अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका मालिक इलन मस्क एकअर्काविरूद्ध व्यक्तिगत वादविवादमा उत्रिएपछि दुई जनाले वार्ता गर्ने तयारी गरेका छन्।
ट्रम्पका सहयोगीले दुई जनाबीचको वार्ता गराउन शुक्रबारको समय तय गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
ह्वाइट हाउसले दुई जनाबीच शुक्रबार कुराकानी हुने बताए पनि कुन समयमा कुरा गर्नेछन् भनेर खुलाएको छैन। यसबारे मस्कका प्रतिनिधिले केही नबताएको रोयटर्सले समाचारमा उल्लेख गरेको छ।
बिहीबार ट्रम्पले मस्कको कम्पनीसँग सरकारी सम्झौता रद्द गर्ने धम्की दिएपछि उनीहरूले व्यक्तिगत तहमै उत्रिएर एकअर्काको आलोचना गरेका थिए।
ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्ट र मस्कले एक्सबाट एकअर्काको आलोचना गरेका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँगको कुराकानीमा सरकारको अर्बौं डलर बचाउन इलनका सरकारी अनुदान र सम्झौताहरू रद्द गर्ने बताएका थिए।
ट्रम्पले त्यसो भनेपछि टेस्लाको सेयर १४ प्रतिशतले घटेको र कम्पनीको बजार मूल्यमा करिब १५० अर्ब डलरको क्षति पुगेको थियो। यो टेस्लाको इतिहासमा एकै दिनको सबभन्दा ठूलो गिरावट हो भनेर रोयटर्सले लेखेको छ।
ट्रम्पले अनुदान कटौती गर्ने भनेपछि मस्कले ट्रम्पविरूद्ध महाभियोग लगाउनुपर्ने बताएका छन्। उनले त्यो कुरा सिधै नभने पनि महाभियोग लगाउनुपर्ने उल्लेख गरी एक प्रयोगकर्ताले एक्समा गरेको पोस्टलाई 'हो' भनेर रिपोस्ट गरेका थिए।
मस्क एक साताअघि मात्रै ह्वाइट हाउसबाट बाहिरिएका थिए। डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डोज) प्रमुखका रूपमा उनको कार्यकाल सकिएपछि गत शुक्रबार उनले ह्वाइट हाउसमा आफ्नो अन्तिम दिन बिताएका थिए।
एक सातामै राष्ट्रपति ट्रम्प र मस्कबीच सम्बन्ध बिग्रिएको हो। मस्कले ट्रम्पको कर कटौती र खर्चसम्बन्धी विधेयकको आलोचना गर्दै आएका छन्।
मस्कले यो विधेयकले अमेरिकाको ३६२ खर्ब डलरको ऋणलाई थप बढाउने बताए। ट्रम्पले सुरूमा मौनता साँधे पनि बिहीबार उनले मस्कप्रति निराश भएको बताएका थिए।
'इलन र मेरो सम्बन्ध राम्रो थियो, अब त्यो रहन्छ कि रहँदैन, थाहा छैन,' ट्रम्पले भनेका छन्।
मस्कले ट्रम्पलाई आफूले राष्ट्रपति बनाएको बताए।
'म बिना ट्रम्पले चुनाव हार्थें,' मस्कले भनेका छन्।
मस्कले ट्रम्पलाई चुनाव जिताउन करोडौं डलर खर्च गरेका थिए। उनले एक्स पनि ट्रम्पको चुनाव प्रचारमा प्रयोग गरेका थिए।
ट्रम्पको धम्कीपछि मस्कले स्पेसएक्सको ड्र्यागन अन्तरिक्ष यानको सञ्चालन बन्द गर्ने बताएको पनि रोयटर्सले लेखेको छ।
मस्कले अब अमेरिकामा नयाँ राजनीतिक दल खोल्नुपर्ने बताउँदै त्यसमा मानिसहरूको राय मागेका छन्।
'८० प्रतिशत मध्यम वर्गीयहरूका लागि अमेरिकामा अर्को नयाँ पार्टी खोल्नुपर्छ,' मस्कले भनेका छन्।
ट्रम्पले भने मस्क आफूविरूद्ध लागे पनि आपत्ति नरहेको बताएका छन्।
'यो कांग्रेसमा प्रस्तुत गरिएको सबभन्दा ठूलो विधेयकहरूमध्ये एक हो। यदि यो विधेयक पारित भएन भने, ६८% कर वृद्धि हुनेछ, र त्यो भन्दा पनि खराब चीजहरू हुनेछन्। मैले यो गडबडी सिर्जना गरेको होइन, म यसलाई ठीक गर्न यहाँ आएको हुँ,' उनले ट्रुथ सोसलमा लेखेका छन्।