बुधबार बिहान करिब ९ बजे म सधैंझैं आफ्नो नियमित काममै व्यस्त थिएँ। भोलिपल्ट बिहीबार मेरो पत्रिका 'त्रिशूली प्रवाह साप्ताहिक' छाप्नुपर्ने भएकाले काठमाडौंबाट पत्रिका निकाल्ने अन्तिम तयारी गर्दै थिएँ।
यो पत्रिका निरन्तर २७ वर्षदेखि प्रकाशन भइरहेको छ।
त्यही बेला रसुवाका पुराना पत्रकार एवं हाम्रा संवाददाता ज्ञानेन्द्रनाथ न्यौपानेको फोन आयो।
उहाँको स्वर अत्तालिएको स्पस्ट आभास हुन्थ्यो।
उहाँले भन्नुभयो, 'सम्पादकजी, लौ यसपालि ठूलो बाढी आयो! धुन्चे डगमगाउने गरी माथि डाँडाबाटै खोला उर्लिएर तलतिर बढेको छ। हेर्दाखेरि यो बाढी विदुरसम्मै पुग्ने देखिन्छ। तुरून्तै त्रिशूली किनारका मान्छे र स्कुलहरूलाई खबर गरिहाल्नुस्!'
ज्ञानेन्द्रजी मेरो लामो समयदेखिको विश्वासिलो साथी हुनुहुन्थ्यो। फोन राख्नासाथ जिल्ला प्रशासन कार्यालय अगाडिका एक साथीले पनि प्रमुख जिल्ला अधिकारी (सिडिओ) कार्यालयमा त्यस्तै आपतकालीन खबर आएको पुष्टि गरेपछि मैले स्थिति गम्भीर भएको बुझेँ।
त्यसपछि मेरो ध्यान लगत्तै त्रिशूली खोलापारिको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय र क्याम्पसतर्फ गयो। २००७ सालमा स्थापित जिल्लाकै त्यो पुरानो स्कुलमा बिहानी र दिउँसो गरी झन्डै १४–१५ सय विद्यार्थी पढ्छन्।
बिहानको समयमा कोचिङ र नियमित कक्षा चल्ने भएकाले त्यहाँ सयौं बालबालिका थिए।
मैले तुरून्तै प्रिन्सिपल राजेन्द्र दवाडीलाई फोन लगाएँ, सम्पर्क हुनै सकेन।
लगत्तै विदुर वडा नम्बर १ का अध्यक्ष लेनिन रञ्जितलाई फोन गरेर भनेँ, 'भाइ, यसपालि सामान्य अवस्था छैन! बाढी धुन्चे कटिसक्यो, ३०–४० फिट माथिबाट उर्लिएर आएको छ। समय छैन, तुरून्तै स्कुल र बजार खाली गराऊ!'
त्यसपछि मैले त्रिशूली पुलकै छेउमा घर भएका बस व्यवसायी समितिका अध्यक्ष कुलबहादुर खड्गीलाई फोन गरेर बजारतिर यो खबर गरिदिन आग्रह गरेँ।
मैले फोन संवाद सकाएको १५–२० मिनेट पनि भएको थिएन, बेत्रावतीबाट अर्का साथीको फोन आयो, 'दाइ, बेत्रावती त बाढीले लगिसक्यो, तपाईंहरू पनि भाग्नुस्, अरूलाई पनि भन्दिनुस्!'
बाढीको गति एकदमै तीव्र थियो। बेत्रावतीबाट त्रिशूली बजार आइपुग्न १५ मिनेट पनि लागेन। हाम्रै आँखैअगाडि त्रिशूलीका दुई वटा पुल, पावरहाउस र सिंगो त्रिशूली बजार बगरमा परिणत भयो।
९ बजे खबर पाएको, पौने १० बजेभित्र त सबै दृश्य बदलिसकेको थियो।
मानिसहरू छतछतमा उक्लिएर बचाउन गुहार मागिरहेका थिए। बिजुलीका पोल ढले, टेलिफोन नेटवर्क काटियो र सदरमुकाम अन्धकारमय बन्यो। दिउँसो १२, साढे १२ बजेतिर काठमाडौंबाट सेनाको हेलिकप्टर आइपुगेपछि छतमा अड्किएका मानिसहरूको उद्धार सुरू भयो।
पहिलो दिन त्रिशूली बजारका घरका छतमा बसेका २५–३० जना र तुप्से (विदुर–७) का छतमा अड्किएका ४० जना जतिको जीवितै उद्धार भयो।

दोस्रो दिनको भयावह दृश्य र त्यो रूवाबासी
बाढीको दोस्रो दिन बिहीबार बिहान साढे ६ बजे मेरा साथी एवं धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना मेरो घर आइपुग्नुभयो। उहाँको बहिनीसहित धादिङबाट गोसाइँकुण्ड हिँडेको ३० जनाको टोली बेत्रावतीको भोटे कामी भन्ने ठाउँमा खाना खान बसेका बेला बाढीले बगाएर बेपत्ता बनाएको रहेछ।
सडक ध्वस्त भएकाले विदुरबाट ढुंगे जाने मुख्य बाटो बन्द थियो।
मैले गाउँको कच्ची वैकल्पिक बाटो सम्झेँ— नुवाकोट दरबार, सूर्यगढी, कुवापानी हुँदै अफरोडबाट हामी बाढी प्रभावित क्षेत्र बेत्रावती नजिकै पुग्यौं। प्रभावित क्षेत्रमा पुग्ने पहिलो टोली हाम्रै थियो।
त्यहाँ पुग्दाको दृश्य वर्णन गरिसाध्य थिएन। त्रिशूलीमा मिसिने फलाकु खोलाको पुल एक किलोमिटर माथिसम्म लछारिएर बगेको थियो। हरेक वर्ष माघे संक्रान्तिमा ५००–१००० रोपनी फाँटमा गोरू जुधाउने बेत्रावतीको चर्चित हरियाली फाँट, बजार र दुवै पुल पूर्ण रूपमा सोत्तर भइसकेका थिए। फलाकुपारिको सोले गाउँ, तुप्से र भैंसे बजारको अस्तित्व नै मेटिएको थियो।
बेत्रावतीको पुरानो सडकछेउमा जोगिएका दुइटा घरका छतमा दुई वटा शव थिए।
गाउँलेले रोक्दै भने, 'दाइ, यी दुई जना हिजो बेलुकासम्म बचाऊ–बचाऊ भनेर कराइरहेका थिए, राति बितेछन्।'
त्यो सुन्दा मुटु फुटेर आयो। नीलकण्ठका मेयरसाहेबहरूले आफ्ना मान्छे हुन् कि भनेर जोखिम मोलेरै हिलो र लेदोमा टेकेर शव हेर्नुभयो। मृतकहरू मंगोलियन समुदायका अनुहारका थिए।
फर्किने क्रममा अलपत्र परेका स्थानीयहरूले हाम्रो गाडी रोकेर रूँदै भने, 'दाइ, हाम्रा बिरामी र बालबच्चा छन्। औषधि बगायो। हामीलाई जसरी भए पनि उद्धार गरिदिनुस्!'
आफ्नै गाउँ–ठाउँ बगेको दृश्य र नागरिकको त्यो क्रन्दन देख्दा म आफूलाई रोक्नै सकिनँ। उहाँहरूसँगै रोएँ।
गाडीमा ७ जनाको सिटमा दुई जना बिरामी बच्चा र उनीहरूका आमालाई राखेर सूर्यगढी गाउँपालिकाको हेल्थपोस्टमा बुझायौं। बाँकीलाई गाडी पठाइदिने आश्वासन दिएर हामी विदुर फर्क्यौं। लगत्तै सशस्त्र प्रहरीको टोली पठाएर अन्य मानिसहरूको पनि उद्धार गरियो।
बाढीले मेरो आफ्नो जन्मघर रहेको विदुर वडा नम्बर ७ तुप्से (खोलापारि) का खेत र जग्गाजमिन सबै बगाएको छ। भाइको पसल र घरहरू पारिपट्टि थिए, ती सबै प्रभावित भए। म हाल बस्दै आएको क्षेत्र (विदुर वडा नम्बर १) अलि माथिल्लो उचाइमा भएकाले घर र पसल सुरक्षित रहे पनि मेरो पुरानो घरपट्टिको सम्पत्ति सखाप भयो।
अहिले विदुरको काठमाडौंतर्फको भाग (दक्षिण–पूर्वी किनार) मा १० वटा राहत सेल्टर बनाइएका छन्। खोलापारि उत्तर–पश्चिम जान अझै पनि गाह्रो छ, केवल हेलिकप्टर वा धादिङबेँसी–गल्छीको घुमाउरो बाटो भएर साना गाडी मुस्किलले पुगिरहेका छन्।

सुरूका दुई–तीन दिन सरकारी निकायहरू निकै अलमलिए। कुन ठाउँबाट कसरी काम सुरू गर्ने भन्ने योजना नै बन्न सकेन। यद्यपि पछि अन्तर्राष्ट्रिय र राष्ट्रिय दबाब बढेपछि उद्धार कार्यले तीव्र गति लियो।
नुवाकोट र रसुवामा गरी ८–९ वटा हेलिकप्टरहरू उद्धारमा खटिए। जलविद्युत आयोजनाका सुरूङमा फसेका मजदुरहरू, मानसरोवर जाने भारतीय तीर्थयात्री र स्थानीय गरी एक हजारभन्दा बढी मानिसको उद्धार भइसकेको छ। उद्धार गरिएकामा नेपालीपछि ठूलो संख्या भारतीय नागरिकको छ, किनकि हाइड्रोपावरका ठेकेदार र कामदारहरू भारतीय नै बढी थिए।
राहतको काम पनि ढिलै गरी भए पनि केही सहज हुन थालेको छ। सुरूमा चाउचाउ, चिउरा र पानीबाहेक केही थिएन। पछि पकाउने खानेकुरा र ओढ्ने–ओछ्याउने सामग्री पुग्न थालेको छ।
तर संकटका बेला यहाँ देखा परेको मुख्य कमजोरी भनेको अनावश्यक 'भिआइपी' को भीड र समन्वय अभाव हो।
विपदका बेला ठूला नेता र प्रशासकहरूले काठमाडौं वा माथिबाटै कमान्ड र निर्देशन दिनुपर्नेमा फिल्डमै उनीहरूको लाम लाग्यो। प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री, मन्त्रीहरू, सांसदहरू, सुरक्षा निकायका प्रमुखहरू, युट्युबर र मिडियाको घुइँचो लाग्यो।
स्थानीय प्रशासक र सुरक्षाकर्मीहरू उद्धार र राहत छाडेर भिआइपीहरूलाई ब्रिफिङ गर्न र डुलाउनमै व्यस्त हुनुपर्यो। यसले उद्धार कार्यमा ठूलो बाधा पुर्यायो भन्ने मलाई लागेको छ।
यस पटक विपदमा सामाजिक सञ्जालले भूमिका खेल्यो। रसुवा, धुन्चेदेखि बाढीको भिडिओ र सूचना भाइरल भएपछि त्रिशूली, बेत्रावती र गल्छीसम्मका मानिसहरू समयमै सतर्क हुन पाए।
तर यसको नकारात्मक पक्ष पनि देखियो। मानिसहरूले संवेदनशील दृश्य, शवका फोटोहरू सिधै पोस्ट गरिदिए। पीडितहरूसँग अतिरञ्जित तरिकाले 'कसरी बग्नुभयो, कसरी जोगिनुभयो' भन्दै अन्तर्वार्ता लिएर उनीहरूको घाउमा नुनचुक छर्किने काम भयो।
१६–१८ घन्टा छतमा बसेर ज्यान जोगाएका मानिसहरूको मानसिक आघातलाई नबुझी अनावश्यक प्रश्न सोध्ने र भ्युज कमाउने धन्दाले पीडितलाई थप पीडा दियो।
साथै, आधा घन्टाअघि नै सूचना पाउँदापाउँदै पनि कतिपय मानिसहरूले पोहोर पनि यस्तै भनेका थिए भन्दै लापरबाही गरे। बाढी आउँदाआउँदै पुलमा बसेर भिडिओ खिच्ने र हेलचेक्र्याइँ गर्ने प्रवृत्तिले गर्दा पनि यसपालि धेरै मानिसहरू फसे।
अहिले सडक विभागले ठूला एस्काभेटर ल्याएर विदुर–बेत्रावती खण्डको बाटो खोल्ने प्रयास गरिरहेको छ। सशस्त्र प्रहरी र सेनाले बजार र बगरमा पुरिएका शवहरूको खोजी र व्यवस्थापन तीव्र पारेका छन्।
त्रिशूली किनारका बस्तीहरू फेरि उठ्न समय लाग्नेछ।
तर यो विपदले हामीलाई तीन वटा मुख्य पाठ सिकाएको छ— विपदको पूर्वसूचना कहिल्यै हल्का रूपमा नलिनू। संकटका बेला भिआइपी संस्कृतिभन्दा 'कमान्ड सिस्टम' लागू गर्नू। र, मिडिया वा प्रविधिको प्रयोग गर्दा मानवीय संवेदनाको सधैं ख्याल गर्नू।
अहिले सदरमुकाममै खाद्यान्न र खानेपानीको अभाव सुरू भइसकेको छ। खासगरी खाद्यान्न यहीँ किनेर यतै बाँड्ने गरेपछि स्टक सकिँदै गएको हो। त्रिशूलीपारि त पूरै हाहाकारकै अवस्था छ। त्यहाँबाट सम्पर्कमा आउनेहरूले सुनाएको कुरा यही हो।
यही मौका छोपेर चोरी गर्नेहरू पनि सक्रिय देखिए। आइतबार मात्रै बट्टारमा एक वृद्ध दम्पतीले लगाएको सुन चोरी भयो। यसमा पनि राज्यले विशेष ध्यान पुर्याउनुपर्ने आवश्यकता देखिएको छ।
(त्रिशूली प्रवाह साप्ताहिकका सम्पादक शरण उत्सुकसँग सेतोपाटीका राजु अधिकारीले गरेको कुराकानीमा आधारित।)