पठन अनुभव
लेख्ने कला भनेको 'गाइडेड टूर' होइन।
सच्चा लेखक कसरी लेख्छन् भन्दैनन्, वा भन्नु राम्रो मान्दैनन्। पाठक भने घोत्लिरहेको हुन्छ — किन त्यही शब्द प्रयोग हुन्छ कुनै खास प्रसंग वा अनुच्छेदमा? वा, लेखनमा कुनै खास प्रसंग किन आउँछ वा आउँदैन?
लेखकहरूको लेख्ने कलाको फेरो खोज्ने क्रममा जेठमासको एउटा शुक्रबार बोस्टनको 'जोन एफ केनेडी प्रेसिडेन्सियल पुस्तकालय' को 'हेमिंगवे कलेक्सन' शाखा पुगेको थिएँ।
चौथो तलामा लिफ्टबाट निस्कनेबित्तिकै दाहिनेतर्फको कोठामा लाइब्रेरियनले टेबल देखाइन्। मैले आज्ञाकारी बालकझैं उनलाई पछ्याएँ।
पाँच–छ जना अध्येता अघि नै आइसकेका रहेछन्। उनीहरू झन्डै सय वर्ष पुग्न लागेका अर्नेस्ट हेमिंगवेका 'ओरिजिनल' चिठी, लेख, कथा, उपन्यासको मस्यौदा ओल्टाइपल्टाइ एक–एक शब्द छाम्दै थिए, नोट टिप्दै थिए।
यो पुस्तकालयमा हेमिंगवेको जीवनभरिका व्यक्तिगत चिठी, फोटो, उनले लेखेका–पढेका किताब, लेख–रचनाका मस्यौदा गरी ९० प्रतिशतभन्दा बढी कपी संग्रहित छन्। त्यहाँ कुन सामग्री अध्ययन गर्न चाहेको हो पहिल्यै इमेलबाट पक्का गर्नुपर्छ। जाने दिन र बिताउन चाहेको समय पनि तोक्नुपर्छ। त्यतिले नपुगेर यस्ता पुराना सामग्री कसरी प्रयोग गर्नुपर्छ भन्ने अनलाइन तालिम पूरा गरेको प्रमाणपत्र पनि बुझाउनुपर्छ।
मैले यी सबै प्रक्रिया पूरा गरेपछि बल्ल टेबलमा आयो हरियो बक्स — हेमिंगवेको उपन्यास 'अ फेयरवेल टू आर्म्स' (A Farewell to Arms) र त्यो तयार पार्दा लेखकले गरेका लेखन अभ्यासका सामग्री।
किताब पढिरहँदा पाठक सोचिरहेको हुन्छ — लेखकले आफ्ना कथा र भन्नुपर्ने कुराहरूको कसरी सिलसिला मिलाउन सक्छ? कसरी विकास हुन्छ उसको लेखन शैली? लेखकले थाहा भएको कुरा मात्र कुरा लेख्छ कि काल्पनिक प्रसंग पनि थप्छ?
भाषा खिप्ने कला, शब्दको उपयोग, तथ्यहरूको भण्डार, तर्कहरूको गहिराइ र कल्पनाको भूगोल; यी सबैको तारतम्य कसरी मिलाउँछ?
धेरै लेखक आफ्नो लेखन प्रक्रिया र लेखन कलाबारे केही भन्दैनन्। यस्ता कुरा रहस्यको गर्भमै लुकेको मन पराउँछन्। जब लेखकको काम सकिन्छ, पाठकले उसको लेखन पढ्छ आनन्दका लागि, नयाँ जानकारीका लागि। पढ्दा जे भेट्छ; त्यो पाठकको हो, आलोचकको हो।
यो लेख हेमिंगवेलाई पढ्दाको मेरो अनुभूतिको संगालो हो।

सबैलाई आख्यान मन पर्छ भन्ने छैन। कोही आख्यान र गैरआख्यान दुवै बराबरी पढ्छन्। कोही आख्यान मात्र पढ्न रूचाउँछन्।
जसलाई पढ्न मन पर्छ, उसले लेखनको सतह मात्र पढ्दैन; लम्बाइ, चौडाइ र गहिराइ सबै छाम्छ।
अर्नेस्ट हेमिंगवेको लेखनमा बोलचालका सजिला शब्द र प्राय: छोटा वाक्य प्रयोग हुन्छन्। आफ्नै आँखाले देखेजस्तो लाग्ने गरी घटनाहरूको विवरण प्रस्तुत गरिएका हुन्छन्। पात्रहरूको संवाद यति सहज हुन्छ, कुनै पात्रको बोली त आफै बोलिरहे जस्तो लाग्छ। पढ्दै जाँदा कथा बुझ्दै छु जस्तो हुन्छ। जति पढ्दै गयो, कथाले केही अरू कुरा पनि भनिरहेको छ कि जस्तो खुल्दुली बढ्दै जान्छ। त्यही भएर पहिलो पढाइमै म फेबिकोलझैं टाँसिन्छु हेमिंगवेको आख्यानमा।
सुरूमै भनुँ — लेखक हेमिंगवे र हेमिंगवेका आख्यान बिल्कुल फरक हुन्।
लेखकका रूपमा हेमिंगवे मर्दपनाको पल्ला भारी भएका व्यक्ति हुन्। उनको जीवन 'वुमन र वाइन' ले भरिएको छ। उनका चार श्रीमती थिए। सिकार र माछा मार्न रूचाउँथे। गोरू जुधाइका सोखिन थिए। सायद सोभियत समाजवादीहरूप्रति सहानुभूति राख्थे। पहिलो विश्वयुद्ध र स्पेनी गृहयुद्धमा आफै सहभागी भएका थिए। दोस्रो विश्वयुद्धमा रिपोर्टिङ गर्ने पत्रकार पनि हुन् उनी। र, थोरै मानसिक समस्या भएका व्यक्ति पनि हुन्।
यिनै अनगिन्ती समस्याले हुनसक्छ, उनले आफ्नै हातको गोलीले आफैलाई सिध्याए।
६१ वर्षको उनको जीवन अद्भूत लाग्छ। अफ्रिकाको एउटा सिकार यात्रामा दुईचोटि हवाई दुर्घटनामा परेका उनले गहिरो चोट बोकेर बाँकी जीवन बिताए। त्यही चोटका कारण सन् १९५४ को नोबेल साहित्य पुरस्कार लिन स्टकहोम जान सकेनन्।
हेमिंगवेको जीवन रंगीन र 'इभेन्टफुल' थियो। तर उनको लेखन अर्कै स्वादले भरिएको छ। उनको आख्यानमा मृत्यु प्राय: केन्द्रमा हुन्छ। अनि लेखनको शैली भिन्न। बिल्कुल भिन्न!
व्याख्यात्मक र लामा लामा वाक्य लेखिने भिक्टोरियन शैलीको बोलबाला भएको त्यो बेला हेमिंगवेका सपाट, बोलचालको सरल र सिधा वाक्य बिल्कुल भिन्न थिए। सकेसम्म थोरै शब्दमा कथा भन्ने 'मितव्ययी लेखन' लाई हेमिंगवेले आफ्नो बनाए। कथा भन्न 'जति लेखिने हो, त्योभन्दा धेरै मेटाउने' भन्दै 'आइसबर्ग' शैली अपनाए। र, त्यही उनको लेखनको विशेषता बन्यो।
हाई स्कुल सक्नेबित्तिकै 'क्यान्सन सिटी स्टार' पत्रिकामा रिपोर्टरको काम गरेका हेमिंगवेका लेखन अखबारी रिपोर्टजस्तै सिधा, प्रस्ट र छोटा वाक्यका हुन्छन्। ठूल अर्थ दिने शब्दहरूको सट्टा दैनिक बोलचालका शब्द प्रयोग गर्छन्। कस्तो वा कुन शब्द भन्दा पनि ती शब्दमार्फत् कोरिने सचित्र वर्णन र त्यसले उत्पन्न गराउने गहिरो भावनात्मक तरंग महत्त्वपूर्ण हुन्छ।
हेमिंगवेको यो शैली जब चिनिन थाल्यो, पाठकहरू विभाजित भए। जो यस्तो 'मितव्ययी लेखन' मन पराउँथे, उनीहरू हेमिंगवेको नयाँ कथा वा अर्को किताब कहिले आउला भनेर कुरेर बस्थे। अरू चाहिँ घोर विरोधी भए। उनीहरू हेमिंगवेको सिधा र सपाट लेखनलाई हिउँदमा पात झरेको रूखजस्तो बेरसिलो भनी टिप्पणी गर्थे।
अल्पभाषी जस्तो लाग्ने, एउटा पनि अनावश्यक शब्द नराखिएको, सिँगो कथाबाट एउटै शब्द झिकिदिने हो भने कथा अकथा जस्तो बन्ने हेमिंगवेको आख्यानलाई लिएर केही लेखक त खिल्ली नै उडाउँथे। जे भन्नुपर्ने हो त्यो नै नभनी कथा सकिन्छ भनेर मजाक गर्थे। तर पाठकहरू, जसलाई यो तरिका मन पर्थ्यो, ती 'हेमिंगवे फ्यान' बन्थे।
हेमिंगवेले लेख्न थालेको सय वर्षपछि, आज पनि 'फ्रेन्ड्स अफ अर्नेस्ट हेमिंगवे कलेक्सन' का नाममा यो फ्यानफेयर सक्रिय छ। उनका प्रशंसकहरू 'हेमिंगवे इभेन्ट' का नाममा वर्षैभरि विभिन्न कार्यक्रम गरिरहन्छन्।
कवि रवर्ट फ्रस्टको भनाइ छ — भाषा जम्मा दुई खाले हुन्छ; एउटा बोलचालको, अर्को लेख्य। दैनन्दिन बोलिनेलाई आञ्चलिक (स्थानीय) भाषा भन्छौं; र अर्को परिस्कृत, साहित्यिक, सुन्दर लाग्ने बनावटी भाषा, जुन किताबमा प्रयोग हुन्छ।
म हेमिंगवेका आख्यान पहिलो कोटीमा देख्छु। बोलचालजस्तै सिधा र प्रस्ट। किताबी भाषा पढेजस्तो औपचारिक कत्ति पनि नलाग्ने।

हेमिंगवेको भनाइ थियो — जे भनिएको छैन, त्यसैले भन्छ झन् धेरै कथा।
उनको 'आइसबर्ग सिद्धान्त' को चुरो यही हो।
जसरी पानीको सतहमाथि देखिने आइसबर्गमा दसमध्ये नौ भाग पानीमुनि लुकेको हुन्छ, त्यस्तै हेमिंगवेका लेखन पनि पानीमुनि नदेखिएको नौ भागजस्तै लाग्छन्। जति खोतल्यो उति गहिरो! उही आख्यान तर प्रत्येक पढाइमा नयाँ अर्थ खुल्दै जाने!
हेमिंगवे भन्छन्, 'आठमा एक भाग मात्र लेख, बाँकी सात भाग गर्भमै लुक्न देऊ।' यहीँनेर अर्थपूर्ण बन्छ उनको शैली — लेख्ने भन्दा धेरै मेटाउने।
एउटा चर्चित कथा छ, हिल्स लाइक ह्वाइट एलिफेन्ट (Hills Like White Elephant) —
यो कथामा स्पेनको कुनै रेल्वे स्टेसनमा एक्सप्रेस रेल कुर्दै गरेको अमेरिकी जोडीको संवाद छ। कथा स्टेसन वरपरको वातावरण, अलि परको पहाड, रक्सी पसलको आडमा झुन्डिएको विज्ञापन; यस्तायस्तै चित्रणबाट सुरू हुन्छ।
बार्सिलोनाबाट म्याड्रिड जान रेल कुर्दा समय कटाउन उनीहरू बियर अर्डर गर्छन्। युवतीलाई जे कुरा पनि जाँड गनाएजस्तो लाग्छ। दुई जनाको कुराकानीमा केटो अपरेसनको प्रसंग निकाल्छ र भन्छ, 'तिमीलाई गाह्रो लाग्छ भने नगरे पनि हुन्छ।'
यति भन्दाभन्दै ऊ युवतीलाई मनाउन जोडबल पनि गर्छ।
युवती भन्छे, 'तिमी खुसी हुन्छौ भने जे पनि गरिहाल्छु।'
कुराकानीकै क्रममा रेल आइपुग्न लागेको वेटरले खबर दिन्छ। कथा सकिन्छ।
खासमा यो कथा अनिच्छित गर्भपतनको हो। त्यो बेला गर्भपतन अहिलेजस्तो सहज थिएन। वर्जित पनि थियो। तर यो कथामा गर्भपतन कतै भेटिन्न, गर्भावस्थामा केटीलाई कुनै खास कुराको गन्ध आउने र अपरेसनको प्रसंगबाहेक।
अर्को कथा छ, 'द सी चेन्ज' (The Sea Change) —
यो कथा पेरिसको कफी पसलमा एक दम्पतीबीच भएको कुराकानी हो। यसमा श्रीमती कुनै पात्रसँग जान चाहन्छे। श्रीमान खुब रिसाउँछ। आवेगमा भन्छ, 'त्यो आइमाईलाई म मार्दिन्छु।'
संवादले उसकी श्रीमती समलिंगी सम्बन्धमा छे भन्ने संकेत गर्छ। त्यो बेला वर्जित समलिंगी सम्बन्ध कथाभरि कतै उल्लेख छैन, श्रीमानले महिला सम्बोधन गरेको व्यक्तिसँग श्रीमतीले जान्छु भनेको बाहेक।
हेमिंगवेले यो कथाबारे 'पेरिस रिभ्यू' मा प्रकाशित 'कथाको कौशल' मा चर्चा गरेका छन्। उनी लेख्छन्, 'त्यो जोडीलाई मैले बारमा भेटेको हुँ। म उनीहरूबारे यति धेरै जानकार थिएँ, उनीहरूको खास घटनालाई मैले कथाबाट निकालिदिएँ। तर कथा त्यहीँ छ। बाहिरबाट हेर्दा देखिँदैन, तर त्यहीँ छ।'
मलाई हेमिंगवेका यस्तै कुरा बेजोड लाग्छन्। उनको लेखनमा पात्रहरू कम बोलिरहेका हुन्छन् वा बोलेकै हुँदैनन्। तर धेरै कुरा भनिरहेका हुन्छन्। अति कम हुन्छन शब्दहरू, तर अर्थ असीमित हुन्छन्। छोटो समय अवधिका हुन्छन् उनका कथा। सानो फ्रेममा ठूलो आकारको कथा भन्न उनी माहिर छन्।
यसैको एउटा उदाहरण हो 'फर हुम दी बेल टोल्स' (For Whom The Bell Tolls) उपन्यास।
दोस्रो विश्वयुद्धअघि स्पेनी गृहयुद्ध लडेको अनुभवमा लेखिएको यो उपन्यास जम्मा तीन रात र चार दिनको घटना हो। उपन्यासको मूल पात्र अमेरिकी योद्धा रवर्ट जोर्डनले एउटा पुल ध्वस्त पार्न गरेको तयारी र त्यस वरिपरि भएका गतिविधि नै उपन्यासको विषयवस्तु हो। समयका हिसाबले छोटो अवधि हो यो।
मैले हेमिंगवेका आख्यान पढ्दा भेटेको सत्य के हो भने, आख्यानबाट लेखकलाई थाहा भएका तथ्य र घटना हटाइदियो भने कथा दमदार बन्छ। खासमा आख्यान कति राम्रो बन्दैछ भन्ने परीक्षण सम्पादकले होइन, लेखकले कति सामग्री हटाउन सक्छ भन्नेमा भर पर्छ।
मैले आरआर क्याम्पसमा स्नातक पढ्दा हेमिंगवेको 'द ओल्ड म्यान एन्ड द सी' (The Old Man and the Sea) पढेको थिएँ। हेमिंगवेको लेखनसँग सुरूआतकालीन साक्षात्कार थियो त्यो। एक जना मछुवारको निरन्तर संघर्षभित्र जीवन बाँच्ने प्रेरणालाई मूल मन्त्रका रूपमा पढियो त्यो बेला। र, त्यतिमै सकियो परीक्षा पास गर्नुपर्ने त्यो बेलाको पठन।
तर उपन्यासको त्यो सार त सानो पाटो मात्र रहेछ। सन् १९५८ को 'पेरिस रिभ्यू' मा प्रकाशित अन्तर्वार्तामा हेमिंगवे भन्छन्, 'यो उपन्यास हजार पृष्ठभन्दा लामो हुन सक्थ्यो, यदि मैले सबै पात्र, मछुवारहरूको पूरै गाउँ, उनीहरू कसरी जीविकोपार्जन गर्छन् भनेर लेखेको भए। माछाको मैथुन चक्र थपेको भए त अझ के के हुन्थ्यो। मलाई थाहा छ, ह्वेलहरू कसरी रतिक्रिडामा सामेल हुन्छन्? अन्डा कति पार्छन्? भाले ह्वेल कति उत्तेजित बन्छन्? तर मैले ती सबै हटाइदिएँ। यस्ता कुरा अरू कसैले लेखिसकेका छन्, जुन आवश्यक हुन्न। मैले उपन्यासमा त्यति मात्र राखेँ, जसले पाठकलाई नयाँ कुरा जान्न सघाओस्।'
उनले यो लघु उपन्यास जीवनको उत्तरार्द्धतिर लेखेका हुन्। त्यति बेलासम्म लेखक हेमिंगवे थुप्रै उतारचढावबाट गुज्रिसकेका थिए।
लेखन यात्राको सुरू सुरूका उनका उपन्यास 'सन अल्सो राइजेज', 'फेयरवेल टु आर्म्स्' र त्यस बेलासम्म प्रकाशित केही कथा चर्चित थिए। त्यसपछिको अवधिमा प्रकाशित 'ग्रीन हिल्स अफ अफ्रिका' (Green Hills of Africa) वा 'डेथ एन दी आफ्टरनुन' (Death in the Afternoon) लगायतका किताबबाट लेखकीय सफलता हात लागेको थिएन।
त्यसबीच उनी स्पेनी गृहयुद्धमा लडाकू बने। दोस्रो विश्वयुद्धमा रिपोर्टर भए र आख्यान पनि लेखिरहे। तर सोचेजस्तो पाठक र चर्चा मिलिरहेको थिएन, जुन 'द ओल्ड म्यान एन्ड द सी' ले फर्काइदियो।
यो उपन्यास सबभन्दा पहिला सन् १९५२ मा 'लाइफ' म्यागजिनमा छापियो। 'रूपरेख' पत्रिकामा ध्रुवचन्द्र गौतमको पूरै उपन्यास 'अन्त्यपछि' छापिएजस्तो।

'लाइफ' म्यागजिनको त्यो विशेषांक निकै चल्यो। त्यसपछि मात्र हो पुस्तकाकारमा उपन्यास छापिएको।
यो किताबले छापिएकै वर्ष आख्यानमा पुलिट्जर पुरस्कार पायो। त्यसको दुई वर्षपछि त साहित्यमा नोबेल पुरस्कार नै हात पार्यो। अफ्रिकाको सिकारमा लगातार दुईचोटि हवाई दुर्घटनापछिको अस्वस्थताका कारण नोबेल पुरस्कार ग्रहण गर्न हेमिंगवे स्वीडेन जान सकेनन्।
'एउटा सत्य वाक्य,' उनी भन्थे, 'लेखकले गर्नुपर्ने एउटै काम सत्य वाक्य लेख्नु हो, थाहा पाएको सत्य वाक्य।'
सत्य कुरा सरल र सिधा हुन्छ, तर सबभन्दा कठिन। एउटा सत्य वाक्यले लेखकका सबै अवरोध हटाइदिन्छ। लेखकीय इमानदारी लेखकलाई नै जाँच्ने कसी हो। आख्यानमा जे हो, त्यसको सही चित्र उतार्नुपर्छ भन्ने मान्यता छ यसको अन्तर्यमा। आफूलाई थाहा भएको कुरा किफायती भएर लेख्नमा उनको जोडबल रहन्थ्यो। त्यसो गर्दा थोरैमा धेरै भन्न सकिन्छ। त्यसैले जति लेखेको हो, अझ धेरै काँटछाँट गर्दा पनि कथा त्यहीँ रहन्छ। झन् गहिरो बन्छ।
लेखक कथावाचक होइनन्, लेखक मात्र हुन्। कथा भनिँदैन, लेखिन्छ। 'कथा नभन, लेखेर देखाइदेऊ' — हेमिंगवेको यही शैलीले मलाई तानेको हो।
उनका कथा पढिरहँदा लेखकले कथा भनिरहेको हुन्न। स्रोता भएर सुनिरहेका पनि हुन्नौं हामी। पात्रहरूको बोली व्यवहारसँगै आरोह–अवरोहमा यात्रा गरिरहेका हुन्छौं। पात्रहरूको मनोभावमा डुबिरहेका हुन्छौं।
हामीलाई हेमिंगवेका पात्र तिलस्मी वा अलौकिक लाग्दैनन्। तपाईं, हामीजस्तै दैनिक व्यवहारमा भेटिने कुनै व्यक्तिजस्ता लाग्छन्। सामान्य मान्छेको दैनिक गुजारामा जुन उद्वेग, आकांक्षा, लोभ, प्रेम, अप्राप्ति हुन्छ; आख्यानमा पनि पात्रहरूका भावना, आवेग, मनोभाव कथासँगै बगेर आउँछन्। ती सबै मानवीय पक्षहरू पात्रहरूकै बोली र व्यवहारमा देखिन्छ। लेखकले कत्ति व्याख्या गर्दैनन्। खासमा हेमिंगवेका कथा कसैले भन्दैन। जे हो, त्यो देखिन्छ।
यही होइन त लेखकको सफलता — जे देखाउन खोजेको हो, पाठकले ठ्याक्कै त्यही देख्नु!
लेखकको पहिलो दायित्व नै भन्न खोजेको कुरा प्रस्टसँग लेख्नु हो। हेमिंगवेका आख्यान यस्तै लाग्छ — पारदर्शी आख्यान।
पहिलो विश्वयुद्धमा इटालीको सेरोफेरोमा एम्बुलेन्स चालक बनेका हेमिंगवेले त्यही पृष्ठभूमिमा लेखेको उपन्यास छ — अ फेयरवेल टू आर्म्स्। युद्ध बेला एक अमेरिकी एम्बुलेन्स चालक र घाइतेहरूको उपचारमा संलग्न ब्रिटिस नर्सबीच प्रेम हुन्छ। प्रेम प्राप्तिका लागि त्यो जोडीले गरेको संघर्षको कथा नै यो उपन्यास हो।
'त्यो वर्ष गर्मी यामको अन्त्यतिर हामी एउटा गाउँको घरमा बस्थ्यौं, जहाँबाट अलि पर नदी र त्यसको पारि समथर चउर अनि पहाड थियो। पानी मुनिको गेग्रान र ढुंगा घामको रापमा सुख्खा र सेतो देखिन्थ्यो…।'
उपन्यासको सुरूआत यस्तै चित्रमय छ। अन्त्यसम्म आख्यान कस्तो हुनेछ भन्ने संकेत होला! समीक्षकहरू पनि यस्तै भन्छन्, 'कुनै न कुनै संकेत लेखकले सुरूमै छाडेको हुन्छ आख्यानमा।'
उदाहरणका लागि —
लियो टोल्सटोयको उपन्यास 'अन्ना करिनिना' आफ्नो पहिलो वाक्यका कारण धेरै चर्चित छ। पहिलो वाक्यले भन्छ — प्रत्येक दु:खी परिवार आफ्नै तरिकाले दु:खी हुन्छ। (All happy families are alike; each unhappy family is unhappy in its own way)
यो वाक्यले संकेत गरेजस्तै उक्त उपन्यास टोल्सटोयकालीन रूसी समाजका केही कुलीन परिवारहरूको पारिवारिक अवरोहबाट गुज्रिन्छ।
त्यस्तै, हेमिंगवेको 'अ फेयरवेल टू आर्म्स्' पनि पहिलो वाक्यले संकेत गरेजस्तै हुन्छ। पहिलो विश्वयुद्धको पृष्ठभूमिमा युद्धको व्यर्थता र प्रेमको दु:खद क्षति उपन्यासको केन्द्रमा छ।
'केस जटिल छ,' यति भनेर नर्स (प्रेमी क्याथरिनको प्रसव अवधिका सहयोगी) कोठाभित्र पस्छे र ढोका लगाउँछे। हलको बाहिर छु म। केही सोच्न सक्दिनँ। मनभित्र एउटा सोच आउँछ, अब उनी बाँच्दिनन्।
म पुकार गर्छु, 'यस्तो नहोस्। उसलाई नमार। हे प्रभु, उसलाई मर्न नदेऊ। जे भन्छौ म मान्छु, उसलाई मर्न नदेऊ। बरू बच्चा लैजाऊ, उसलाई नलैजाऊ।'
एम्बुलेन्स चालक लेफ्टिनेन्ट फ्रेडरिक हेनरी आफ्नी प्रेमी क्याथरिन बर्क्लीलाई गुमाउँछ, प्रसवको क्षणमा।
उपन्यास पढ्दा पढ्दै मन भारी हुन्छ। म उपन्यासको अन्त्यतिर छु। एकछिन रोकिन्छु। मनभित्रको कुनै कुनालाई छुन्छ। पात्रको पिडामा डुब्छु। किन हो, आख्यानले यसरी तान्छ!
सन् १९५४ को नोबेल साहित्य पुरस्कार कमिटीले आफ्नो वक्तव्यमा 'द ओल्ड म्यान एन्ड द सी' लाई 'हेमिंगवेको प्रभावशाली शैली' भनेर उल्लेख गरेको छ। मलाई भने 'अ फेयरवेल टू आर्म्स्' नै उत्कृष्ट लाग्छ। प्रभावकारी लेखन लाग्छ। हेमिंगवेले 'पेरिस रिभ्यू' सँगको अन्तर्वार्तामा भनेका छन्, 'यो उपन्यासको अन्तिम पृष्ठ ३९ पटक पुनर्लेखन गर्नुपरेको थियो, खोजेको शब्दमा टुंग्याउन।'
म बोस्टन पुस्तकालयमा हेमिंगवेका अक्षरहरू पल्टाउँदै छु।
'अ फेयरवेल टू आर्म्स्' उपन्यासको मस्यौदा सुरूमा सिसाकलमले लेखिएको छ। त्यसपछि टाइप गरिएका अक्षर, त्यो पनि पहिलो मस्यौदाको 'सेटिङ कपी'। छुटेका हिज्जे सिसाकलमले थपघट गरिएको छ त्यसमा। अनि बल्ल अन्तिमजस्तो देखिने टाइप कपी छ, जसमाथि सम्पादन गर्दा कोरिएका अनेक शब्द, लाइन छन्।
एकपछि अर्को लगातारको चरणमा लेखक आफैले पनि पक्कै कतिपटक सम्पादन गरिसकेका हुँदा हुन्। तब न बन्छ खँदिलो वाक्य, स्वादिलो आख्यान!

मान्छेहरू किन लेखक बन्छन्, या लेखक बन्न रूचि गर्छन्, म जान्दिनँ।
जब लेखक लेख्न थाल्छ, ऊ शब्दहरूको जाल फिँजाउँछ। जसरी माझीका लागि जाल अत्यावश्यक हुन्छ, जसरी सिपाहीका लागि बारूद नभई हुँदैन, जसरी माछाका लागि पानी चाहिन्छ; लेखकका लागि शब्दहरू त्यस्तै हतियार बन्छ।
आरनमा तातेको फलामजस्तै शब्द पगाल्दै जान्छ लेखक। आकारहरू दिँदै जान्छ, खाका कोर्दै अघि बढ्छ।
हामी पाठक त्यसलाई पछ्याउँदै हिँड्छौं र केही बेरमा आफैलाई अन्तराहरूमा, लाइनहरूको बीचमा फेला पार्न थाल्छौं। त्यहाँ साँध हुँदैन, सिमाना हुँदैन। केवल तरंग हुन्छ, भावहरूको कोलाजमा एउटा रिदम भरिएको हुन्छ। तब न पढ्नुको मजा आउँछ!
लेख्न थालेपछि लेखक कल्पनाको इनारमा पानी छउञ्जेल लेख्छ। लेख्दालेख्दै इनारको पानी सकिइहाल्यो भने के होला?
हेमिंगवेको सुझाव छ, 'कथाको टर्न र ट्विस्ट थाहा छँदै त्यो दिनलाई लेख्न छाड, ताकि अर्को दिन थोरै बीउ बाँकी बसोस्। एकै दिन भएजति रस निचोरेर लेखियो भने अर्को दिन छोक्रा मात्र बाँकी बस्छ। इनारमा अलि अलि रस बाँकी बस्न देऊ, रातभरमा घैला भर्न पुग्ने रस त्यसले निकाल्नेछ।'
कुनै दिन यस्तो पनि हुन्छ, इनार रसले भरिएको हुन्छ, जति उभाए पनि नसकिने गरी।
त्यस्तै एकदिन हेमिंगवेले तीनवटा कथा लेखेका थिए — द किलर्स, टुडे इज फ्राइडे र टेन इन्डियन।
आख्यान लेखन तथ्य होइन, तथ्यहरूको प्रतिनिधित्व हो। आफैले देखे–भोगेका तथ्यबाट पात्रहरू बनाए हेमिंगवेले। आख्यान आविष्कार गरे। र, सिर्जनाको शक्तिले घैला भरिएको एकदिन बेजोडका तीनवटा कथा लेखी भ्याए।
आख्यान कति सत्य हो, कति काल्पनिक? यसको जबाफ सिधा छैन। कतिपय लेखक सुरूका आख्यान आफ्नै जीवन वरिपरिका घटनाबाट बनाउँछन्। अरू लेखक सायद फरक घटना लेख्लान्। हरेक लेखकका आ–आफ्नै काइदा हुँदा हुन्। त्यसैले त यति धेरै विधा छन् आख्यानभित्र पनि — यथार्थवाद, स्वैरकाल्पनिक (फ्यान्टसी), म्याजिकल रियालिजम् (जादुयी/तिलस्मी यथार्थवाद) ऐतिहासिक, अनुभववाद वा स्वच्छन्दतावाद, या अरू पनि के के!
कुन धारको लेखन पछ्याउने, यो लेखकीय स्वतन्त्रताको कुरा भयो। हेमिंगवेका आख्यान पढ्दा लाग्छ, उनका सबै लेखन निजी अनुभवबाटै आएका हुन्। नियात्रा 'ग्रीन हिल्स अफ अफ्रिका' बारे एक अन्तर्वार्तामा उनले भनेका छन्, 'एउटा सत्य किताब लेख्ने प्रयासमा लेखिएको हो यो, ताकि कुनै देशको आकार र एउटा महिनाको ढाँचा, यदि साँच्चै प्रस्तुत गरियो भने लेखकीय कल्पनामा कसरी प्रस्तुत हुन सक्छ आख्यानमा, त्यसले कसरी प्रतिस्पर्धा गर्न सक्छ भनेर हेर्न सकियोस्।'
उनका आख्यान सत्य र सही चित्रजस्तै लाग्नुका पछाडि यही कारण हुनसक्छ।
हेमिंगवेले यो नियात्रा र अरू कथाहरू; 'किलिमन्जारोको हिउँ', 'फ्रान्सिस म्याकम्बरको सुखी छोटो जीवन' लगायत आख्यानलाई चौथो र पाँचौं आयामिक लेखन भनेर दाबी गरेका छन्। आलोचक समीक्षकहरूले त्यो दार्शनिक पाटो स्विकारेका पनि छन्।
फ्रेडरिक कार्पेन्टरले सन् १९५४ मा प्रकाशित गरेको शोधपत्रमा हेमिंगवेको लेखन यात्रा विकास हुँदाको समयमा जोडिएका व्यक्तिहरू गर्ट्युड स्टाइन हुँदै 'कट्टर अनुभववाद' विचारका प्रवर्तक विलियम जेम्सको लहरो पछ्याएका छन्। र, निचोड निकालेका छन् — हेमिंगवेको दाबी सही छ, उनका आख्यानहरू चौथो र पाँचौं आयामिक आख्यान लेखन हो।
आयामिक लेखनको पाँचौं तहसम्मको वर्गीकरण र विश्लेषण छुट्टै दार्शनिक पाटो हो। संक्षेपमा भन्दा, लेखकले देखे–भोगेको जुन संसार छ, लेखकीय परिकल्पनामा त्यो संसार, त्यसभित्रको समय, समाज र व्यक्तिहरूको हुन सक्नेसम्म सर्वोत्तम अभिव्यक्ति गरिन्छ। त्यो उचाइको लेखन कसले कति प्राप्त गर्न सक्छ भन्ने सायद बहसकै विषय बन्ला!
हेमिंगवेको पाँचौं आयामिक लेखनमाथिको अनुसन्धानपत्र प्रकाशित भएको झन्डै दशकपछि सन् १९६३ मा नेपाली लेखनमा पनि आयामिक लेखनको घोषणा भयो दार्जिलिङबाट — इन्द्रबहादुर राई, ईश्वर बल्लभ र बैरागी काइँलाको 'तेस्रो आयाम' पत्रिका प्रकाशनसँगै। 'तेस्रो आयाम' नामको त्यो आयामेली लेखन पनि सम्पूर्णताकै खोजी थियो।
लेखक, कलाकार भनेका सुन्दर चिजहरूका निर्माता हुन्। ती सुन्दर चिज पढ्दा पाठकलाई कि तथ्यले तान्छ, कि भाषाले समात्छ। कौतूहल बढेर यति माथि पुग्छ, राति सुत्नै दिँदैन। त्यस्तै भयो, पत्रकार/लेखक सुधीर शर्माको 'भिक्षु व्यापार र विद्रोह' पढ्दा। तथ्य पढ्दै जाँदा लाग्यो — देश दुई ढुंगाबीचको तरूल त हो नै, सँगसँगै अस्तित्व निरन्तरताका लागि कति धेरै जुक्ति लागेको रहेछ! त्यस्तो जुक्ति नलगाएको भए आज नेपाल नै नरहन पनि सक्ने रहेछ!
सन् १९५० को सन्धि असमान भनिन्थ्यो। अन्तिम राणा प्रधानमन्त्रीले आफ्नो सत्ता जोगाउने दाउमा छिमेकसित त्यस्तो सन्धि गरेका थिए भनिन्थ्यो। अस्ति भर्खर २०४६/४७ मा पनि छिमेकबाट उस्तै खाले 'अंशियारी' दाबी आएको रहेछ! यस्तो तथ्य पढ्दा कता कता लाग्छ — अबको ५० वर्षपछि वा सय वर्षपछि नेतृत्वले कथम् सही कदम चाल्दिएन भने के होला!
-1748597849.jpeg)
लेखकका आ–आफ्ना 'कम्फर्ट जोन' पनि हुँदो हो लेखनमा। कोही तथ्यहरूले बलियो तर्क लेख्छन्। कोही भावनाको बलमा।
अलि अघि कृष्ण धरावासीको 'अर्धकट्टी' पढ्दै थिएँ। उनी कुनै दिन घुम्दै चिहानघारी पुगेछन्। वर्षौंअघि बितेकी सानी छोरीको चिहानअघि उभिरहेकी अन्जान आमा भेट्छन्। अधवैंशे महिला चिहानअघि घुँडा टेकेर केही झुकिरहेकी थिइन्।
उनी बिस्तारै ती आमा भएतिर गए र चिहानको ढुंगो पढ्न लागे, 'तिमी फेरि आउने छौ।'
तल भुइँमा ती महिलाले चढाएको फूलको बुके थियो। वरिपरि तीन–चारवटा गुडिया थिए। धरावासी संवाद गर्छन्, बितेकी छोरीको शोकमा रोइरहेकी आमासँग —
झोलाबाट टिस्यू पेपर निकालेर आँखा पुछ्दै उनले भनिन्, 'ऊ फेरि आउनेछ भनेर मैले धेरै पर्खेँ तर आएकी छैन। बाँचेकी भए मेरी प्यारी साथी हुने थिई।'
भूगोलको यति टाढा आइपुगेर फेरि एकपल्ट बुबा, आमा र सीताजीको नाममा आँखा पुछेँ।
यति बलियो चित्रण छ त्यो दृश्यको। अहिले यो लेख्ने बेला पनि त्यो सम्झिएर मेरो मन भारी बनेको छ, आँखा रसिला भएका छन्। मनको कमलो कुना घोच्न सक्ने धरावासीको त्यो शैलीको म फ्यान बनेँ।
जब कुनै लेखकको शैलीले तान्छ, बिहान किचन टेबलमा पाउरोटी सुकेर खङ्ग्रङ्ग बन्छ। बेलुका भान्सामा ढिलो आएको निहुँमा जहानको खप्की भेटिन्छ। कहिलेकाहिँ त जुठो प्लेट सुकेर खाटा बसिसक्छ। चिच्याउँदा चिच्याउँदै केटाकेटी थाक्छन्, तपाईं पाना पल्टाइरहेको हुनुहुनेछ। ग्लु टाँसिएजस्तै हुन्छ आँखा अक्षरहरूमा!
लेखकहरूको शैली यतिविधि सफल हुँदासम्म सायद उनीहरूले थुप्रै लेखिसकेका हुन्छन्। कति छापियो, त्यो अर्कै कुरा। कतिले आफ्नै 'पकेट पाठक' पनि बनाउलान्। कतिको बिस्तारै बन्दै जाला। जब स्वादिलो, खँदिलो हुन्छ लेखन; एक न एक दिन अवश्य पाठक पाउँछ।
नामधन्य लेखकहरू भन्छन्, 'सुरूमा मनपर्ने लेखकको नक्कल गर, बिस्तारै आफ्नै शैली बन्छ।'
हेमिंगवेकै सन्दर्भमा भन्दा आलोचकहरूको भनाइ छ, 'हेमिंगवेले गर्ट्युड स्टाइनबाट सिके, तुर्गनेव र अरू रूसी लेखकको नक्कल गरे; राल्फ एलिसनले हेमिंगवे पढे; थोरो होमरलाई मन पराउँथे; विलियम फोल्कनरले जेम्स जोयस र सरवुड एन्डरसनको नक्कल गरे।'
सिर्जनात्मक लेखनमा चोरी हुन्न, चिनारी हुन्छ। नक्कलै होस्, लेख्दै जाँदा आफ्नै बन्छ।
सन् १९२० को दशकमा पेरिसमा 'एक्सप्याट लेखक' बनेर रहँदा यस्तो समय थियो, हेमिंगवेका समवयी लेखकहरू लेखनको शैली नै अभिव्यक्तिको चुरो हो भन्थे। एज्रा पाउन्डको त भनाइ नै थियो, 'केही नयाँ बनाऊ।'
कथा कसरी भनिएको छ भन्ने मुख्य कुरो हुन्थ्यो, कथा के हो भन्दा पनि। हेमिंगवेले त्यो समय जे लेखे, आख्यान लेखन अर्को उचाइमा पुग्ने गरी लेखे।
आख्यानमा व्याख्या कति, डिटेल कति र घटना कति? त्यसको कुनै सूत्र हुन्न। तर त्यति चाहिन्छ, जति कथाले मागेको हुन्छ। जति मागेको छ, त्यति डिटेल चाहिन्छ, बाँकी फजुल गफ हुन्छन्। घटना अघि बढाउन लेखक कतिपय ठाउँमा जम्प गर्न सक्छन्। कति ठाउँमा पोखरीको पानीजस्तै जमेर बस्छन्।
लेखकहरू के–के गर्छन्, किन मतलब गर्ने हामी पाठकले! मन पर्ने लेख भेटिएपछि निन्द्रा भाग्छ, तिर्खा जाग्छ।
हर लेखक सायद यही चाहन्छ। आफ्ना पाठक त्यस्तो तिर्खाले आकुल भएको देख्न चाहन्छ। लेखकीय सफलताको चुरो भेट्ने अपेक्षा राख्छ। पाठक चाहिँ प्रेमको पोखरीमा डुबेको प्रेमीजस्तै मनपर्ने अर्को लेख, मन छुने अर्को किताब पछ्याइरहेको हुन्छ।
***
यो पनि पढ्नुहोस्: