जब राष्ट्र र जनताका समस्याहरू चाङका चाङ थुप्रिन्छन् र तिनको समाधानका लागि जिम्मेवार राजनीतिक शक्तिहरू प्रभावकारी रूपमा अगाडि आउन सक्दैनन्, तब राजनीतिक रिक्तता पैदा हुन्छ।
जनतामा परिवर्तनको आवश्यकता तीव्र हुँदा अग्रगामी शक्ति कमजोर भएमा त्यो रिक्त स्थान कुनै न कुनै वैकल्पिक शक्तिले पूरा गरिदिन्छ। परिवर्तनको आवश्यकता इतिहासको वस्तुगत नियम हो; तर त्यो परिवर्तन कुन दिशामा अघि बढ्छ भन्ने कुरा नेतृत्व, विचार र संगठनको क्षमताले निर्धारण गर्छ।
इतिहासले देखाएको छ— जब दार्शनिक र सैद्धान्तिक मान्यताका आधारमा स्थापित राजनीतिक शक्तिहरू वैचारिक र व्यवहारिक विचलनको चपेटमा परेर जनअपेक्षा पूरा गर्न असफल हुन्छन्, तब नयाँ सामाजिक–राजनीतिक प्रवृत्तिहरू जन्मिन्छन्। तिनले विभिन्न एजेन्डा अगाडि सार्छन्। एजेन्डाहरू कहिले प्रगतिशील हुन्छन्, कहिले सुधारवादी, र कहिलेकाहीँ पश्चगामी पनि।
आज नेपालमा मात्र होइन विश्वमै चर्चित जेनजी आन्दोलनलाई यही ऐतिहासिक तथा राजनीतिक पृष्ठभूमिमा बुझ्न आवश्यक छ।
२०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्था अन्त्य गरी संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्था स्थापना गर्यो।
२०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसले स्पष्ट बहुमत प्राप्त गरे पनि आन्तरिक विवादका कारण सरकार टिक्न सकेन र २०५१ मा संसद विघटनसँगै देश मध्यावधि निर्वाचनतर्फ धकेलियो। परिवर्तनको नेतृत्व गरेका प्रमुख दल र तिनका नेताहरूबाट जनजीवनमा सुधार आउने अपेक्षासहित आशावादी बनेका जनता क्रमशः निराश हुन पुगे।
यही पृष्ठभूमिमा नेकपा (माओवादी) ले २०५२ सालमा नयाँ जनवादी व्यवस्थामार्फत गाँस, बास र कपासको सुनिश्चितता गर्दै जनजीवनमा गुणात्मक परिवर्तन ल्याउने लक्ष्यसहित जनयुद्धको आह्वान गर्यो। यसलाई सकारात्मक विकल्पको रूपमा जनताले लिए। बहुदलीय व्यवस्थाप्रति बढ्दो निराशाबीच शोषित–पीडित जनताले नयाँ आशाका साथ जनयुद्धलाई विभिन्न रूपले समर्थन गरे।
त्यस बेला जनतासामु वैकल्पिक राजनीतिक शक्ति नउभिएको भए निरंकुश राजतन्त्र नयाँ स्वरूपमा पुनः बलियो हुने सम्भावना पनि थियो। अन्ततः जनयुद्ध र १९ दिने जनआन्दोलनको संयोजनले नेपाललाई गणतन्त्रको युगमा प्रवेश गरायो।
२०७४ सालको संघीय तथा प्रादेशिक निर्वाचनमा एमाले र माओवादी गठबन्धनले संसदमा करिब दुई तिहाइ जनमत प्राप्त गर्यो। यो केवल वामपन्थी मतदाताको समर्थन मात्र थिएन; विकास, स्थायित्व र समृद्धिको अपेक्षा राख्ने गैरवामपन्थी लोकतान्त्रिक जनमत पनि त्यसतर्फ आकर्षित भएको थियो।
निर्वाचनपछि वाम गठबन्धन पार्टी एकतामा रूपान्तरित भयो। केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' रहने गरी दुई अध्यक्षको व्यवस्था गरियो र दुवैले 'दुई पाइलटका कारण जहाज दुर्घटना हुन दिँदैनौं' भन्ने प्रतिबद्धता व्यक्त गरे।
तर एकअर्कासँग सहकार्य गरेर जहाज उडाउनुपर्ने दुई पाइलट जहाजभित्रै शक्ति–संघर्षमा उत्रिए। परिणामतः जहाज गन्तव्यमा पुग्नुको सट्टा दुर्घटनाग्रस्त भयो।
यस घटनाले जनतामा गहिरो निराशा पैदा गर्यो। परिवर्तनकारी राजनीतिक दल र नेतृत्वप्रति विश्वास कमजोर बन्न थाल्यो। त्यसको अभिव्यक्ति २०७९ सालको स्थानीय निर्वाचनमा देखियो। काठमाडौंमा बालेन शाह, धरानमा हर्क साम्पाङ र नेपालगञ्जमा गोपाल हमालजस्ता स्वतन्त्र उम्मेदवारहरू अत्यधिक मतका साथ विजयी भए।
यो केवल व्यक्तिको विजय थिएन; स्थापित राजनीतिक शक्तिप्रति जनतामा व्याप्त बढ्दो असन्तुष्टिको संकेत थियो।
यसै प्रवृत्तितर्फ संकेत गर्दै मैले २०७९ जेठ ४ गते प्रतिनिधिसभामा सम्बोधन गर्दा काठमाडौंको मददाताको ट्रेन्डतर्फ इंगित गरेको थिएँ। स्थापित राजनीतिक शक्तिहरूले जनविश्वास गुमाउँदै गएको परिप्रेक्ष्यमा त्यो असन्तुष्टिबाट लाभ उठाउँदै नयाँ राजनीतिक शक्तिहरू उदाउन सक्ने चेतावनी दिएको थिएँ।
त्यस बेला राजनीतिक दलका मुख्य नेताहरूले उक्त चेतावनीलाई गम्भीरतापूर्वक लिन चाहेनन्। उनीहरूमा आत्मसमीक्षाभन्दा आत्मसन्तुष्टिको प्रवृत्ति हावी देखिन्थ्यो।
२०७९ सालको संघीय र प्रादेशिक निर्वाचनको पूर्वसन्ध्यामा नारायण ठूलोदाइसँग यस विषयमा रोचक छलफल भएको थियो।
उहाँको विश्लेषण थियो— वामपन्थी शक्तिहरूको असक्षमताले सिर्जना गरेको निराशाको लाभ अन्ततः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्ता राजावादी शक्तिले लिन सक्छन्। तिमीहरूलाई यथार्थ स्वीकार गर्न गाह्रो होला तर जनमतको वास्तविकता यस्तै छ।
त्यतिखेर उहाँको अनुमान सही थियो। तर राजनीतिक घटनाक्रमले अर्कै मोड लियो।
रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदायो र घन्टी चुनाव चिह्नमार्फत असन्तुष्ट जनमतलाई आफ्नो पक्षमा आकर्षित गर्यो। यसले तत्कालीन अवस्थामा जनअसन्तुष्टिलाई वैकल्पिक राजनीतिक अभिव्यक्तिको दिशा दियो। यद्यपि त्यसको दीर्घकालीन राजनीतिक परिणाम भने अझै परीक्षणकै क्रममा छ।
आज रास्वपा, बालेन शाह, हर्क साम्पाङ र महावीर पुनबारे व्यापक रूपमा चर्चा भइरहेको सन्दर्भसँग जोडेर जेनजी आन्दोलनको चरित्रबारे गम्भीर बहस चलिरहेको छ— यी शक्ति अग्रगामी हुन् कि पश्चगामी? सुधारवादी हुन् कि परिवर्तनका नयाँ वाहक?
यी प्रश्नको उत्तर खोज्न जेनजी आन्दोलनको सामाजिक, राजनीतिक तथा ऐतिहासिक पृष्ठभूमिलाई गम्भीरतापूर्वक बुझ्न आवश्यक छ।
मेरो विचारमा, कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन दुवैले संविधान निर्माणपछि जनताको जीवनमा ऊर्जा र परिवर्तन ल्याउन सकेनन्। मुख्य नेताहरूले समाजवाद उन्मुख गणतान्त्रिक संविधान अनुसार आचरण गरेनन्। उनीहरू पार्टीको मूल आदर्श र मान्यताबाट पनि क्रमशः विचलित हुँदै गएका कारण यस्तो अवस्था सिर्जना भएको हो।
जब परिवर्तनका वाहक शक्तिहरू नै विचार र आदर्शलाई तिलाञ्जली दिएर यथास्थितिवाद, अवसरवाद, भ्रष्टाचार, कुशासन, परिवारवाद र सत्ताको कुर्सी अदलबदल केन्द्रित राजनीतितर्फ उन्मुख हुन्छन्, तब जनता विकल्पको खोजीमा भौंतारिनु स्वाभाविक हुन जान्छ।
यो असन्तुष्टि केवल मुख्य नेताहरूप्रतिको मात्र होइन; राजनीतिक कार्यशैली, नेतृत्व संस्कार र राज्य सञ्चालनको विद्यमान ढाँचाप्रतिको पनि हो।
यस प्रकारको परिवेशमा जेनजी आन्दोलन अपरिहार्य हुन पुग्यो। यो आन्दोलन कुनै एक नेता, दल वा संगठन विरूद्ध सीमित छैन; बरू विकृत राजनीतिक संस्कृतिप्रतिको असन्तुष्टि र नयाँ राजनीतिक अभ्यासको खोजीको व्यापक सामाजिक प्रवृत्ति हो।
यस अर्थमा जेनजी आन्दोलनलाई तत्काल पश्चगामी आन्दोलन भन्न मिल्दैन। यो मूलतः प्रगतिशील सुधारको आन्दोलन हो, क्रान्तिकारी आन्दोलन भने होइन। यसको मुख्य जोड सुशासन, पारदर्शिता, भ्रष्टाचारविरोध, बेथिति अन्त्य, परिवारवादको विरोध र जबाफदेही शासन व्यवस्था स्थापनामा केन्द्रित छ।
जेनजी आन्दोलनको सीमा यसको वैचारिक अस्पष्टता हो। सुशासन, पारदर्शिता र भ्रष्टाचारविरोधी नारालाई व्यापक समर्थन प्राप्त भए पनि आर्थिक संरचना, उत्पादन सम्बन्ध, सामाजिक न्याय र राष्ट्रिय विकासको दीर्घकालीन दृष्टिकोणबारे यसभित्र अझै स्पष्टता देखिँदैन। यही कारण यो आन्दोलनभित्र प्रगतिशील, यथास्थितिवादी र पश्चगामी तीनवटै प्रवृत्ति प्रतिस्पर्धामा रहन सक्छन्।
त्यसैले आजको चुनौती जेनजी आन्दोलनलाई केवल समर्थन वा विरोध गर्ने होइन, बरू यसले अभिव्यक्त गरेका जनअसन्तोष, सुशासनको माग र राजनीतिक नवीकरणको आकांक्षालाई वैज्ञानिक ढंगले बुझ्नु हो। यदि वामपन्थी तथा परिवर्तनकारी शक्तिहरूले जनताका आवश्यकता र असन्तुष्टिलाई क्रान्तिकारी रूपान्तरणको दिशामा संगठित गर्न सकेनन् भने यही असन्तुष्टिमा टेकेर भविष्यमा विभिन्न स्वरूपका पश्चगामी प्रवृत्तिहरू बलियो बन्न सक्छन्।
क्रान्तिकारी ध्रुवीकरण मार्फत हुने रूपान्तरण रातरात सम्भव हुन्न, यसका लागि केही समय लिनैपर्ने हुन्छ। यो प्रक्रिया पूरा नहुँदै पुराना दलका प्रमुख नेताहरूले निर्वाचनमार्फत अनुमोदित नयाँ राजनीतिक पार्टी र त्यसको नेतृत्वलाई हतारमा नकारात्मक विम्बका रूपमा चित्रित गर्दै यसको बहानामा आफ्ना कमजोरी ढाकछोप गर्ने प्रवृत्ति अन्ततः घातक सिद्ध हुन सक्छ।
२०८२ भदौ २३–२४ पछि वामपन्थी पार्टीका मुख्य नेताहरूले जेनजी आन्दोलनले अभिव्यक्त गरेको जनभावना, परिवर्तनको आकांक्षा र नयाँ राजनीतिक संस्कृतिको मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने तत्परता देखाएका भए आज उनीहरू यति धेरै तिरस्कृत हुनुपर्ने अवस्था आउने थिएन।
तर आन्दोलनको मर्म र भावना आत्मसात गर्नुको सट्टा संसद पुनः स्थापनाको मागमार्फत आन्दोलनलाई निष्प्रभावी बनाउन खोज्ने शक्तिहरूसँग सहकार्यमा जोड दिइयो। यस सम्बन्धमा मुख्य नेताहरू समक्ष समयमै प्रस्तुत गरिएका खबरदारी, सुझाव र आत्मसमीक्षाका आग्रहहरूलाई समेत गम्भीरतापूर्वक लिइएन।
परिणाम स्वरूप, परिस्थिति बदलिँदा आफू र पार्टीलाई रूपान्तरण गरेर गतिशील नेतृत्वका रूपमा स्थापित हुने अवसर मात्र गुमेन, बचेखुचेको गतिशील नेतृत्वको पहिचानसमेत समाप्त भयो।
मैले पार्टीको पदाधिकारी बैठकमा संघीय मन्त्री, संघीय सांसद भइसकेका व्यक्तिहरूलाई पुनः उम्मेदवार नबनाई नयाँ पुस्ता र नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने लिखित प्रस्ताव पेस गरेको थिएँ। तर त्यसलाई गम्भीरतापूर्वक छलफल समेत गरिएन।
उल्टै, अख्तियारले मुद्दा दर्ता गरी सांसद पदबाट निलम्बित मुख्य नेतामध्येकै व्यक्तिलाई उम्मेदवार बनाउने निर्णय गरियो। अर्कोतर्फ, मुख्य नेतृत्व स्वयं जनअसन्तुष्टिको तीव्र दबाबबाट त्रसित भई सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा लाग्यो। यी घटनाहरूले परिवर्तनको नाराभन्दा यथास्थितिप्रति नै नेतृत्वको मोह बलियो रहेको सन्देश सम्प्रेषण गर्यो।
केपी शर्मा ओली, पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालजस्ता शीर्ष नेताहरूले स्वेच्छाले संसदीय मोर्चाको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने साहस देखाएका भए देशभर वैकल्पिक नेतृत्वको लहर यति तीव्र रूपमा फैलिने थिएन।
बालेन शाह र हर्क साम्पाङहरूको उदय केवल व्यक्तिको लोकप्रियताको परिणाम होइन; त्यो पुराना पार्टीका मुख्य नेताहरूप्रतिको व्यापक जनअसन्तुष्टि र उनीहरूप्रतिको बदलाभावको अभिव्यक्ति पनि हो।
नेतृत्वले आफ्नै पार्टीका नेता–कार्यकर्ता र जनताको आवाज समयमै सुन्न नसक्दा आज वामपन्थी आन्दोलनले गम्भीर संकट र जनमतको तीव्र क्षय बेहोर्नुपरेको छ। वाम आन्दोलनले नै ठूलै मूल्य चुकाउन परिरहेको छ।
पार्टीमा कोही पनि अरू सक्षम नेता छैनन् भनेर आत्मरति लिइरहेका मुख्य नेताहरूको भ्रमजालमा परेका कार्यकर्ता–जनता उनीहरूले पस्किरहेको भ्रमबाट मुक्त भएका छन्। वामपन्थी आन्दोलनले तत्काल ठूलै क्षति बेहोर्नुपरे पनि भ्रमबाट मुक्त हुनुलाई सकारात्मक उपलब्धिका रूपमा हेरिनुपर्छ।
कुनै पनि राष्ट्रिय आन्दोलन रूपले 'राष्ट्रिय' भए पनि त्यसको अन्तरवस्तु राष्ट्रिय सीमाभित्र सीमित हुँदैन। आजको विश्व परस्पर निर्भरता, भू–राजनीतिक प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय शक्ति–सन्तुलनले प्रभावित छ। त्यसैले राजनीतिक परिवर्तन वा सामाजिक आन्दोलनले केवल आन्तरिक राजनीति मात्र होइन, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्तिहरूका हितलाई समेत प्रभावित गर्छ।
डिजिटल युगमा सामाजिक सञ्जाल, विश्वव्यापी सञ्चार र अन्तर्राष्ट्रिय राजनीतिक प्रवृत्तिहरूले जेनजी आन्दोलनलाई पनि प्रभावित गरेका छन्। तर बाह्य प्रभावको उपस्थिति र आन्दोलनको मूल चरित्र नै बाह्य शक्तिद्वारा निर्देशित हुनु एउटै कुरा होइन। निर्णायक पक्ष त्यसको सामाजिक आधार, नेतृत्व र जनसहभागिता हो।
नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील देशमा विभिन्न अन्तर्राष्ट्रिय शक्तिहरूले आफ्ना हितअनुसार राजनीतिक घटनाक्रमलाई प्रभाव पार्ने प्रयास गर्नुलाई पाहाडै खसे जसरी बुझ्नु र आत्तिनुभन्दा सचेत हुनु र चनाखो बनेर खबरदारी गर्नु स्वाभाविक हुन्छ।
नेपालको इतिहासका प्रमुख राजनीतिक आन्दोलनहरूमा पनि बाह्य चासो र प्रभाव देखिएका थिए। तर त्यसले ती आन्दोलनहरूको राष्ट्रिय चरित्र समाप्त गरेको थिएन। बाह्य प्रभाव निर्णायक तब मात्र बन्छ, जब आन्तरिक कमजोरीले त्यसका लागि अनुकूल भूमि तयार पार्छ।
जेनजी आन्दोलनभित्र पनि केही बाह्य राजनीतिक, सांस्कृतिक वा डिजिटल प्रभाव देखिन सक्छन्। तर त्यसकै आधारमा यसको मूल चरित्रलाई विदेशी शक्तिद्वारा निर्देशित ठहर गर्न मिल्दैन। मार्क्सवादी दृष्टिकोणबाट हेर्दा कुनै पनि राष्ट्रिय आन्दोलनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पक्षबीचको द्वन्द्वात्मक सम्बन्धको समग्रतामा बुझेर मात्र सही मूल्यांकन गर्न सकिन्छ।
जेनजी आन्दोलनले एउटा महत्वपूर्ण ऐतिहासिक सत्यलाई पुनः उजागर गरेको छ — जब क्रान्तिकारी तथा परिवर्तनकारी शक्तिहरू जनताका आकांक्षा, समस्या र असन्तुष्टि सम्बोधन गर्न असफल हुन्छन्, तब त्यो राजनीतिक रिक्तता सुधारवादी वा विभिन्न रूपरङका 'वैकल्पिक' शक्तिहरूले भरिदिन्छन्।
त्यसैले मूल प्रश्न आन्दोलनलाई विदेशी शक्तिको प्रायोजनको संज्ञा दिएर आफ्नै नेतृत्वको कमजोरी, वैचारिक जडता र कार्यगत असक्षमता लुकाउने होइन र वास्तविक प्रश्न, यस आन्दोलनले अभिव्यक्त गरेको जनअसन्तुष्टि, परिवर्तनको चाहना र नयाँ पुस्ताको चेतनालाई कुन राजनीतिक शक्तिले, कुन वैचारिक दृष्टिकोणका आधारमा, र कस्तो कार्यक्रममार्फत प्रगतिशील दिशामा रूपान्तरण गर्न सक्छ भन्ने हो।
यसका लागि विज्ञान, प्रविधि तथा सूचना–सञ्चारको अभूतपूर्व विकासले सिर्जना गरेका नयाँ सम्भावना र चुनौती सही रूपमा उपयोग तथा सामना गर्दै समाजवादी शक्ति र नेतृत्वले जेनजी युवालाई आकर्षित गरेर समय छँदै अर्थात् ढिलो नगरी उनीहरूको हातमा पार्टी र आन्दोलनको बागडोर पुर्याउन सक्नुपर्छ। बाँकी पुराना नेताहरूको सफलता यसैमा अन्तर्निहित छ। आत्तिएर अनावश्यक हतारो गरेर गैरजिम्मेवार हुन भने मिल्दैन।
नेपालको राजनीतिक भविष्य अन्ततः यही प्रश्नको उत्तरले निर्धारण गर्नेछ, जुन शक्तिले जनताको बदलिँदो चेतना, आकांक्षा र युगीन आवश्यकतालाई सही ढंगले आत्मसात गर्दै रूपान्तरणको विश्वसनीय मार्ग प्रस्तुत गर्न सक्षम हुन्छ, आगामी राजनीतिक नेतृत्वको केन्द्र पनि त्यही शक्ति बन्नेछ।
यदि वाम आन्दोलनको गम्भीर आत्मसमीक्षा गर्दै वैचारिक पुनर्निर्माण र इमानदार क्रान्तिकारी शक्तिहरूको नयाँ ध्रुवीकरणमार्फत जनताको बदलिँदो चेतनासँग पुनः सम्बन्ध स्थापित गर्न सक्यो भने नेपालको राजनीतिक भविष्यमा वामपन्थी शक्ति र नेतृत्व मुख्यतः युवा नेतृत्व पुनः स्थापित हुन सक्छ।
नेतृत्व क्षमता व्यवहारतः देखाउन सक्नेलाई 'डिफ्याक्टो' रूपमा पुराना प्रमुख नेताहरूको उपादेयिता सकिएसँगै राजनीतिक मैदान खाली भएको छ। यो अवसरको सदुपयोग गरौं। अन्यथा इतिहासले सिर्जना गरेको रिक्तता विभिन्न रूपरङका सुधारवादी वा पश्चगामी शक्तिहरूले भरिरहनेछन्।
अन्ततः जेनजी आन्दोलन आफै अन्तिम गन्तव्य होइन; यो वर्तमान राजनीतिक संकटको एउटा लक्षण र नयाँ राजनीतिक पुनर्संरचनाको संकेत हो। राजनीतिमा प्रकृतिले झैं शून्य स्वीकार गर्दैन; एउटा शक्ति कमजोर हुँदा अर्को शक्ति त्यसको स्थान लिन अगाडि आउँछ।
इतिहासले अवसर र चुनौती दुवै सँगै प्रस्तुत गर्छ; त्यसलाई कसरी उपयोग गरिन्छ भन्ने कुराले नै भविष्यको दिशा निर्धारण गर्छ।
प्रश्न केवल यति हो — त्यो अवसरको सदुपयोग क्रान्तिकारी शक्तिले गर्छ कि यथास्थितिवादी र पश्चगामी शक्तिले?