देखाएको उनको भनाइ छ।
'विगतमा यस्ता घटना एक–दुई दिनपछि मत्थर हुँदै जान्थे। यसपालि भने अस्वाभाविक रूपले लामो समय कायम रहिरहेको देखिन्छ,' डा. पन्तले भने, 'यसले हाम्रो समाजको मानसिक अवस्था कति जोखिमपूर्ण छ भन्ने पनि देखाएको छ।'
'ग्लोरिफाई' र एकपक्षीय प्रस्तुति घातक
कुनै पनि आत्महत्याको घटना कुनै एउटा क्षणिक कारण वा निश्चित व्यक्ति/निकायको कमजोरीका कारण मात्र हुँदैन।
त्यसका पछाडि जैविक, मनोवैज्ञानिक र सामाजिक जस्ता बहुआयामिक कारण हुन्छन्। तर मिडियामा अक्सर तात्कालिक क्षणिक कारणलाई नै बढी 'ग्लोरिफाई' गरेर प्रस्तुत गरिँदा यसले घटनाको पूर्ण चित्र उजागर हुन नपाउने मनोविदहरूको भनाइ छ।
उदाहरणका लागि — गणेश नेपालीको सन्दर्भमा काठमाडौं महानगरको नगर प्रहरीले मोटरसाइकलमा 'ह्विल लक' लगाउनुलाई नै उनको आत्मदाहको एक मात्र कारण जसरी मिडियाले प्रस्तुत गरेर गल्ती गरेको मनोविदहरू बताउँछन्।
मान्छेको अन्तर्मन नबुझी बाहिर सतहमा देखिने कारणलाई नै मूल कारणझैं प्रस्तुत गर्ने समाचार शैलीले समाजलाई दिग्भ्रमित पार्ने र अरूलाई असर गर्ने उनीहरू बताउँछन्।
'यस्ता छिपेछिपे सतही समाचार झन् बढी हानिकारक हुन्छन्,' डा. पन्तले भने, 'यस्ता घटनाको समाचार लेख्नै हुन्न भन्ने होइन, तर लेख्दा अर्को व्यक्तिलाई पनि त्यही बाटो अपनाउन सजिलो त बनाइरहेका छैनौं भनेर मनन गर्नु जरूरी छ।'
यस्ता घटनाबारे समाचार लेख्दा मिडियाले जिन्दगीमा जस्तोसुकै समस्या वा तनाव परे पनि यस्तो बाटो अपनाउनु समाधान होइन भन्ने सन्देश दिन जरूरी रहेको उनी बताउँछन्। कुनै किसिमको मानसिक तनाव वा दु:ख छ भने कोसँग परामर्श लिने भनेर बाटो पनि देखाउनुपर्छ। त्यो तनावबाट मुक्त हुने उपाय के हो भनेर सुझाउनुपर्छ।
'पत्रकारिता केवल खबर पुर्याउने माध्यम मात्र होइन, समाजप्रति उत्तरदायी हुने अभ्यास पनि हो,' उनले भने, 'त्यसैले आत्महत्याका घटनालाई सनसनीपूर्ण बनाएर प्रस्तुत गर्नुको सट्टा मिडियाले यसलाई रोकथामको एउटा महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्छ। त्यसैले यस्ता समाचारको अन्त्यमा सकारात्मक सन्देशसहित आपतकालीन राष्ट्रिय हेल्पलाइन नम्बर (११६६), परामर्श केन्द्र वा उपलब्ध स्वास्थ्य सेवाको जानकारी अनिवार्य रूपमा राख्नुपर्छ।'
यसो गर्दा मानसिक तनावमा रहेका व्यक्तिले आफ्नो मनमा आउने नकारात्मक सोच रोक्न र आवश्यक सहयोग खोज्न प्रेरित हुने वातावरण बन्नसक्ने उनी बताउँछन्।
'आत्महत्याका समाचार पढिरहेको व्यक्तिलाई पनि अन्त्यमा समाधानको बाटो पहिल्याउने गरी लेख्न सक्यो भने एकदम उत्कृष्ट हुन्छ,' डा. पन्तले भने, 'ताकि समाचार पढ्दै जाँदा त्यसमा जीवन जिउने विकल्प पनि उपलब्ध होस्।'
अन्तर्राष्ट्रिय प्रचलन र मापदण्ड के हो?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत आत्महत्यासम्बन्धी समाचार सम्प्रेषणका लागि केही मापदण्ड बनाएका छन्।
यसबाहेक अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले आत्महत्या वा आत्मदाहका घटनालाई कसरी समाचार बनाउने भनी आचारसंहिता बनाएका छन्।
हामीले डब्लुएचओ, जनसंख्या मन्त्रालय र अन्य विभिन्न मिडियाका आचारसंहिता केलाएका छौं, जसले यस्ता समाचार लेख्दा मुख्य रूपमा निम्न कुरा पालना गर्नुपर्ने उल्लेख गरेका छन् —
१. अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सर्वसाधारण व्यक्तिले गरेका आत्महत्या वा आत्मदाहका घटनालाई सामान्यतया समाचार बनाउँदैनन्। उनीहरूले यस्तो घटनालाई समाचार बनाउने तीनवटा मुख्य आधार हुन्छन् — आत्महत्या गर्ने व्यक्ति सार्वजनिक वा चर्चित मानिस भए, घटना सार्वजनिक स्थलमा भएर जनजीवन वा यातायात ठप्प भए, र उक्त घटनापछाडि ठूलो सामाजिक, राजनीतिक वा नीतिगत मुद्दा जोडिए।
२. समाचार बनाउनैपर्ने यस्ता अवस्थामा पनि उक्त घटनालाई आत्महत्या वा आत्मदाह भनी सम्बोधन नगर्ने। शीर्षकमा त यस्ता शब्द राख्दै नराख्ने। त्यसलाई अन्य मृत्युकै रूपमा प्रस्तुत गर्ने।
३. धेरै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले घटना कसरी भयो भन्ने प्राविधिक विवरण अति कम राख्छन् वा राख्दै राख्दैनन्।
उदाहरणका लागि — यस्ता घटनामा प्रयोग गरिएका साधन समाचारमा उल्लेख हुँदैनन्। कसरी आत्महत्या गरियो भनेर विस्तृत वर्णन त उनीहरू लेख्दै लेख्दैनन्। गणेश नेपालीकै घटनामा सेतोपाटीसहित हामी धेरै नेपाली सञ्चार माध्यमहरूले उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल झिकेर आफ्नो जीउमा खन्याएका थिए भनेर लेख्यौं। यसरी लेख्नु संवेदनशील पत्रकारिता होइन भनेर विभिन्न आचारसंहिताले भनेका छन्।
४. जसले जुनसुकै कारणले आत्महत्या गरेका भए पनि त्यो घटनालाई 'वीरतापूर्ण' रूपले झल्काउन हुँदैन भन्ने मान्यता छ। राज्य वा समाजबाट पाएका विभिन्न अत्याचारका कारण उनले यस्तो कदम चालेका हुन् भनेर त कदापि भन्न हुँदैन। वा, त्यो घटनालाई अतिरञ्जित गर्ने कार्य पनि गर्न हुँदैन।
५. मृतकले छाडेको सुसाइड नोटको पूर्ण अंश वा तस्बिर प्रकाशन गर्ने काम पनि कतिपय सञ्चार माध्यमले गरेका हुन्छन्। नोटका केही अंश एकदमै महत्त्वपूर्ण भएको खण्डमा त्यसलाई संक्षिप्त रूपमा प्रस्तुत गरे पनि पूर्ण रूपमा प्रकाशन गर्न हुन्न भन्ने आचारसंहिता धेरै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बनाएका छन्।
६. आत्मदाह भइरहेको वा शरीरमा आगो लागेको, पोलेको तस्बिर/भिडिओ प्रकाशन वा प्रसारण गर्न कडा मनाही नै गरिएको छ।
७. सम्बन्धित व्यक्तिको तस्बिर प्रकाशन गर्दा पनि उनी जीवित छँदाको शान्त र सामान्य तस्बिर मात्र प्रयोग गर्नुपर्छ। भावुक वा रोइरहेका आफन्तका तस्बिर प्रकाशन गर्न हुन्न।
८. अन्तर्राष्ट्रिय मिडियाले आत्महत्या वा आत्मदाहको कारणलाई एउटै मात्र घटनासँग जोडेर सरलीकरण गर्दैनन्।
उदाहरणका लागि — 'ऋण तिर्न नसकेपछि आत्मदाह' वा 'राज्यले दण्ड दिएपछि आत्मदाह' भन्ने जस्ता कारण लेखिँदैन। बरू यस्ता घटनामा व्यक्तिको आर्थिक तनाव, मानसिक स्वास्थ्य र सामाजिक परिस्थिति जस्ता जटिल कारण जोडिएका हुन सक्छन् भनेर विस्तृत र विषयवस्तुमा आधारित भएर विश्लेषण गरिन्छ।
९. कतिपय अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले आत्महत्या वा आत्मदाहसम्बन्धी समाचारको अन्त्यमा हेल्पलाइन नम्बर र मानसिक स्वास्थ्य सहायतासम्बन्धी बुँदाहरू पनि राख्ने गर्छन्।
***