'नरसिंहा' फिल्ममार्फत् आठ वर्षपछि सिनेमाको पर्दामा फर्किएका अभिनेता राजेश हमालले यसपालि प्रचारप्रसारमा कुनै कसर बाँकी राखेनन्।
उनी विगतको तुलनामा सुरूदेखि नै फिल्मको प्रचारप्रसारमा प्रत्यक्ष संलग्न रहे र देशभरिका सिनेमा हलमा गएर दर्शकहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गरे।
नेपाली दर्शकबाट 'महानायक' भनेर माया र सम्मान पाउँदै आएका राजेश आफ्नो पछिल्लो फिल्मको प्रचारप्रसार निम्ति हलहरूमा गएर दर्शकसँगै नाचे र आफ्ना चर्चित संवादहरू सुनाए। उनले दर्शकसँग हात मिलाए, तस्बिर र भिडिओ खिचाए। फिल्मबारे कुराकानीमा पनि पहिलेभन्दा धेरै नै सामेल भए।
फिल्म रिलिजलगत्तै उनी काठमाडौंका दर्शक भेट्न हलहरूमा व्यस्त भएका थिए। त्यस क्रममा बालाजुस्थित हजार सिट क्षमताको अष्टनारायण हल पुग्दा दर्शकले ताली र सिठ्ठी बजाएर उनको न्यानो स्वागत गरे। त्यहाँ उनीसँग भेट्न, हात मिलाउन, कुरा गर्न र तस्बिर खिचाउन दर्शकबीच तँछाडमछाड नै चल्यो।
यसबाहेक वान सिनेमाज्, राइजिङ मलस्थित क्युएफएक्स लगायत हलमा पनि उनले दर्शकसँग साक्षात्कार गरे।
फिल्म रिलिजकै सन्दर्भ पारेर राजेश काठमाडौंबाट पूर्वदेखि पश्चिम नेपालका सबै मुख्य बजारहरू पुगेका थिए। उनी पूर्वको बिर्तामोड, दमक, धरान, इटहरी र विराटनगरका हलमा गए भने पश्चिममा धनगढी, नेपालगन्ज र दाङको हल गएर दर्शकसँग भेटघाट गरे।
एक साता अवधिमा पूर्वदेखि पश्चिमसम्म घुमेर फर्किएका राजेश गत मंगलबार पोखरा पुगेका थिए। त्यहाँ उनी सिनेमा हलमा त गए नै, सँगसँगै धार्मिक कार्यक्रममा पुगेर आध्यात्मदेखि मनोरञ्जनका कुरा पनि गर्न भ्याए। उनी पोखराबाट बुधबार बेलुकी काठमाडौं फर्किएका छन्।
राजेशले फिल्मको प्रचारप्रसारमा दिएको समयलाई लिएर निर्माण पक्ष उत्साहित छ। 'नरसिंहा' का निर्देशक दिवाकर भट्टराई फिल्म रिलिजको समयदेखि नै राजेशबाट अपेक्षा गरेभन्दा बढी साथ पाएको बताउँछन्।
'हलमा आफ्नो फिल्म लागुञ्जेल दर्शकसँग साक्षात्कार गर्नु कलाकारको धर्म हो। उहाँ (राजेश) को साथ र सहयोगले हामी नयाँ टिमलाई धेरै प्रेरणा भयो,' उनले भने, 'हामीलाई उहाँको साथ पाउँछौं भन्ने त थाहा थियो, तर यति धेरै अपेक्षा गरेका थिएनौं।'
राजेश हमालको यो 'कमब्याक' फिल्म हेर्न कति दर्शक आए र फिल्मले कति व्यापार गर्यो; त्यसको हिसाबकिताब निर्माण टिमले सार्वजनिक गर्ला। तर फिल्म रिलिजको मेसो पारेर राजेश जहाँ–जहाँ पुगे, त्यहाँ उनलाई हेर्न दर्शकको मेला नै लाग्यो भन्दा फरक पर्दैन।
मोफसल टुरमा सँगै रहेकाहरू राजेशलाई अधिकांश ठाउँमा दर्शकले न्यानो स्वागत गरेको बताउँछन्। बच्चादेखि वृद्धसम्मका दर्शकले राजेशलाई भरपुर माया देखाएको उनीहरूको भनाइ छ।
'नरसिंहा' का काठमाडौं वितरक करण श्रेष्ठ अन्य कलाकार र राजेश हमाल हलमा पुग्दा आफूले धेरै फरक माहोल देखेको अनुभव सुनाउँछन्।
'मैले आजसम्म धेरै फिल्म वितरण गरेँ। धेरै कलाकारसँग हल भ्रमणमा गएँ। कलाकार हलमा जाँदा दर्शकले माया देखाउनुहुन्छ। फोटो खिच्नेहरूको भीड लाग्छ। यसपटक राजेश हमालसँग फोटो खिचाउनेको भीड त थियो नै, उहाँलाई छुन मात्र खोज्ने बालकदेखि वृद्धसम्मका दर्शक पनि कयौं देखेँ,' उनले भने।
त्यसो त राजेश हमाल फिल्ममा सक्रिय हुँदा र अहिलेको माहोल धेरै परिवर्तन भइसकेको छ। त्यस बेलाका धेरै सिंगल हल बन्द भइसके। कति मल्टिप्लेक्समा रूपान्तरित भएका छन्। देशभर मल्टिप्लेक्स हलको विस्तार भएको छ। त्यसमाथि राजेश फिल्ममा सक्रिय हुँदा दर्शकको हात–हातमा मोबाइल थिएन। दर्शकलाई कलाकारहरूको एक झलक पाउनै मुश्किल पर्थ्यो। अहिलेजस्तो प्रचारप्रसार गर्नुपर्ने अवस्था पनि थिएन। व्यस्तताको समय राजेशलाई अहिलेजस्तो हल–हलमा गएर प्रचार गर्ने फुर्सद पनि हुँदैनथ्यो।
यसपालि हलमा जाँदा राजेश आफैले पनि फरक अनुभूति गरेको बताएका छन्।
हल भ्रमणकै क्रममा उनले सञ्चारकर्मीसँग भनेका छन्, 'यसअघि हलमा गएर कहिल्यै मेरो फिल्म नहेरेका दर्शक पनि यो फिल्म हेर्न आउनुभएको छ। उहाँहरूले मेरा पुराना फिल्म युट्युबमा हेर्नुभएको छ र अन्तर्वार्ताहरूबाट मसँग परिचित हुनुहुन्छ। त्यस्ता दर्शक भेट्न पाउँदा मलाई धेरै खुसी लाग्यो।'

राजेश पहिले पनि दर्शकसँग साक्षात्कार गर्न सिनेमा हल जाने गरे पनि एउटै फिल्मलाई यति लामो समय दिएको पहिलोपटक हो।
हामीले राजेश अभिनीत 'कुरूक्षेत्र', 'लवकुश', 'हामी ट्याक्सी ड्राइभर' लगायत फिल्मका निर्देशक ज्ञानेन्द्र देउजासँग पनि यसबारे कुरा गरेका थियौं। राजेश हल भ्रमणका लागि पूर्वदेखि पश्चिमसम्म पुगेको पहिलोपटक देखेको उनी बताउँछन्।
अहिले पनि निर्देशनमा सक्रिय देउजा त्यस बेला कलाकारको समय पाउनै गाह्रो हुने र अहिलेजस्तो प्रचारप्रसारको आवश्यक नपर्ने स्मरण गर्छन्।
'त्यो बेला व्यस्त कलाकारहरूको समय पाउनै गाह्रो थियो। राजेश हमालको समय पाउने त अवस्थै थिएन,' उनले भने, 'अहिलेजस्तो पब्लिसिटी पनि चाहिँदैनथ्यो। एकाध फिल्मी कार्यक्रममा बोलेको भरमा, गीतको रिलिज र पोस्टर टाँसेर माइकिङ गरेको भरमा पुग्थ्यो।'
उनले आफ्नो फिल्म रिलिज हुँदा राजेशलाई काठमाडौं बाहिरका हल लगेनन्। 'कुरूक्षेत्र' रिलिज हुँदा विश्वज्योती हलमा केही समय बोलाएको स्मरण गरे।
देउजाका अनुसार त्यस बेला फिल्म रिलिज हुँदा प्रायः कलाकार अर्को फिल्मको छायांकनमा व्यस्त हुन्थे। जहाँ छायांकन चलिरहेको छ, प्रायः त्यहीँ गएर सञ्चारकर्मीले अन्तर्वार्ता लिनुपर्ने अवस्था थियो। रेडियोका लागि पनि टेलिफोनमै कुराकानी हुन्थ्यो। हल नजिकै सुटिङ परेको छ भने कलाकारहरू समय मिलाएर आउँथे र दर्शकलाई हात हल्लाउँथे।
फिल्मले ५१ दिन वा सय दिन मनाएको अवसरमा भने कलाकारहरूलाई हल लैजाने चलन थियो। कलाकार आउने भनेपछि पर्खाल भत्काउने गरी दर्शकको भीड लाग्थ्यो। अहिले हल भ्रमणको चलन बढे पनि कलाकारहरूको क्रेज पहिलेजस्तो नभएको देउजा बताउँछन्।
राजेश हमालका सन्दर्भमा भने दर्शकको क्रेज अझ बढेको 'नरसिंहा' को अनुभवले देखाएको छ। यसले फिल्मकर्मीहरूलाई नै आश्चर्यमा पारेको छ।
कतिपयले राजेशको यो देशव्यापी भ्रमणलाई राजनीतिक महत्त्वाकांक्षासँग पनि जोडेर हेरेका छन्। २०८४ को चुनावलाई लक्ष्य गरेर दर्शकहरूमा आफ्नो छाप ताजा राख्न फिल्म प्रचारको बहानामा उनी हल–हल पुगेका हुन् कि भन्ने अड्कलबाजी पनि गरिएको छ।
यसबारे हामीले सेतोपाटी कन्भरसेसन कार्यक्रममा राजेश हमाललाई प्रश्न गरेका थियौं। हामीले सोधेका थियौं, 'तपाईंलाई राजनीतिमा आउने इच्छा–आकांक्षा के छ?'
जबाफमा उनले भने, 'अहिले यो बिन्दुमा चाहिँ सोच छैन। राजनीतिमा रूचि छ, इन्स्ट्रेस्ट राख्छु। नागरिकका हिसाबले राख्नु पनि पर्छ भन्ने लाग्छ। तर अहिले म कलाकारितामै केन्द्रित छु।'
'निकट भविष्यमा पनि सम्भावना छैन?'
उनले यसमा कूटनीतिक जबाफ दिए, 'आजको बिन्दुमा त्यसबारे सोचेको छैन। राजनीतिक निर्णय फेरि कस्तो हुँदो रहेछ भने, कसै–कसैले एक महिना अगाडि पनि गर्दिँदो रहेछ।'
तस्बिरहरूः सामाजिक सञ्जालबाट



