नेपालका धेरै महिलाका लागि सपना देख्नु गाह्रो होइन, बरू त्यो सपनालाई व्यवसायमा बदल्न भने विभिन्न चुनौतीका अग्लाअग्ला पहाड नै चढ्नुपर्ने हुन्छ।
आफूसँग सीप हुन्छ, मेहनत गर्ने इच्छा हुन्छ, तर पुँजीको अभावले धेरैले आफ्ना सपना मारिरहेका हुन्छन्।
यसैबीच नेपालमा पछिल्ला वर्षहरूमा महिला नेतृत्वका साना तथा मझौला उद्योग उल्लेखनीय रूपमा बढिरहेका छन्। कृषि, उत्पादन, सेवा, पर्यटन, खाद्य उद्योग, बुटिक, सौन्दर्य सेवा र इ–कमर्सजस्ता क्षेत्रमा महिलाको सक्रियता बढ्दो देखिन्छ।
तर अधिकांश महिलाका लागि व्यवसाय सुरू गर्ने वा विस्तार गर्ने क्रममा सबभन्दा ठूलो चुनौती वित्तीय पहुँच नै हो। सीप र योजना हुँदाहुँदै पनि लगानी अभावले धेरै सम्भावना बीचमै रोकिने गरेका छन्।
यही आवश्यकता महसुस गर्दै नबिल बैंकले महिलाद्वारा सञ्चालित साना तथा मझौला उद्यमलाई लक्षित गरी नबिल महिला उद्यमी कर्जा करिब दुई दशकअघि सञ्चालनमा ल्याएको हो।
महिलाको आर्थिक सशक्तीकरण र वित्तीय समावेशितालाई केन्द्रमा राखेर ल्याइएको यस योजनाले व्यवसाय सुरू गर्न, विस्तार गर्न वा थप व्यवस्थित बनाउन चाहने महिलालाई सहज वित्तीय पहुँच उपलब्ध गराउँदै आएको छ।
महिला उद्यमी कर्जा लिएर व्यवसाय विस्तार गरेकी दाङको लमही नगरपालिका–३ की बालिका ओली आज सफलताका साथ टाइगर हिल्सन उद्योग सञ्चालन गरिरहेकी छन्।
केही वर्षअघि उनको अवस्था फरक थियो। व्यवसाय गर्ने सपना थियो, सीप थियो, मेहनत गर्ने आँट पनि थियो। त्यो सपनालाई व्यवसायमा रूपान्तरण गर्ने पुँजी थिएन। आज परिस्थितिले कोल्टे फेरेको छ।
उनले सञ्चालन गरिरहेको उद्योगबाट ४० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। सानो सपनाबाट सुरू भएको उनको यात्रा आज धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।
आत्मविश्वासका साथ बालिका भन्छिन्, 'मैले शून्यबाट यात्रा सुरू गरेकी हुँ। आज मेरो व्यवसायबाट ४० जनाले रोजगारी पाइरहेका छन्। एउटा सानो सपनाबाट सुरू भएको यो व्यवसाय अहिले धेरैका लागि आयआर्जन र आत्मनिर्भरताको माध्यम बनेको छ।'
करिब एक दशक लामो उद्यम यात्रामा उनले व्यवसायसँगै जीवनका धेरै अनुभव पनि बटुलेकी छन्। यही व्यवसायबाट उनले घर निर्माण गरेकी छन्, केही सम्पत्ति जोड्न सफल भएकी छन् र आफ्ना सन्तानको भविष्य सुरक्षित गर्ने आधार तयार गरेकी छन्।
बालिकाले सिलाइ–कटाइको तालिमबाट आफ्नो यात्रा सुरू गरेकी थिइन्। सुरूका दिनमा पुँजी अभाव, बजार विस्तार र व्यवसाय व्यवस्थापनजस्ता अनेक चुनौती सामना गर्नुपर्यो। तर हार मानिनन्।
आफ्नै देशमा बसेर केही गर्ने अठोटका साथ उनले नबिल बैंकबाट महिला उद्यमी कर्जा लिइन्। त्यसपछि उद्योगमा नयाँ मेसिन थप्दै उत्पादन क्षमता विस्तार गरिन् र व्यवसायलाई क्रमशः नयाँ उचाइमा पुर्याइन्।
उनी भन्छिन्, 'आजसम्म मैले जे–जति गर्न सकेकी छु, त्यसमा यो कर्जाको ठूलो भूमिका छ। अब यही व्यवसायलाई अझ विस्तार गरेर ८० देखि १०० जनासम्मलाई रोजगारी दिन सकूँ भन्ने मेरो सपना छ।'
बालिकाको कथा एउटा महिलाको सफलता मात्र होइन। यो ती हजारौं नेपाली महिलाको कथा हो, जो केही गर्न चाहन्थे, तर पुँजी अभावले आफ्ना योजना थन्क्याउन बाध्य थिए।
बैंकले हालसम्म साना तथा मझौला उद्यमका लागि करिब ९८ अर्ब रूपैयाँ बराबर कर्जा प्रवाह गरेको छ। त्यहीअन्तर्गत बालिकाले पनि कर्जा पाएकी हुन्, जसले उनको सपना पूरा गर्न सहयोग पुर्याएको छ।
नबिल बैंकले 'बैंकिङ एन्ड बियोन्ड' अवधारणा अन्तर्गत साना तथा मझौला व्यवसायीलाई लक्षित गर्दै उनीहरूको आवश्यकता अनुसारको लचिलो कर्जा प्रवाह गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार ज्ञवालीले बताए।
'हामी साना तथा मझौला उद्यमीहरूलाई नेपालको अर्थतन्त्रको मेरूदण्डका रूपमा हेरेका छौं। जसले उद्यमशीलता, नवप्रवर्तन र रोजगारीका अवसरहरू सिर्जना गर्छन्। लचिलो भुक्तानीका विकल्पहरू र कुशल कर्जा प्रक्रियामार्फत साना तथा मझौला व्यवसायहरूलाई हामीले सहजै वित्तको पहुँच पुर्याएका छौं,' सिइओ ज्ञवालीले बताए।
'हामीले उहाँहरूको विशिष्ट आवश्यकता अनुसार सहयोग पुर्याइरहेका छौं र उहाँहरूको व्यावसायिक यात्राको हरेक चरणमा एक विश्वसनीय वित्तीय साझेदार रहिरहन प्रतिबद्ध छौं,' उनले थपे।
यो योजना केवल कर्जा उपलब्ध गराउने कार्यक्रम नभई महिलालाई व्यवसाय सुरू गर्न, विस्तार गर्न र आत्मनिर्भर बन्न सहयोग गर्ने दीर्घकालीन पहलका रूपमा अघि बढाइएको बैंकको भनाइ छ।
दाङकै घोराही उपमहानगरपालिका–१४ मा रहेको मोती सुनचाँदी गहना उद्योगकी सञ्चालक मीना कुमारी सिंह त्यसको अर्को उदाहरण हुन्।
बुबासँगै पसलमा काम गर्दै उनले सुनचाँदी व्यवसायको सीप सिकिन्। बुबाको निधनपछि व्यवसायलाई निरन्तरता दिने जिम्मेवारी उनकै काँधमा आयो। उनीसँग सीप थियो, तर लगानी थिएन।
उनी सुरूआती संघर्षका दिन सम्झिँदै भन्छिन्, 'त्यति बेला मलाई लगानीका लागि पैसा आवश्यक थियो। आफन्त र अन्य ठाउँमा धेरै प्रयास गरेँ, तर सहयोग पाइनँ। नबिल बैंकको कर्जा पाएपछि मैले सुन किनेर व्यवसाय सुरू गरेँ र आज यही व्यवसायलाई निरन्तरता दिएर जीवन नै बदल्न सकेँ।'
आज यही व्यवसायबाट उनले परिवार धानिरहेकी छिन्। छोराहरूको शिक्षा, घरव्यवहार र भविष्यको आधार यही व्यवसाय बनेको छ।
'जेठो छोरालाई उच्च शिक्षाका लागि अस्ट्रेलिया पठाइसकेँ, यही व्यवसायबाट घरजग्गा पनि जोड्न सकेकी हुँ,' उनी भन्छिन्।
मीना थप्छिन्, 'मसँग सीप त थियो, तर पुँजी थिएन। नबिल बैंकको साथले मेरो जीवन नै बदलियो। बैंकको सहयोगका कारण नै मैले यो सब गर्न सफल भएकी हुँ।'
जब महिलाको सपनाले पुँजीको साथ पाउँछ, एउटा व्यवसाय मात्र जन्मिँदैन, नयाँ रोजगारी र आत्मविश्वास पनि जन्मिन्छ।
यही कुरा पुष्टि गर्ने काठमाडौंकी युसा शाक्यको यात्रा पनि उत्तिकै प्रेरणादायी छ।
सानो घरेलु व्यवसायबाट सुरु भएको उनको 'ग्रान्ड सेभेन इलेभेन बटुकी मःमः एन्ड लाफिङ सेन्टर' आज काठमाडौं उपत्यकाभित्र चार वटा शाखासहित स्थापित ब्रान्ड बनेको छ।
काठमाडौंमा युसाले व्यवसाय सुरू गर्दा एउटा सानो आउटलेटलाई नै सफल बनाउने लक्ष्य थियो। गुणस्तरीय स्वाद र सेवाका कारण ग्राहकको विश्वास बढ्दै गयो।
नबिल बैंकको महिला उद्यमी कर्जाले उनको व्यवसाय विस्तारको यात्रामा नयाँ ऊर्जा थप्यो। समयमै प्राप्त वित्तीय सहयोगले योजनालाई व्यवहारमा उतार्ने आधार बनाइदियो।
दैनिक सयौं ग्राहकले उनका आउटलेटमा पुगेर स्वाद लिन्छन् भने दर्जन युवाले यही व्यवसायबाट रोजगारी पाएका छन्।
युसा भन्छिन्, 'नबिल बैंकको साथ र कर्जाकै कारण हामी चारवटा शाखासम्म विस्तार हुन सफल भएका छौं। अब अझै नयाँ शाखा थप्दै धेरैलाई रोजगारी दिने लक्ष्य छ।'
उनी थप्छिन्, 'सही समयमा ऋण नपाएको भए व्यवसायलाई अहिलेको अवस्थामा पुर्याउन निकै कठिन हुने थियो। यसका लागि नबिल बैंकलाई धेरै धेरै धन्यवाद।'
डेनमार्कमा होटल व्यवस्थापन क्षेत्रमा काम गरेको अनुभवलाई उनले आफ्नै व्यवसायमा प्रयोग गरिन्। निरन्तर मेहनत, परिवारको साथ र सही समयमा प्राप्त वित्तीय सहयोगले उनको व्यवसाय विस्तार हुँदै गयो।
आज उनका आउटलेटहरू स्वाद, गुणस्तरीय सेवा र ग्राहकको विश्वासका कारण लोकप्रिय छन्।
यी प्रतिनिधिमूलक तीन महिलाका कथा फरक–फरक देखिए पनि उनीहरूलाई जोड्ने साझा सूत्र एउटै छ— नबिल महिला उद्यमी कर्जा।
सही समयमा वित्तीय पहुँच पाउँदा महिलाले व्यवसाय मात्र सुरू गर्दैनन्, उनीहरूले रोजगारी सिर्जना गर्छन्, परिवारको आर्थिक अवस्था बदल्छन्, परिवारको भविष्य सुरक्षित गर्छन् र समाजमा नयाँ उदाहरण स्थापित गर्छन्।
आज बालिका ओलीको उद्योगमा ४० जनाले रोजगारी पाइरहेका छन्। मीना कुमारी सिंहले बुबाको व्यवसायलाई नयाँ उचाइमा पुर्याएकी छन्। युसा शाक्यले घरेलु व्यवसायलाई सफल ब्रान्डमा रूपान्तरण गरेकी छन्।
यी सफलता कुनै संयोग होइनन्, सही समयमा प्राप्त अवसर, निरन्तर मेहनत र आत्मविश्वासका परिणाम हुन्। त्यसैले यसको प्रभाव बैंकको ऋण पोर्टफोलियोमा भन्दा बढी उद्योग, पसल, कृषि फार्म, रेस्टुरेन्ट र महिलाले सञ्चालन गरिरहेका साना–ठूला उद्यममा देख्न सकिन्छ।
महिलाको हातमा आर्थिक शक्ति पुग्दा त्यसको प्रभाव एउटा व्यक्तिमा सीमित रहँदैन। त्यो परिवारमा पुग्छ, समुदायमा पुग्छ र अन्ततः देशको अर्थतन्त्रसम्म पुग्छ। त्यसैले, नबिल महिला उद्यमी कर्जा केवल कर्जा नभएर हजारौं नेपाली महिलाको सपनामा गरिएको विश्वासको लगानी हो। महिलाको सम्भावनामाथि गरिएको विश्वास हो।
'यो योजना हजारौं महिलाको उद्यम यात्रामा साथ दिने, सपनालाई पखेटा दिने र आत्मनिर्भरताको नयाँ अध्याय लेख्ने सहयात्री बनेको छ,' बैंकको भनाइ छ।