सुधार र अस्थिरता एकै समयमा देखिएको नेपालको सेयर बजार इतिहासमा यो निकै महत्वपूर्ण क्षण हो।
बाहिरबाट हेर्दा यो विरोधाभास जस्तो लागे पनि गहिराइमा हेर्दा यी दुइटा चरण एउटै प्रक्रिया हुन्। यी घटनाहरू समाज, राजनीति र अर्थतन्त्रको पुनर्संरचनाका लागि हुन्छन्।
अर्थशास्त्र र व्यवस्थापनको भाषामा यसलाई परिवर्तनको संक्रमणकालीन पीडा भनिन्छ।
नेपाल हाल यस्तै मोडमा उभिएको देखिन्छ। लामो समयदेखि संस्थागत कमजोरी कायम छ। राजनीतिक संरक्षणवाद छ। नीतिगत अस्थिरता छ। पहुँचमा आधारित अर्थतन्त्र छ।
सीमित समूहको पुँजी नियन्त्रणले निर्माण गरेको आर्थिक संरचनालाई अहिलेको शासन प्रणालीले चुनौती दिन खोजिरहेको छ। 'सुशासन', 'उत्तरदायित्व' र 'विधिको शासन' भन्ने शब्दहरू पहिलो पटक मात्र राजनीतिक भाषणका विषय नभई प्रशासनिक हस्तक्षेपका रूपमा देखिन थालेका छन्।
तर यहाँ जटिल प्रश्न उठेका छन् — यदि राज्य सफा हुँदैछ भने सेयर बजार किन डराइरहेको छ? यदि वित्तीय अपराध नियन्त्रण हुँदैछ भने लगानीकर्ता किन उत्साहित छैनन्? यदि भ्रष्ट संरचनाहरू हट्दै छन् भने पुँजी बजार किन विस्तार भइरहेको छैन?
यी प्रश्नहरूको उत्तर सतहमा छैन। यसको उत्तर राजनीतिक अर्थशास्त्र, संस्थागत संक्रमण र बजार मनोविज्ञानको संगममा लुकेको छ।
बजार मूल्यले अर्थतन्त्र मात्र होइन, विश्वासको भविष्य पनि मापन गर्छ। सेयर बजारले कम्पनीहरूको मूल्य मात्र देखाउने होइन, भविष्यप्रतिको सामूहिक विश्वासको सूचक देखाउने काम गर्छ।
नेपालको पुँजी बजारमा लामो समयदेखि एउटा अस्वस्थ संरचना निर्माण भएको थियो। जहाँ नीति, पहुँच, सूचना, प्रशासन र पुँजीबीच अस्वाभाविक सम्बन्ध विकसित हुँदै गयो।
बजारले वास्तविकभन्दा बढी निकटतालाई मूल्य दिन थाल्यो। कम्पनीको वित्तीय स्थितिको प्रदर्शनभन्दा सम्बन्धको शक्ति बलियो बन्यो।
यसले नेपालको सेयर बजारलाई बजारभन्दा बढी राजनीतिक–वित्तीय नेटवर्कको खेल मैदान बनायो।
जब यस्तो संरचना वर्षौंसम्म संस्थागत हुन्छ, त्यसलाई हटाउने प्रयास आफैमा आर्थिक झट्का बन्न पुग्छ।
सुशासनको प्रभाव
अर्थतन्त्रमा सुशासनको पहिलो प्रभावले पुँजीको गति सुस्त हुन्छ। इतिहासले हामीलाई सिकाउँछ कि जब अनौपचारिक वा पहुँचमा आधारित पुँजी नियन्त्रणमा आउँछ, तब अर्थतन्त्रमा सुरूमा सुस्तता देखिन्छ।
कारण सरल छ।
गैरकानुनी वा नीतिगत लाभबाट चलिरहेको पुँजी धेरै तीव्र हुन्छ। कानुनी, पारदर्शी र उत्पादनशील पुँजी विस्तार हुन समय लाग्छ।
यो संक्रमण अवधिमा बजारले केही समय 'सास रोकेको' जस्तो व्यवहार गर्छ। अहिले नेपालको बजारमा पनि यस्तै मनोविज्ञान देखिएको छ।
व्यापारिक घोटालाको ठूलो मुद्दा सेयर बजारमा गरिएको गैरकानुनी गतिविधिसँग सम्बन्धित करोडौं ठगी गरेको अभियोगमा विभिन्न बीमा कम्पनी र ब्रोकर कम्पनीका पदाधिकारीहरू सहित संलग्न सबैलाई अदालतमा मुद्दा दायर भइसकेको छ। यो सुशासनको कार्यले भविष्यमा आशा गर्ने ठाउँ छ।
सरकारको बजेट र अपेक्षाको समस्या
अहिलेको राजनीतिक परिदृश्यमा अर्को महत्वपूर्ण पक्ष हो अपेक्षाको अर्थशास्त्र। सुधारमुखी छवि, प्रशासनिक कडाइ र पुराना संरचना भत्काउने घोषणाले नागरिक र लगानीकर्तामा उच्च आशा निर्माण गर्यो।
तर आशा र कार्यान्वयन बीच समयको अन्तराल हुन्छ। बजेटले तत्काल पुँजी निर्माण गर्ने संकेत नदिँदा, निजी क्षेत्रले अपेक्षित प्रोत्साहन नपाउँदा र वृद्धिमुखी नीति तत्काल नआउँदा निराशा बढ्यो।
समस्या केवल बजेटमा मात्र सीमित छैन। समस्या अपेक्षाको गति र नीतिको गति नमिल्नु हो। बैंकमा तरलता छ तर लगानीकर्ताले लगानीको अवसर देखिरहेका छैनन्। आशा जगाउनु सरकारको काम हो।
धितोपत्र बोर्ड नेतृत्वमा लामो रिक्तता
नेपालको पुँजी बजार अहिले अर्को संस्थागत समस्याबाट गुज्रिरहेको छ। निर्णायक नेतृत्वको अभाव। नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा भएको लामो ढिलाइले नियामकीय अनिश्चितता बढाएको छ।
जब नियामक संस्थामा नेतृत्व शून्यता हुन्छ, तब सुधार रोकिन्छ। नयाँ उपकरण आउँदैनन्। लाइसेन्स लगायत प्रशासनिक निर्णय ढिलो हुन्छ। लगानीकर्ताको विश्वास घट्छ। कहिलेकाहीँ बजारमा खराब निर्णयभन्दा निर्णय नहुनु ठूलो जोखिम बन्छ। अनिश्चितता पुँजीको सबभन्दा ठूलो शत्रु हो।
आजको नेपालको सेयर बजारमा देखिएको निराशा बजार पतनको संकेत होइन। यो एउटा पुरानो आर्थिक संरचना कमजोर हुँदै गएको र नयाँ संरचना जन्मिँदै गरेको असहज क्षण हुन सक्छ।
यदि राज्यले सुशासनलाई प्रतिशोध होइन, संस्था निर्माणको माध्यम बनायो भने नियामकहरू सक्षम र स्वतन्त्र बने भने निजी क्षेत्रलाई साझेदार मानियो भने पुँजी बजारलाई राष्ट्रिय विकासको उपकरणका रूपमा व्यवहार गरियो भने आजको डर नै भोलिको ऐतिहासिक अवसर बन्न सक्छ।
प्रश्न बजार घट्यो कि बढ्यो भन्ने होइन।
प्रश्न यो हो कि, हामी पुरानो खेल फर्काउने हो कि नयाँ नियमसहितको अर्थतन्त्र निर्माण गर्ने हो?
इतिहासले सधैं दोस्रो विकल्प रोज्ने समाजलाई पुरस्कृत गरेको छ।
(नरेन्द्र सिजापती स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष हुन्)