जगदुल्ला हाइड्रोपावर ठेक्कामा भएको अनियमितताबारे छानबिन गर्न लेखा समितिमा माग गरिएको छ।
डोल्पाका लाप्पा शेर्पाले राष्ट्रिय महत्वको आयोजनामा अनियमितता भएको भनी दिएको उजुरीका आधारमा आजको लेखा समितिमा भएको छलफलमा माओवादी सांसद अमनलाल मोदीले कुनै पनि आयोजना ठेक्का प्रक्रियामा जाँदा मापदण्डमा रहेर गर्नुपर्नेमा सुरूबाटै अनियमितता भएको बताए।
उनले खरिद नियमावली अनुसार जोडिएका विषयहरूमाथि खेलवाड गरिनुले गम्भीर प्रश्न उठेको छ।
उनले यसबारे लेखा समितिले छानबिन गर्नुपर्ने बताए।
उनले भने, ‘कुनै पनि ठेक्का लगाउँदा मपदण्ड हुन्छ। मापदण्डमा चार वटा कम्पनी राखिएको थियो। चार वटामा २ वटालाई पहिल्यै फालिए। उनीहरूको मापदण्ड पुगेन। दुई वटा कम्पनी छानिएको मध्येमा सिनो हाइड्रोपावरकै डकुमेण्ट ज्ववाइन्ट कम्पनी जुन छ , जेसीई–एएनके, ऐनके भन्ने जुन छ, उनीहरूले लिएर कपि पेस्ट गरेर राखेका रहेछन्। ती डकुमेन्टहरू गुगलमा राखेर चेक गर्नुपर्छ। उनीहरूले पेस गरेको विवरण गुगलमा मैले राखेर चेक गर्दा कुनै पनि हाइड्रोपावर बनाएको देखिन्न। गाउँ छ, सहर छ, त्यो लोकेसनमा कुनै हाइड्रोपावर देखिन्न। त्यहाँ कुनै कम्पनी पनि छैन।’
उनले अगाडि भने, ‘अर्काको कम्पनी लिएर, अर्काले काम गरेको सर्टिफिकेट लिएर, त्यही मोडलमा एकैपटक हालिएको छ। त्यसैलाई जगदुल्ला कम्पनीले त्यहाँको मूल्यांकन समितिले त्यसैलाई सदर गरेको रहेछ। यो गम्भीर कुरा हो।’
नेपाली कांग्रेस सांसद राजन केसीले झुटो जालसाझी गरेर गरेर ठेक्का हत्याउन खोजेकोबारे अनुसन्धान हुनुपर्ने बताए।
उनले यसबारे समितिले विस्तृतमा छलफल चलाउन समेत माग गरे।
उनले भने, ‘नक्कली डकुमेण्टका बारेमा प्रश्न उठेको छ। सम्बन्धित निकायसँग कागजात मगाएर अनुसन्धान गरौं। त्यतिञ्जेल केही काम अघि नबढान निर्देशन दिनुपर्छ।’
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले ठेक्कामा प्रयोग गरिएका कागजातहरूबारे प्राविधिकहरूलाई राखेर छानबिन गरिनुपर्ने बताए। उनले दुवैतिर ख्याल गरेर छानबिन हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘हामी खासै कुरा बुझ्दैनौं। टेक्निकल मान्छे राखेर डकुमेण्ट चेक गराउनुपर्छ। अहिले ठेक्का आफूले नपाएपछि जालझेल गरेर रोक्ने ट्रेन पनि छ, हामीले ख्याल गर्नुपर्छ।’
केही समयअघि जगदुल्ला हाइड्रोपावरको ठेक्कामा झूटो कागजात बनाएको आरोपमा दुई वटा उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेसीई–एएनके जेभीमाथि छानबिन थालेको थियो।
लेखा समितिमा उजुरीकर्ताले डोल्पा जगदुल्लाको १०६ मेगावाटको आयोजनामा चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पाेरेसन लिमिटेड (जेसीई) र नेपाली कम्पनी एएनकेले फर्जी अनुभवको कागजात देखाई ठेक्का प्रक्रियामा सहभागी भएको उजुरीकर्ताले आरोप लगाएका छन्। —न्युज एजेन्सी नेपाल