उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले भन्सार कार्यालयहरूमा रहेका क्वारेन्टाइनको क्षमता वृद्धि नगरी विषादी परीक्षण अनिवार्य गरिनु आफ्नो कमजोरी भएको बताएका छन्।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले पुरै विषयवस्तुको जानकारी नदिई सचिवहरूले सल्लाह दिँदा आफू चुकेको बताए।
चारजना सचिवहरूको गलत सुझावका कारण अपरिपक्व निर्णय हुन पुगेको भन्दै उनले माफी समेत मागेका छन्।
‘यो निर्णय हुँदा भन्सार कार्यालयहरूमा रहेका क्वारेन्टाइनको क्षमताबारे मलाई कुनै पनि जानकारी दिइएन, सचिवहरूले आफूखुसी काम गरे, निर्णय क्रममा मलाई गुमराहमा राखे,’ उनले भने, ‘अहिलेलाई गल्ती भयो यसका लागि माफी चाहन्छु, तर यसको मतलब जनतालाई विष खुवाउनु पर्छ भनेको होइन।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कृषि र आफ्नो मन्त्रालयका सचिवहरूले आफूलाई गलत निर्णय लिन उक्साएको उनको अरोप छ।
तीन वटै मन्त्रालयको गडबढीले विषादी परीक्षण कार्य प्रभावकारी हुन नसकेको उनी बताउँछन्। ‘ए टु जेट फाइल मैले नै मिलाउन पर्छ भन्ने होइन नि। त्यो सचिबहरूले मिलाउन पर्थ्यो। गर्न सकिन्छ कि सकिँदैन, हाम्रो क्षमताले भ्याउँछ कि भ्याउँदैन, त्यो सचिवले भन्नुपर्थ्यो’, उनले भने, ‘तीन वटै निकायको सचिवको गल्ति छ। निर्णय लिँदा मन्त्री ज्यु यो हाम्रो क्षमताले भ्याउँदैन भन्न पर्थ्यो कि पर्दैनथ्यो।’
सरकारले असार पहिलो साता भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षणपछि मात्र नेपाल आउने व्यवस्था लागू गरेको थियो। तर पर्याप्त तयारी नपुगेको भन्दै यो हाललाई विषादी परीक्षण रोकिएको छ।
यसबीचमा भारतको चासो र दबाबका कारण सरकार विषादी परीक्षणबाट पछि हटेको भन्दै सार्वजनिकरुपमा आलोचना भइरहेको छ।
मन्त्री यादवले भने यसमा कसैको दबाबभन्दा पनि पर्याप्त पूर्वाधारबिनाको कडाइले बजार सन्तुलन बिग्रन गई महंगी बढ्ने भएकाले पछिल्लो निर्णय लिइएको बताउछन्।
‘अहिले पनि हामीले विषादी जाँच नगर्ने भनेर निर्णय लिएका होइनौं, खाली अनिवार्य नहुनेमात्र भनिएको हो, चेकजाँजको क्षमता थाहा नपाउनु मेरो कमजोरी थियो अब क्षमता बढाएर फेरि बाध्यकारी गरिनेछ,’ यादवले भने।
यो पनि:
विषादी जाँच्दा आफैं नाकाबन्दी लगाएजस्तो भयो: मन्त्री यादव (भिडिओ)