असार १५ को सिमसिमे पानी परिराखेको छ। लेकको जस्तो कुहिरो र हुस्सु लागिरहेको छ। अघिपछि पनि सामान्य बादल तथा पानी पर्दा केही नदेखिने सदरमुकाम कालिकोट डाँडाको मान्म बजार आज त झन् केही पनि देखिँदैन।
आजभन्दा ३ वर्ष पहिलेको कुरा हो। असार १५ गते बिहान नै कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्मासँग २/३ दिन सदरमुकामभन्दा बाहिर गएर कृषि विकास कार्यालय कालिकोटका आव २०७८/७९ का विभिन्न सिँचाइ तथा अन्य कार्यक्रमहरूको अन्तिम अनुगमन निरीक्षण तथा मूल्यांकन गरी भुक्तानीको लागि पलाँता, पचाल झर्ना, सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिका जानु पर्ने भयो भनेर जानकारी गराएको थिएँ।
तर उहाँले ‘यस्तो वर्षा भइरहेको छ, बाटो असजिलो छ, अरू कसैलाई पठाए भइहाल्यो नि। फेरि आज असार १५ गते धान दिवस पनि त हो नि हाकिम साब, धान दिवस नमनाउने?' भनी मलाई रोक्न खोज्नु भयो।
म जानै पर्ने भएको थियो। प्राविधिक शाखा प्रमुख ई वीरेन्द्र अधिकारी र साइट इन्चार्ज प्रेम देबकोटाले एक हप्ता पहिलेदेखि नै भन्दै थिए, ‘सर, अरू त हामीले हेरिसक्यौँ। पलाँता गाउँपालिका दैनिकरको सिँचाइ योजनामा हाकिम साबसहित जानु पर्ला जस्तो भएको छ किनभने ठाउँ समाज र उपभोक्ता त्यति सहज छैनन्। पहिलेदेखि नै विवादित ठाउँ हो।’
मैले भित्र भित्रै सोचेँ, यस्तो ठाउँमा किन प्रदेश मन्त्रालयबाट बजेटिङ हुन्छ? बटम टु टप प्लानिङ नभएर टप टु बटम प्लानिङ किन हुन्छ? छोटकरी र सरल भाषामा भन्ने हो भने सेटिङमा बजेटिङ किन हुन्छ प्रदेशमा? यस्तो ठाउँमा किन जाने? नगएर नै भुक्तानी गरिदिन्छु।
फेरि सम्झेँ, अल्छीले भविष्य नै बरबाद गर्छ। फेरि गत आर्थिक वर्ष २०७७/०७८ मा अन्तिम दिनमा सबै भुक्तानी दिन खोज्दा ‘मलेनिका’को ‘टिएसए’ सर्भर बन्द हुँदा थुप्रै भुक्तानी रोकिएको उदाहरण सम्झेँ अनि जे होस् होस् जाने निधो गरेँ।
आजको धान दिवस कार्यालयमा रहने सबै कर्मचारीलाई जिम्मा र सरोकारवालाहरूलाई समेत फोनमार्फत जानकारी दिई स्टाफ वीरेन्द्र अधिकारी, प्रेम देबकोटाका साथ धनबहादुर बम र चालक कलमबहादुर मल्ल र म पलाँता दैनिकर गाउँतिर लाग्यौँ।
कालिकोट सदरमुकाम मान्म बजार डाँडामा छ। त्यहाँबाट ओरालो लागेपछि जुम्ला-सुर्खेत मोटर बाटो भेटिन्छ। सुनार खोला-सेरीघाट-हुल्म बजार-खुलालु पक्की पुल काटिसकेपछि पल्लो कालिकोट प्रदेश निर्वाचन क्षेत्र नम्बर २ तत्कालीन समय २०३५ सालभन्दा पहिले जुम्ला जिल्ला अन्तर्गतका १८ दरा मध्येका ३ वटा दरा भेग सान्नीदरा, रास्कोट दरा र पलाँता दरा भएता पनि पछि २०३५ सालमा जुम्लाबाट फाटी कालिकोट जिल्लाको छुट्टै जिल्ला अथवा नेपालको कान्छो जिल्ला कायम भयो र हाल नरहरिनाथ गाउँपालिकासहित यी ४ वटा गाउँपालिका अथवा कालिकोट जिल्लाको प्रदेश निर्वाचन क्षेत्र २ कायम भयो।
हामी बिहान ११ बजे सान्निघाट पुग्यौँ। यो ठाउँ बाजुरा, हुम्ला र मुगु जाने मोटर बाटोको हाल कर्णाली राजमार्गको मुख्य जक्सन हो। यो ठाउँ कालिकोटको सान्नीत्रिवेणी रास्कोट र पचाल झर्नाको सीमा क्षेत्र पनि हो। हामीले बिहानको खाना यहीँ खायौँ। कर्णालीको ताजा माछा मिठो थियो।
हाम्रो गाडी पलाँताको थिर्पु बजारभन्दा अगाडि बढ्न सकेन। कर्णाली नदीको मुख्य सहायक नदी मुगु कर्णाली र हुम्ला कर्णालीको संयुक्त नदी कर्णालीबाट पारि सवारी साधन जाने बाटो छैन। झोलुङ्गे पुलबाट जान सकिँदैन। त्यसैले हाम्रो गाडी र चालकलाई यहीँ छाडी हामी पुल काटेर हाम्रो आजको गन्तव्य स्थल दैनिकर गाउँतिर लाग्यौँ।
थिर्पु पलाँताको सदरमुकाम हो। यहाँ प्रहरी चौकी, स्वास्थ्य चौकी, उच्च माविको सामुदायिक विद्यालय पलाँता गाउँपालिकाको कार्यालय छ र केही वर्ष पहिले कृषि सेवा केन्द्र पनि थियो। यहाँबाट दैनिकर पुग्न छिट्टै गए ५ घण्टा लाग्छ, साथीहरू भन्दै थिए। नदीको छालै छाल र भिडै भीड हिँड्नु पर्छ अब।
असारको मध्य महिना, मनसुन सुरु भइसकेको पलाँताको लेक जसलाई माछा लेक भनिन्छ। यो लेकको हिउँ पग्लेकोले त्यहाँबाट आउने दैनिकर खोला सानो नदीको बहाव भेल ठुलो डरलाग्दो थियो। अब सुरुमै यही भेल तर्नु पर्ने भयो। सँगै गएका मेरा स्टाफ साथीहरू तरेर पारि गइसके। म मात्र वारि छालमा छु। नदी हेरेँ, डर लाग्यो। मैले तर्न नसक्ने जस्तै भएँ।
वीरेन्द्र र प्रेमले पारि छालबाट मलाई नदी तर्न हौसला दिइरहेका थिए। यो ठाउँ अथवा एक पटक मात्र होइन, यस्तै भेल ४ पटक तर्नु पर्ने कुरा मेरो पूर्व जानकारीमा थियो। मैले सोचेँ, अब म यतैबाट फर्कन्छु। जे होला होला, साथीहरूलाई नै उक्त ठाउँमा पठाउँछु। उनीहरूले नै सबै हेरेर आउँछन्।
यो ठाउँबाट अलि तल ठुलो कर्णाली नदी १५/२० मिटर मात्र टाढा छ। बगेँ भने त ठुलो कर्णाली नदीमा मिसिन्छु र म यहीँ सिद्धिन्छु। फेरि भित्र भित्र सम्झेँ, सदरमुकामबाट यति टाढा आइसकेँ, फर्किएँ भने अरू के भन्लान्? ठाउँ नहेरी कसरी भुक्तानी दिने?
अलि तल त्यही ठुलो कर्णाली नदीमा केही युवाहरूले पौडी खेलिरहेको देखेँ। सम्झेँ, मैले पनि त पौडी खेल्न जानेको छु। सानो उमेरमा जुम्लाको तिला नदीमा पौडी खेलेको, काठ दाउरा उतारेको सम्झिएँ र नदी तर्ने निधो गरेँ। पारिबाट प्रेम देबकोटा र कार्यालय सहयोगी धनबहादुर बमलाई वारि छाल बोलाएँ। उनीहरू वारि आए र मसहित ३ जना एक आपसमा हात समाएर नदी तर्न लाग्यौँ।
वीरेन्द्रले आइफोनबाट हामी नदी भेल तरिरहेको भिडियो खिचिरहे। जुन भिडियो मेरो फेसबुक आइडीमा भाइरल भयो। जे होस्, हौसला भनौँ वा जिम्मेवारी वा सरकारी कामप्रतिको बफादारीले यही नदी भेल यही तवरले ४/५ पटक कहिले वारि छाल कहिले पारि छाल गर्दै हामी दैनिकर गाउँतिर लाग्यौँ।
पानी परिरहेकाले चिप्लो बाटो, भिड, पहाड, कन्दरा, छाल, नहर, उकालो, ओरालो काट्दै हामी साँझको ६ बजे दैनिकर गाउँ पुग्यौँ। उपभोक्ता समितिका मान्छेहरूले हामीलाई फूलमालाले सत्कार गरे। जेसुकै नयाँ मान्छे गाउँमा पस्दा नि अबिर र मालाले सत्कार गर्ने यहाँको चलन रहेछ। यो चलन सायद माओवादी पार्टीको १० वर्षे द्वन्द्वबाट सुरु भएको जस्तो लाग्यो।
यो ठाउँ माओवादीको तत्कालीन समयमा सुरक्षित ठाउँ रहेछ। सरकारी तवरबाट कुनै पनि कार्यालय प्रमुख त्यहाँ नपुगेको जानकारी भयो। त्यसैले पनि हाम्रो टिमलाई फूलमालाले अबिरले स्वागत गरेको महसुस भयो। यहाँको बस्ती प्रायः सबै दलित बस्ती रहेछ।
हामी यहाँसम्म पुग्दा लुतुक्कै थाकिसकेका थियौँ। दिन लामो भएकोले साँझ परेको थिएन। आयोजना स्थल पुग्न १ घण्टा ठाडो उकालो अझै हिँड्नु पर्ने रहेछ। उपभोक्ता समितिका मान्छेहरूसहित आयोजना स्थल पुगी नाप जाँच गर्याैँ। तल गाउँ झर्याैँ। त्यो दिन गाउँमा विवाह रहेछ। सबै गाउँले र ती अघिका उपभोक्ताहरू त्यही विवाह भोजमा गइहाले।
अघिसम्म हामीलाई फूलमाले र अबिरले स्वागत गर्ने उपभोक्ताहरू अहिले सबै कता कता गइसके। हामीलाई कसैले पनि बस्ने र खाने व्यवस्था गरिदिएनन्। सोचेँ, उनीहरूको स्वार्थ पूरा भए जस्तो लाग्यो। अघि गरेको स्वागत सत्कार फिका लाग्यो।
साँझको ८ बजिसक्यो। शरीर पूरै गलिसकेको छ, थाकिसकेको छ। भोक लागिसकेको छ। उपभोक्ताहरू कति स्वार्थी हुँदा रहेछन् भन्ने कुरा त्यो घटनाले प्रस्ट पार्यो। अब बास बस्ने व्यवस्थाको खोजी हामी आफैले गर्नु पर्ने भयो।
एक घण्टाको ओरालो झरी तल खोलाको छेउमा २/३ वटा पानी घट्ट र २/४ वटा घर भेटायौँ। यो ठाउँलाई दुम्सी भन्दा रहेछन्। शुक्ल पक्ष भएकाले राति उज्यालो थियो। एक दुई घरमा बास माग्यौँ। घरमा लोग्ने मानिस नभएको कारणले बास पाइएन। अन्तिममा एक ठाउँ जुम्लामा माइत भएकी बहिनी रहेछिन्। उनैले आफ्नो घर परिवारलाई सम्झाइ बुझाइ हामीलाई त्यो रातको खाना र बास बस्ने व्यवस्था गरिदिइन्।
साँझको खाना खाइसकेपछि हामी चारै जना एउटा सानो अँध्यारो कोठामा सुत्यौँ। धेरै थाकेकाले निदाएछौँ, बिहानको उज्यालो भएको पत्तै भएन।
बिहान ७ बजे दैनिकरको दुम्सीबाट हामी थिर्पुतिर फर्कियौँ। थिर्पुको पुल काटी हामी हाम्रो हिजो छोडेको गाडी भएको ठाउँमा पुग्दा गाडी चालक मल्ल त्यहाँ थिएनन्। यता उता खोज्यौँ। धेरै पछि उनी हामीतिर आए। उनी हामीदेखि साह्रै रिसाएको लक्षण देखाए। अघिल्लो रात उनलाई खाने बस्ने व्यवस्था राम्रो भएनछ।
हामी त्यो दिन रास्कोट आएर खाना खाने र त्यहाँ भएका सिँचाइ योजना निरीक्षण गर्ने कार्यक्रम थियो। चालकले हाम्रो गाडी बेस्सरी रफ तरिकाले कुदाइरहेका थिए। जे जस्तो भए पनि यिनी ड्राइभरलाई कसैले केही नभन्ने निर्क्योल हामीले पहिले नै गरिसकेका थियौँ।
नभन्दै हाम्रो गाडी रास्कोटको उकालोमा बिग्रियो। ओर्लेर हेर्याैँ, डिजेल ट्याङ्की फुटेछ। अब हाम्रो तय भएको कार्यक्रम लथालिङ्ग भयो। १ बजिसक्यो, बिहानको खानाको अत्तोपत्तो छैन। अब विकल्पको खोजी गर्याैँ।
रास्कोटका मेयरलाई फोन गरेँ। उनी जिल्ला बाहिर रहेछन्। रास्कोटमा भएका कृषि सहकारीलाई फोन गरेँ। अन्तमा महिला सहकारी अध्यक्षले ३ वटा बाइकको व्यवस्था गरिदिँदा हामी आयोजना स्थल पुग्यौँ। सिँचाइ लगायत विभिन्न कृषि कार्यक्रम कार्यान्वयनको निरीक्षण गरी सो दिन रास्कोटमा नै बस्यौँ।
तेस्रो दिन बिग्रेको हाम्रो गाडीलाई मान्मबाट मिस्त्री बोलाई सामान्य मर्मत गरी सोही गाडीमा चढेर हामी सान्नीत्रिवेणी हुँदै मान्मतिर फर्कियौँ। सान्नीत्रिवेणी गाउँपालिका अन्तर्गत कर्णाली नदी रोड कोरिडोरसँग जोडिएको नेपाल सरकारको दीर्घकालीन तथा गौरवशाली विद्युत् आयोजना (जुन नेपाल सरकारका स्थायी कर्मचारीको सञ्चय कोषको शेयर लगानीबाट निर्माणाधीन) सुरुङभित्र पसी अवलोकन गर्दै हामी रेङ्गिला जिते हुँदै खुलालु पुल आउने क्रममा बाटोमा मालवाहक ट्रक बिग्रेकोले बाटो बन्द भई करिब ३ घण्टा जाममा पर्याैँ। त्यहाँ एउटा ठुलो गाडी बिग्रने बित्तिकै पूरा बाटो नै बन्द हुने रहेछ।
बल्लतल्ल बिग्रेको ट्रकलाई साइड लगाएर हामी खुलालु पुल हुँदै जितेको डरलाग्दो भिर (जसलाई ज्यानमारा भिर पनि भन्दछन्) पार गरी प्रहरी सुरक्षा पोस्ट रहेको हुल्म सानो बजारमा पुग्यौँ। हुल्मको सुरक्षा पोस्टले साँझको ७ बजेपछि सरकारी होस वा अन्य जुनसुकै गाडीलाई दुर्घटना सुरक्षा दृष्टिले मान्म बजारतिर आउन दिँदैनन्।
त्यतिखेर हल्का पानी परिरहेको थियो। मान्म बजार नजिकै रहेको सुनार खोला अलिकति वर्षा हुने बित्तिकै पहिरो आइहाल्ने झन् २/३ दिनदेखि पानी परिरहेकाले पहिरो नआउने कुरै भएन। हामी तिला कर्णाली नदीको रोड कोरिडोरमा रहेको हुल्म बजारमा रातिको ११ बजे पुगेका थियौँ। हाम्रो सुरक्षालाई मध्य नजर गर्दै हुल्म बजारमा रहेको सुरक्षा पोस्टले पारि सुनार खोलामा पहिरो आएकाले त्यता नजान भन्दै हामीलाई रोकेँ।
मैले पनि यति राति किन पारि जाने, यतै हुल्ममा बसौँ सोचेको थिएँ। यत्तिकैमा हाम्रो ड्राइभरले भने- ‘भाले गाडी, भाले ड्राइभर, भाले हाकिम, हामीलाई कसैले रोक्दैन पहिरो होस् वा सैरो होस्’ भन्ने बित्तिकै सुरक्षामा खटिएका प्रहरी भाइले ‘भाले हौ कि साले हौ, पारि गए थाहा हुन्छ’ भन्दै हामीलाई छोडिदिए।
यतिखेर रातको १२ बजिसकेको थियो। हुल्मबाट सेरीघाट हुँदै सुनारखोला १५ किमी टाढा छ। जब सुनार खोला पुग्यौँ, त्यहाँको पहिरोका कारण गाडीहरू जामको लस्करमा देखियो। त्यहाँ नजिक होटेल पनि छैनन्। यत्तिकैमा हाम्रो गाडी चालक मल्लले हाम्रो गाडीलाई फोर ह्विल लगाएर पहिरोमा हालिहाले।
माथिबाट दही जस्तो हिलो पहिरो बगिरहेको थियो। यो ड्राइभरले जबरजस्ती गाडी पहिरोमा हालेको हामीले थाहा पाइहाल्यौँ। जब पहिरोको बिचमा हाम्रो गाडी पुग्यो, त्यसपछि हाम्रो गाडी रोकियो। जस्तोसुकै फोरह्विल लगाए पनि गाडी अगाडि बढेन। हिलोमा नराम्रोसँग फस्यौँ।
अगाडि पहिरो छ, पछाडि पहिरो छ। हामी बिचमा छौँ। अन्तमा उही ड्राइभर ‘भागौँ भागौँ’ भन्दै आफू नै गाडीबाट हाम फाली हिलोमा अगाडि बढे। अब त केही उपाय भएन। हामी पनि गाडीबाट निस्क्यौँ। जब बाहिर हिलोमा हिँड्न लाग्यौँ तब पहिरोमा खुट्टा भासिन लाग्याे। हामी तीन जनाले नै एक अर्काको हात समाती जेनतेन पहिरो पार गर्याैँ।
त्यस पहिरोमा मेरो एउटा जुता नै हरायो। हामी त निस्क्यौँ तर हाम्रो बोलेरो गाडी त्यही फसेको छ।
यतिखेर रातिको करिब १ बजिसकेको छ। हामी त बाँच्यौँ तर हाम्रो गाडी पहिरोमा पुरिने भयो। अब त केही सोच्नु पर्ने भयो। यत्तिकैमा कालिकोटका प्रजिअ रामहरि शर्मा सर र प्रनाउ शिद्धराज न्यौपाने सरलाई सबै कुरा बताउँदै फोन गरेँ। उहाँहरूले मध्ये राति भए पनि मेरो फोन उठाउनु भयो र हाम्रो उद्धारको लागि तत्काल आफ्नो गाडी पठाइदिनु भयो।
आफ्नो गाडीलाई पहिरोमा छाडेर आफू मात्र मान्म सदरमुकाम आउन मेरो मनले मानेन। सोचेँ यदि पहिरोमा फसेको गाडी आँखै अगाडि बगेर तिला कर्णालीमा मिसियो भने त कसको के लाग्छ र! हेरेरै जाउँला, होइन भने केही उपाय त निकाल्नै पर्छ।
यही समयमा गाडी जाममा परेका यात्रुहरू र गाडी स्टाफ पनि आए। केही समयपछि त्यहाँ रहेको पँचदेवल माविको खेल मैदान बनाउन एउटा जेसिबी भएको थाहा भयो। त्यसैको खोजीमा लाग्यौँ। रातिको समय भएकाले जेसिबी एक ठाउँ ड्राइभर अर्कै ठाउँ सुतेको थाहा भयो। सबैलाई परिचालन गरियो हारगुहार गरियो। अन्तमा ड्राइभर भेटिए।
उसले हामीलाई अप्ठ्यारोमा परेको थाहा पाए। धेरै रकम बार्गेनिङ गरे। अप्ठ्यारोलाई सहयोग गर्ने मानवीय धर्मलाई पन्छाउन खोजे। जे होस करिब १० मिनेटको प्रयासपछि एक साइड खोली ३० हजारमा हाम्रो फसेको गाडीलाई निकाले। अब भने सन्तोषको श्वास फेरी हामी हाम्रै गाडीबाट र जाममा फसेका अन्य गाडी पनि मान्म बजार आयौँ। यतिखेर रातिको २ बजिसकेको थियो।
कालिकोट जिल्ला भौगोलिक विकट भए पनि यहाँको प्राकृतिक सम्पदा जैविक विविधता र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ। राष्ट्र गुरु योगी नरहरिनाथको जन्म यहीँ छ। नेपालको सबैभन्दा लामो झर्ना पँचाल झर्ना यहीँ छ। यो नेपालको तपोभूमि तथा धार्मिक स्थल बडिमालिका लगायत जुम्लाको लागि र रारा र सिजा उपत्यका प्रवेशका लागि प्रवेशद्वार यही हो।
दैनिक सञ्चालन नभए पनि २/२ पटक उद्घाटन भएको कोटबाडा सिमथली विमानस्थल यहीँ छ जुन विमानस्थल बनाउन आएका धादिङ जोगिमाराका थुप्रै कामदारले माओवादी द्वन्द्व कालमा माओवादी र तत्कालीन नेपाली सेनाको दोहोरो मारबाट ज्यान गुमाउनु पर्यो। यस बारे २०८० सालको मदन पुरस्कार विजेता लेखक मोहन मैनालीले लेखेको ‘मान्ठ डराएको जुग’ नामक पुस्तकमा विस्तृत रूपमा प्रस्तुत गरेका छन्।
कृषि क्षेत्रलाई चाहिने मुख्य ३ वटा हावापानी उष्ण, उपोष्ण र शीतोष्ण हावापानी यहीँ पाइन्छ। अलैँची, कफी, लिची, केरा, सुन्तला, आँप, रुद्राक्षदेखि स्याउ, ओखर, आरु, आरुपखडासम्म यहीँ फल्छ। भनिन्छ कालिकोट जिल्ला कृषि क्षेत्रको लागि सुवर्ण भूमि हो। यति हुँदाहुँदै पनि कर्मचारीहरू कालिकोटमा काम गर्न त्यति सहज मान्दैनन्। यसको मुख्य कारण राजनीतिक असहजता हो, भौगोलिक असहजता हो। माओवादी द्वन्द्व कालमा सबैभन्दा बढी प्रभावित जिल्ला यही हो।
कालिकोट कृषि विकास कार्यालयमा २ वर्ष कार्यालय प्रमुख भएर काम गर्दा फिल्डमा कार्यक्रम अनुगमन निरीक्षणमा जाँदा थुप्रै अनुभूतिहरू भए तर यो लेखमा प्रस्तुत अनुभूतिहरू जिन्दगीको विशेष खालको कठिनाइ भोगेकोले यहाँ प्रस्तुत गरिएको हो।
(लेखक कृषि विकास कार्यालय कालिकोटका तत्कालीन कार्यालय प्रमुख हुन्।)